१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
तस्बिर : विनोद विष्ट/नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o२:o५:oo
Read Time : > 12 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

यति मान्नोस्, म उपसभापति र महामन्त्रीको उम्मेदवार होइन (भिडियोसहित)

Read Time : > 12 मिनेट
नयाँ पत्रिका, काठमाडौं
तस्बिर : विनोद विष्ट/नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o२:o५:oo

डा. शेखर कोइराला, कांग्रेस नेता

प्रतिपक्षको रूपमा कांग्रेसले जनताका पक्षमा बोलिदिने जिम्मेवारी पाएको हो । तर, निर्वाचनमा पराजित भएको कांग्रेस आफ्नो पहिचान के हो भन्ने रनभुल्लमा परेजस्तो छ । महामारीले रोजगारी गुमाएका श्रमिक हजार–हजार किलोमिटरसम्म हिँडेर घर पुगे, उनीहरूका लागि राहतको कुनै कार्यक्रम आएन । विदेशमा काम गुमेर अलपत्र परेका श्रमिकमध्ये ती मात्र नेपाल आउन सकेका छन्, जसले जसोतसो महँगो भाडा तिर्न सकेका छन् । सुरुमा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भयो, पछि त सरकारले जनताको उपचारको दायित्वलाई नै अस्वीकार गरेर सूचना जारी गर्न थाल्यो । यति धेरै बेथिति हुँदा कांग्रेस कहाँ छ ? आफैँभित्रको विवाद व्यवस्थापनमा पनि कांग्रेस किन असफल छ ? महाधिवेशनपछि कस्तो नीति र कसको नेतृत्व छान्ने तयारी छ ? यी विषयमा नयाँ पत्रिकाले कांग्रेस नेता डा. शेखर कोइरालासँग संवाद गरेको छ । 

विमानदेखि औषधि खरिदसम्म भ्रष्टाचारका अनेक उदाहरण सतहमा आएका छन् । जनताको नि:शुल्क उपचार गर्ने जिम्मेवारीबाट सरकार पछि हटेको छ । तर, देशमा न्याय कहाँ छ भन्ने मात्र होइन, प्रमुख प्रतिपक्षी कांग्रेस कहाँ छ भनेर जनताले सोधिरहेका छन् । कांग्रेसलाई सरकारको खबरदारी गर्न र जनताको पक्षमा आवाज उठाउन जनताले जिम्मेवारी दिएका हुन् । तर, खासमा यो देशमा जनताको पक्षमा आवाज उठाउने प्रतिपक्षी दल छ कि छैन ? 

हो, निर्वाचनबाट हामीले पाएको जिम्मेवारी प्रमुख प्रतिपक्षको हो । हामी निर्वाचन जित्न चाहन्थ्यौँ, तर पराजित भयौँ । हामीले किन हार्‍यौँ भनेर व्याख्या–विश्लेषण गरेर अगाडि बढ्नुपर्ने थियो । मैले त पटक–पटक सभापतिज्यूलाई भेटेर भनेँ । केन्द्रीय समिति बैठकमा पनि उठाएँ । तर, उहाँहरूले त्यसलाई सुन्नै चाहनुभएन । अझ, सुरुमा त केन्द्रीय समिति बैठक नै बसेन । करिब–करिब ६ महिनापछि मात्रै बैठक बस्यो । हामीले आत्मसमीक्षा गरेको र पार्टीलाई अगाडि बढाएको भए सायद अहिले तपाईंंले उठाउनुभएको सुशासन र भ्रष्टाचारका मुद्दामा हामी खरो रूपमा उभिन सक्थ्यौँ । तर, हामीले हाम्रो धरातल नै समीक्षा गर्न सकेनौँ । हामी सत्तापक्ष त होइनौँ, तर हामी प्रतिपक्ष हौँ भन्ने धारणा बनाउन पनि सकेनौँ । आत्मसमीक्षा गर्ने, जनताका मुद्दा उठाउने र अधिवेशनको पनि तयारी गर्ने गरी पार्टीका काम भएको भए अहिले कांग्रेस जुर्मुराएको अवस्थामा हुन्थ्यो । तर, निर्वाचनपछि हामी आफैँ अलमलमा परेका छौँ । हाम्रो भूमिका के हो भन्नेमा कांग्रेसलाई स्पष्ट बनाउन सकेका छैनौँ । 

कांग्रेस प्रतिपक्षको रूपमा जुर्मुराउनका लागि मुद्दाको कमी छैन । तर, यस्तो लाग्छ कांग्रेस आफ्नो पुरानो ‘ब्यागेज’ले थिचिएको छ । वाइडबडीको इस्यु आयो, कांग्रेस सभापति जोडिने । बालुवाटारको जग्गा प्रकरणको प्रसंग आयो, उहाँ जोडिने । राजदूतमा कार्यक्षमताको प्रसंग आयो, उहाँकै परिवारका सदस्य जोडिने । जे विषय उत्खनन हुन्छ, त्यसमा कांग्रेस जोडिन्छ । यत्रो बोझ बोेकेर प्रतिपक्षको भूमिका कसरी धारिलो हुन्छ ? 

