Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १७ बुधबार
  • Wednesday, 02 December, 2020
ad
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक ५ बुधबार ०६:००:००
सम्पादकीय प्रिन्ट संस्करण

केही आशावादी  योजनाहरू

नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक ५ बुधबार ०६:००:००

नाकारात्मक सूचनाको कुनै कमी छैन । सरकारका दैनिक काम र निर्णयले आममानिसमा एक प्रकारको निराशा र असन्तोषको आगो झोसेको छ । जनप्रतिनिधि या जनताको मतबाट जनताकै प्रतिनिधित्वको दाबी गर्ने अगुवाहरू कतिसम्म निर्लज्ज छन् भन्ने कुरा त तिनले अस्ति मात्र दसैँ खर्चबापत लिएको रकम सञ्चारमाध्यममा आएका समाचार र जनताको प्रतिक्रियापछि फिर्ता गरेको प्रसंगबाटै प्रस्ट छ । अनुत्तरदायी शासक भएको देशका नागरिकको दुःखका अनेक आयाम हुन्छन् । त्यसका केही आयाम अध्ययन गर्न नेपाल गज्जबको प्रयोगशाला हो । यिनै अव्यवस्था र निराशाका बीचमा पनि केही आशालाग्दा समाचार भने आउन छाडेका छैनन् । 

तीन सयभन्दा बढी स्थानीय तहमा आगामी मंसिरबाट ५ देखि १५ शय्याका प्राथमिक अस्पताल बनाउने निर्णय अवश्य पनि यस्ता केही आशालाग्दा समाचारमध्येको एउटा हो । यस्ता संरचनाको निर्माण समयमै पूरा भए र त्यसका लागि आवश्यक जनशक्ति तथा उपकरण समयमा व्यवस्था गर्न सकियो भने यसले नेपालको अहिलेको स्वास्थ्य उपचारसम्बन्धी अवस्थामा उल्लेख्य परिवर्तन ल्याउनेछ । व्यावहारिक रूपमा यसको परीक्षण भने दुई वर्षअघि गर्न सकिनेछैन । यता, पोखरा र लुम्बिनीमा बन्दै गरेका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल छिटै पूरा हुँदै गरेको समाचार आएका छन्, जसले समाजमा झिनो आशाको सञ्चार गरेको छ । यी विमानस्थल राष्ट्रिय गौरव भनिएका आयोजना हुन् । यिनले फास्ट ट्र्याक, तामाकोसी योजना या मेलम्चीले जस्तो नियति व्यहोर्नु परेन । 

कमसेकम सरकारले थालेका ठूला योजना समयमा पूरा हुने हो भने त्यस्ता योजनाले दिने प्रतिफल र सिर्जना गर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीले अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्थे

यद्यपि, तोकिएको समयमा लुम्बिनी विमानस्थलको काम पूरा भएको होइन । तर, जे–जस्तो भवितव्यले त्यो ढिलो भएको भए पनि आगामी केही महिनामा यसको निर्माण सम्पन्न हुँदा दुईवटा सन्देश जानेछ । पहिलो हो, नेपाल सरकारले चाह्यो भने योजनाहरूको निर्माण समयमा सम्पन्न गर्न सम्भव छ । निजी क्षेत्र मात्र होइन, सरकारी योजना पनि समयमा सक्न सकिन्छ । अर्को हो, यी दुवै आयोजनापछि नेपालले अन्तर्राष्ट्रिय हवाई उडानसम्बन्धी अहिले व्यहोरिरहेको समस्या समाधान हुनेछ । लुम्बिनी र पोखरा सीधा जान चाहने विदेशी पर्यटक सीधै त्यहाँ पुग्न पाउनेछन्, जसबाट यी दुवै क्षेत्रको पर्यटनले फड्को मार्ने आशा गर्न सकिन्छ । नेपालको आर्थिक विकासको पूर्वाधारका क्षेत्रहरू लामो समयदेखि सरकारको अकर्मण्यता र भ्रष्टाचारको सिकार हुँदै आएका छन् । 

कुनै ठूलो या सानो योजना तोकिएको समयमा पूरा हुँदा पनि खुसी हुनुपर्ने गरी योजना लामो समय तन्किने गरेका छन् । यसमा राजनीतिक नेतृत्व, कर्मचारी संयन्त्र, ठेकेदार या आसेपासेका बीचको कमिसन या रेन्टसिकिङका खेलको मुख्य भूमिका रहने गरेको देखिन्छ । कमसेकम सरकारले थालेका ठूला योजना समयमा पूरा हुने हो भने त्यस्ता योजनाले दिने प्रतिफल र सिर्जना गर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीले अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्थे । उत्पादनमूलक उद्योग तथा व्यवसायको सञ्जाल देशभर विस्तार गर्न आवश्यक पर्ने यातायात सञ्जाल, विद्युत्जस्ता पूर्वाधार समयमा पूरा गर्नु जरुरी छ । यी विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी आवश्यक तयारी गर्न सरकारले कति तयारी गर्छ, त्यसले यी योजनाको प्रतिफल निर्भर गर्नेछ ।

छुटाउनुभयो की ?