मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पर्सा विन्दबासिनी पसौलीमा ६ कात्तिकमा नेकपा कार्यकर्ताबीच भएको झडप
टेकराज थामी काठमाडौं
तिवारी यादव वीरगन्ज
२०७७ कार्तिक १३ बिहीबार ०१:२२:००
Read Time : > 8 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कर्णालीपछि प्रदेश–२ मा सर्‍याे नेकपा विवाद : दुईपक्षीय झडपमा कार्यकर्ताको हत्यापछि चर्को ध्रुवीकरण

Read Time : > 8 मिनेट
२०७७ कार्तिक १३ बिहीबार ०१:२२:००

प्रदेश–२ का गाउँपालिकामा पार्टी कमिटी गठन र सपथ ग्रहण विवाद चर्किँदै जाँदा नेकपाका केन्द्रीय नेताबीच पनि रस्साकस्सी देखिन थालेको छ

कर्णालीमा मुख्यमन्त्रीविरुद्ध पार्टीभित्रैबाट अविश्वास प्रस्तावले जन्मिएको विवाद थाती रहँदा नेकपा प्रदेश–२ मा पनि तनाव सुरु भएको छ । प्रदेश–२ मा यसअघि नै चर्किएको गुटबन्दीले पर्सा बिन्दबासिनीमा भएको झडपमा पार्टी कार्यकर्ता मुकेश चौरसियाको मृत्युपछि नेकपाभित्रको विवाद ध्रुवीकृत भएको छ ।

६ कात्तिकमा बिन्दबासिनी गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच झडप हुँदा चौरसियाको उपचार क्रममा न्युरो अस्पताल वीरगन्जमा मृत्यु भयो भने अन्य आठजना घाइते भए । मृतक चौरसिया जिल्ला कमिटी सदस्य तथा गाउँपालिका कमिटी सचिव हुन् ।

घटनापछि मृतकको परिवारले तत्कालीन संविधानसभा सदस्य तथा नेकपा पर्सा जिल्ला कमिटी सदस्य राजकुमार गुप्तालाई मुख्य योजनाकार बनाएर १२ जनाविरुद्ध किटानी जाहेरी दिने प्रयास गर्‍यो । तर, जिल्ला प्रहरी कार्यालय, पर्साले जाहेरी दर्ता गरेन, जसकारण नेकपाभित्र दुई समूहको अन्तरविरोध झन् चर्किएको छ । जाहेरी दर्ता नभएसम्म परिवारले चौरसियाको शव बुझ्न मानेको छैन ।

चर्को राजनीतिक दाउपेच

घटनामा राजनीतिक दाउपेच धेरै भएको छ । घटनापछि प्रचण्ड–नेपाल समूहले राज्यसत्ताको दुरुपयोग गरेर हत्यारालाई जोगाउन खोजेको आरोप लगाएको छ । र, दोषीमाथि कडा कारबाही माग गर्दै आएको छ । ओली समूहले घटनास्थलमै नभएका तत्कालीन संविधानसभा सदस्य गुप्तालाई योजनाबद्ध रूपमा फसाउन खोजिएको आरोप लगाएको छ ।

पार्टी जिल्ला नेतृत्वलाई जानकारी नै नदिई आफ्नो समूहलाई बाइपास गर्दै शपथग्रहण कार्यक्रम गराउने प्रदेश सह–इन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र शाह तेलीलगायत व्यक्ति झडपको दोषी भएको बताउँदै ओली समूहले घटनालाई प्रतिशोधको माध्यम बनाउन खोजेको आरोप लगाएको छ । दुई समूहबीच आरोप–प्रत्यारोप चलिरहँदा मृतक परिवारले राहत महसुस गर्ने गरी प्रहरीले दोषीलाई पक्राउ गरी कारबाही अगाडि नबढाउँदा पर्सा घटनाले नेकपाको शीर्ष तहमै विवाद र तिक्तता बढाएको छ ।

