१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ कार्तिक १ शनिबार ०६:४०:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कस्तो हुनेछ खेलकर्मीको दसैँ

Read Time : > 3 मिनेट
२०७७ कार्तिक १ शनिबार ०६:४०:००

आज घटस्थापनाको दिन घर–घरमा जमरा राखेपछि विधिवत् रूपमा दसैँ सुरु हुन्छ । विगतको भन्दा योपटक दसैँँ त्यति तामझामका साथ मनाउन सकिने अवस्था छैन । विश्वभर नै कोरोना भाइरस (कोभिड–१९) ले आक्रान्त बनाएको छ । कोभिड–१९ को प्रभाव सबैतिर छ । अझ भनौँ नेपालमा कोभिड–१९ को धेरै असर पुगेको क्षेत्र नै खेलकुद हो । सरकार र सम्बन्धित निकायले खेलकुद सुचारु गर्न तत्परता र सोच बनाएका छैनन् । यद्यपि सरकारले अन्य क्षेत्र खुला पारे पनि खेलकुदलाई सुचारु गर्न सकेको छैन ।

११ चैतदेखि अधिकांश खेलकर्मी घरमै छन् । उनीहरूले घरमै आफ्नो फिटनेस बढाउन अभ्यास गरिरहेका छन् । आठ महिना घर बस्दाबस्दै दसैँको आगमन भएको छ । योपटक धेरैजसो खेलाडी आफ्ना परिवारसँगै दसैँ मनाउने तयारीमा छन् । विगत वर्षमा घरमा दसैँ मनाउन नपाएका खेलाडीले परिवारसँग भरपूर मनोरञ्जनसाथ मनाउने अनुमान लगाउन सक्छाँै । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल यसपटक टाढा–टाढासम्म बसेका नातेदारकहाँ टीका थाप्न नजाने भएका छन् । विगतका वर्षमा मल्ल भ्याएसम्म सबैकहाँ टीका लगाउन जान्थे ।

‘यो पालि धेरै टाढा बस्नुभएका आफन्तकहाँ टीका लगाउन गइँदैन, अहिलेको समयअनुसार चल्नुपर्छ,’ कप्तान मल्लले दसैँँको योजना सुनाउँदै भने, ‘पहिले दमौलीसम्म मामाघरमा टीका लिन गइन्थ्यो, यो पालि नजाने विचारमा छु, सकेसम्म घरमै बसेर दसैँँमा मनोरञ्जन गर्नुपर्छ ।’ मल्लको पुख्र्यौली घर काठमाडौंको भीमसेनस्थान हो । अहिले उनी सतुंगलमा बस्छन् । 

बुबा भीमसेनस्थानमै बस्नुभएकाले पुख्र्यौली घरमा उनी जानेछन् । ‘बुबा भीमसेनस्थानमै बस्नुहुन्छ, यसकारण दसैँको टीका लिने र अन्य मनोरञ्जन त्यहीँ हुन्छ,’ उनले भने । यो पालि उनलाई चंगा उडाउन मन छ । उनले प्रयोग गर्दै आइरहेको पुरानो लट्टाई कहाँ छ भन्ने थाहा छैन । ‘लट्टाई खोज्नुपर्छ, यदि भेट्टाइयो भने चंगा उडाउने योजना छ,’ उनी भन्छन् । कोभिड–१९ को महामारी फैलिएका कारण दसैँमा ज्यानको सुरक्षा नै आशिकका रूपमा थाप्ने उनले सुनाए । 

टोकियो ओलम्पिकको तयारीमा रहेकी करातेकी खेलाडी अनु अधिकारीको नजिककी हजुरआमा बितेका कारण दसैँँ मनाउन नमिल्ने भएको छ । ‘नजिकको हजुरआमा बितेकाले यो पालि जुठो परेको छ,’ १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्णपदक विजेता अनुले भनिन्, ‘नभए म प्रत्येक वर्ष घरमा दसैँ मनाउने जान्थें ।’ सातदोबाटोको कराते कभर्डहलमा नियमित प्रशिक्षण गर्दै आइरहेकी अनुले दसैँ ब्रेकमा काठमाडौंमै रहने बताइन् । ‘अब दसैँ ब्रेक हुन्छ, घरमै बस्ने, घरमा जे मीठो छ त्यही नै खाने हो,’ उनी भन्छिन्। 

करातेकी अनुजस्तै भलिबलकी स्टार खेलाडी प्रतिभा मालीको पनि घरमा जुठो परेको छ । ठूलीआमाको निधनका कारण यो पालि दसैँ मनाउन नमिल्ने मालीले बताइन् । ‘खासै त्यस्तो ठूलो योजना छैन, योपटक दसैँँ मनाउन पनि हुँदैन, ठूलोममी बित्नुभएकाले दसैँँमा केही हुनेछैन,’ मालीले भनिन् । स्क्वासका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक हीरा थापा योपटक पनि पुख्र्यौली घर गोर्खा जान नपाउने भएका छन् । यसपालि गोर्खामा गएर आमाबुबाबाट टीका थाप्ने उनको योजना थियो । कोभिड–१९ कै कारण गोर्खा गएर दसैँ मनाउन नसकिने हुँदा मन खल्लो भएको उनले बताए । 

थापा भन्छन्, ‘हुन त यो पालि आमाबुबाको हातबाट टीका थाप्ने योजना बनाएको थिएँ, तर अहिलेको अवस्थाअनुसार त्यो सम्भव भएन ।’ गत वर्ष १३औँ साग खेलकुदको तयारीका कारण उनी घर जान सकेनन् । ‘गत वर्ष सागको क्लोज क्याम्प चलिरहेको थियो, त्योवेला जान सकिनँ,’ उनले भने, ‘यो पालि कोरोनाले गर्दा यहीँ घरमै बसिन्छ ।’ चार परिवारबीच नै दसैँ सामान्य रूपमा मनाउने उनले बताए । 

