१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
हेमन्त केसी जाजरकाेट
२०७७ कार्तिक ७ शुक्रबार ०६:५२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दसैँ संघारमै, पहिरोपीडितलाई वास र गासकै चिन्ता

Read Time : > 1 मिनेट
हेमन्त केसी, जाजरकाेट
२०७७ कार्तिक ७ शुक्रबार ०६:५२:००

बारेकोटका पहिरोपीडित भन्छन्– पेटभरि खान पाए त्यही दसैँ हुन्थ्यो

‘दिनमा घामले पोल्छ, रातमा चिसोले सताउँछ । त्रिपालभित्र खाने अन्न छैन । वर्षौँदेखि बस्दै आएको घर पहिरोले बगाएर क्षतविक्षत बनायो । रात बिताउने विकल्प केही नभएपछि यही त्रिपालमुनि गुजरा चलाइरहेका छौँ,’ बारेकोट गाउँपालिका–४ गोठगाउँ–तलगाउँकी गोरी नेपालीले पीडा सुनाइरहँदा उनको गला अवरुद्ध भयो, आँखा रसाए ।

गत २५ असारमा आएको पहिरोले घर बगाएपछि उनको ६ जनाको परिवार विस्थापित भएर नजिकैको जंगलमा त्रिपाल टाँगेर बसेको छ । गाउँपालिका र अन्य संघसंस्थाले राहतस्वरूप दिएको केही खाद्यान्नले केही समय जेनतेन चल्यो । ‘भएको पाखोबारी सबै पहिरोले लग्यो,’ उनले भने, ‘घरमा कमाइ गर्ने कोही नाइँ । अब के खाएर बाँच्ने हो । पेटभरि खान पाएका छैनौँ, कहिलेसम्म यसरी त्रिपालमै बस्नुपर्ने हो कुनै टुंगो भएन ।’

दसैँ दैलोमै आइसक्यो । यसपालि उनीहरूको दसैँ त्रिपालमुनि नै बित्ने भएको छ । ‘त्रिपालमै जमरा राखेका छौँ,’ विस्थापित नैनबहादुर नेपालीले भने, ‘मीठो–मसिनो खाने, नयाँ लुगा लगाउने र घरमै बसेर टीकाटालो गरेर दसैँ मनाउने त सपना भइसक्यो । त्रिपालमै भए पनि पेटभरि खान पाए हाम्रो लागि त्यही दसैँ हुने थियो ।’

उनीजस्तै १४ दलित परिवार अहिले पनि विस्थापित जीवन बिताइरहेका छन् । पहिरोले केही घर बगाएको र केही बस्नै नमिल्ने गरी चर्किएपछि त्रिपालको सहारामा वास बस्नुपरेको हो । केही समय विद्यालयमा बसेका उनीहरू अहिले जंगलमा बसेका छन् । विद्यालयमा पढाइ सुरु हुन थालेपछि जंगलमा त्रिपाल टाँगेर बस्न थालेका हुन् । बिस्तारै चिसो बढ्दै छ । चिसोले ज्येष्ठ नागरिक र बालबालिकालाई सताउन थालेको छ । पोषणयुक्त आहारको अभावमा बालबालिकामा कुपोषणको समस्या देखिन थालेको छ ।

बारेकोटमा गएको पहिरोमा परी १४ जनाको ज्यान गएको थियो भने एक हजार ५६ परिवार विस्थापित भएका थिए । वर्षात् रोकिएपछि अन्य परिवार घर फर्किए पनि तलगाउँका १४ दलित परिवार घर फर्कन सकेका छैनन् । उनीहरूले सरकारसँग गास र वासको माग गरेका छन् । ‘हाम्रो बस्ने ठाउँ पहिरोले सबै बगाएर लग्यो । हामीलाई पुनर्वासको व्यवस्था गरिदिनुप¥यो,’ विस्थापित गोपाल कामीले भने, ‘हाम्रो समस्या भनेकै गास र वासको हो ।’