
जनता समाजवादी पार्टी (जसपा) नेपालले दसैँ भत्ताबापत पाएको रकम फिर्ता गर्ने निर्णय गरेको छ । जसपाको सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रकम फिर्ता गर्ने निर्णय गरेको हो ।
बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘दसैँ भत्ता संसदमार्फत फिर्ता गर्ने निर्णय गरेका छौँ । त्यस्तै, कोभिडबारे चर्चा गर्दै यस्तो अवस्थामा आधारभूत स्वास्थ्य सेवा मानवअधिकार हो । संविधान र जनस्वास्थ्य ऐनले पनि त्यो अधिकार दिएको छ । यस्तो भएकाले सरकारले गैरजिम्मेवारीपना देखायो । उपचार खर्च कोरोना संक्रमितले नै गर्नुपर्ने सरकारको निर्णय फिर्ता हुनुपर्छ । सबैको निःशुल्क र अनिवार्य रूपमा उपचार हुनुपर्छ भन्ने निर्णय भएको छ ।’
सहरिया मजदुर, गरिबलगायत सबैको बिचल्ली भइरहेको वेला दसैँ भत्ता दिन नहुने भन्दै जसपाले खारेज गर्नैपर्ने कुरा बैठकमा उठेको उनको भनाइ छ । ‘यो व्यवस्था सधैँको लागि खारेज हुनुपर्छ । हामीले संसदमार्फत फिर्ता गर्ने भन्यौँ । यो सिस्टम नै बदल्ने कुरा हो । व्यक्ति–व्यक्तिले फिर्ता गर्ने भन्ने हाेइन । सधैँका लागि दसैँ भत्ता नै खारेज गर्नुपर्छ । अब दलको बैठक बसेर संसद् सचिवालयलाई पत्र पठाउँछौँ । अर्को महिनाको तलब काटिन्छ,’ उनले भने ।
बैठकले पार्टी विधान संशोधनसहित पारित पनि गरेको छ ।