अध्यक्ष प्रचण्डले ९ कात्तिक र वरिष्ठ नेता नेपालले ७ कात्तिकमा छुट्टाछुट्टै विज्ञप्तिमार्फत दोषीमाथि तत्काल कारबाही माग गरेका छन् । ‘शपथग्रहणमा केही अवाञ्छित तत्वको आक्रमणमा परी पार्टी जिल्ला सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएको कुरा सर्वविदितै छ । पार्टी जिल्ला इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्र्सना गर्दै चौरसियालाई सहिद घोषणा तथा हत्यारालाई कडा कारबाही माग गर्दै वक्तव्य जारी भएको पनि विदितै छ,’ प्रचण्डको विज्ञप्तिमा भनिएको छ, ‘म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले उक्त वक्तव्यको समर्थन गर्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्छु ।’

यस्तै, नेपालले सम्बन्धित निकायले हत्याजस्तो जघन्य अपराधको मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय भएको उल्लेख गरेका छन् । ‘हत्याजस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गर्छु,’ नेपालको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा पर्साका नेताबीच आन्तरिक विवादका कारण केही सातायता अलग–अलग शपथग्रहण कार्यक्रम हुँदै आएका थिए । आमन्त्रित केन्द्रीय सदस्य निर्मला देवकोटा, प्रदेश सह–इन्चार्ज विजय महतो र केन्द्रीय सदस्य उर्मिला अर्याललगायत नेता गाउँपालिका कमिटीका कार्यक्रममा प्रमुख अतिथि बन्ने गरेका थिए ।

पर्सा विन्दबासिनी पसौलीमा ६ कात्तिकमा नेकपा कार्यकर्ताबीच भएको झडप ।

सरकारको दबाबमा प्रहरीले जाहेरी नलिएको आरोप

सरकारको दबाबमा जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्तले जाहेरी लिन नमानेको आरोप प्रचण्ड–नेपाल समूहले लगाएको छ । ‘एसपीले अमुक व्यक्तिको नाम हटाउनुस्, अमुक व्यक्तिको नाम राख्नुस् भन्दा के अर्थ लाग्छ ? तर, मृतकको परिवारले जाहेरीमा उल्लेख भएअनुसार दर्ता हुनुपर्छ भन्ने अडानका कारण लास उठ्न सकेको छैन,’ नेकपा प्रदेश सह–इन्चार्ज चौधरीले नयाँ पत्रिकासँग भने, ‘मृतकको परिवारको किटानी जाहेरी दरखास्त लिएर निर्दोष हो भने छानबिनबाट पत्ता लाग्ने भएकाले अपराधीलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

पार्टीमै नरहेका व्यक्तिले कार्यक्रमस्थलमा प्रवेश गरी ब्यानर च्यात्न थालेपछि आयोजकले प्रतिवाद गर्दा हातहतियारसहित आक्रमण भएको दाबी उनको छ । ‘राजनीतिक व्यक्ति भए आपत्तिसम्म जनाउँथे होलान्, छलफल गर्न खोज्थे, बढी भए सामान्य हातपातसम्म हुन्थ्यो होला,’ चौधरीले भने, ‘तर, त्यहाँ सीधै कार्यक्रमस्थलमा प्रवेश गरेर ब्यानर च्यात्ने, हातहतियारले आक्रमण गरेर हत्यासम्मको घटना भयो, अपराधीलाई तत्काल कारबाही हुनुपर्छ ।’

जिल्ला प्रशासन कार्यालयमा प्रदेश–२ का डिआइजी र प्रमुख जिल्ला अधिकारीले जाहेरी लिएर दोषीमाथि कारबाही अगाडि बढाउन निर्देशन दिएपछि एसपी पन्तले सार्वजनिक प्रतिबद्धता जनाइसकेर पनि फर्किने क्रममा सरकारको उच्चस्तरको दबाबमा मुद्दा अगाडि नबढाएको प्रचण्ड–नेपाल समूहको आरोप छ ।

ओली समूहले भने अन्य गाउँपालिकामा पार्टी जिल्ला कमिटीको निर्णय र जिल्ला नेतृत्वको परामर्शमा शपथ कार्यक्रम सम्पन्न भए पनि बिन्दबासिनीमा प्रक्रिया नपु¥याई एकलौटी गर्न खोज्दा पार्टीले आफूहरूलाई बाइपास गरेको महसुस गरेकाहरूको आक्रोशका कारण झडप भएको बताएको छ । प्रधानमन्त्री ओलीनिकट प्रदेश इन्चार्ज सत्यनारायण मण्डलले अर्को समूहले घटनास्थलमै नरहेका पूर्वसांसद गुप्तालाई फसाउने षड्यन्त्र गरेको आरोप लगाए ।

