१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o२:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भारतीय सेनाध्यक्ष नरभणे आज आउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o२:३o:oo

भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे तीनदिने औपचारिक भ्रमणमा बुधबार काठमाडौं आउँदै छन् । नेपाल आउनुअघि मंगलबार उनले नेपाली सेनासँग सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । 

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्यीय प्रतिनिधिमण्डलसहित नरभणे भारतीय वायुसेनाको विशेष विमानबाट काठमाडौं उत्रिनेछन् । उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् । 

नरभणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गर्ने कार्यक्रम छ । त्यही दिन उनले राष्ट्रपति भण्डारीसँग र स्वदेश फर्किनुअघि शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

नरभणेले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षकी पत्नी एवं त्यहाँको सैनिक श्रीमती कल्याण संघकी अध्यक्ष विना नरभणेले प्रधानसेनापति थापापत्नी एवं सैनिक श्रीमती संघका अध्यक्ष दीपा थापासँग बेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय स्थल सेनाध्यक्ष नरभणेले शुक्रबार शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सैनिक अधिकारीलाई सम्बोधन गर्नेछन् ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले नरभणेको भ्रमण नियमित तथा परम्पराको निरन्तरता भएको बताए । उनका अनुसार बिहीबार प्रधानसेनापतिसँग हुने द्विपक्षीय भेटका क्रममा मोबाइल अस्पताल, एम्बुलेन्सलगायत सामग्री भारतीय सेनाध्यक्षबाट हस्तान्तरण हुने कार्यक्रम छ । 

भारतको समाचार एजेन्सी एएनआईलाई मंगलबार प्रतिक्रिया दिँदै सेनाध्यक्ष नरभणेले नेपाल भ्रमण गर्न लागेकोमा आफू खुसी रहेको भन्दै समकक्षी प्रधानसेनापति थापासहित सबैमा आभार व्यक्त गरेका छन् । ‘नेपाल भ्रमणमा जाने र मेरा नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापासँग भेट्ने अवसरका लागि म ज्यादै खुसी छु,’ नरभणेले भनेका छन्, ‘दुई सेनाबीचको सम्बन्ध र मित्रता थप सुदृढ गर्न मेरो भ्रमणले लामो मार्ग तय गर्नेछ भन्नेमा म ढुक्क छु ।’ 

नरभणेले प्रधानमन्त्री केपी ओलीसँग हुने भेटका लागि पनि आभार व्यक्त गरेका छन् । ‘नेपालका प्रधानमन्त्रीसँग भेट्ने अवसरका लागि पनि म आभारी छु । नेपालका राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथी पदबाट विभूषित हुने विषय मेरा लागि ठूलो सम्मान हो,’ उनले भनेका छन् ।

मंगलबार नै भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले जारी गरेको प्रेस नोटमा दुई देशबीच रक्षा साझेदारी बढाउने विषयमा छलफल गर्ने गरी सेनाध्यक्ष नरभणेको भ्रमण हुन लागेको उल्लेख छ । ‘सेनाध्यक्षको भ्रमणले द्विपक्षीय प्रतिरक्षा साझेदारीबारे छलफल गर्न तथा पारस्परिक लाभका निम्ति मार्गहरू प्रशस्त गरी यसलाई अझ मजबुत बनाउन अवसर प्रदान गर्नेछ,’ प्रेस नोटमा भनिएको छ । 

ad
ad