मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन अर्याल काठमाडाैं
२०७७ असोज १४ बुधबार ०४:५३:००
Read Time : > 6 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कोभिडमा फस्टाएको व्यापार

Read Time : > 6 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ असोज १४ बुधबार ०४:५३:००

कोरोना भाइरसले देशको समग्र अर्थतन्त्र डाँवाडोल हुँदा पनि मास्क, स्यानिटाइजर, पिपिई, ज्वरो नाप्ने यन्त्र, स्मार्टफोन, ल्यापटप, इ–कमर्स, इन्टरनेट, साइकल, चप्पललगायतको व्यापार भने राम्रै फस्टायो


विश्वभरि फैलिरहेको कोभिड–१९ महामारीबाट जोगिन सरकारले लकडाउन गरेपछि देशको समग्र अर्थतन्त्र डामाडोल भइरहेको छ । लकडाउनले उद्योगधन्दा बन्द गरिए । व्यापार व्यवसाय चौपट भयो । अझ पर्यटन क्षेत्रसम्बद्ध होटेल, रेस्टुराँ, ट्राभल, ट्रेकिङलगायत व्यवसाय कहिले खुल्ने हो ? यकिन छैन । तर, यही महामारीको समयमा कतिपय व्यवसाय भने गुल्जार भएका छन् । लकडाउनअघि सुस्ताइरहेका कतिपय व्यवसायले पनि लकडाउनको अवधिमा फस्टाउने मौका पाए । 

                                                                                  ....

कोभिड महामारी सुरु भएपछि सबैभन्दा बढी फस्टाएको व्यवसाय हो, मास्क, स्यानिटाइजर र पिपिईको व्यापार । यो अवधिमा ज्वरो नाप्ने यन्त्रको बिक्री पनि बढेको छ । व्यवसायीहरूले मास्क र स्यानिटाइजर बिक्री गरेर राम्रो कमाइ गरिरहेका छन् । नेपालमा डिस्पोजेबल, सर्जिकल र एन–९५ मास्क विदेशबाट आयात हुन्थ्यो । महामारीले उग्र रूप लिएपछि विश्वभरि नै मास्कको अभाव भयो । नेपालमा कोभिड संक्रमितको उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीलाई समेत मास्कको अभाव भएपछि व्यवसायी दीपक मल्होत्राले पहिलोपटक स्वदेशमै डिस्पोजेबल मास्क उत्पादन सुरु गरे । अहिले स्वदेशमै दर्जनभन्दा बढी कम्पनीले व्यावसायिक रूपमा सर्जिकल र एन–९५ मास्क उत्पादन गरिरहेका छन् । कम्पनी दर्ता गरेरै व्यावसायिक उत्पादन थालेको शंकर ग्रुपले मास्क निर्यातको लक्ष्य राखेको छ । 

                                                                                   ....

कोरोना महामारीमा ह्यान्ड स्यानिटाइजरको बिक्री पनि राम्रो छ । ठूला व्यावसायिक घराना निम्बस समूह, गोल्यान समूह स्यानिटाइजर उत्पादनमा लागेका छन् । औषधि उत्पादक कम्पनी धेरैले स्यानिटाइजर उत्पादन गरिरहेका छन् । ‘अहिले बजारमा गुणस्तरीय स्यानिटाइजरको माग बढेपछि हामीले उत्पादन थालेका हौँ,’ लोमस फर्मास्युटिकल्सका निर्देशक प्रणवजंग पाण्डे भन्छन् । कोभिड संक्रमणबाट जोगिन नभइनहुने स्वास्थ्य सामग्री भएकाले स्यानिटाइजरको बिक्री बढेको व्यवसायी बताउँछन् ।

                                                                                    ....