‘अरू गाउँपालिकामा जिल्ला कमिटीको निर्णयमा मात्र शपथ कार्यक्रम भएको थियो । तर, बिन्दबासिनीमा प्रदेश सह–इन्चार्ज नागेन्द्र चौधरी र जिल्ला इन्चार्ज रामचन्द्र शाह तेली नै मूल आयोजकजस्तो बन्नुभएछ । र, अझ लाठी तयार गरेर एक पक्षलाई बोलाउने, अर्को पक्षलाई नबोलाउनेसम्म भएछ,’ मण्डलले भने, ‘यो अवस्थामा त्यही गाउँका कार्यकर्ता टुलुटुलु हेरेर बस्ने स्थिति भएन । त्यही क्रममा कार्यक्रममा जानेहरूले किन खबर भएन भन्दा भनाभन भएछ । झडपपछि घटनास्थलमै उपस्थित नभएका पूर्वसांसद गुप्तालाई दोषी देखाएर जाहेरी दिन खोजिएको छ । यो फसाउने निकृष्ट षड्यन्त्र हो ।’

प्रदेश–२ मा ओली र प्रचण्ड–नेपाल समूहबीच रस्साकस्सी

नेकपा प्रदेश–२ मा पार्टी एकीकरण प्रक्रियादेखि नै प्रधानमन्त्री ओली तथा प्रचण्ड–नेपाल समूहबीच विवाद छ । पूर्वमाओवादी समूहभित्रै स्पष्ट दुई गुट देखिएको छ । प्रदेश अध्यक्ष प्रभु शाह समूहले ओलीनिकट प्रदेश इन्चार्ज मण्डललाई साथ दिँदै आएको छ । स्थायी समिति सदस्य रघुवीर महासेठले पनि मण्डललाई समर्थन दिएका छन् ।

स्थायी समिति सदस्य मातृका यादवले भने नेपाल समूहका प्रदेश सह–इन्चार्ज चौधरीलाई साथ दिँदै आएका छन् । उनलाई पूर्वमाओवादी समूहकै केन्द्रीय सदस्यहरू विश्वनाथ शाह, उर्मिला अर्याल, रामचन्द्र झालगायत ठूलो समूहको साथ छ ।

प्रदेशका आठवटा जिल्ला कमिटी गठनमै विवाद देखिएको छ । सोही कारण बारा, पर्सा र सर्लाहीबाहेकका पाँच जिल्लाको शपथग्रहण कार्यक्रम रोकिँदै आएको छ । २४ भदौ ०७६ मा महोत्तरी बर्दिवासमा आयोजित सिराहा, सप्तरी, धनुषा र महोत्तरीको शपथग्रहण कार्यक्रममा ओली तथा प्रचण्ड–नेपाल समूहका नेता–कार्यकर्ताबीच झडप भएको थियो ।

असन्तुष्ट समूहका तर्फबाट १८ जना केन्द्रीय सदस्यले जिल्ला कमिटी एकीकरण मापदण्डविपरीत पार्टी सदस्यसमेत नरहेकाहरू पनि छानिएको, वरिष्ठलाई पन्छाइएको, साबिक जिल्ला कमिटी सदस्यलाई हटाइएको बताउँदै केन्द्रीय संगठन विभागमा उजुरी दिएका थिए । तर, उजुरी छानबिन किनारा नलागेका कारण प्रदेश–२ नेकपाको विवाद टुंगिनुको साटो पर्सा झडप र हत्यापछि झन् चर्किंदै गएको छ ।

यसैबीच, स्थायी समिति सदस्य मातृका यादवसहित प्रदेश–२ बाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै घटनाका दोषीलाई कडा कारबाही माग गरेका छन् । ‘घटनाको प्रकृति हेर्दा सुनियोजित देखिन्छ, हत्या गर्ने उद्देश्यसहित आक्रमण भएको प्रमाणित हुन्छ । दोषीलाई कडाभन्दा कडा कारबाही हुुनपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जाहेरीसमेत नलिएर प्रहरीले कानुनी राज्यको खिल्ली उडाएको छ । प्रहरी आफ्नो कर्तव्यबाट च्यूत भएको छ । झन् जिल्ला प्रहरी प्रमुखबाट अमुक व्यक्तिको नाम राख्न र अमुक व्यक्तिको हटाऊ भनिनु अपराधलाई प्रश्रय दिएको देखिन्छ ।’

