Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १६ मंगलबार
  • Tuesday, 01 December, 2020
ad
२०७७ कार्तिक १३ बिहीबार ०१:४३:००
फ्रन्ट पेज प्रिन्ट संस्करण

कूटनीतिक संयन्त्र किनारामा, खुफिया र सेनाका हाकिमलाई स्वागत

२०७७ कार्तिक १३ बिहीबार ०१:४३:००

- कालापानीबारे नेपालले कसैको इसारामा बोल्दै छ भन्ने भारतीय सेना प्रमुख नरभणेको अभिव्यक्तिलाई तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले लज्जास्पद र निन्दनीय भनेका थिए, पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट अलग गरेर प्रधानमन्त्री ओलीले नरभणेलाई न्यानो स्वागतको तयारी गरेका छन् । 

.....................

भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयल आएको दुई साताभित्रै भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे काठमाडौं आउँदै छन् । नेपालसँग कूटनीतिक संवाद गर्न भारतले आलटाल गरिरहेको छ भने भारतीय खुफिया र सेनाका हाकिमहरूले काठमाडौंमा न्यानो स्वागत पाइरहेका छन् । 

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलका अनुसार नरभणे १९ कात्तिकमा काठमाडौं आइपुग्ने छन् । उनलाई २० कात्तिकमा नेपाली सेनाको मानार्थ महारथीको रूपमा राष्ट्रपति विद्या भण्डारीले सुशोभित गर्नेछिन् ।

भारतीय सेनाध्यक्षले सोही दिन राष्ट्रपति भण्डारीसँग शिष्टाचार वार्ता सम्पन्न गर्नेछन् । त्यस्तै उनले समकक्षी पूर्णचन्द्र थापासँग जंगी अड्डामा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय तथा एकान्त वार्ता गर्नेछन् । 

भोलिपल्ट स्वदेश फर्कने दिन उनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नेछन् भने शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा नेपाली सेनाका अधिकारीहरूलाई सम्बोधन पनि गर्नेछन् । त्यसक्रममा उनले अन्तर्राष्ट्रिय, क्षेत्रीय र नेपाल–भारत द्विपक्षीय सुरक्षा वातावरणबारे भारतको पछिल्लो धारणा राख्नेछन् । स्रोतका अनुसार सेनाध्यक्ष नरभणेमार्फत प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश आदान–प्रदान हुनेछ । 

सेनाध्यक्ष नरभणेको नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा गर्न मन्त्रिपरिषद्ले गत १० माघमै सेनालाई स्वीकृति दिएको थियो । उनी गत वैशाखमा नेपाल भ्रमणमा आउने तय भए पनि नेपाल–भारत तनाव तथा कोभिड– १९ को महामारीका कारण रोकिएको थियो ।

सन् २०१६ मा नेपालमा नाकाबन्दी हुँदा पनि तत्कालीन प्रधानमन्त्री ओलीले वार्ताका लागि सैनिक संयन्त्र अघि सारेका थिए । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको भारत भ्रमणका वेला २१ माघ ०७३ मा भारतले नेपालसँग सीमानाकाबाट अवरोध हटाएको थियो । लगत्तै प्रधानमन्त्री ओलीले फागुन पहिलो साता ०७३ मा भारतको राजकीय भ्रमण गरेका थिए । 

चार वर्षपछि फेरि रोकिएको संवाद खोल्न प्रधानमन्त्री ओलीले सुरक्षा संयन्त्रलाई नै अघि सारेका छन् । त्यही क्रममा उनले ‘रअ’ प्रमुखदेखि सेनाध्यक्षको भ्रमणलाई महत्व दिएका छन् । 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीको विश्वासमा प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाध्यक्षको भ्रमणको प्रयास गरेका थिए । नेपाली भूमि कालापानी, लिपुलेक क्षेत्रमा भारतले सडक खनेर उद्घाटन गरेपछि नेपाल–भारतबीचको संवादमा एक वर्षदेखि गतिरोध छ । यो विवाद चर्किएको वेला भारतीय सेनाध्यक्ष नरभणेले नेपालको विषयमा आपत्तिजनक बयान दिएका थिए । 