हो, केही ब्यागेजले रोकेको हो । हुन त हामीले केन्द्रीय समितिमा यी कुरा उठाएकै छौँ । जस्तै– अहिले एउटा महत्वपूर्ण मुद्दा उठेको छ, बुढीगण्डकी जलविद्युत् परियोजनाको । देशको एकजना पूर्वप्रधानमन्त्रीले अन्य दुई पूर्वप्रधानमन्त्री र बहालवाला प्रधानमन्त्रीलाई भ्रष्टाचारको गम्भीर आरोप लगाउनुभएको छ । यसको सच्चाइ थाहा हुनुपर्छ । यो त ठूलो विषय हो । कि त बाबुराम भट्टराईजी गलत हुनुहुन्छ, कि चाहिँ वर्तमान प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्रीहरू दोषी हुनुहुन्छ । कि आरोपीलाई कारबाही हुनुपर्‍यो, कि आरोप लगाउनेलाई । यो सब अनुसन्धान त हुनुपर्‍यो । तर, हामीचाहिँ चुप लागेर बस्ने ? कांग्रेसले त यो विषय उठाउनुपर्‍यो नि संसद्मा । मलाई विचित्र लाग्छ, कहिलेकाहीँ कांग्रेस कति कमजोर भएछ भनेर । संवैधानिक परिषद्मा उपसभामुख सदस्य हुने व्यवस्था छ । कांग्रेसले उपसभामुख पाउँछ–पाउँदैन, त्यो महत्वपूर्ण होइन । हामी प्रतिपक्ष भनेको त संविधानको रक्षक हौँ । एक वर्ष भइसक्यो, उपसभामुख छैन । संवैधानिक परिषद्को सदस्य खाली छ । हामी नबोल्ने ? त्यो त गलत हो । सातवटा प्रदेशमा हेर्नुस्, सभामुख र उपसभामुख सबै एउटा पार्टीका छन्, त्यो त पाइँदैन नि । संविधानले नै स्पष्ट भनेको छ । तर, कांग्रेस चुप लागेर बसेको छ । तर, सभापति अब आफ्नै बोझका कारणले बोलिरहनुभएको छैन । अब आउने महाधिवेशनमा यी मुद्दामाथि छलफल हुन्छ । आउने नेतृत्वले यी मुद्दा जोडतोडले उठाउनुपर्छ । 

निर्वाचनपछि आत्मसमीक्षा गरेको र पार्टीलाई अगाडि बढाएको भए सायद अहिले सुशासन र भ्रष्टाचारका मुद्दाहरूमा हामी खरो रूपमा उभिन सक्थ्यौँ । तर, हामीले हाम्रो धरातल नै समीक्षा गर्न सकेनौँ ।

यसमा फियर फ्याक्टर (डर) पनि होला । अर्को, भागशान्ति गरौँ भन्ने सम्झौतावादी नीति पनि होला । जेसुकै कारणले होस्, कांग्रेस र त्यसका सभापति आजका दिन सत्ताका लागि योग्य र विपक्षी नेताका लागि अयोग्य नेता भनेर मूल्यांकन गर्न सकिन्छ ? 

