१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १४:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली

टाउको दुखाइलाई कस्तो अवस्थामा सामान्य नठान्ने ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:५८:oo

स्नायु प्रणालीलाई असर गर्ने विकारहरूमध्ये टाउको दुख्नु पनि एक हो । स्वास्थ्यसम्बन्धी विभिन्न अध्ययनअनुसार विश्वको आधाभन्दा बढी जनसंख्याले टाउको दुख्ने समस्या भोगिरहेका छन् । टाउको दुखाइ सामान्य र जटिल गरी दुई प्रकृतिको हुन्छ । सामान्य स्वास्थ्य समस्या, वातावरण, तनाव आदिले हुने टाउको दुखाइ हरेक व्यक्तिले भोगिरहेका हुन्छन् । यस्तो दुखाइ कुनै निश्चित विषयमा निर्भर रहन्छ । जस्तै– खानपान, डिहाइड्रेसन, काम र घरको वातावरण र स्वास्थ्य अवस्था आदि । सामान्य किसिमको टाउको दुखाइले स्वास्थ्यमा खासै असर गरिरहेको हुँदैन । तर, कतिपय अवस्थामा सामान्य लाग्ने टाउको दुखाइ ब्रेनट्युमर, स्ट्रोक, रक्तश्राव आदिको लक्षण पनि हुन सक्छ ।

घाँटी दुख्ने, ज्वरो आउनु सँगसँगै टाउको दुख्ने समस्या भए कुनै रोगको संकेत हुन सक्छ । लक्षणहरूका आधारमा टाउको दुखाइको कारण थाहा थाहा पाउन भने गाह्रो हुन्छ । तर, करिब १० प्रतिशतमा भने टाउको दुखाइको कारण गम्भीर समस्या हुने अध्ययनहरूले देखाएका छन् । यी अवस्थामा टाउको दुखेमा सामान्य मान्न नसकिने अध्ययनहरूको सुझाब छ :– 


अचानक टाउको दुख्नु
अचानक टाउको दुख्नु र करिब पाँच मिनेट नपुग्दै अत्यधिक दुखाइ हुनु सामान्य लक्षण होइन । एक्कासि गम्भीर बनाउने गरी टाउको दुख्नु मस्तिष्कमा हुने रक्तश्रावका कारण हुन सक्छ । यस्तो टाउको दुखाइ केही घन्टा वा केही दिनसम्म पनि रहन सक्छ । चिकित्सकहरूका अनुसार एक्कासि टाउको दुखेमा दुखाइ कम गर्ने औषधि खाएर सुत्ने प्रयास गर्नुहुँदैन । यसले थप समस्या निम्त्याउन सक्छ । तसर्थ यस्ता लक्षण देखिए सकेसम्म छिटो सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ । 

असामान्य महसुस हुनु
दैनिक जीवनमा आइपर्ने विभिन्न तनाव आदिका कारण अधिकांशमा टाउको दुख्ने समस्या हुन्छ जुन सामान्य हो । तर, यदि असामान्य लाग्ने गरी टाउको दुखेमा कुनै गम्भीर स्वास्थ्य समस्याको लक्षण बुझ्नुपर्छ । अचानक तीव्र रूपमा टाउको दुखाइ जोखिमपूर्ण अवस्थाको संकेत हुन सक्ने चिकित्सकहरूको भनाइ छ । 

टाउको दुखाइसँगै ज्वरो र घाँटी दुख्नु
अत्यधिक टाउको दुखाइसँगै ज्वरो आउने र घाँटी दुख्ने समस्या मेनेन्जाइटिसको लक्षण हो । मस्तिष्कमा हुने सुजन र मेरुदण्डको मेम्ब्रेनका कारण हुने गर्छ । अचानक हुने टाउको दुखाइ र ज्वरो कुनै अन्य मानसिक अस्वस्थताको लक्षण पनि हुन सक्छ । 

अचानक मुड परिवर्तन हुनु
टाउको दुखाइका कारण अचानक मुड परिवर्तन हुनुलाई गम्भीर समस्याको लक्षण मानिन्छ । विनाकारण तीव्र दुखाइ हुनु, दुखाइ असामान्य लाग्नु र मुड परिवर्तन गर्नुले कमजोर मानसिक अवस्थाको संकेत गर्छ । 

आँखावरिवरि दुख्नु
यदि टाउको दुखाइको समयमा आँखावरिपरि दुख्छ भने त्यो गम्भीर रोगको लक्षण हुन सक्छ । टाउको दुखाइले आँखाको दृष्टिमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । जसले भविष्यमा मोतीबिन्दु र आँखामा पार्ने दबाबका कारण आँखामा रक्तसञ्चार बन्द हुन सक्छ । जसको कारणले अन्धोपनको जोखिमसमेत रहन्छ । 

यस्तै, चोटपटकका कारण टाउको दुख्नु, दुखाइसँगै लगातार बान्ता हुनु वा पखाला लाग्नु, व्यक्तित्व र कार्यशैलीमा परिवर्तन आउनु, बेहोस हुनु, काप्न थाल्नु, हिँड्न गाह्रो हुनु, राति पसिना आउनु, मांसपेशी वा जोर्नी दुख्न थाल्नु, सन्तुलन गुमाउनु आदि टाउको दुखाइ सामान्य होइनन् । यस्ता लक्षण देखिएमा समयमै चिकित्सकको परामर्श आवश्यक हुन्छ ।

–एजेन्सीको सहयोगमा 
 

ad
ad