भन्छन्, ‘हामी चारजना परिवारबीच नै दसैँमा रमाइलो हुन्छ, यदि साथीभाइहरू आउनुभयो भने उहाँहरूसँग रमाइलो गर्छौँ ।’ गत वर्ष काठमाडांैमा सम्पन्न १३औँ सागमा नेपाललाई दोहोरो स्वर्णपदक दिलाएकी आयषा शाक्यले सकेसम्म सुरक्षित भएर दसैँ मनाउने बताएकी छिन् । ‘वर्तमान अवस्थाले काठमाडौंमै सुरक्षित तरिकाले दसैँ मनाउने योजना छ,’ शाक्य भन्छिन् । शाक्यका श्रीमान् दीपक विष्ट नेपाली खेलकुद इतिहासकै सर्वाधिक सफल खेलाडी हुन् । यतिवेला दीपकका आमाबुबा अस्ट्रेलियाबाट काठमाडौं आएका छन् । 

आमाबुबासँगै घरमा टीका थाप्ने उनले सुनाइन् । ‘उहाँ (श्रीमान्) को आमाबुबा अस्ट्रेलियाबाट आउनुभएको छ, हामीले कोभिड–१९ का कारण काठमाडौंमै दसैँ मनाउने भनेका छौँ,’ योजना सुनाउँदै शाक्य भन्छिन्, ‘सबैलाई डर र त्रास छ, यहीअनुसार चल्नुपर्छ ।’ सामान्य अवस्था भए गाउँको कुलदेवता पूजा गर्न जानुपर्ने उनले बताइन् । कोभिड–१९ ले गर्दा यो पालि कुल देवताको पूजा घरमै हुने उनको भनाइ छ । 

‘आफैँ सुरक्षित हुनुपर्छ,’ उनी भन्छिन्, ‘दसैँमा हामीले असल नागरिकको व्यवहार देखाउनुपर्छ ।’ चंगा उडाउन नआउँदा आफ्ना सन्तानलाई त्यसको मनोरञ्जन दिन नसक्दा उनलाई नरमाइलो लाग्छ । शाक्य भन्छिन्, ‘चंगा उडाउने धेरै प्रयास गरेँ, जति गरे पनि सकिनँ, यसपालि बिस्तारै चंगा उडाउने प्रयास गर्नुपर्छ ।’ दसैँको समयमा घरमा आफन्त आउँदा केवल रमाइलोका लागि तास खेल्न सक्ने उनले बताइन् । 

करातेका प्रशिक्षक दीपक श्रेष्ठले दसैँको अवसरमा फिलिम हेर्ने योजना बनाएका छन् । सुरमा  नामको हिन्दी मुभी उनले छनोट गरेका छन् । यो एउटा भारतीय हक्की खेलाडी सन्दीप सिंहको बायोग्राफीमा आधारित भएर बनेको फिल्म हो । खेलाडी घाइते हुँदाको क्षण र त्यसपछिको कमब्याक कसरी गर्न सकिन्छ भनी सुरमामा दर्शाएको उनले बताए। 

‘दसैँमा सुरमा हेर्ने योजना छ, यसको विशेष कारण छ, खेलाडी घाइते भएपछि कसरी उत्कृष्ट पुनरागमन हुन्छन् भन्ने ज्ञान यस फिलिमले दिन्छ,’ श्रेष्ठले भने, ‘खेलाडीसम्बन्धी यस किसिमको मुभी हेर्दा हामीले धेरै कुरा थाहा पाउन सक्छौँ ।’ यो मुभी हेर्नेबाहेक उनी अन्यत्र नजाने विचारमा छन् । सम्भवतः जीवनमा पहिलोपटक चापागाउँमा रहेकी आफ्नी हजुरआमाबाट उनी टीकासमेत थाप्न नजाने निर्णयमा पुगेका छन् ।

श्रेष्ठ भन्छन्, ‘कोरोनाको कहर छ, हामीले आफ्नोसँगै अन्यको पनि स्वास्थ्यको ख्याल गर्नुपर्छ, यसैकारण योपटक ९४ वर्षकी हजुरआमाबाट थाप्ने टीका मिस हुनेछ ।’ यसबाहेक घरमा अन्यले चंगा उडाएकोमा मनोरञ्जन लिने प्रयासमा श्रेष्ठ छन् । श्रेष्ठ स्वयम्लाई चंगा उडाउन त्यति मन पर्दैन । तर, कसैले चंगा उडाइरहेको दृश्य हेर्न खुब मन उनलाई लाग्छ । भन्छन्, ‘मलाई सानैदेखि चंगा उडाउन मन लाग्दैन, यदि कसैले उडाइरहेको छ भने हेर्दै आनन्दित हुन्छु ।’ 

सानो छँदा श्रेष्ठले चेट भएको चंगा टिप्न भागदौड गर्थे । ‘बाल्यकालमा चेट भएको चंगा टिप्न टाढा पुग्थेँ,’ बाल्यकालको स्मरण गर्दै भने, ‘अहिले पनि यस्तै मनमा आउँछ ।’ करातेको प्रशिक्षण चलिरहँदा आउने बुधबारसम्म उनी व्यस्त छन् । फूलपातीपछि प्रशिक्षण बन्ने हुनेछ । तीन वा चार दिनपछि उनी पुनः दसैँको अवसरमा खेलाडीलाई प्रशिक्षणमा व्यस्त रहनेछन् ।