मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज १४ बुधबार ०५:१८:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

बसाइँ हिँड्नेको ताँती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज १४ बुधबार ०५:१८:००

जनवादी गायक जेबी टुहुरेले गाएको एउटा पुरानो चर्चित गीत छ– ‘बसाइँ हिँड्नेको ताँतीले, बस्नेको मन रुवाउँछ, लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्गै छ ।’ जुन आन्दोलनका लागि उनले यो गीत गाएका थिए, त्यसका नेता सत्तामा छन् । जुन वर्गका लागि यो गीत लेखिएको थियो, तिनीहरू भने अहिले पनि ताँती लागेर बसाइँ हिँडिरहेका छन् । यस्तो बसाइँ देशभित्र एक ठाउँबाट अर्को ठाउँमा मात्र भएको होइन, परम्परागत रूपमा हुँदै आएको भारतमा मात्र पनि होइन । 

उहिले बलभद्र कुँवरको समयअघि नै सैन्यसेवामा बिदेसिने चलन सुरु भएको नेपालमा बसाइँ हिँड्नेको ताँती भारतमा ब्रिटिस उपनिवेशवादीले रेलको लिग बिछ्याउन थालेदेखि, भारतमा तीव्र रूपमा आधुनिक सहरको विकास हुन थालेपछि लागेको थियो, त्यो अहिले पनि भारतीय सहरतिर होस् या खाडी या मलेसियातिर अनेक रूपमा जारी छ । तर, यतिवेला प्रसंग र सन्दर्भ भने अलिकति फरक छ । कोरोना महामारीले विश्व आक्रान्त छ । नेपाली जहाँ–जहाँ जाने गर्छन्, ती सबै गन्तव्यमा धेरै–थोरै मात्रामा यो महामारीले प्रभाव पारेकै छ । संख्याका दृष्टिले सबैभन्दा बढी नेपाली जाने भनेको भारतीय श्रमबजारमा हो । भारत यतिवेला विश्वमै सबैभन्दा बढी संक्रमण दर भएको देश हो । एक प्रकारले त्यहाँका सहरहरू मृत्युभयमा बाँचिरहेका छन् । 

एक दशकजति स्थानीयस्तरमा रोजगारका केही विकल्प ल्याउन सक्दा बसाइँ सर्नेको लाम स्वाट्टै घट्दो हो । यसका लागि पहिलो प्रयास प्रधानमन्त्री, उनको सरकार वा पार्टीले आरम्भ गर्नुपर्ने छ ।

केही समयअघि मात्रको कुरा हो, भारतमा संक्रमणको दर बढ्न थाल्दा नथाल्दै त्यहाँ पनि लकडाउन गरियो । त्यसअघि र पछि नेपालीहरू सुरक्षाको छानो खोज्दै नेपाल फर्कने लाममा थिए । ताँती लाएर यस्ता आप्रवासी नेपाल फर्किरहेका कहालीलाग्दा दृश्य र वर्णनले समाचार माध्यमलाई छोपेको थियो । अहिले दृश्य बदलिएको छ र दसैँको मुखैमा हजारौँ नेपाली जीवन धान्नकै लागि गाउँमा कुनै आधार नभेटेर भारतको त्यही संक्रमणको भुङ्ग्रोमा हाम फालिरहेका छन् । यी दृश्य नौला होइनन् । किन मानिस बसाइँ हिँड्छन् भनेर उहिल्यै लीलबहादुर क्षेत्रीले लखेको उपन्यास अहिले पनि नेपाली सन्दर्भमा मेल खान्छ । यो सम्पूर्ण रूपमा नेपालमा भइरहेको विकास प्रयासका असफलताको निरन्तरताको देन हो । 
राज्यको शासकीय प्रणाली बदलेर सम्भावनाको खोजी गरिएको भए पनि हाम्रो राजनीतिक प्रणालीमा पसेको जनताबाट कटिने विषालु भाइरस अहिले पनि सक्रिय छ । अन्यथा यसरी लाम लागेर बाहिरबाट आएकालाई स्थानीय तहका सरकारले सोधीखोजी गर्दा हुन् । उनीहरूलाई स्थानीय रूपमा के–के विकल्पमा काम गराउन सकिन्छ भन्नेबारे छलफल गर्दा हुन् । आवश्यक अनुदान या सहुलियत दरमा ऋण दिने व्यवस्था गर्दा हुन् । समूहमा संगठित हुने र उद्यम, व्यापार वा व्यवसाय गर्न चाहनेलाई थप प्रोत्साहन दिँदा हुन् । यसरी मात्रै देशभित्र केही गर्ने आशा जगाउन सकिँदो हो । त्यसो गर्न सकेको भए अहिले भारततिर जानेको लाम घट्दो हो, नरोकिए पनि पातलिँदो हो । 

घरमा जहानबच्चा या आश्रितलाई चाडबाडको मुखमा रुवाएर आफ्ना आँखा आँसुले भिजाउँदै को पो जाँदो हो र विदेशतिर ? जो जान्थे, यताभन्दा उताको विकल्प राम्रो पाउने मात्र जाँदा हुन् । एक दशकजति स्थानीयस्तरमा रोजगारका केही विकल्प ल्याउन सक्दा यसरी बसाइँ सर्नेको लाम स्वाट्टै घट्दो हो । यसका लागि पहिलो प्रयास प्रधानमन्त्री, उनको सरकार वा पार्टीले आरम्भ गर्नुपर्ने छ । तर, पारितिर एकोहोरिएका निराश आँखाबाट सरकारलाई हेर्दा उसको उपस्थिति कतै देखिँदैन । समकालीन नेपालको यो एउटा ठूलो दुःख हो।