लकडाउन इ–कमर्स कम्पनीका लागि फलिफाप सावित भयो । उपभोक्ताले घरभित्रै बसेर अनलाइन सामान अर्डर गरिरहेका छन्, इ–कमर्स कम्पनीलाई घरघरमा सामान डेलिभरी दिन भ्याइनभ्याई छ । कोभिडले नेपालमा अनलाइन किनमेल संस्कृतिको विकास गरिरहेको बताउँछन् ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्का । अनलाइनबाट किनमेल बढेपछि इ–कमर्स कम्पनीले पनि यही समय आफ्नो व्यापार विस्तारको अवसर देखिरहेका छन् । अनलाइन सपिङको भविष्य देखेर ठूला व्यावसायिक घरानाहरू पनि इ–कमर्समा लगानी गर्न कस्सिएका छन् । अहिले नयाँ अनलाइन सपिङ प्लेटफर्मको बाढी नै आइरहेको छ । फेसबुक, इन्स्टामा फेसबुक पेज बनाएर अनलाइन कारोबार गर्नेहरू छ्यापछ्याप्ती देखिन्छन् । गुगल सर्च गर्दा दर्जनौँ सपिङ साइट र पेजहरू भेटिन्छन् । धेरै रेस्टुराँले लकडाउनकै बीचमा होम डेलिभरी सुरुवात गरे । सस्तोडिल डटकमका संस्थापक अमुन थापा भन्छन्, ‘कोभिडले अनलाइन अर्डर तीन गुणाभन्दा बढीले बढेको छ ।’

लकडाउनपछि विद्युतीय कारोबारमा पनि बढोत्तरी भएको छ । नगद कारोबार गर्दा पैसाको माध्यमबाट कोभिड संक्रमित हुने डरले उपभोक्ताले बाध्यात्मक रूपमै भए पनि डिजिटल कारोबार गर्न थालेका छन् । नबिल बैंकका सिइओ अनिल शाह भन्छन्, ‘कोभिड महामारी डिजिटल कारोबारका लागि कोसेढुंगा सावित हुने देखिएको छ ।’ 

विद्युतीय कारोबार सुरु भएको धेरै समय भइसक्दा पनि उपभोक्ताहरू अभ्यस्त नहुँदा नगदमै कारोबार बढी हुने गरेको थियो । लकडाउनमा घरबाहिर निस्कन रोकावट भएको र कोभिड पनि सर्ने डरले डिजिटल कारोबार बढ्दै गइरहेको उनी बताउँछन् । इ–सेवा, कनेक्ट आइपिएस, आइएमई पे, प्रभु पे, खल्ती, सेल पे, वालेटलगायत अनलाइन पेमेन्ट गेटवेहरूले पनि लकडाउनपछि राम्रो कारोबार गरिरहेका छन् । बैंकको खाताबाट सीधै गर्न सकिने अनलाइन कारोबार पनि ह्वात्तै बढेको छ । एटिएम, डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंक, मोबाइल बैंकिङ, क्युआर कोडलगायत प्लेटफर्मबाट कारोबार बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

                                                                                    ....

लकडाउनपछि आममानिस घरभित्रै थुनिएर बस्नुपर्‍यो । मान्छे घरभित्र थुनिएर बस्नुपरेपछि इन्टरनेटमा झुन्डिन थाले । सामाजिक सञ्जाल प्रयोगकर्ता ह्वात्तै बढेपछि इन्टरनेट सेवा प्रदायक (आइएसपिको) ब्यान्डविथ खपत पनि ३५ प्रतिशतसम्म बढ्यो । कोभिडकै डरले ‘वर्क फ्रम होम’ कल्चर सुरु भइसकेको छ । घरबाटै अफिसका काम र भिडियो मिटिङले इन्टरनेटकै खपत बढायो । नेपाल नेटवर्क अपरेटर ग्रुपका अध्यक्ष समितजन थिङ भन्छन्, ‘घरभित्र थुनिएका नेपालीले बढी समय इन्टरनेटमा बिताउँदा ब्यान्डविथ खपत ह्वात्तै बढेको छ ।’ 

