१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ कार्तिक २२ शनिबार ०२:१९:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

पार्टी फोड्ने कुरा गर्ने अपराधी हो, त्यस्तालाई जनताले धिक्कार्छन्

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २२ शनिबार ०२:१९:००

माधव नेपाल, वरिष्ठ नेता, नेकपा

आज नेकपा अध्यक्ष ओली र महासचिव विष्णु पौडेललगायतका नेताबाहके केन्द्रीय सचिवालयको अनौपचारिक बैठक बस्नुभयो, बैठकको निष्कर्ष के हो ? 

पार्टीभन्दा ठूलो केही पनि होइन । सबै समस्या पार्टीकै बैठकमा राख्नुपर्छ । सकडमा छर्ने होइन, बाहिर ल्याउने होइन । बैठकले निकालेको निष्कर्ष त्यही हो । 

तपाईंहरूले त्यसरी बेग्लै अनौपचारिक बैठक गरेपछि त नेकपा फुट्ने हो कि भन्ने व्यापक आशंका हुन थालेको छ नि ?

पार्टी र आन्दोलन समाप्त हुँदैन, फुट्दैन । पार्टीको सिस्टममा सबै बाँधिनुपर्छ । पार्टीभन्दा ठूलो कोही पनि छैन । कमिटी प्रणाली र बहुमतलाई जसले स्वीकार गर्दैन, त्यो कम्युनिस्ट हुन लायक नै हुँदैन । 

पार्टी फुट्दैन भन्ने तपाईको दावी छ, तर जुट्ने सम्भावना कति छ ? 

पार्टीको निर्णय पालना गरेर चल्नुपर्‍यो नि, किन फुट्छ पार्टी ? जसले फोड्ने कुरा गर्छ, त्यो अपराधी हुन्छ, कम्युनिस्ट आन्दोलनविरोधी हुन्छ, कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको ठहर हुन्छ । जनताको नजरमा पार्टीका कार्यकर्ताले त्यस्ता व्यक्तिलाई धिक्कार्छन्, उसको सती जाँदैनन् । कसैले पार्टी फुटाउने दुस्साहस गर्छ भने एउटा नेताको पुच्छर समातेर कोही पनि सती जानेवाला छैन । 

दुई अध्यक्षको छलफलमा तिक्त संवाद भइरहेको र अलग–अलग बाटो लागौँ भन्नेसम्मको प्रस्ताव आयो भन्ने छ, त्यसलाई कसरी हेर्नुभएको छ ? 

जेसुकै भए पनि कमिटीको बैठकमा ल्याउने, त्यहीँ छलफल गर्ने र कमिटीको निर्णयलाई सर्वोपरी मान्ने गरी चल्नुपर्छ ।

तर, तपाईहरूका बैठकलाई गुटको बैठक भन्दै प्रधानमन्त्रीले गुटका निर्णय नमान्ने स्पष्ट  पारिसक्नुभएको छ नि, उहाँले निर्णय मान्ने सम्भावना छ ? 

त्यही तयार गर्नका लागि हामी शनिबार छलफल गर्छौँ । उहाँलाई कन्भिन्स गर्छौँ । उहाँलाई ठीक बाटोमा आउन आग्रह गर्छौँ ।

उहाँले निर्णय मान्दिनँ भने तपाईहरूसँग अरु विकल्प के छ ? 

फेरि प्रयास गर्छौँ । अहिले नै किन आशंका गर्ने ? उहाँले सुन्नैपर्छ, गम्भीर कमजोरी सच्याउनुपर्छ । सुध्रिएर नयाँ ढंगले चल्नुपर्छ । कमिटीको बैठकमा व्यापक गहन छलफल, बहस हुँदै आएको छ । त्यसले नै पार्टीलाई अगाडि बढाएर लैजान्छ । 

प्रधानमन्त्री त पहिला दुई अध्यक्षबीच एजेन्डामा सहमति गर्ने अनि बैठक बोलाउने हो भन्ने अडानमा हुनुहुन्छ भन्ने कुरा आएको छ, दुई अध्यक्षबीचको सहमति विना बैठक किन बस्ने भन्ने प्रश्न पनि छ नि ?

दुई अध्यक्षका कुरा आफ्नो ठाउँमा छ, तर एजेन्डा तय गर्ने त कमिटीले हो । प्रस्ताव ल्याउने काम मात्र अध्यक्षहरूको हो । एजेन्डा कुन–कुन हुन्छ भनेर अन्तिम निर्णय गर्ने काम कमिटीको हो । कमिटी प्रणालीको ज्ञान भएका मान्छेले त्यही भन्छन् । किनभने कम्युनिस्ट पार्टी त्यही विधिमा चलेको छ, त्यही विधिबाटै चल्छ । त्योभन्दा अर्को व्यक्तिप्रधान हुँदैन । अध्यक्षलाई निरपेक्ष संस्थाका रूपमा मान्ने कुरा कसैले पनि स्वीकार गर्न सक्दैन । 

प्रधानमन्त्रीसँगको छलफलपछि सहमतिमा बैठक बस्ने अवस्था भएन भने के तपाईंहरू बहुमतबाट औपचारिक बैठक राख्ने बाटोमा जानुहुन्छ ? 

कमिटीको बैठक बस्छ, उहाँ आउनुपर्छ । आएर केन्द्रीय कमिटीको, स्थायी कमिटीको, सचिवालय बैठकको सम्मान गनुपर्छ र आफूलाई कमिटीको मातहतमा राख्ने मानसिकताबाट चल्नुपर्छ । उहाँले म पूर्वएमालेबाट आएको छु भनेपछि उहाँको पनि अवधि ०७६ को साउनको पहिलो साता सकिसकेको छ । किनभने त्यसपछि उपाध्यक्षहरू, अरू–अरूको पनि अवधिको कुरा आउँछ । त्यसकारण त्यस्ता कुरामा कुनै पनि दम छैन । 

तर, पूर्वएमाले मिलेर पूर्वमाओवादी समूहलाई मिलाउने हो भने मात्रै एकताका साथ जान सकिन्छ भन्ने मतका आधारमा तपाईं र प्रधानमन्त्री ओलीलाई मिलाउने कोसिस पनि भइरहेको छ भन्ने कुरा बाहिर आइरहेको छ नि ?

पूर्व भन्ने चिज सकिएर हामी त नेकपा भइसकेका छौँ । सबैलाई मिलाएर साथमा लिएर जाने हो । पार्टीलाई विचार, विधि, नीतिबाट, पद्धतिबाट चलाउने हो । व्यक्तिको लहडका आधारमा होइन, पार्टीको विधानबाट चलाउने हो ।