१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:४o:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कोही खेल प्रशिक्षणमा, कोही सरकारको प्रतीक्षामा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:४o:oo

गत आइतबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा अचानक सरसफाइ कार्यक्रम भयो । खेलाडी, प्रशिक्षक तथा अफिसियल कभर्ड हलमा जमेको धुलो सफाइ गर्नमै व्यस्त भए । सबैको एउटै उद्देश्य थियो, फेरि ब्याडमिन्टनलाई सक्रिय बनाउने । कोरोना भाइरस महामारी (कोभिड–१९) का वेला ब्याडमिन्टनका खेलाडी कभर्ड हलमा अभ्यास गरिरहेका छन् । अहिले हप्तामा चार दिन खेलाडी प्रशिक्षण गर्छन् । उनीहरूलाई कोरियन प्रशिक्षक चोई सिउन कुकले सहयोग गरिरहेका छन् । यसो त सरकारले अहिलेसम्म खेलकुद गतिविधि सञ्चालन गर्न भनेको छैन । तर, खेलाडीको फिट बढाउने र उनीहरूको स्तर यथावत् राख्न नेपाल ब्याडमिन्टन संघले यस्तो नीति अपनाएको हो । 

कोरोना महामारीकोे समयमै ब्याडमिन्टनका खेलाडी दोस्रोपटक अभ्यासमा फर्किएका हुन् । संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले यस वर्ष कुनै पनि घरेलु प्रतियोगिता नभए पनि खेलाडीलाई फिट राख्न नै पुनः अभ्यास सुरुवात गरेको जानकारी दिए । संघले कोभिड–१९ का कारण यो वर्ष कुनै घरेलु प्रतियोगिता नगर्ने भएको छ । तर, संघले विश्व ब्याडमिन्टन महासंघसँग आउँदो डिसेम्बरमा एउटा कार्यक्रम आयोजनाका निमित्त प्रस्ताव गर्ने भएको छ । ‘अहिले सबै बन्द छन्, यसबीच हामीले डिसेम्बरमा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना तयारी गरेका छौँ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने । अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर राखी खेलाडीलाई प्रशिक्षण गराएको श्रेष्ठको भनाइ छ । हामीले खेलाडीको स्तर र फिटनेस पनि ध्यान दिनुपर्छ, यसकारण प्रशिक्षण गराएका हौँ,’ श्रेष्ठले भने, ‘बिहान साढे ८ देखि ११ बजेसम्म प्रशिक्षण गर्छन् ।’

यो समयमा कभर्ड हलभित्र कसैलाई पनि प्रवेश दिइएको छैन । खेलाडीलाई निश्चित प्रोटोकल अपनाउनुपर्छ । खेलाडीले हरेकपटक केही वस्तु छुँदा स्यानिटाइज गर्नुपर्छ । खेलाडीलाई एक–आपसका सामग्री नछुन भनिएको छ । ‘एक खेलाडीले अर्कोको सामना नछुने भनेका छौँ, यदि केही वस्तु छोएको खण्डमा स्यानिटाइज गर्नुपर्छ,’ श्रेष्ठले भने । नेपालको सक्रिय खेलमध्ये फुटबल पर्छ । कतार विश्वकप फुटबल प्रतियोगिताको छनोट खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले केही समय राष्ट्रिय टोलीका खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । यसबीचमा एक खेलाडीलाई कोरोना भयो । सँगसँगै पुनः लकडाउन भयो । फुटबलका सबै गतिविधि बन्द भए । 

एन्फाले यो समयमा आफ्ना गतिविधि सञ्चालनमा ल्याउन तयारी भने गरिरहेको छ । सरकारले निर्देशन दिएको अवस्थामा फुटबल सुचारु हुने एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । ‘हामीले तयारी गरिरहेका छौँ, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलसम्म आयोजना गर्ने किसिमको तयारी भइरहेको छ,’ शेर्पाले भने, ‘रेफ्रीदेखि प्रशिक्षक टे«निङसम्मका योजना छन् ।’ कोभिड–१९ को समयमा पनि निरन्तर प्रशिक्षण भइरहेको कराते हो । २०२१ को टोकियो ओलम्पिकमा समेत समावेश भएको कराते खेलका खेलाडीले सातदोबाटोमा प्रशिक्षण लिइराखेका छन् । खेलाडीलाई दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण विजेता दीपक श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । 