कांग्रेसका वरिष्ठ नेता सबैलाई सम्मान गर्नुपर्छ । किनभने, कांग्रेसलाई यहाँसम्म पुर्‍याउन उहाँहरूको योगदान धेरै छ । त्यसलाई म अस्वीकार गर्दिनँ, यदि कसैले गर्छ भने त्यो गलत हो । तर, अहिले विश्वको राजनीति कसरी अघि बढिरहेको छ ? नेपालभित्रका राजनीतिक दलहरू कसरी अगाडि बढिरहेका छन् ? यसमा सभापतिको ध्यान पुगेको छैन । उहाँ पार्टी सभापति हुनुहुन्छ । देशको प्रधानमन्त्री भइसक्नुभएको छ । तर, पार्टी सभापतिले जसरी चलाउनुपर्ने हो, त्यसरी पार्टी चलाउन सक्नुभएन । उहाँले त सबैलाई मिलाएर हिँड्नुपर्‍यो नि ! एउटा गुटलाई मात्रै लिएर हिँडेर राजनीति हुँदैन । तर, उहाँले त्यही गरिरहनुभएको छ । यस्तो अवस्थामा उहाँहरूले अब ‘डिग्निफाइड एक्जिट (सम्मानजक बहिर्गमन)को बाटो लिन सक्नुभयो भने त्यो राम्रो हुन्छ । लिनुभएन भने लड्ने–भिड्ने हुन्छ । त्यो के नयाँ भो र !

कांग्रेसको भूमिका किन स्पष्ट भएन भनेर खोज्ने त कांग्रेसभित्रै हो । कांग्रेसभित्रै पनि बृहत् छलफल गर्न र हस्तक्षेपकारी भूमिका खेल्न तपाईंहरूलाई किन गाह्रो भइरहेको छ ? 

पार्टीको सबैभन्दा माथिल्लो निकाय महाधिवेशन हो, त्यसपछि महासमिति हो । तर, महासमितिले गरेको निर्णयसमेत सभापतिले काटिदिनुभएको छ । महासमितिले पारित गरेका विषयलाई सभापतिले केन्द्रीय समितिमा ल्याएर बहुमतले अस्वीकृत गर्नुभएको छ । महासमितिकै निर्णय काटिदिएपछि के हुन्छ ? हुन त कांग्रेस केन्द्रीय समितिको बैठकहरू भइरहेका छन् । त्यहाँ सभापतिजीको अत्यधिक बहुमत छ । त्यसैले हामीले राखेका जायज विषय पनि सुनुवाइ हुँदैन । सभापतिलगायत सबैजना तल्लो तहबाट निर्वाचित भएर आउनुपर्छ भन्ने थियो, यो त प्रजातान्त्रिक एजेन्डा थियो नि । तर, उहाँले काट्नुभयो । त्योभन्दा अलोकतान्त्रिक विषय के हुन्छ ? केन्द्रीय सदस्यहरूलाई तल्लो तहबाट निर्वाचित भएर आउनुपर्दैन भन्ने निर्णय केन्द्रीय समितिले गरेको छ । उनीहरूले सीधै लड्न पाउँछन् । यस्ता मुद्दालाई लिएर हामी अप्ठ्यारोमा पर्‍यौँ । त्यसकारणले हामीले सुरुदेखि नै प्रतिपक्षको भूमिका जसरी खेल्नुपर्ने हो, गर्न सकेनौँ । 

देशको नेतृत्व गर्ने जिम्मेवारी पाएको सत्तारूढ दल नेकपा बाह्रैमास आन्तरिक विवादमा छ । प्रतिपक्षी कांग्रेसभित्र पनि विवाद छ । तर, ती विवाद र बहसमा जनताका मुद्दा कहाँ छन् ? प्रमुख दलभित्रको बहसमा महामारीका वेला जनताको उपचारको मुद्दा कहाँ छ ? सरकारले तोकेको महँगो भाडा तिर्न नसकेर विदेशमा अलपत्र परेका श्रमिकको मुद्दा कहाँ छ ? कुर्सीलाई केन्द्र बनाएर भइरहेका यी विवादमा जनता कसरी जोडिन्छन् ? 