लिपुलेक क्षेत्रमा भारतले सडक खनेको विरोधमा नेपालले विरोध गरेपछि २ जेठमा भारतीय सेनाध्यक्ष नरभणेले ‘अरू कसैका लागि’ नेपालले लिपुलेक क्षेत्रमा दाबी गरेको टिप्पणी गरेका थिए । भारतको मनोहर पारिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसद्वारा आयोजित वेविनारमा सेनाध्यक्ष नरभणेको टिप्पणी थियो, ‘लिपुलेक सडकका सन्दर्भमा म कत्ति पनि विरोधाभास देख्दिनँ । कालीनदीभन्दा पश्चिममा हामीले सडक बनाएका छौँ । नेपालमा यसको किन विरोध भइरहेको छ, म जान्दिनँ । उनीहरूले यो विषय कसैका लागि उठाएका हुन्, यो सम्भावना म देख्छु । यो सडक करिडोरबारे विवाद छैन ।’ 

भारतीय सेनाध्यक्षको अभिव्यक्तिमा नेपालका तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले खरो टिप्पणी गरेका थिए । राससले पोखरेलसँग लिएको अन्तर्वार्ता ९ जेठमा द राइजिङ नेपालमा प्रकाशित भएको थियो जहाँ उनले भनेका थिए, ‘भारतीय राज्य पक्षका प्रतिक्रिया लाजमर्दो अवस्थामा आएको देखिन्छ । जुनसुकै पृष्ठभूमि र परिस्थितिमा आधारित भए पनि त्यस्ता वक्तव्यहरू सार्वभौम र स्वतन्त्र नेपाल र गौरवशाली नेपालीलाई अपमान गर्ने प्रयास हो । यो निन्दनीय छ ।’

भारतीय सेनाध्यक्षको टिप्पणीलाई भारतीय सेनामा कार्यरत गोर्खा सैनिकले समेत विरोध गर्ने दाबी पोखरेलको थियो । उनले भने, ‘भारतीय सेना प्रमुखले नेपाली गोर्खा सेनाका जवानहरूको भावनामा पनि चोट पु¥याएका छन्, जसले भारतको सुरक्षाका लागि आफ्नो ज्यानसमेत दिएका छन् । अब उनीहरूलाई गोर्खा सैनिकका अगाडि उभिन कठिन छ । गोर्खा सैनिकले यो पनि भन्नेछन् कि नेपालीहरू हृदयबाट बोलेका छन्, बोल्नलाई कसैले उक्साउन पर्दैन ।’ 

तर, नरभणे आउनुअघि पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट अलग गराएर प्रधानमन्त्री ओलीले आफू न्यानो स्वागतका लागि तयार भएको सन्देश दिएका छन् । अहिले रक्षा मन्त्रालय मात्र होइन, नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग पनि सीधै प्रधानमन्त्रीमातहत छ । त्यसैले उनले ‘रअ’ प्रमुखलाई पनि बालुवाटारमा स्वागत गरिसकेका छन् । 

सेनाध्यक्ष नरभणेले नेपाल भ्रमणमा आउनुअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नेछन् । उनले मोदीको सन्देश लिएर आउने अपेक्षा गरिएको छ । ‘यतिवेला हाम्रो नेतृत्वले भारतको राजनीतिक नेतृत्वलाई सेनाध्यक्षमार्फत राजनीतिक सन्देश पठाउने उपयुक्त मौका आएको छ, यसलाई नेपालले सदुपयोग गर्नुपर्छ । भारतीय सेनाध्यक्षको भ्रमणलाई सैन्य हिसाबले मात्र होइन, राजनीतिक र कूटनीतिक हिसाबबाट नेपालको हितमा भरपुर उपयोग गर्नुपर्छ,’ नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातले नयाँ पत्रिकासँग भने । उनले नेपाल र भारत दुवैले एक–अर्काको सुरक्षा एवं सामरिक चासो र संवेदनशीलता बुझ्ने अवसरमा पनि यो भ्रमणलाई सक्दो उपयोग गर्नुपर्ने सुझाब दिए । 

