१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

चौँरीको दूध बिक्री नभएपछि घिउ र छुर्पी उत्पादन गर्दै किसान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:१४:oo

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ ठूलोभार्खुका किसान नुर्पु सोनाम तामाङसँग रहेका २५ चौँरीमध्ये १६ वटा दुहुना छन् । ८ वर्षदेखि चौँरीपालन गर्दै आएका उनले प्रत्येक वर्ष वैशाखदेखि असोजसम्म गोसाइँकुण्ड पदमार्गमा रहेको चन्दनबारी चिज उत्पादन केन्द्रलाई दूध बिक्री गर्दै आएका थिए । तर, यो वर्ष उनले दूध बिक्री गर्न पाएका छैनन् ।

गत भदौसम्म दुग्ध विकास संस्थानअन्तर्गत रहेको चिज उत्पादन केन्द्रले दूध लिए पनि कोरोनाका कारण चिज बिक्री नभएको भन्दै दूध लिन छाड्यो । दूध बिक्री नभएपछि अहिले उनी घिउ र छुर्पी बनाउन व्यस्त छन् । उनी भन्छन्, ‘यो वर्ष त कोरोनाले गर्दा दूध पनि बिक्री भएन, दूध बिक्री नभएपछि आफैँ घिउ र छुर्पी बनाएर राखेका छौँ, अलि–अलि त गाउँमै बिक्री हुन्छ, नत्र त बनाएर राख्ने हो ।’

उनी मात्र होइन, २० वर्षदेखि यही पेसामा रहेका जिल्लाकै नौकुण्ड गाउँपालिका–१, सिमबन्दीका दावासिदार तामाङका १५ वटा चाैँरी छन् । यस वर्ष उनले डेढ महिना पनि दूध बिक्री गर्न पाएनन् । चिज उत्पादन केन्द्रले दूध नलिएपछि उनले पनि आफैँ घिउ र चिज बनाएर राख्न थालेका छन् । अन्य विकल्प नभएपछि घिउ र छुर्पी बनाएर राख्न थालेको उनले बताए । 

जिल्लामा अहिले दुग्ध विकास संस्थानअन्तर्गत ६ वटा चिज उत्पादन केन्द्र छन् । यसपटक जेठ तेस्रो हप्ताबाट सुरु भएको उत्पादन १५ भदौमा नै बन्द भएको थियो । चिज उत्पादन केन्द्रको भण्डारण क्षमता कम भएको र उत्पादन भएको चिज बिक्री हुन नसकेपछि ६ वटै चिज उत्पादन केन्द्र बन्द भएका छन् । 

पाङ्लेखर्क चिज उत्पादन केन्द्रका प्रमुख जितबहादुर जिरेलले भूकम्पले भत्केको भवन अहिलेसम्म पुनर्निर्माण हुन नसकेको र संस्थानमा पनि चिज जान छाडेपछि उत्पादन बन्द गरिएको बताए । त्यस्तै, अहिले संस्थानमा भएको चिज बिक्री नभएपछि केन्द्रहरूबाट उत्पादन भएको चिज संस्थानले नलगेको र थन्किएर बसेको समेत बताइएको छ । 

स्थानीय बजारमा चिज खपत नहुने र भण्डारण क्षमता पनि कम भएका कारण केन्द्रहरूले सीमित चिज उत्पादन गर्छन् । बिक्री कम भएपछि पछिल्लो समय संस्थानले प्रतिकेजी दुई   सय रुपैयाँ घटाएको छ । पहिले एक हजार आठ सय रुपैयाँमा चिज बिक्री हुँदै आएकोमा अहिले एक हजार ६ सयमा चिज बिक्री हुँदै आएको छ ।    

जिल्लामा अहिले दुग्ध विकास संस्थानअन्तर्गत ६ वटा केन्द्र रहेका छन् । तीमध्ये चारवटा केन्द्रले नियमित रूपमा चिज तथा मखन उत्पादन गर्दै आएका छन् ।  चिसो समयमा दूध कम उत्पादन हुने र नजम्ने समस्याका कारण ६ महिना उत्पादन बन्द हुने गरेको छ ।

ad
ad