मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कुसुमलता सिंह
२०७७ असोज २ शुक्रबार ०७:०२:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पब्जी दुर्व्यसन अर्काे महामारी 

Read Time : > 3 मिनेट
कुसुमलता सिंह
२०७७ असोज २ शुक्रबार ०७:०२:००

गुच्चा, डन्डीबियो, बाघचाल, कबड्डी, चुंगी, गट्टा, च्याम्पटी, सात–ढुंगा, घ्वाइँ, इन्टुमिन्टुजस्ता हामीले खेलेर हुर्केका खेल आज हराएर गएका छन् । शारीरिक चुस्ती र रमाइलोका लागि भौतिक रूपमा नै खेलिने खेलका ठाउँ भर्चुअल गेमहरूले लिन थालेका छन् । आजको पिँढीका बालबालिका यस्ता आँगन–खेल (आउटडोर गेम) खेल्न छोडिसकेका छन् । अघिका बालबालिकामा घरबाहिरका परम्परागत तथा सामूहिक खेलहरूमा स्वस्फूर्त रुचि हुने गथ्र्याे । हुर्किने त्यस्तो प्राकृतिक वातावरण आज क्रमशः हराउँदै गएको छ र बालबालिका अवास्तविक संसारसँगको हेलमेलमा अभ्यस्त बन्दै त्यसैअनुरूपको मानसिकता तयार गर्दै छन् । अर्थात्, प्रकृतिक संसारसँग विमोहित हुँदै गएका छन्, जसले उनीहरूको शारीरिक एवं मानसिक स्वास्थ्यमा दूरगामी प्रभाव पार्ने देखिँदै छ । 

आजका बालबालिका, किशोर–किशोरी र वयस्कहरूसमेत मोबाइल फोनमा सर्वसुलभ २३ वटा खेलमध्ये कुनै न कुनैमा एकोहोरिएका छन् । अल्टोज अडिसे, एंग्री बर्डस्, बल्ज, बबल्सबीच सागा, क्यान्डीक्रस, कलर रोड, क्रसी रोड, फ्ल्यापी डंक, फोर्टनाइट, गार्डेनस्केप, ज्योमेट्री ड्यास, माइनक्राफ्टलगायतका खेल उनीहरूको छनोट हुन थालेका छन् । हुन त ल्युमोसिटी, म्याथ वर्कआउट, आइडेटिकजस्ता कतिपय मोबाइल खेल दिमागको दक्षता बढाउने खालका पनि छन् । तर, अहिलेको पुस्ता यस्ता खेलमा भन्दा पनि ध्वंसात्मक र हिंसात्मक किसिमका खेलमा एकोहोरिएका मात्र होइन, हाम्रा सन्ततिहरू दुव्र्यसनी नै हुन थालेर लाखौँ आमाबाबुको चिन्ताको विषय बन्न पुगेका छन् । 

मोबाइल फोनमा मनोरञ्जनका नाममा आनीबानी बिगार्ने, बौद्धिक तथा व्यक्तित्व विकास अवरुद्ध पार्ने र हिंस्रक मनोवृत्ति तथा असामाजिक स्वभावमा धकेल्ने अनेकौँ खेल सहजै उपलब्ध छन् । खासगरी, बालबालिका र किशोर वयका नयाँ पुस्तालाई यस्ता खेलले दुर्व्यसनी नै बनाउन थालेको छ । प्राकृतिक माहोलमा हुर्कने र त्यहीअनुरूपको मनोविज्ञानको विकास हुनुपर्ने वेलामा ‘पब्जी’ जस्ता खेल, बाल मस्तिष्क बिगार्ने घातक साधन बन्न सक्छन् । यसमा गम्भीर बन्न आवश्यक छ । यस्ता खेलका राम्रा–नराम्रा पक्षउपर सरकारले अध्ययन गरेर उपयुक्त नीतिगत निर्णय लिन र आवश्यक नियमन गर्नु जरुरी भइसकेको छ । विद्यालयहरूले पनि अनिवार्य रूपमा आफ्ना विद्यार्थीलाई यस्ता खेलले के कस्ता हानि गर्छ, कस्ता दुस्प्रभाव हुन्छन्, यसले व्यक्तिमा कस्तो खालको शारीरिक एवं मानसिक असर पार्छ भनेर सचेत गराउनुपर्छ । 

