१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o९:३९:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महामारीले रोकिएको खेलकुद  सुरु गर्न छैन पहल

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:३९:oo

कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको पछिल्लो ६ महिनाभन्दा बढी समयदेखि नेपाली खेलकुद ठप्प छ । यही महामारीका कारण रोकिएको युरोपेली खेलकुद धेरै अघिबाट सुरु भइसकेको छ । युरोपमा मात्रै होइन, नेपालबाहेक दक्षिण एसियाली देशहरूमै पनि खेलकुदका प्रतियोगिता आयोजना हुन सुरु भएका छन् । तर, नेपालमा यो अवस्था अझै सम्भव हुन सकेको छैन । नेपाली खेलकुदको सर्वाेच्च निकाय खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले घरेलु खेलकुद सञ्चालन गर्ने प्रयास गरेको छैन । त्यसमा सम्बन्धित खेल संघ आफैँले पनि यो अवधिमा कुनै प्रयास गरेका छैनन् ।

यो अवधिमा नेपाली खेल संघहरू सरकारी निकाय खेलकुद मन्त्रालय र राखेपको आशा बोकेर बिताए । उनीहरूले प्रतियोगिता त परै जाओस्, आफ्नो खेलको प्रशिक्षणसमेत कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारे सोचेको देखिएन । सीमित खेल संघले खेल सञ्चालन गर्ने अनुमतिको माग गर्दै राखेपमा निवेदन दिएको जनाए । तर, उनीहरूले पनि आफूले दिएको निवेदन कहाँ पुग्यो भनेर खोजीसमेत गरेनन् । यो संकटको समयमा संघहरूले खेलकुद पुनः सुरु गर्ने पहल नगर्दा ठूलो समस्या आगामी टोकियो ओलम्पिकको छनोट तयारीमा रहेका खेलाडीहरूलाई पर्‍यो । 

यदि टोकियो ओलम्पिक निर्धारित मितिमै आयोजना भए त्यसको तयारीका लागि खेलाडीसँग मुस्किलले नौ महिना छ । टोकियो ओलम्पिकका लागि आयोजककै छात्रवृत्तिमा विभिन्न सात खेलका १२ खेलाडी छनोट तयारीमा रहेका छन् । यस्तै, छात्रवृत्तिमा तयारीमा रहेका १० सहित १२ खेलाडी वाइल्ड कार्ड पाउने आशासहित तयारीमा छन् । तर, उनीहरूले अझै पूर्ण रूपमा आफ्नो तयारी गर्न पाएका छैनन् । सम्बन्धित खेल संघले बेवास्ता गरेपछि केही खेलले आफ्नै पहलमा कोरोना भाइरसका कारण बारम्बार रोकिएको प्रशिक्षण फेरि सुरु गरेका छन् । 

‘राखेप आफैँले पनि यसको व्यवस्था मिलाउन सक्थ्यो । त्यसो नभएको अवस्थामा पनि सम्बन्धित खेल संघ वा खेलाडीलाई छात्रवृत्ति मिलाइदिएको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले पनि प्रशिक्षणका लागि पहल गर्न सक्थ्यो,’ आफ्नै पहलमा टोकियो ओलम्पिक छनोटको तयारी सुरु गरेका एक खेलाडी भन्छन्, ‘कसैले चासो नदिएपछि हामी आफैँले पहल गरेर प्रशिक्षण सुरु गरेका छौँ । सायद, यो संकटमा उहाँहरूले जोखिम लिन नचाहनुभएको होला ।’

युरोप र अरू क्षेत्रमा पनि कोरोना भाइरसले उस्तै समस्या सिर्जना गरेको छ । ती देशहरूले सुरक्षाका आवश्यक उपायसहित प्रतियोगिता नै सुरु गर्दा नेपालले भने ठूलो प्रतियोगिताको प्रशिक्षणसमेत सुरु गर्न सकेको छैन । नेपाली खेलकुदमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका खेलकर्मी कोरोना संकटको समयमा खेलकुदलाई फर्काउनेबारे खेल संघहरू पहल गर्न चुकेको तर्क गर्छन् ।

एथ्लेटिक्सका वरिष्ठ प्रशिक्षक सुशीलनरसिंह राणा खेल संघ अघि आउनुपर्ने तर्क गर्छन् । ‘खेलकुद परिषद्का सदस्यसचिवज्यूले इन्डिभिजुअल खेलका लागि समस्या छैन भनिसक्नुभएको छ । यस्तो वेला खेल संघ नै अघि बढ्नुपर्ने हो,’ राणा भन्छन्, ‘सुरक्षा मापदण्ड उपायसहित राखेपमा प्रस्ताव पेस गर्ने हो भने खेल संघहरूले आफ्नो गतिविधि सञ्चालन गर्न पाउनेछन् । यस्तो अवस्थालाई सदुपयोग गर्नुपर्दछ ।’

फुटबल व्यवस्थापनबारे युरोपेली फुटबल महासंघको छात्रवृत्तिमा पढेर फर्किएका पूर्वफुटबल कुमार थापा खेल संघहरूले खेलकुद सञ्चालनमा ल्याउनेबारे सोच्दै नसोचेको बताउँछन् । ‘अहिले भाइरस संक्रमण तीव्र बनेको छ । यो तथ्यतर्फ पनि ध्यान त दिनुपर्दछ,’ उनी भन्छन्, ‘तर, एक महिनापछि खोल्ने हो भने अहिलेबाटै विज्ञहरूसँग छलफल गरेर त्यसको तयारी त थाल्नुपर्‍यो नि । यो तरिकाले अझै लामै समय नेपाली खेलकुद ठप्प हुने अवस्था छ ।’

