मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ५ सोमबार २२:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा एकीकरणको ६ महिनापछि टुंगियो चुनाव चिह्न, हलोमा जुट्यो सहमति 

Read Time : > 3 मिनेट
२०७७ असोज ५ सोमबार २२:००:००

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच पार्टी एकीकरण घोषणा भएको ६ महिनापछि चुनाव चिह्न हलोमा सहमति भएको छ । राप्रपा समूहहरूबीच २४ फागुनमा भएको पार्टी एकीकरणसम्बन्धी लिखित समझदारी भए पनि निर्वाचन चिह्न गाई हुने कि हलो हुने भन्ने विवादका कारण निर्वाचन आयोगमा पार्टी दर्ता नै हुन सकेको थिएन । अब राप्रपाको पुरानो दर्तालाई कायम राखिएको जानकारीसहित विधान संशोधन गरेर निर्वाचन आयोगमा निवेदन दिने सहमति भएको छ । 

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच आइतबार यो सहमति भएको हो । यसअघि राप्रपाको चुनाव चिह्न गाई थियो भने राप्रपा संयुक्तको भने हलो थियो । राप्रपाको झण्डा, अन्तरिम विधानमा टेकेर गत फागुन २४ मा पार्टी एकता गर्ने समझदारी गरे पनि उनीहरूले ६ महिनाभित्र उपयुक्त निकायबाट चुनाव चिह्न टुंग्याउने सहमति भएको थियो ।

तर, नेताद्वय राणा र लोहनीले शीर्ष तहबाटै चुनाव चिह्न टुंग्याउनुपर्ने अडान राखेपछि थापा, राणा र लोहनीबीच पटकपटक छलफल भएको थियो । उनीहरूले कार्यदल गठन गरेर टुंग्याउन खोजे पनि कार्यदलले शीर्ष नेतालाई नै जिम्मा दिएको थियो । थापा नेतृत्वको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सोमबार पार्टी एकता बचाउन निर्वाचन चिह्न गाई त्यागेर हलो स्वीकार गर्ने निर्णय गरेको हो । मंगलबार बस्ने पार्टीको संयुक्त कार्य सम्पादन समितिले चुनाव चिह्न हलो राख्ने निर्णय गर्नेछ । राप्रपा अध्यक्षत्रयबीचको सहमतिअनुसार पार्टीको एकता महाधिवेशन वैशाख तेस्रो सातामा आयोजना गर्ने निर्णय पनि हुन सक्नेछ । 
‘चुनाव चिह्न हलो हुने कि गाई भन्ने विषयमा ६ महिनादेखिको विवाद टुंगिएपछि अब दल दर्ताको बाटो खुलेको छ, चुनाव चिह्न गाईको पक्षमा जनमत हुँदाहुँदै पनि पार्टी एकता बचाउन र बृहत्तर हित कायम गर्न हलो चिह्न मान्ने निर्णयमा हामी पुगेका हौँ,’ राप्रपाका सचिवालय सदस्य राजाराम बर्तौलाले नयाँ पत्रिकासँग भने । 

पार्टी बैठकपछि थापाले ट्विटरमा लेखेका छन्, समूहमा बसेपछि आफ्नो मात्र चाहनाअनुसार काम गर्न सकिन्न । पाइलापाइलामा सम्झौता गर्नुपर्ने हुन्छ । सक्षम नेतृत्वले सम्झौता प्रतिकूलतालाई अवसरमा परिणत गर्दै सफलताको शिखर चुम्दछ । राप्रपाको एकीकरण सम्झौता हो ।’ उनले एकताको जगमा हिन्दूराष्ट्र÷राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्ने अभियान जारी रहने पनि दाबी गरेका छन् । 

निर्वाचन चिह्न विवाद कहिले–कहिले ?
तत्कालीन राप्रपा नेपाल (कमल थापा) र राप्रपा (पशुपतिशमशेर राणा)बीच ०७३ मंसिर ६ मा पार्टी एकीकरण भयो भने फागुन ६ गते महाधिवेशन भयो । महाधिवेशनबाट कमल थापा अध्यक्षमा निर्वाचित भए, तर चुनाव चिह्न तोकिएन । बरु फागुन १९ मा आयोजित केन्द्रीय समिति बैठकले चुनाव चिह्न गाई हुने निर्णय बहुमतबाट भयो । राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी बैठक छाडेर हिँडे भने उनले २१ फागुनमा राप्रपा परित्याग गरे । महाधिवेशनमा चुनाव चिह्नको विषयले प्रवेश नै पाएन ।