यसको अर्थ के हो भने नेपालका राजनीतिक दल कानुनी रूपमा दर्ता त छन्, तर राजनीतिक रूपमा दलको भूमिकामा छैनन् । सत्तापक्ष वा प्रतिपक्ष जे भन्नुस्, अहिले मूलतः चार राजनीतिक दल छन् । कांग्रेस, नेकपा, जनता समाजवादी र राप्रपा । यिनीहरूको अवस्था हेरौँ न ! जनताका दैनिक समस्या के छन् ? अहिले महामारीमा जनताका कस्ता समस्या छन् ? यी मुद्दामा कुनै पनि दल संवेदनशील भएर अगाडि बढेको छैन । अहिले नेकपामा पनि आपसी अस्तित्वका लागि लडाइँ भइरहेको छ । त्यहाँ त खास अध्यक्ष को हो, थाहा छैन । अनि पार्टी कसरी अगाडि जान्छ ? हाम्रो कांग्रेसमा सभापति त एउटा मात्रै त हुनुहुन्छ, तर सबै कांग्रेसी मेरा मानिस हुन्, ती सबैलाई सम्हालेर हिँड्छु भन्न सक्नुभएको छैन । वास्तविकता के हो भने सत्तापक्ष नेकपा होस् या प्रतिपक्ष कांग्रेस, हामी सबै कुर्सीका लागि मात्रै लडिरहेका छौँ । मलाई त डर लाग्न थालेको छ, कतै राजनीतिक दलहरू नै इरिलेभेन्ट (असान्दर्भिक) हुने हुन् कि भनेर । अहिले जसरी जाँदै छ, देशको परिस्थिति चिन्ताजनक छ । किनकि, भ्रष्टाचारमा हामी शून्य सहनशीलता त भन्छौँ, तर त्यसमा काम भइरहेको छैन । पारदर्शिता छैन, जवाफदेहिता छैन । पहिले–पहिलेका नेताहरू बिपी कोइराला, गणेशमानजी, किसुनजी, गिरिजाबाबु र मनमोहन अधिकारी, पुष्पलालजी र मदन भण्डारीकै उदाहरण हेरौँ, उहाँहरू नैतिकताको बलमा राजनीति गर्नुहुन्थ्यो । र, संस्कार छाडेर जानुभएको छ । नैतिकता र संस्कार हामीले फेरि बसाल्नुपर्‍यो । आज छैन । म त स्विकार्छु, संस्कार नै छैन । बिचौलियाले गर्दा राजनीति भ्रष्टीकरणतिर गएको छ । त्यसैले अब हस्तक्षेप आवश्यक छ । 

पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नका लागि हैसियत चाहियो । हैसियतका लागि पोजिसन चाहियो, त्यसको दाबी गर्नु अन्यथा होइन । तर, देउवाको विकल्प को भन्नेमा बडो अस्पष्ट छ । संस्थापनको रूपमा देउवाको प्रतिवाद गरिरहेको समूह त छ, तर त्यसको नेता को हो ? आजको दिनमा कांग्रेसभित्र देउवालाई च्यालेन्ज गर्ने नेता को हो ? 

यो त यस्तो प्रश्न हो, तपाईंंले जसलाई सोध्नुहुन्छ, उसले म आफैँ हो भन्छ । तर, मुख्य विषय नेतृत्व दिन सक्ने नेता चाहियो, त्यसका लागि एजेन्डा चाहियो । कार्यकर्तालाई रिझाउन सक्नुपर्‍यो । अहिलेको नेतृत्वले प्रतिपक्षको भूमिका खेल्न सकेन । अब यो काम कसले गर्न सक्छ भनेर कार्यकर्ताले निर्णय गर्ने हो । कार्यकर्ताबीच जो उठ्न चाहनुहुन्छ, उठ्नुहुन्छ । कतिले तयारी गरिराख्नुभएको होला । जे होस्, तर देउवाजी निर्विकल्प होइन । कोही पनि कहिल्यै पनि निर्विकल्प हुँदैन । 

महासमितिले पारित गरेका विषयलाई सभापतिले केन्द्रीय समितिमा ल्याएर बहुमतले अस्वीकृत गर्नुभएको छ । महासमितिकै निर्णय काटिदिएपछि के हुन्छ ?

तपाईंं पनि सभापतिको दाबेदार हो भनेर मिडिया र कांग्रेसभित्र बहस भइरहेको छ । तर, तपाईंंं सभापतिको दाबेदार हो कि होइन ? हो भने किन ? 