प्रहरीले किटानी जाहेरी नलिँदा प्रदर्शन

नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको बताउँदै पीडित पक्ष आन्दोलित बनेको छ ।

पार्टीका दुई पक्षबीच झडपमा मृत्य भएका चौरसियाका भाइ महेशले जिल्ला प्रहरी कार्यालय, पर्सामा शुक्रबार जाहेरी दिएका थिए । जाहेरीमा नेकपा जिल्ला सदस्य तथा तत्कालीन एमालेबाट संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जनाको नाम उल्लेख छ । नेकपा प्रदेश–२ सह–इन्चार्ज नागेन्द्र चौधरीले पीडित पक्षको किटानी जाहेरी लिन प्रहरी राजी नभएको बताए ।

‘एसपीले भनेअनुसार नै पीडित पक्षले किटानी जाहेरी दियो । सुरुमा दर्ता गर्न एसपी पनि राजी थिइन् । तर, पछि जाहेरी दर्ता हुन सकेन,’ चौधरीले भने, ‘किटानी जाहेरीमा नाम उल्लेख भएकाहरूविरुद्ध हामीसँग प्रमाण छन् । घटनाको अनुसन्धान त हुनुप¥यो नि । अनुसन्धानकै लागि भए पनि जाहेरी त लिनुप¥यो । यस्तो किन भइरहेछ, बुझ्न सकिएको छैन।’

(२) नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्नमाथि कारबाही माग गर्दै बुधबार वीरगन्जमा गरिएको प्रदर्शन ।

प्रहरीका अनुसार ६ कात्तिक बिहान करिब १२ बजे पर्सा बिन्दबासिनी गाउँपालिकास्थित पसौलीमा झडप भएको थियो । त्यसमा परी चौरसियासहित आठजना घाइते भएका थिए । घाइते चौरसियाको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा ७ कात्तिकमा मृत्यु भयो । मृतक चौरसिया नेकपा बिन्दबासिनी गाउँपालिका कमिटी सचिव हुन् । चौरसियाको मृत्युु नभई हत्या भएको नेकपा प्रदेश–२ सह–इन्चार्ज चौधरी बताउँछन् । घटनामा पूूर्वसभासद् गुप्ताको संलग्नता भएको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तको भनाइकै आधारमा पीडितले किटानी जाहेरी दर्ता गराउन खोजेको चौधरीको भनाइ छ ।

‘चौरसियाको मृत्य भएपछि हामी जिल्ला प्रहरी कार्यालय गयौँ । जिल्ला प्रशासन पनि गयौँ । त्यसक्रममा राजकुमार गुप्ताको नाम अगाडि आयो । एसपी आफैँले घटनामा उहाँको संलग्नता रहेको बताइन् । जाहेरी दिन पनि भनिन्,’ चौधरीले भने, ‘पीडित जाहेरी लिएर गए । तर, उनले जाहेरी दर्ता गर्न मानिनन् । यस्तो किन भयो ? हाम्रो असन्तुष्टि त्यही हो ।’

एसपी पन्तले भने घटनाको प्रारम्भिक चरणमा जाहेरी दिन भनिएको, तर घटनास्थलको भिडियो अनुसन्धान गर्दा राजकुमार गुप्ताविरुद्ध ज्यान मुद्दाअन्तर्गत किटानी जाहेरी दर्ता गर्न मिल्ने आधार नभेटिएकाले केही विलम्ब हुन पुगेको बताइन् ।