उता कूटनीतिक क्षेत्रका ज्ञाताहरू भने राजनीतिक तथा कूटनीतिक संवाद रोकेर ‘रअ’ प्रमुखलाई स्वागत गर्ने नेपालको कदमलाई अस्वाभाविक र अपरिपक्व भन्छन् । ‘नेपाल र भारतबीच सम्बन्ध सहज बनाउनुपर्छ । त्यसका लागि दुई देशका कूटनीतिक संयन्त्र सक्रिय हुनुपर्छ । खासमा प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयलाई खल्तीको खेलौना बनाएका छन्,’ पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी भन्छन्, ‘भारतका स्थल सेनाध्यक्षको भ्रमणलाई स्वाभाविक रूपमै लिनुपर्छ । दुईपक्षीय रूपमा नै यो भ्रमण हुँदै आएको छ । तर, खुफिया एजेन्सीका प्रमुखको भ्रमण अस्वाभाविक हो । औपचारिक विधि–प्रक्रियाविना प्रधानमन्त्रीले मध्यरातमा किन भेट्नुप¥यो ? वास्तवमा यो गम्भीर प्रश्न हो ।’ 

त्यस्तै, भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय त प्रधानमन्त्री केपी ओलीको अपरिपक्व शैलीले विदेश मामिलामा देशलाई क्षति भइरहेको बताउँछन् । ‘दुई देशबीच संवाद गर्ने कूटनीतिक च्यानल पर्याप्त छन् । दिल्लीमा मन्त्रीस्तरीय सुविधा लिएका राजदूत छन् । नेपालमा पनि भारतीय प्रधानमन्त्रीसँग निकट सम्पर्क÷सम्बन्ध भएका राजदूत छन् । राजनीतिक च्यानलहरू प्रशस्त छन्,’ उनी भन्छन्, ‘यो हुँदाहुँदै प्रधानमन्त्रीले मध्यरातमा भारतको गुप्तचर निकायका प्रमुखलाई लुकेर भेट्नुपर्ने अवस्था किन आयो ? तीन दिनपछि परराष्ट्रमन्त्रीले राष्ट्रलाई ढाँट्नुपर्ने अवस्था किन आयो ? यो अत्यन्त विडम्बनापूर्ण छ ।’

अहिले भारतीय स्थल सेनाध्यक्षको भ्रमणको समय पनि उपयुक्त नभएको उपाध्यायको कथन छ । ‘कूटनीतिक तहमा संवाद सुरु गरेपछि यो भ्रमण गर्दा अर्कै सन्देश जान्थ्यो । तर, यहाँ प्रधानमन्त्रीले लहडमा राज्य सञ्चालन गरिरहेका छन्, कूटनीति पनि अपरिपक्व ढंगले सञ्चालन गरिरहेका छन् । सारा अधिकार आफूमा केन्द्रीकृत गर्ने, तर सबै काम लहडमा गर्ने रबैयाले देशलाई घाटा भएको छ,’ उपाध्याय भन्छन् । 

त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेता डा. प्रकाशशरण महत भारतीय सेनाध्यक्षको भ्रमणको विषयमा सरकारले प्रतिपक्षलाई कुनै जानकारी नदिएको बताउँछन् । भन्छन्, ‘भारतीय सेनाध्यक्षको भ्रमण नियमित र पारम्परिक भनिएको छ । तर, यो भ्रमण नियमितभन्दा विशेष खालको छ कि छैन, सरकारले हामीलाई जानकारी दिएको छैन । प्रमुख प्रतिपक्षका रूपमा हामीलाई थाहा छैन ।’

खासमा भारत र चीन दुवैसँग सरकारले परिपक्व व्यवहार गर्न नसकेको डा. महतका भनाइ छ । ‘सरकार सार्वजनिक खपतका लागि प्रतिक्रिया दिने भूमिकामा सीमित छ । औपचारिक कूटनीतिक च्यानल बाइपास भएको छ । अझ, ‘रअ’ प्रमुखसँग भेटेपछि प्रधानमन्त्रीले पुरानै नक्सा राखेर दसैँको शुभकामना दिनुभयो । त्यति मात्र होइन, सरकार आफैँले लिम्पियाधुरा समेटिएको पाठ्यपुस्तक वितरणमा रोक लगाएको छ, यो विडम्बना हो ।’

छुटाउनुभयो की ?