१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मुना कुँवर काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o८:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

साउदीमा स्वतन्त्र हुँदै प्रवासी कामदार, आफूखुसी कम्पनी परिवर्तन गर्न पाउने

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:o९:oo

साउदी अरबमा आप्रवासी श्रमिकले अबदेखि आफूखुसी कम्पनी परिवर्तन गर्न पाउने भएका छन् । साउदी अरबले लेबर रिलेसन इनिसिएटिभ कार्यक्रममार्फत प्रवासी श्रमिकलाई यस्तो सुविधा दिन लागेको हो । २०२१ मार्चदेखि यो व्यवस्था लागू हुनेछ । नयाँ व्यवस्थाअनुसार प्रवासी श्रमिकले वर्तमान कम्पनीको काम चित्त नबुझेमा आफूखुसी कम्पनी परिवर्तन गर्न तथा स्वदेश फर्कनसमेत सक्नेछन् ।

यसका लागि कफिला (स्पोन्सर)सँग अनुमति लिनुपर्ने बाध्यता हुनेछैन । हालको व्यवस्थाअनुसार कुनै पनि प्रवासी कामदारलाई साउदी अरेबियामा रोजगारीका लागि जानुपरेमा स्थानीय व्यक्तिले स्पोन्सर गरिदिनुपर्नेछ । जसलाई कफिला भनिन्छ । यसरी गएका श्रमिकहरू कफिलाकै नियन्त्रणमा बस्नुपर्छ । कफिलाको अनुमतिविना श्रमिकले कम्पनी परिवर्तन गर्न तथा स्वदेश फर्कनसमेत पाउँदैनन् । 

साउदी सरकारले प्रवासी श्रमिकको विषयमा गर्न लागेको नयाँ व्यवस्था प्रशंसनीय रहेको साउदी अरबस्थित नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंहले बताए । ‘यस विषयमा मैले अनौपचारिक जानकारी मात्रै पाएको छु । एक–दुई दिनमा औपचारिक जानकारी पनि आउला । त्यसपछि अझ बढी स्पष्ट हुन सकिनेछ,’ उनले भने । कतारले पनि पाँच महिनाअगाडि कफिला सिस्टम हटाएको थियो । त्यस्तै, दुबईमा पनि अर्को कम्पनीसँगको सम्झौतापत्र पेस गरेको खण्डमा कम्पनी परिवर्तन गर्न पाइने व्यवस्था छ । 

स्वतन्त्र हुँदै श्रमिक 
नयाँ व्यवस्था कार्यान्वयनमा आएसँगै कफिला सिस्टमका कारण बन्धक बन्दै आएका प्रवासी श्रमिकहरू स्वतन्त्र हुनेछन् । कफिलाले अकामा (परिचयपत्र) नवीकरण र एक्जिट प्रमिसन (बहिर्गमन अनुमति) नदिँदा हजारौँ श्रमिकहरू रोजगारदाताको बन्धक हुँदै आएको साउदी अरबका लागि नेपाली राजदूत डा. सिंहले बताए । 

हालको व्यवस्थाअनुसार प्रवासी श्रमिक करार अवधि दुई वर्षको हुन्छ । तर, करार अवधि सकिए पनि श्रमिकले आफूखुसी कम्पनी परिवर्तन गर्न वा स्वदेश फर्कन पाउँदैनन् । कतिपय कफिलाले अनावश्यक दुःख दिन अकामा नवीकरण नगरिदिने र एक्जिट प्रमिसन पनि नदिने गरेको राजदूत डा. सिंहले बताए । ‘अकामा नवीकरण नहुँदा र एक्जिट प्रमिसन नपाउँदा श्रमिक अवैधानिक हुन पुग्छन् । यस्ता श्रमिकलाई प्रहरीले समेत दुःख दिन्छन्,’ उनले भने ।