टिकटक, फेसबुक, नेटफ्लिक्स, इन्स्टा, गुगल, युट्युब, ट्विटर, अनलाइन कक्षा, अनलाइन गेमलगायत सामाजिक सञ्जालमा अहिले बढी इन्टरनेट ब्यान्डविथ खपत भइरहेको छ । सामान्य अवस्थामा आइएसपीहरूको लोकल ब्यान्डविथ खपत ११ सय २२ जिबिपिएस रहेकोमा लकडाउनको अवधिमा बढेर १५ सय ५३ जिबिपिएससम्म पुग्यो । यस्तै, ३३४ जिबिपिएससम्म खपत भइरहेको अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत बढेर ४१८ जिबिपिएससम्म पुग्यो । यो भनेको क्रमशः ३५ प्रतिशत र २५ प्रतिशत वृद्धि हो । ब्यान्डविथ खपत बढेपछि सेवा प्रदायकलाई पनि इन्टरनेट वितरणमा समस्या परिरहेको छ । 

                                                                                       ....

कोभिडले मोबाइल सेवा प्रदायक टेलिकम कम्पनीहरूको व्यापार पनि बढाएको छ । यो अवधिमा भ्वाइस कलका साथै मोबाइलबाट डाटा खोलेर इन्टरनेट चलाउने ग्राहक ह्वात्तै बढेका छन् । नेपालमा खपत भइरहेको कुल इन्टरनेट ब्यान्डविथमा टेलिकम कम्पनीहरूको ११ प्रतिशत र फिक्स्ड सेवाको ८९ प्रतिशत हिस्सा छ, तैपनि नम्बर अफ युजर्सका आधारमा फिक्स्ड सेवाका भन्दा मोबाइलबाट इन्टरनेट चलाउने ग्राहक धेरै भएको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । आइएसपीको फिक्स्ड इन्टरनेट सेवा नपुगेका धेरै ठाउँहरूमा मोबाइलबाटै थ्रिजी र फोरजी इन्टरनेट चलाउने बढेका छन् । लकडाउनलगत्तै सहरबाट गाउँ फर्केका धेरैले मोबाइलबाटै इन्टरनेट र भ्वाइस कल सेवा लिइरहेका छन्। 

कोरोना कहरसँगै घरबाटै अफिसको काम गर्ने परिपाटी बढेको छ । स्कुल कलेज बन्द छन् । विद्यार्थीले घरबाटै अनलाइन क्लास लिइरहेका छन् । ‘वर्क फ्रम होम’ र ‘अनलाइन क्लास’ले मध्यम खालको स्मार्टफोन र ल्यापटपको माग यतिसम्म बढ्यो कि बजारमा स्मार्टफोन र ल्यापटपको अभाव चर्किएपछि व्यवसायीहरूले यही मौकामा अस्वाभाविक मूल्य बढाएर बिक्री गर्नसम्म भ्याए । 

एसर ल्यापटप विक्रेता मर्कन्टाइल कम्युनिकेसन प्रालिका सेल्सम्यान भन्छन्, ‘पछिल्ला महिनामा ल्यापटप चाहियो भन्दै ग्राहकको इन्क्वायरी ज्यादै धेरै आइरहेको छ, तर लकडाउनले गर्दा पर्याप्त ल्यापटप नहुँदा उपलब्ध गराउन सकिरहेका छैनौँ ।’ बजारमा अहिले पनि मध्यम खालका स्मार्टफोन र ल्यापटपको अभाव छ । लकडाउनले अन्तर्राष्ट्रिय उडान र सडकबाट समेत ढुवानी हुन नसकेपछि ल्यापटप र मोबाइलको सहज आपूर्ति हुन नसकेको मोबाइल ल्यापटप विक्रेता बताउँछन् । चार्टर्ड प्लेनमा महँगो भाडा तिरेर आयात गर्नुपर्दा स्मार्टफोन र ल्यापटपको मूल्य बढेको कतिपय व्यवसायीहरूको तर्क छ । बजारमा स्टक रहेका स्मार्टफोन र ल्यापटप सबै बिक्री भइसकेका छन् । अहिले ‘ग्रे मार्केट’ पूरै ठप्प भएपछि मोबाइल र ल्यापटपका आधिकारिक विक्रेतालाई ठूलो राहत मिलिरहेको छ ।

                                                                                        ....

