लमजुङका हरेक गाउँ–बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको छ । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका साथ पिङ हाल्ने र दसैँमा पिङ खेल्ने चलन विगतमा थियो । हिजोआज भने आधुनिक जीवनशैलीसँगै यस्ता संस्कृति बिस्तारै हराउँदै गएका छन् । संस्कृतिकै रूपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले चासो नदेखाएको बेसीसहर नगरपालिका– ११ का अर्जुन विक बताउँछन् ।
पिङ किशोर, युवादेखि वयस्कसम्म सबै मानिसको रुचिको विषय हो । उनले भने, ‘केही वर्षअघिसम्म टोलटोलमा पिङ हाल्ने चलन थियो । तर, अहिले गाउँमा एउटा पिङ पनि नदेख्दा चिन्ता लाग्यो ।’ विगतको समयमा समुदायका सबै जना जुटेर पिङ लगाएर मच्चाउँदै रमाइलो गरिने भए पनि आजभोलि लिंगेपिङ तथा रोटेपिङ लोप हुने अवस्थामा पुगेको सुन्दरबजार नगरपालिका– ८ भोटेओडारका डम्बरबहादुर अधिकारी बताउँछन् ।
‘पिङ खेल्ने रहर धेरै छ, रहर भएर मात्र के गर्नू, पिङ हाल्ने जनशक्तिसमेत गाउँमा पाउन छाडिसके,’ उनले गुनासो गरे । उनी भन्छन् ‘दसैँतिहारमा अनिवार्यजस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ ।’
नेपाली मौलिक परम्परा तथा संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्न नसक्दा आफैँले संस्कृतिको लोप भएको देख्नुपरेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।
उनले भने, ‘बेरोजगारीका कारण युवा गाउँमा नबस्दा पिङ बनाउने संस्कृतिसँगै बडादसैँका वेला गाउँका बाटा, पाटी पौवा, सार्वजनिक स्थल सरसफाइ गर्ने परम्परासमेत हराउँदै गएको छ । दसैँका वेलामा बस्तीका टोलटोलमा पिङ हाल्नका लागि आतुर हुने र खेल्नका लागि तछाडमछाड गर्ने देखिन्थ्यो, तर पछिल्ला वर्षमा युवा पुस्तालाई पिङप्रति चासो नै छैन ।’