अहिले मैले नेता तथा कार्यकर्तासँग छलफल गरिरहेको छु । एउटा के स्पष्ट पार्छु भने म उपसभापति वा महामन्त्रीको उम्मेदवारचाहिँ होइन । र, म एकपटकका लागि मात्र सभापति हुने हो । म त सभापति र संसदीय दलको नेतासमेत एकै व्यक्ति हुनुहुँदैन, फरक–फरक व्यक्ति हुनुपर्छ भन्ने व्यक्ति हुँ, त्यसका लागि पनि म प्रतिबद्ध छु । अब रह्यो, मेरो एजेन्डा । १३औँ महाधिवेशनपछि अझ भनौँ आमनिर्वाचनपछि कांग्रेस पराजित भइसकेपछि हामी सबै निराश थियौँ । अनि साथीभाइको फोन आउन थाल्यो, उनीहरू पनि निराश थिए, गाउँ–गाउँ र जिल्ला–जिल्लामा । अनि मलाई अब घुम्नुपर्छ भन्ने लाग्यो र घुम्न थालेँ । स्थानीय निर्वाचनमा नै हामी धेरै ठाउँमा पराजित थियौँ । हामीले ७५३ मध्ये दुई सय २० हाराहारीमा मात्रै जित्यौँ । अहिले नेकपाका कार्यकर्ताले हाम्रा साथीहरूलाई अत्यन्तै दुःख दिएका छन् । जिल्ला–जिल्लामा, गाउँ–गाउँमा वडा–वडामा, अत्यन्तै दुःख दिएका छन् । कतिसम्म भने झुटा मुद्दा लगाइदिने, मारपिट गर्नेसम्म भएको छ । त्यसले मलाई अलिकति घचघच्याइदियो । हामी लोकतन्त्रमा कोहीसँग सम्झौता गर्दैनौँ भनेर मात्रै त हुँदैन । व्यवहार पनि त्यस्तै हुनुपर्‍यो । त्यसैले मेरो पहिलो एजेन्डा हो– लोकतान्त्रिक संस्कारलाई एकदमै तल्लो तहसम्म हामीले पुर्‍याउनुपर्छ । दोस्रो, बिपी कोइरालाले हामीलाई दिनुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त छ । त्यसबारे नै धेरैलाई थाहा छैन । समाजवादका बारेमा त झन् भ्रम नै छ । कांग्रेसको संगठनभित्र अस्पष्टता छ । समाजवाद भनेको हामीले मुख्यतः शिक्षा र स्वास्थ्यमा सुधार गर्न सक्छौँ भन्ने हो, सामाजिक न्यायका आधारमा, सामाजिक सुरक्षाका आधारमा अगाडि लैजान सक्छौँ भन्ने प्रश्न पनि हो । कोही पनि मानिस पैसाको अभावले पढ्नबाट वञ्चित हुनुभएन । र कोही पनि मानिस पैसाको अभावले उपचारबाट वञ्चित हुन नपरोस्, मर्न नपरोस् । यो बिपी कोइरालाको सिद्धान्त भन्नुस् वा चाहे समाजवादको सिद्धान्त भन्नुस्, यो कांग्रेस र देशको एजेन्डा हुनुपर्छ भन्ने मेरो मान्यता छ । अहिलेको महामारीको परिप्रेक्ष्यमा सरकारले केही गरिहाल्छ कि भन्ने लागेको थियो । सरकारले जसरी काम गर्‍यो, त्यो संवेदनशील भएन । अहिले यो महामारीको वेला घरमा भोकमरी लाग्ने अवस्था आएपछि दैनिक चार हजार, पाँच हजार मानिस दिनदिनै बोर्डरबाट भारततिर गइरहेका छन्, पत्रपत्रिकामा तस्बिर आइरहेका छन् । त्यसले के देखाउँछ भने हामी कतै न कतै अलमलिएका छौँ । जो श्रमजीवी दाजुभाइहरू हुनुहुन्छ, जसले पठाएको रेमिट्यान्सले हामीलाई आज यहाँसम्म चल्ने अवस्था बनाइरहनुभएको छ, उनीहरूको अवस्थालाई पनि हाम्रो प्रणालीले ध्यान दिन सकेको छैन । यो विषय प्राथमिकता नै पर्न सकेन । यस्तै, कृषिमा आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउने, सहुलियत ऋण उपलब्ध गराउने, बिउबीजन, मलखाद दिने र शीतभण्डार बनाउने । रोजगारीका अवसरहरू सिर्जना गर्ने, युवाको सिर्जनशीलता र उद्यमशीलतालाई उपयोग गर्ने र यसका निम्ति लगानीमैत्री आर्थिक नीति बनाउने गर्नुपर्दछ । यी सारा एजेन्डा लिएर हामी अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । 

नेतृत्वकै कुरा गर्दा रामचन्द्र पौडेल एउटा सिनियर नेता हुनुहुन्छ । विगतमा उहाँ कांग्रेस सभापति मात्र होइन, प्रधानमन्त्रीको उम्मेदवार पनि हो । उहाँले शीर्षस्थ स्थानबाट अहिलेसम्म नेतृत्व गर्न पाउनुभएको छैन । यसपालि फेरि स्वाभाविक रूपमा उहाँले दाबी गर्नुभएको छ । तर, यसपालि मानिसहरूले कोइराला परिवार के गर्छ भन्नेमा चासो राखेका छन् । अब रामचन्द्र पौडेलले म एकपटक कमान्ड लिन्छु, ड्राइभिङ सिटमा बस्छु भन्दा कसरी हेर्नुहुन्छ, यहाँहरूले ? यहाँहरूको समर्थन रहन्छ कि रहन्न ? 