०७४ वैशाख २१ मा स्थानीय तहको निर्वाचन भयो । त्यसअघि दल दर्ता प्रयोजनका लागि निर्वाचन आयोगले आह्वान ग¥यो । चैत पहिलो साता आयोगले राप्रपालाई चिठीमा पार्टीको विधानबाट राजसंस्था र हिन्दूराष्ट्र हटाउने निर्णय ग¥यो । त्यसको विरोधमा राप्रपाले निर्वाचन आयोगअगाडि प्रदर्शन गरेको थियो, राप्रपाले ८ चैतमा निर्वाचन आयोग घेराउ गरेको थियो । तत्कालीन उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरे । त्यसपछि निर्वाचन आयोगले राप्रपाको विधानसम्बन्धी विषय स्थगित ग¥यो । अहिलेसम्म पनि स्थगितको अवस्थामा छ । 

स्थानीय निर्वाचनमा राप्रपाको शर्मनाक पराजयपछि तत्कालीन राप्रपामा खटपट थियो । लोहनीले पार्टी छाडिसकेका थिए भने पशुपतिशमशेर समूह थापा समूहसँग असन्तुष्ट थियो । पार्टी फुटको तहमा पुगेपछि थापाले ४२ जनालाई केन्द्रीय समितिमा मनोनीत गरे । पशुपतिशमशेर समूहले ०७४ साउन २२ गते राप्रपा प्रजातान्त्रिक दर्ता गरे जसमा ६४ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए । पार्टी फुट अवैधानिक भन्दै थापा समूह सर्वोच्च अदालतमा गयो, तर सर्वोच्चले राप्रपा प्रजातान्त्रिक दललाई दल दर्ताको मान्यता दिनू भन्ने आदेश दियो । राप्रपा प्रजातान्त्रिकका नेताहरू दीपक बोहरा, विक्रम पाण्डे, सुनीलबहादुर थापा सरकारमा गए । त्यसवेला शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । सोही सरकारमा थापा पनि उपप्रधानमन्त्री एवं ऊर्जामन्त्रीसहित सामेल भए । राप्रपाका दुवै समूह सरकारमा रहँदा राप्रपाले संघीय संसद्मा एक सिट जित्यो र प्रदेश सभामा तीन सिट जित्यो । राप्रपा प्रजातान्त्रिकले प्रदेश सभामा एक सिटबाहेक कहीँ जित्न सकेन । त्यसपछि दुई समूहबीच पार्टी एकताको प्रयास सुुरु भएको थियो । 

०७६ साउन २५ गते पार्टी एकता गर्ने निर्णय भएको थियो, तर २४ गते पशुपतिशमशेर राणाले पछि गरौँ भनेपछि एकता भएन । तीन अध्यक्ष रहने गरी पार्टी एकता गर्न थापा, राणा र लोहनी सहमत भए र कात्तिक २५ गते एकता घोषणा सभाका लागि राष्ट्रिय सभाको हल बुक भयो । राप्रपा नेताद्वय नीलकण्ठ काफ्ले र उद्धव पौडेलले राष्ट्रिय सभाको हल बुक गरे, तर चुनाव चिह्नको कुरा नमिल्दा त्यसवेला पनि एकता हुन सकेन । त्यसवेला राप्रपाले गाई हुनुपर्ने अडान राख्यो भने राप्रपा संयुक्तले हलो मान्नुपर्ने अडान राख्यो । 

त्यसवेला हुन नसकेको एकता ०७६ फागुन २४ गते भयो । फागुन २८ गते राष्ट्रिय सभाबाट पार्टी एकता घोषणा भयो । तर, यसबीचमा संयुक्त वक्तव्यबाहेक केही भएन । यही जेठ २९ गते १३ सदस्यीय केन्द्रीय सचिवालय कार्य व्यवस्था समिति गठन भयो भने ८२ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति घोषणा भयो । केन्द्रीय समिति भने तीन सय २७ सदस्यीय छ । 

यसबीचमा निर्वाचन चिह्न के हुने भन्ने विवाद चुलिँदै गएका कारण पार्टी फुटको संघारमा पुगेको थियो । एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष थापाले गत २८ फागुनमा गीता छोएर पार्टी फुट्न नदिने संकल्प गरेअनुसार गाई चिह्न त्यागेर हलो चुनाव चिह्न हुने गरी पार्टी एकता जोगाउने निर्णय गरेका हुन् ।