
आज ‘४१औँ विश्व पर्यटन दिवस’ हाे ।
यस वर्ष ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइँदै छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन दिवसको अवसरमा काठमाडौंको चोभारस्थित मञ्जुश्री पार्क पुगेर वृक्षरोपण गरे ।
मन्त्री भट्टराईले कोभिड– १९ का कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने बताए ।
कोभिडका कारण देशको आम्दानीका स्रोतहरू घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिए पनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने बताए ।
राज्यको आम्दानीको स्रोतको विकास गर्नका लागि उपत्यकावरिपरिका डाँडाहरूलाई घुम्न जाने नजिकको गन्तव्यको रूपमा विकास गरिने उनले बताए ।
चोभारलाई पनि त्यसै कार्यक्रमसँग जोडेर विकास गरिने मन्त्री भट्टराईले उल्लेख गरे ।
मञ्जुश्री पार्कसँगसँगै उपत्यकावरिपरिका पहाडहरूलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकेमा उपत्यकाको रात्रिकालीन जीवनको पनि सुरुवात हुने मन्त्री भट्टराईको भनाइ छ ।
उनले अबको पर्यटन ग्रामीण पर्यटन माथि केन्द्रित हुनुपर्ने पनि धारणा राखे ।
ग्रामीण पर्यटनको विकासमा काम गर्न सके ग्रामीण क्षेत्रका मानिसहरूको आर्थिक जीवनमा समेत परिवर्तन ल्याउन सकिने विश्वास मन्त्री भट्टराईको छ ।
कोरोना संक्रमणका कारण देशभर रहेका होटेल र अन्य पर्यटकीय क्षेत्रका व्यवसाय ६ महिनायता ठप्प छन् ।
विदेशी पर्यटक नेपाल आउने अवस्था छैन भने आन्तरिक पर्यटकहरू पनि ओहोरदोहोर गर्ने अवस्था नरहेपछि पर्यटन उद्योग जीवनमरणको अवस्थाबाट गुज्रिन पुगेको छ ।
यस क्षेत्रमा सक्रिय लाखौँ मजदुर र कर्मचारीले रोजगारी गुमाउनुपरेको अवस्था छ ।
हिमाली पर्यटन, ट्रेकिङ, होटेल, एयरलाइन्स, टुर अपरेरिङ, सडक यातायात, रेस्टुरेन्टलगायतका पर्यटकीय उद्योग ठप्प रहेको छ । यस क्षेत्रमा संलग्न व्यवसायीले पर्यटन उद्योगलाई जोगाउन सरकारले सम्बोधन गर्नुपर्ने माग राख्दै आएका छन् ।