श्रमिकमाथि कफिलाको नियन्त्रण हुँदा कतिपयले दसौँ वर्षसम्म थोरै पारिश्रमिकमा उस्तै काम गर्नुपरेकोे उनले बताए । अब साउदी सरकारले गर्न लागेको नयाँ व्यवस्थाले श्रमिक स्वतन्त्र हुन पाउने उनले बताए । तर, सुरुको करार अवधिसम्म भने श्रमिक सोही कम्पनीमा काम गर्नुपर्नेछ । करार अवधि कति समय तोकिनेछ भन्ने विषयमा भने साउदी सरकारको औपचारिक पत्राचारपछि थाहा हुने उनले स्पष्ट पारे । 

डेढ करोड प्रवासी श्रमिकलाई राहत 
नयाँ व्यवस्थाले साउदी अरबमा रोजगारी गर्दै आएका डेढ करोेड प्रवासी श्रमिकहरू लाभान्वित हुने भएका छन् । नयाँ व्यवस्थाअनुसार श्रमिकहरूले आफूखुसी श्रम गर्न पाउने अधिकारको प्रयोग गर्न पाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए । साउदी अरबले हालसम्म श्रमिकलाई यस्तो अधिकार दिएको थिएन । तर, आगामी मार्चदेखि साउदी अरबले नयाँ व्यवस्था गर्दै श्रमिकलाई रोजगारी परिवर्तनको सुविधा दिने भएको छ । यसले धेरै श्रमिक अवैधानिक हुनबाट बच्ने उनले बताए । 

साउदी अरबमा काम गर्ने अधिकांश श्रमिकहरू रोजगारदाता परिवर्तन गरेकै कारण अवैधानिक रूपमा बस्नुपरेको छ । जसका कारण श्रमिकहरू जोखिममा पर्दै आएका छन् । तर, अबको नयाँ व्यवस्थाले श्रमिकहरूलाई ठूलो राहत हुने संघका महासचिव श्रेष्ठले बताए ।

दैनिक १० जना नेपाली श्रमिकलाई वैधानिक बनाइँदै
साउदी अरब सरकारले प्रतिदिन १० जना नेपाली श्रमिकलाई वैधानिक बनाउने गरेको छ । कोरोना संक्रमणका कारण अलपत्र परेका श्रमिकलाई स्वदेश फर्कन सहज होस् भनेर साउदी सरकारले यस्तो अवसर प्रदान गरेको साउदी अरबका लागि नेपाली राजदूत डा. सिंहले बताए । उनका अनुसार हालसम्म १ हजार २ सय अवैधानिक नेपाली श्रमिकले वैधानिकता पाइसकेका छन् । वैधानिकता पाएको ६० दिनमा श्रमिक नेपाल फर्किसक्नुपर्नेछ । 

साउदीमा करिब साढे ३ लाख नेपाली श्रमिक काम गर्दै आएका छन् । त्यस्तै, डेढ करोड प्रवासी श्रमिक रहेका छन् । साउदीमा नेपालबाहेक भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, म्यानमार, फिलिपिन्स, भियतनाम, अफ्रिका, सुडानलगायतका मुलुकबाट रोजगारीका लागि श्रमिक पुग्ने गर्छन् । 

वैदेशिक रोजगार विभागका अनुसार आव ०७४/७५ मा १ लाख ८ हजार ४ सय १४ जना नेपाली श्रमिक साउदी अरब पुगेका छन् । जसमध्ये पुरुष १ लाख ७ हजार ७३ छन् भने महिला १ हजार ३ सय ४१ जना छन् । त्यसैगरी, आव ०७५/७६ मा २ लाख २६ हजार ३ सय १८ श्रमिक साउदी पुगेका छन् । जसमा पुरुषको संख्या २ लाख २२ हजार ९ सय ४४ छ भने महिलाको संख्या ३ हजार ३ सय ७४ छ । मानवअधिकार आयोगको अध्ययनअनुसार साउदी अरबमा दैनिक ३ सय २७ जनाको श्रम स्वीकृति सकिन्छ । 

ad
ad