राजकुमार चेपाङको मृत्यु घटनामा आरोपित सैनिकसँग प्रहरीले बयान लिन थालेको छ । घटना भएको दुई महिनापछि चितवन प्रहरीले सैनिक जवानसँग बयान लिन थालेको हो । घुँगी खोज्न १ साउनमा राप्ती नगरपालिका–२ का राजकुमारसहित सातजना चितवन राष्ट्रिय निकुञ्जभित्र गएका थिए ।
उनीहरूमध्ये दुई महिलाबाहेक पाँचलाई सैनिक जवानले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका भएका राजकुमारको ८ साउनमा मृत्यु भएको थियो । त्यही दिन राजकुमारका बुबा विष्णुले प्रहरीमा उजुरी दिएका थिए । तर, प्रहरीले कुटपिट गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि नबढाएपछि विष्णुले २५ भदौमा किटानी जाहेरी दिएका थिए ।
त्यही जोहरीका आधारमा प्रहरीले नेपाली सेनाका हुद्दा चिरणकुमार बुढासँग बयान लिन थालेको हो । नेपाली सेनाको समन्वयमा हुद्दा बुढासँग सोमबारदेखि बयान लिन थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी नान्तिराज गुरुङले बताए । ‘किटानी जाहेरीमा परेका कर्मचारीसँग बयान लिने काम थालिएको छ,’ एसपी गुरुङले भने, ‘अब मुद्दाले थप गति लिनेछ । धेरै विषयहरू अनुसन्धानको पाटो भएकाले अहिल्यै केही बताउन सकिन्न ।’
प्रहरीका अनुसार सोमबार र मंगलबार जिल्ला प्रहरी कार्यालयमै बुढासँग बयान लिइएको हो । उनले कुटपिट गरेको स्वीकारेका छैनन् । मुद्दाको सबै अंग पुगेपछि रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित पक्षले हत्याको किटान गरेको र आरोपितले इन्कारी बयान दिएकाले सत्य पत्ता लगाउन पोलिग्राफ टेस्टसमेत गर्ने प्रहरीको तयारी छ ।