लकडाउनले साइकलको बिक्री पनि बढाएको छ । कोभिड संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने र सडकमा जोरबिजोर प्रणाली लागू भएपछि साइकलको माग बढेको बताउँछन्, पिएएनसी साइकल कम्पनीका सञ्चालक टिरेक मानन्धर । उनी भन्छन्, ‘लकडाउनपछि साइकलको माग बढेको छ, तर हामीले डेलिभरी दिन सकिरहेका छैनौँ ।’ सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले अहिले विश्वभरि नै साइकलको माग बढेको हुँदा निर्माता कम्पनीले पर्याप्त साइकल उपलब्ध गराउन नसकेको बताउँदै उनी भन्छन्, ‘अलिअलि साइकल आइरहेको छ, त्यतिले माग धान्न सक्ने अवस्था छैन ।’ व्यवसायीका अनुसार दैनिक प्रयोग र रिक्रियसन (डाँडाकाँडा चढ्न, बढेको पेट घटाउन) दुवैका लागि साइकलको माग बढेको छ । 

                                                                                         ....

लकडाउनले अस्थायी गर्भनिरोधक कन्डमको बिक्री पनि बढेको छ । चैतयता चार महिनामा एक करोड ४८ लाख ४९ हजार रुपैयाँबराबरको कन्डम आयात भएको छ । भन्सार विभागका अनुसार चैत, वैशाख, जेठ र असार महिनामा २६ हजार ८०७ केजी कन्डम आयात भएको छ । गत आर्थिक वर्षभरिमा १३ करोड ९५ लाख ४५ हजार रुपैयाँबराबरको एक लाख ३० हजार ६८३ केजी कन्डम आयात भएको देखिन्छ । लकडाउनको अवधिमा प्लेन र गाडी नचल्दा पनि कन्डमको आयात बढेको विभागको तथ्यांकले देखाउँछ । सरकारले लकडाउन गरेर आममानिसलाई घरबाहिर निस्कन नदिएपछि कन्डमको बिक्री बढेको विक्रेताहरू बताउँछन् । कोभिड सुरु भएपछि विश्वभरि नै कन्डमको प्रयोग व्यापक बढेपछि अभाव देखिएको छ । भियतनाममा तीन लाख २० हजारभन्दा बढी प्रयोग भइसकेका कन्डम पुनः प्रयोगमा ल्याउन बजारमा पुर्‍याउनै लाग्दा प्रहरीले जफत गरेको थियो । 

                                                                                           ....

कोभिडको महामारीले दाह्री कपाल फाल्ने इलेक्ट्रिक मेसिनको बिक्री पनि बढाएको छ । लकडाउनपछि सरकारले पार्लर र सैलुन बन्द गरायो । जसले गर्दा मान्छेले घरमै आफैँ दाह्री कपाल काट्न थाले । लकडाउनपछि इलेक्ट्रिक मेसिनको बिक्री बढेको भाटभटेनीको कलंकी आउटलेटकी एक कर्मचारीले बताइन् । लकडाउन खुकुलो भएसँगै सैलुन र पार्लर खुल्न थालेका छन्, तर कोभिड संक्रमणको जोखिम देखेर आममानिस सैलुन जान डराइरहेका छन् । अहिले घरमै मेसिनले जानीनजानी कपाल काट्नेको संख्या बढेको छ । लकडाउन खुकुलो भए पनि सैलुन अझै सुनसान नै देखिन्छन् । लकडाउनको अवधिमा चप्पलको समेत बिक्री बढेको व्यापारी बताउँछन् । लकडाउनमा घरमा बस्नुपर्ने भएपछि धेरैले चप्पल खोज्दै आएको बुद्धनगरका एक फेन्सी पसलेले बताए ।