यो त उहाँको लजिकल दाबी हो । यदि कसैले पनि दाबी गर्छ भने त्यो लजिकल नै हुन्छ । 

कसैले पनि गर्छ बराबर हो कि अलि स्पेसल हो, उहाँको दाबी ? 

हैन । राजनीतिमा कोही पनि स्पेसल हुँदैन । यसमा म स्पष्ट छु । उहाँ सम्मानित व्यक्ति हुनुहुन्छ । अखिर कांग्रेस र डेमोक्रेसीलाई यहाँसम्म ल्याउनेमा उहाँहरूकै भूमिका छ । मैले चलाउन सक्छु, उहाँ सक्नुहुन्न वा उहाँ चलाउन सक्नुहुन्छ, म चलाउन सक्दिनँ भन्ने होइन । म भनेको हामी हो । उहाँ सम्मानित हुनुहुन्छ, सम्मान गर्छौं । उठ्छु भन्नुहुन्छ भने नउठ्नुस् मैले त भन्दिनँ । भन्न सक्दिनँ । तर, संसार कहाँ पुगिसक्यो भन्ने कुरा सबैले बुझ्नुपर्छ । 

कांग्रेसमा कोइराला परिवारको उत्तराधिकारी को हो भन्ने प्रश्न सधैँ अहम् हुँदै आएको छ । अनौठो के भने दल कुन हो भनेर हेर्ने, गुट कुन हो भनेर खोज्ने, परिवार को हो भनेर रोज्ने र परिवारभित्र पनि खास कसको छोरो को हो भनेर डिएनए नै जाँच गर्ने प्रवृत्ति छ नि, यो कस्तो खालको लोकतन्त्र हो ? यो त राणाशासनमा रोलवाला १७ भाइको कथा जस्तो भएन र ? 

यो डेमोक्रेसीका लागि खतरा हो । डेमोक्रेसीमा पार्टी हुन्छन्, पार्टीभित्र गुट हुन्छन् । बिपी कोइराला हुँदा पनि विचारका गुट थिए । बिपीसँग गणेशमानजीका कतिपय विचार मिल्दैनथे । तर, गणेशमानजी सँगै हिँड्नुहुन्थ्यो । र, गणेशमानजीले कहिल्यै केही माग्दा पनि माग्नुभएन, भन्दा पनि भन्नुभएन, बिपीले जे भन्नुभयो, त्यही गरेर हिँड्नुभयो । तर, म एउटा घटना सम्झन्छु, बिपी सशस्त्र क्रान्ति गर्नुपर्छ भनीकन हतियार संकलन गर्न थाल्नुभयो, भारतमा । अनि भारतमै हुँदा सुवर्णजी भारत र राजासँग मेलमिलाप गरेर अघि बढ्नुपर्छ भन्ने विचार राख्नुहुन्थ्यो । किसुनजी नख्खु जेलमा हुनुहुन्थ्यो, उहाँचाहिँ म राजासँग पनि संवाद गर्दिनँ र भारत पनि जान्नँ भनेर बस्नुभएको थियो । उहाँले यहीँ सत्याग्रह गर्छु भन्नुभएको थियो । सबैको विचार फरक थियो नि, तर नेताहरूबीच सम्मान थियो । अहिले त्यो विषयमा हामीमा कमजोरी भइरहेको छ । हामी त सबै विषय छाडेर कहिले नेकपा फुट्छ अनि सरकारमा गएर राज गरौँला भनेर बसे जस्ता भएका छौँ । अहिले को सभापति हुन्छ भन्ने विषय प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्छ । तर, महाधिवेशनपछि सबैको भूमिका सम्मानजनक हुन्छ । महाधिवेशनपछि देउवा र रामचन्द्रजीको भूमिका पनि ‘भाइटल’ हुन्छ । 

यसलाई अझ स्पष्ट पार्ने कोसिस गरौँ, तपाईंंले सभापतिमा दाबी गर्नुभएको छ । अहिले महामन्त्री शशांकले पनि सभापतिमै दाबी गर्नुभएको छ । कोइराला परिवारको तर्फबाटै को उम्मेदवार हुने भन्ने प्रश्न पनि दुनियाँले प्रतीक्षा गरिरहेको छ नि !