दुई वर्षअघि नवगठित कराते महासंघका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले करातेका गतिविधि नरोकिएको जानकारी दिएका छन् । लाखे भन्छन्, ‘हामीले कहिले पनि करातेको प्रशिक्षण रोकेनौँ, टोकियो ओलम्पिकमा सहभागिता जनाउने उद्देश्यका साथ ओलम्पिक छात्रवृत्ति पाएका खेलाडी प्रशिक्षणमा राखेका छौँ ।’ छात्रवृत्ति पाएकामध्ये अनु अधिकारी नियमित प्रशिक्षणमा रहेको उनले बताए । उनका अनुसार खेलाडीले डब्लुएसओकै नियमअनुसार प्रशिक्षण गरिरहेका छन् । सरकारले अहिलेसम्म खेलकुदलाई सुचारु गर्न निर्देशन नदिँदा धेरैजसो राष्ट्रिय संघ अन्योलमै छन् । यो ६ महिनाको अवधिमा विभिन्न संघले आ–आफ्नो तयारी गरे पनि कार्यान्वयन गर्न सकिरहेका छैनन् । नेपाली खेलकुदकै सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् पनि सरकारकै निर्देशनको प्रतीक्षामा छ । 

सरकार वा परिषद्ले केही निर्देशन नदिए पनि नियमित खेलाडीलाई व्यस्त बनाउने र उनीहरूको प्रशिक्षण नरोक्ने नीति केही संघले लिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई पदक भित्र्याउने तेक्वान्दोका खेलाडीले सम्भवतः १५ दिनपछि प्रशिक्षण गर्न पाउनेछन् । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले अबको १५ दिनभित्र खेलाडीलाई प्रशिक्षणमा डाक्ने बताए । संघका दुई–चारजना पदाधिकारी कोरोना संक्रमित हुँदा तत्कालका लागि योजना स्थगित गरेको उनले बताए । राणा भन्छन्, ‘केही पदाधिकारी संक्रमित भए यसकारण हामीले अहिलेका सबै योजना स्थगित गरेका छौँ, उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई प्रशिक्षणमा बोलाउँछौँ ।’ 

तेक्वान्दोका धेरैजसो खेलाडी विभागकै छन् । विभागीय टोलीमा नरहेका राष्ट्रिय खेलाडीलाई प्रशिक्षण गराउने लक्ष्य संघले राखेको छ । ‘काठमाडौंमा उपलब्ध भएका राष्ट्रिय खेलाडी समेटिएर प्रशिक्षण गराउने उद्देश्य हो,’ राणाले भने, ‘यद्यपि यो समयमा दसैँ र तिहार आए पनि प्रशिक्षण रोकिनेछैन ।’ यसबीचमा संघले भर्चुअल प्रतियोगिता सञ्चालन गरेको छ । पुम्से विधाका दुईवटा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता संघले आयोजना गरिसकेको छ । ‘हामी थप यस्तै प्रतियोगिता गर्ने तयारीमा छाँै,’ उनले भने । यता नेपालको राष्ट्रिय खेल भलिबलको भने यो समयमा केही पनि योनजा छैन । अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता भएको अवस्थामा मात्र खेलाडीलाई प्रशिक्षण गराउने नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले बताए । 

‘अहिले कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता छैनन्, यसकारण हाम्रो केही योजना छैन ।’ सरकारले पनि खेलकुदमाथि बन्देज लगाएका कारण सामान्य खेलाडीको प्रशिक्षणसमेत नभएको उनले बताए । ‘खेलकुदमाथि बन्देज नै छ, यसकारण पनि केही गतिविधि र योजना संघले बनाएको छैन,’ उनले भने । 

कोभिड–१९ कै समयमा प्रशिक्षण सुरुवात गरेको खेलमध्ये टेबलटेनिस पनि हो । दोस्रोपटकको लकडाउनसँगै टेबलटेनिसका सबै गतिविधि ठप्प छन् । तर, टेबलटेनिस तयारी अवस्थामै रहेको नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जानकारी दिए । अध्यक्ष राजवैद्य भन्छन्, ‘हामीले अगाडि प्रशिक्षण नगराएको होइन, तर फेरि लकडाउन भयो, अहिले सबै बन्द नै छ ।’ टेबलटेनिसको मुख्य प्रशिक्षण केन्द्र लैनचौरमा खेलाडीले कुनै पनि समयमा प्रशिक्षण गर्न मिल्ने वातावरण तयार गरेको उनको भनाइ छ । ‘अहिले पनि हामीले सबै तयारी गरेका छौँ, सरकारले ओके भनेको अवस्थामै खेलाडी प्रशिक्षणमा फर्किनेछन्,’ उनले भने । 

ad
ad