१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o५:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

१२ दिनमा ओली–प्रचण्ड भेट,  तर तय भएन सचिवालय बैठक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:१८:oo

सरकार र पार्टीभित्रका दर्जनौँ मुद्दा किनारा लगाउँदै तिक्ततापूर्ण मनमुटावमा उत्रेका नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच १२औँ दिनमा भेट भएको छ । कर्णाली विवाद समाधानबारे ४ कात्तिकको बिहान भेट र साँझ टेलिफोनमा तिक्ततापूर्ण संवाद गरेका ओली–प्रचण्डबीच मनमुटाव बढेको थियो । तर, शनिबार भएको संवादमा सचिवालय बैठक बोलाउने विषयमा भने ठोस सहमति भएको छैन । 

भेटमा प्रचण्डले पार्टीभित्र देखापरेका पछिल्ला समस्या र असमझदारीका विषयमाथि केन्द्रीय सचिवालय बैठकमा छलफल गर्न प्रस्ताव गरेका छन् । कर्णाली प्रदेशको समस्या, भारतीय गुप्चतर निकाय ‘रअ’का प्रमुख सामन्त गोयलको नेपाल भ्रमण, पर्सा झडपमा मुकेश चौरसियाको हत्या तथा कोभिड– १९ को समस्याका विषयमा केन्द्रीय सचिवालय बैठकको एजेन्डा बनाएर छलफल गर्नुपर्ने प्रचण्डको प्रस्ताव थियो । 

तर, प्रचण्डको त्यस्तो प्रस्तावप्रति प्रधानमन्त्री ओलीले ठोस जवाफ नदिएको उनीनिकट एक नेताले बताएका छन् । ‘पार्टीभित्र उत्पन्न पछिल्लो समस्या र केही आशंकासहित विवादास्पद बनेका पछिल्ला घटनाक्रमसँग जोडिएका विषयलाई भेटमा उहाँले सचिवालयमै छलफल गर्न प्रस्ताव गर्नुभयो,’ प्रचण्डलाई उद्धृत गर्दै उनीनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘तर, सचिवालय बैठक कहिले बस्ने र के–के विषयमा छलफल गर्ने विषयमा प्रधानमन्त्रीको तर्फबाट कुनै ठोस जवाफ आएको छैन ।’ 

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्षबीच पछिल्ला घटनाक्रमसहित समसामयिक विषयमै छलफल भएको जानकारी दिए । ‘अहिलेको समसामयिक विभिन्न सन्दर्भलाई लिएर उहाँहरूबीच भेटघाट भयो । शुक्रबारसम्म अर्का अध्यक्ष आइसोलेसनमा बस्नुभएकाले टेलिफोनमा मात्र कुराकानी भइरहेको थियो, त्यसैले शनिबार उहाँहरूबीच भेटघाट भयो र फेरि पनि भेटौँला भनेर छुट्नुभयो,’ नेम्वाङले नयाँ पत्रिकासँग भने । उनले पछिल्ला घटनाक्रमका विषयमा दुई अध्यक्षबीच निरन्तर संवाद चल्नेसमेत जानकारी दिए । 

प्रचण्डसँगको छलफललगत्तै महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता नेम्वाङले प्रधानमन्त्री ओलीसँग बेग्लै छलफल गरेका थिए । गत ४ कात्तिकमा कर्णाली प्रदेशको विवाद समाधानबारे ओली र प्रचण्डका तर्फबाट अलग–अलग प्रेस नोट जारी भएपछि तिक्त बनेको सम्बन्ध संवादहीनतामा रूपान्तरित भएपछि उपनेता नेम्वाङसहित महासचिव पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल संवाद जोड्न सक्रिय भएका थिए ।

२६ भदौमा सम्पन्न स्थायी समिति बैठकको निर्णय कार्यान्वयनका विषयमा केन्द्रित रहेर एक महिनासम्म लगातार भेटवार्ता र छलफल भए पनि कर्णाली प्रदेशको समस्या, मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरूको नियुक्तिलगत्तै सम्बन्ध तिक्त बनेपछि ओली–प्रचण्डले भेटघाट र छलफलको औचित्य नभएको भन्दै संवाद बन्द गरेका थिए । तर, नेम्वाङसहितका नेताहरूको सक्रियतासँगै ओली र प्रचण्डबीच ११ दिनपछि भेटवार्ता भएको हो । 

छलफलमा प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुईपटक सचिवालय बैठक बोलाउन माग गरेको विषयसमेत जानकारी गराएका थिए । श्रेष्ठले गत १ र ९ कात्तिकमा कोभिड– १९, पर्सा झडप र कर्णाली प्रदेशमा उत्पन्न समस्यालगायत विषयमा छलफल गर्न माग गर्दै अध्यक्ष प्रचण्डमार्फत लिखित ध्यानाकर्षण गराएका छन् । कर्णाली विवाद, पर्सा घटना, भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख गोयलको नेपाल भ्रमणलगायत मुद्दामा नौ सदस्यीय सचिवालयमा वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच नेता एकैठाउँ छन् । नेपालसहित झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता श्रेष्ठले ती विषयमा छलफल गर्न छिटो सचिवालय बैठकका लागि पहल गर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

ad
ad