मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३० शुक्रबार २१:५८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

शुक्रबार दिनभर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३० शुक्रबार २१:५८:००

सोनाहा जातिलाई सीमान्तकृत सूचीमा राख्ने सर्वाेच्चको आदेश पाँच वर्षदेखि अलपत्र 
सोनाहा जातिलाई जनजाति तथा सीमान्तकृतमा सूचीकृत गर्न सर्वोच्च अदालतले दिएको आदेश पाँच वर्षदेखि अलपत्र परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वाेच्च अदालतकोे परमादेश कार्यान्वयनमा चासो दिएका छैनन् । १६ मंसिर ०७२ मा सर्वोच्चले सोनाहा जातिलाई आदिवासी जनजातिको सूचीमा राख्न परमादेश दिएको थियो । आफूहरूले पटक–पटक ताकेता गर्दा पनि वास्ता नगरिएको फैसला कार्यान्वयन निर्देशनालयका उपसचिव शिवकुमार पोखरेलले बताए । सूचीमा नपर्दा सोनाहा जाति राज्यबाट पाउने सुविधा पाउन वञ्चित भएका छन् । 

कांग्रेसले दसैँलगत्तै आन्दोलन गर्ने, कोरोना समुदायस्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको आरोप
प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएकोले दसैँलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन थाल्ने बताएका हुन् ।  कांग्रेसले गठन गरेको कोभिड– १९ सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि देउवाले दसैँलगत्तै संसद्भित्र र बाहिर देशभर सशक्त आन्दोलन गर्ने बताए । कोभिड– १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रूपमा फैलिएको उनको आरोप छ । 

मन्दिर तथा शक्तिपीठहरू भक्तजनका लागि खुला नगर्नू : गृह मन्त्रालय 
गृह मन्त्रालयले दसैँको वेला मन्दिर तथा शक्तिपीठहरू नियमित पूजा गर्नबाहेक भक्तजनको लागि खुला नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरूमा भिडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरूका लागि रोक लगाइएको बताए । तर, नित्य पूजाआजा भने नियमित रूपमा सुचारु गर्न सकिने उनले बताए । 

सेनाले २–४ कात्तिकमा बोलायो पृतनापतिहरूको बैठक
नेपाली सेनाले पृतनापतिहरूको समन्वयात्मक बैठक आयोजना गर्ने भएको छ । जंगी अड्डामा भदौमा तय भएको बैठक कात्तिक २ देखि ४ सम्म आयोजना हुन लागेको हो । भारतका स्थलसेनाध्यक्ष मनोजमुकुन्द नराभणेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सेनाले पृतनापतिहरूको समन्वयात्मक बैठक गर्न लागेको छ ।

फेसबुकमा ‘बलात्कारी समूह’ बनाउने युवक पक्राउ 
 फेसबुकमा ‘बलात्कारी समूह’ बनाएर महिलामाथि अमर्यादित टीकाटिप्पणी गर्ने व्यक्ति पक्राउ परेका छन् । प्यूठान घर भई नवलपरासी पूर्व बस्ने १९ वर्षीय नवीन बस्नेतलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

खाद्य संस्थानले कात्तिक ३ देखि खसीबोका बिक्री गर्ने
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसीबोका बिक्री सुरु गर्ने भएको छ । कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दसैँका लागि खसीबोका बिक्री–वितरणको काम सुरु हुने भएको हो ।

कृषिमन्त्री भुसाल भन्छन्– किसानलाई बैंकको ब्याज छुट दिनेबाहेक केही पनि गर्न सकिनँ
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान् शिव र ब्रह्माजी आए पनि पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन् । शुक्रबार ४०औँ विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको पाँच लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् । उनले तत्काल पाँच लाख मेट्रिकटन मल ल्याउन भगवान् शिव वा ब्रह्मा आए पनि नसक्ने टिप्पणी गरे ।  

काठमाडौं र भक्तपुर जिल्ला प्रशासनद्वारा सेवा स्थगित
संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् । कर्मचारीहरूमै कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार सूचना निकालेर आइतबारदेखि सेवा स्थगित गरिएको जनाएको छ । उपत्यकामा संक्रमणको दर अत्यधिक गतिमा बढिरहेको र कार्यालयमा कार्यरत कर्मचारीहरूमा समेत संक्रमणको पुष्टि भएकाले आइतबारदेखि अत्यावश्यक सेवाबाहेकका सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो।

भक्तपुर इन्काउन्टर : डिएसपी कुँवरसहित पाँच प्रहरीलाई कानुनी कारबाही गर्न आयोगको सिफारिस
दुई वर्षअघि भक्तपुरमा भएको विवादास्पद इन्काउन्टर घटनामा अनावश्यक बल प्रयोग भएको भन्दै पाँच प्रहरीलाई कानुनी कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले सिफारिस गरेको छ । घटनास्थलमा खटिएका डिएसपी रुगमबहादुर कुँवर, सइहरू दीपेन्द्र चन्द, प्रसन्न मल्ल र रञ्जित लामा तथा असइ राजन खड्कालाई आयोगले कारबाहीको सिफारिस गरेको हो ।

देशभर ४३ सय ९२ जना संक्रमित थपिँदा ३५ सय २२ जना डिस्चार्ज भए
देशमा पछिल्लो २४ घण्टामा ४३ सय ९२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौं उपत्यकामा २४ सय २ जना रहेका छन् । यस अवधिमा ३५ सय २२ कोरोना निको भई डिस्चार्ज भएका छन् । अहिलेसम्म कुल ८८ हजार ४० जना डिस्चार्ज भएका छन् । हाल देशमा ३७ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।