भलिबलका वरिष्ठ प्रशिक्षक कपिल किशोर श्रेष्ठ नेपाली खेलकुदले कहिल्यै पूर्वतयारी नगरेका बताउँछन् । ‘अहिले संघहरूले नै पहल गरेर कम्तीमा प्रशिक्षणसम्म सञ्चालन गर्न सक्छन् । तर, मेरो अनुभवमा कुनै पनि खेल संघले खेलाडीलाई यसअघि लामो प्रशिक्षणमा राखेका छैनन् । यस्तो संकटमा कसरी काम गर्ने भन्ने जानकारी पनि संघहरूसँग छैन,’ श्रेष्ठ भन्छन्, ‘त्यसैले पनि नेपाली खेलकुद चाँडै फर्कने सम्भावना देखिएको छैन ।’

सुरक्षा मापदण्डसहित खेल सञ्चालनको प्रयास गर्नुपर्दछ : कुमार थापा, पूर्वफुटबलर

अहिले दैनिक ठूलो संख्यामा संक्रमित देखिन थालेका छन् । यो सहज अवस्था त होइन । तर, खेलकुद पुनः सुरु गर्ने सन्दर्भमा यो समस्याभन्दा पनि सोच र कार्यशैलीकै कमजोरी हो । अहिलेको अवस्थामा पनि सुरक्षाको मापदण्ड अपनाएर खेलकुद सञ्चालन गर्न सकिन्छ ।

कम्तीमा प्रशिक्षण चलाउन सकिन्छ । म सबै खेल संघलाई भन्दिन । कतिपय खेल संघको आफ्नो कार्यालयसम्म भेटिन्न । तर, हामीसँग आर्थिक रूपमा बलिया खेल संघहरू पनि छन् । जस्तै, अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान)ले आफैँ पनि खर्च गरेर खेलाडीलाई प्रशिक्षणमा राख्न सक्छ ।

उनीहरू आफूले आफ्नो खेलाडीलाई यसरी प्रशिक्षणमा राख्छौँ भनेर योजना बनाएर सम्बन्धित निकायमा दिनुपर्‍यो । अनुमति लिएर प्रशिक्षण सुरु गर्न सकिन्छ । तर, त्योभन्दा पहिले नै तयारी गर्नुपर्‍यो । विज्ञसँग सल्लाह गरेर सुरक्षा ‘प्रोटोकल’ तयार पार्नुपर्‍यो । कम्तीमा एक–दुई महिनाअघि नै तयारी गर्नुपर्‍यो । तर, संघहरूले यो तयारीको सुरुवात नै गरेका छैनन् । 

संघहरू आफैँ योजनाविहीन भए : कपिलकिशोर श्रेष्ठ, भलिबलका वरिष्ठ प्रशिक्षक

हाम्रो कुनै खेलले अन्तर्राष्ट्रिय प्रतियोगिताअघि लामो समयको प्रशिक्षण गर्दैनन् । उनीहरूले सधैँ एक वा दुई महिनाकै प्रशिक्षण गर्ने हुन् । त्यसैले पनि संघहरूले खेलाडीको प्रशिक्षणसम्म पनि खुलाउन पहल नगरेको हुन सक्छ । तर, यो गलत संस्कार हो । यो वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता छैन । प्रतियोगिता नभएकैले प्रशिक्षण पनि नगराएको धेरै खेल संघको भनाइ छ । तर, अर्काे वर्ष त प्रतियोगिता हुन्छ वा त्यसपछि आयोजना हुँदो हो । त्यसका लागि पनि तयारी त गर्नुपर्छ । अहिले नै खेलाडीहरूले नियमित प्रशिक्षण गर्न नपाउँदा आफ्नो लय गुमाइसकेका छन् । 

अब उनीहरूलाई आफ्नो ‘फर्म’मा फर्कन नै धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । अर्काे समस्या भनेको ध्यान पुर्‍याइएन भने उनीहरू घाइते हुने सम्भावना पनि ठूलो छ । त्यसैले खेलाडीहरू नियमित प्रशिक्षणमै रहनुपर्ने थियो । सम्बन्धित निकायले यो काम गर्न नसके पनि खेल संघहरू आफैँले पहल गर्न सक्नुपथ्र्याे । तर, खेल संघहरू आफँै योजनाविहीन भए । उनीहरूले कुनै योजना बनाउन सकेनन् । यसले हामीलाई भविष्यमा समस्या निम्त्याउन सक्नेछ । 

खेल संघ नै अघि आउनुपर्दछ : सुशीलनरसिंह राणा, एथ्लेटिक्सका वरिष्ठ प्रशिक्षक

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिवज्यूले पनि इन्डिभिजुअल खेलका लागि समस्या छैन भन्नुभएको छ । यस्तोवेला खेल संघहरू आफैँ अघि बढ्नुपर्दछ । खेल संघहरूले योजना बनाएर लिएर जाने हो भने सदस्यसचिवज्यूले बोलिसक्नुभएको कुरामा कुनै समस्या हुन्छ जस्तो लाग्दैन ।

अरू खेलले पनि व्यवस्थित तरिकाले प्रशिक्षण सञ्चालन गर्ने योजना प्रस्तुत गरेको अवस्थामा राखेपले अनुमति दिने थियो । राखेपले सहजीकरण मात्रै गर्ने न हो । प्रशिक्षणको बाँकी सबै काम त सम्बन्धित खेल संघले नै गर्ने हो ।

बरु, त्यसमा सुरक्षाको उपाय तय गर्नुपर्‍यो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र सरकारले तोकेका स्वास्थ्य सुरक्षा उपाय अपनाउनुपर्छ । खेलाडी घरभित्रै बसेको लामो समय भइसकेको छ । यसरी सधैँ चल्दैन । हामीले खेलाडीलाई प्रशिक्षणमा फर्काउनुपर्दछ ।

ad
ad