हामी छलफल गरिरहेका छौँ । अहिले टुंगो लागेको छैन । शशांक र म मात्रै पनि हैन । कोइराला परिवारले मात्रै कांग्रेसलाई अगाडि लैजान्छ भन्ने सोच्नुहुन्छ भने त्यो पनि गलत हो । यत्रा मानिसले योगदान गरेका छन्, यत्रा मानिसले सहादत प्राप्त गरेका छन्, अनि कोइराला परिवारको मात्रै चर्चा किन ? हामीले राजनीतिक नेतृत्वको दाबी गर्ने हो । अहिलेको नेतृत्वसँग लड्न सकिन्छ, कांग्रेसलाई अगाडि बढाउन सकिन्छ भन्ने आत्मविश्वास मसँग छ । म विश्वस्त छु । अहिले मिडियामा के छ, नेता कार्यकर्ताको बुझाइ के छ, महासमिति सदस्यहरू के भनिरहेका छन्, त्यो त मैले बुझेको छु नि त !

म उपसभापति वा महामन्त्रीको उम्मेदवारचाहिँ होइन । र, म एकपटकका लागि मात्र सभापति हुने हो । म त सभापति र संसदीय दलको नेतासमेत एकै व्यक्ति हुनुहुँदैन, फरक–फरक व्यक्ति हुनुपर्छ भन्ने व्यक्ति हुँ, त्यसका लागि पनि म प्रतिबद्ध छु ।

एकातिर तपाईंहरूले नै दल र देशको नेतृत्व कसरी गर्ने भनेर पार्टीभित्र संघर्ष गरिरहनुभएको छ, अर्कोतिर नयाँ पुस्ता अब हामीले गर्ने हो भनेर प्रखर रूपमा आइरहेको छ ? खासमा कांग्रेस कतिसम्म परिवर्तन गर्न तयार छ ? 

तपाईंंहरूले पनि मार्क गर्नुभएको होला, कांग्रेस अलि परम्परागत पार्टी छ । हामी पाकाहरू भन्छौँ, गर्ने हामीले नै हो भनेर । अनि युवाले भन्छन्, अब त युवाको जमाना आयो । मैले चाहिँ के सोचेको छु भने यसरी हुँदैन । पाकाको अनुभव र युवाको ऊर्जा, त्यसलाई मैले ‘अनुर्जा’ भन्ने शब्द बनाएको छु । हामीले अनुर्जालाई क्यास गर्नुप¥यो । अनुभव जसको छ, उसले पोलिसी बनाउने र त्यो पोलिसीलाई लागू गर्न त गाउँ–गाउँ जानुपर्‍यो, त्यसमा चाहिँ युवालाई प्रोत्साहन गरेर अगाडि बढाउने । स्थानीय तहमा ६० प्रतिशत भूमिका युवालाई दिने भन्ने मेरो नीति छ । त्यस्तै, प्रदेशमा कम्तीमा पनि ५० प्रतिशत र केन्द्रमा ४० प्रतिशत युवालाई नेतृत्वमा सामेल गराउने । ४०, ५०, ६० प्रतिशत युवालाई सामेल गराएर अघि बढाउने मेरो सोच हो । त्यसमा महिला पनि आउँछन् । र, यसरी युवा र महिलालाई अगाडि बढाएर पार्टीलाई मजबुत बनाउन सकिन्छ । 

सार्थक नेतृत्वका लागि स्पष्ट नीति आवश्यक पर्छ, तर कांग्रेसमा नीतिको विषयमा बहस देखिँदैन । महाधिवेशन पनि परम्परा पूरा गर्ने मात्र जस्तो देखिन्छ । संवैधानिक बाध्यता हुँदैनथ्यो भने कांग्रेसले महाधिवेशनको कर्मकाण्ड पनि पूरा गर्ने थिएन जस्तो लाग्छ । यसपालिको महाधिवेशन नेता छान्नेबाहेक नीतिको विषयमा कसरी फरक हुन्छ ? त्यही कर्मकाण्ड पनि कोरोना महामारीका कारण हुन सक्छ कि सक्दैन ? शंका छ नि । 