‘घटनालगत्तै केही नेता र पीडित पक्ष हामीकहाँ आउनुभयो । मैले ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दिन भनेँ । उहाँहरूले ज्यान मुद्दाअन्तर्गत किटानी जाहेरी दिनुभयो,’ एसपी पन्तले भनिन्, ‘घटनास्थलका भिडियो फुटेज बाहिर आउन थालिसकेका थिए । प्रहरीले त्यसमा अनुसन्धान ग¥यो । तर, उहाँहरूले किटानी जाहेरीमा जसको नाम उल्लेख गर्नुभएको थियो, झडप हुँदा उनी त्यहाँ नभएको पाइयो । त्यसबाहेक अर्को कोणबाट पनि हामीले अनुसन्धान ग¥यौँ । उनको संलग्नता नभएको भेटिएपछि माथि रिपोर्टिङ भयो । प्रमाण पुग्दैन भने जाहेरी नलिनु भन्ने आयो । हामीले त्यही गरेका हौँ ।’

प्रहरीका अनुसार घटनामा संलग्न हनिफ मियाँ, देवा सहनी र सोकदिन गद्दीलाई पक्राउ गरिएको छ । हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै पीडित पक्षले आन्दोलन थालेको छ । प्रदर्शनमा नेकपा प्रदेश सह–इन्चार्ज चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, केन्द्रीय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य छोटेलाल यादव, बालगोपाल थापा, वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारीलगायत नेता–कार्यकर्ता सहभागी हुँदै आएका छन् । यसैबीच, घटनामा संलग्नमाथि कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि पठाइएको छ ।

के भएको थियो ६ कात्तिकमा ?

नेकपा प्रदेश–२ कमिटीले २ वैशाखमा गाउँपालिकास्तरीय कमिटी गठन गर्ने निर्णय ग¥यो । विवाद नभएका केही जिल्लामा ६ वैशाखमै कमिटी बने र शपथ कार्यक्रम पनि भए । तर, विवाद भएका गाउँपालिकामा शपथग्रहण हुन सकेको थिएन । पर्सा बिन्दबासिनी गाउँपालिकामा पनि विवाद थियो ।

नेकपा स्थायी समितिको निर्णय र पार्टीका पटक–पटकको निर्देशनपछि विवादित गाउँपालिकाका समिति गठन चाँडोभन्दा चाँडो सक्न प्रदेश समितिलाई दबाब थियो । तर, आन्तरिक विवाद चर्किंदै जाँदा समिति गठन झन् जटिल बन्दै थियो । विवादबीच बिन्दबासिनी गाउँपालिका कार्यसमिति सदस्य चयन भए । उनीहरूको शपथग्रहण कार्यक्रम ६ कात्तिकमा तोकियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश समिति सह–इन्चार्ज नागेन्द्र चौधरीलाई आमन्त्रण गरियो । पसौलीस्थित कार्यक्रमस्थल सिँगारियो । तर, कार्यक्रम आयोजकले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न सकेनन् । असन्तुुष्ट पक्ष कार्यक्रमस्थल पुग्यो र स्टेज भत्काउन थाल्यो । आयोजकले उनीहरूलाई रोक्न खोजे । दुई पक्षबीच बाँसका भाँटा हानाहान सुरु भयो । गाउँपालिका समिति सचिव मुकेश चौरसियाको टाउकोमा भाटा प्रहार भयो । उनी घटनास्थलमै ढले । उपचारका लागि घाइते सबैलाई नारायणी अस्पताल लगियो । शपथग्रहण कार्यक्रम भने पुनः सुरु भयो ।

अन्य घाइते उपचारपछि घर फर्के । तर, चौरसियालाई वीरगन्जस्थित एलएस न्युुरो अस्पताल रिफर गरियो । गहिरो चोटका कारण त्यहाँ पनि उपचार हुन नसकेर ७ कात्तिक करिब १२ बजे उनको मृत्यु भयो ।

दोषी देखिए सबैलाई पक्राउ गर्छौं : एसपी गंगा पन्त

घटनालगत्तै प्रहरी घटनास्थल पुग्यो र अनुसन्धान सुरु भयो । सहभागीले भिडियो पनि खिचेका रहेछन् । प्रहरीले त्यसलाई नियन्त्रणमा लियो । भिडियोको सूक्ष्म अध्ययन भयो । भिडियोमा दुई पक्षबीच बाँसको भाँटा हानाहान भएको देखिन्छ । हलको ढोका बन्द देखिन्छ । भित्र भने कार्यक्रम जारी रहेको देखिन्छ । घटनामा संलग्नहरूको पहिचान भइसकेको छ । तीमध्ये तीनजना पक्राउ परेका छन्, अन्यको खोजी भइरहेको छ । किटानी जाहेरीमा उल्लेख भएका व्यक्ति भने घटनास्थलमा देखिँदैनन् । हामीले अन्य कोणबाट पनि अनुसन्धान गरिरहेका छौँ । दोषी देखिए सबैलाई पक्राउ गर्छौं ।