इच्छाशक्ति छ भने अहिले पनि गर्न सकिन्छ । संसदीय निर्वाचनपछि लगत्तै हामी अधिवेशनउन्मुख भएको भए आज यो समस्यै आउँदैनथ्यो । कांग्रेस एकदमै ऊर्जावान् भएर अगाडि जान्थ्यो । जोसुकै सभापति हुन्थ्यो, तर पार्टी ऊर्जावान् भएर अगाडि जान्थ्यो । तर, त्यो हुन सकेन । फागुनमा हुन्छ–हुँदैन भनेर तपाईंले ठ्याक्कै सोध्नुभयो भने त्यो विषयमा केन्द्रीय कार्यसमितिको आगामी बैठकमा छलफल हुन्छ । अनि यसपटकको महाधिवेशन मुद्दामा केन्द्रित हुन्छ । देशको जुन परिस्थिति छ, यसलाई आन्तरिक भनौँ या बाह्य परिस्थितिले गिजोलिएको छ, सँगसँगै सुशासनका मुद्दा छन्, भ्रष्टाचारका मुद्दा छन् । यी मुद्दा एकदम संवेदनशील रूपमा उठ्छन् । र, यी मुद्दाले नै महाधिवेशनलाई मार्गदर्शन गर्छ । 

कांग्रेसमा एउटा प्रभावशाली ‘फ्याक्टर’ कृष्ण सिटौला पनि हुनुहुन्छ । उहाँसँग चाहिँ तपाईंंको संवाद छ कि छैन ? 

उहाँसँग पनि संवादमै छु । अहिलेको महाधिवेशनको विषयमा कसरी एक–अर्कालाई सहयोग गर्न सकिन्छ भनेर छलफल भइरहेको छ । हामीबीचमा सहकार्यको सम्भावना पनि छ । राजनीति भनेकै सम्भावनाको खेल हो नि । 

तपाईंं नेपाल–भारत सम्बन्धको विषयमा पनि राम्रो ज्ञान राख्नुहुन्छ । हालै भारतको गुप्तचर संस्था ‘रअ’का प्रमुख आएर प्रधानमन्त्रीलाई भेटेर गए । यसलाई तपाईंंले कसरी लिनुभएको छ ? 

यसमा मलाई त कहाँनेर अप्ठ्यारो लागिरहेको छ भने सुरुमा तपाईंहरूको पत्रिकालगायत विभिन्न मिडियामा समाचार आयो । प्रधानमन्त्रीजीको प्रेस सल्लाहकारले शिष्टाचार भेट हो भन्नुभयो । परराष्ट्र मन्त्रालयबाट थाहा छैन भनेर प्रतिक्रिया आउँछ । त्यसपछि परराष्ट्रमन्त्रीजीले भन्नुहुन्छ, भारतका प्रधानमन्त्रीको विशेष दूत भएर आउनुभएको भनेर । समस्या सरकारभित्रै हो या त प्रधानमन्त्री कार्यालयभित्रैको हो । राजनीतिज्ञ आएका उदाहरण प्रशस्त छन्, गुप्तचरका प्रमुख यसरी आएको मलाई थाहा छैन । यसमा दुई–तीनवटा कुरा हामीले सोच्नुपर्नेछ । उहाँहरू लिपुलेक, लिम्पियाधुराको कुरा लिएर आउनुभएको हो भने के कुरा भयो भन्ने त देशले जान्नुपर्‍यो । अर्को, चीन र भारतको सम्बन्धका विषयमा छलफल भएको हो भने पनि के भएको हो, देशले थाहा पाउनुपर्छ । गुप्तचर प्रमुखलाई किन, कसरी पठाइयो ? हाम्रै प्रधानमन्त्रीले दूत पठाइदिनुस् भन्नुभएको पनि होला । योभन्दा १५ दिनअगाडि रअका डेपुटी आउनुभएको भन्ने पनि छ । जे विषय हो, यो प्रधानमन्त्रीको निजी मामिला होइन । देशले जान्न पाउनुपर्छ । प्रधानमन्त्रीजीले जवाफ दिनुपर्छ । हामीले बाध्य पार्नुपर्छ । भोलि संसद् चलेपछि संसद् अवरुद्ध गरेर भए पनि यो विषयमा उहाँलाई बोल्न लगाउनुपर्छ । 

तर, स्वयं कांग्रेस सभापति देउवाले पनि भेट्नुभयो भनेर चर्चा आयो नि ! 

पहिलो विषय त हाम्रो सभापतिले भेटेको होइन भनेर स्पष्ट पारिसक्नुभयो । अर्को विषय, शेरबहादुरजीले भेटेको भए मात्र हामीले प्रश्न गर्ने, उहाँले नभेटेपछि यो मुद्दा हुने होइन । उहाँले भेटे पनि नभेटे पनि यो विषय त देशका लागि सिरियस मुद्दा हो । 

ad
ad