सरकारलाई बदनाम गर्न घेराबन्दी गरिँदै छ : सत्यनारायण मण्डल, प्रदेश–२ इन्चार्ज, नेकपा

म होम आइसोलेसनमा छु । घटनाबारे सह–इन्चार्ज नागेन्द्र चौधरीमार्फत पछि मात्र थाहा पाएँ । मुलुकको हितमा कम्युनिस्ट पार्टीबीच एकता भयो, तर गुटबन्दीले आकाश छोइसक्यो । रफु भरेर टालटुल गरी काम चलाउने प्रयास मात्र हुँदै आएको छ, गुटबन्दी समाप्त भएन । शपथग्रहण कार्यक्रम जिल्ला कमिटीको नेतृत्वसँग राय परामर्शमा गर्नुपथ्र्यो, सबैलाई समेट्ने गरी कार्यक्रम आयोजना हुनुपथ्र्यो । अरू गाउँपालिकामा जिल्ला कमिटीको निर्णयमा मात्र शपथ कार्यक्रम भएको थियो । तर, बिन्दबासिनीमा प्रदेश सह–इन्चार्ज नागेन्द्र चौधरी र जिल्ला इन्चार्ज रामचन्द्र शाह तेली नै मूल आयोजकजस्तो बन्नुभएछ ।

प्रदेश–२ लाई प्रयोगशाला नबनाइयोस् । यो विषय दुईपटक स्थायी कमिटीमै उठाएको छु । यस्तै गुटबन्दीले विगतमा केन्द्रीय सदस्य महम्मद आलमको हत्या भयो, अरू नेता कार्यकर्ताको पनि त्यसरी नै हत्या भयो । तर, नेतृत्वले सही छानबिन गरेर कारबाही नगर्दा आपराधिक तŒवको मनोबल बढ्यो । अहिले यस्तै षड्यन्त्र गरेर सरकारलाई बदनाम र घेराबन्दी गर्ने काम भइरहेको छ ।

‘राजकुमार गुप्ताकै योजनामा आक्रमण’ : नागेन्द्र चौधरी, सह–इन्चार्ज, प्रदेश–२ नेकपा

कार्यक्रममा म प्रमुख अतिथि थिएँ । तर, कार्यक्रमस्थलमा पुगकै थिइनँ । त्यहाँ एकपक्षीय आक्रमण भएछ । सोही क्रममा मुकेश चौरासिया मारिन पुगे । घटना विवरण हेर्दा योजनाबद्ध ढंगले आक्रमण भएको देखिन्छ । यसमा राजकुमार गुप्ताको संलग्नता हुने आधार प्रशस्त देखिए । पहिलो त एसपीले नै हामीलाई यसबारे खुलासा गरेकी हुन् । दोस्रो, घटनामा संलग्न दुई अभियुक्त उनकै घरबाट पक्राउ परे । तेस्रो, पक्राउ पर्ने डरले उनी पक्षबाट घाइते बनेकाहरूलाई अस्पतालबाट रातारात भगाइयो । योभन्दा ठूलो प्रमाण के हुन सक्छ ?

‘घटनास्थलमै नभएको व्यक्ति कसरी दोषी ?’ : राजकुमार गुप्ता, पूर्वसभासद्

बिन्दबासिनी घटनाको निष्पक्ष छानबिन हुनुपर्छ । म यो अवाज जोडतोडका साथ उठाइरहेको छु । तर, मलाई नै केही मान्छे दोषी करार गर्न खोज्दै छन् । जबकि, म घटनास्थलभन्दा १५ किमि टाढा वीरगन्जमा थिएँ । यति टाढा भएको मान्छे कसरी घटनामा संलग्न हुन्छ ? झडप भएको मैले सुनेँ । घाइते भएको पनि थाहा पाएँ । मैले त उद्धारका लागि एम्बुलेन्स पठाएँ । उपचार गरेँ । अनि म कसरी दोषी भएँ ?