‘पब्जी’ (प्लेयर अननोन ब्याटल ग्राउन्ड) जस्ता मोबाइल खेलमा मग्न भएको ८–१० वर्षको बालबालिकालाई त्यस्ता खेलमा नखेल्न सल्लाह दिँदा अति क्रुद्ध हुन्छन् । अति गरेपछि मोबाइल सेट नै खोसिदियो भने सम्झाउनै नसक्ने गरी रुवाबासी र द्रोह गर्छ । यो आज नेपालको मात्र होइन, संसारका करोडौँ घर–परिवारको पीडा भइरहेको छ । पब्जी खेलकै कारण धेरैवटा आपराधिक घटना भइसकेको, खेल्नेहरूमा मानसिक विकृति र डिप्रेसन बढाउनेसम्मका जोखिम बढ्दै गएका घटनाहरू छन् । 

यसअघि ‘पोकेमोन गो’ खेल हिंसात्मक मानसिकता, आक्रामक, हठी र सिर्जनात्मक कार्यमा मन नलाग्नेजस्ता मानवीय खराबीको कारक भएपछि प्रतिबन्ध लगाउनुपरेको थियो । अहिले पब्जी त्यस्तै गरी समस्याको स्रोत भइरहेको छ ।

‘पब्जी’को दुव्र्यसनले लाखौँ बालबालिकाको जीवन र भविष्य बिगार्नुका साथै अनेकौँ हिंस्रक अपराध बारम्बार हुँदै गएका छन् । बाबुआमाले पब्जी खेल्न रोक लगाएका कारण भारत गुजरातका एक ११ वर्षीय बालकले आत्महत्या नै गरे । त्यो घटनाको पर्सिपल्टै भारत सरकारले पब्जीमा प्रतिबन्ध लगायो । चीन, जोर्डन र इराकले पनि यो घातक खेलमा प्रतिबन्ध लगाइसकेका छन् । अन्य कैयौँ मुलुक प्रतिबन्ध गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । 

यसअघि, ‘पोकेमोन गो’ खेल हिंसात्मक मानसिकता, आक्रामक, हठी र सिर्जनात्मक कार्यमा मन नलाग्नेजस्ता मानवीय खराबीको कारक भएपछि प्रतिबन्ध लगाउनुपरेको थियो । अहिले पब्जी त्यस्तै गरी समस्याको स्रोत भइरहेको छ । यसको कुलतले सहर र गाउँ दुवैलाई गाँजिसकेको छ । मोबाइल वा कम्प्युटरमा खेलिने भर्चुअल खेलको दुर्व्यसनका कारण अपराध बढिरहेका छन् । कार्यसम्पादनमा ह्रास यस खेलको अर्काे ज्वलन्त समस्या हो । यसबाट मानसिक र दिमागी क्षमतामा समेत गम्भीर प्रभाव देखा पर्दै छन् । कतिसम्म भने बालबालिका वा किशोरकिशोरीको सुत्ने तरिका, निद्रा र सपना पनि बिथोलिन थालेको, अध्ययनहरूले देखाएका छन् । बालबालिकामा आक्रामक र छिटै रिसाइहाल्ने स्वभाव बढ्दै जानुमा पब्जीलगायतका खेलको हात देखिएको छ । 

सन् २०१८ देखि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यस्ता खेललाई स्वास्थ्य समस्याका कारकको रूपमा मान्न थालेको छ । लकडाउनपछि हाम्रा बालबालिक झनै फुर्सदिला बनेका छन् । उनीहरूलाई घरभित्र भुलाएर राख्न पनि मोबाइलका स्क्रिनमा टाँसिएर बस्न दिने क्रम बढेको छ । यसले यस्ता भर्चुअल सामग्रीको खपत बढाएर धेरैभन्दा धेरै जनसंख्यालाई अनुत्पादक बनाइरहेको छ । जसले पढ्ने–लेख्नलगायतका सिर्जनशील कार्यमा मनै नलाग्ने, कक्षामा बसेको वेलामा पनि पब्जीजस्ता खेलमा नै ध्यान गइरहने, खाने वेलामा पनि खानेकुरातिर ध्यान नदिएर मोबाइलकै स्क्रिनमा मग्न हुने, घरबाहिरका शारीरिक खेलमा रुचि नलाग्ने हुन थालेको छ, जुन चिन्ताको विषय हो । यसले महामारीले झैँ प्रभाव पुर्‍याउन सक्ने जोखिम छ । यस्तो प्रवृत्ति अति नै बढ्दै गएकाले विश्वका जिम्मेवार सरकारहरू गम्भीर भएर सोच्न थालेका छन् । यो अब नेपाल सरकारका लागि पनि चिन्ता र समाधानको विषय हुनुपर्छ ।

एकपटक नेपाल प्रहरीले पब्जी खेललाई प्रतिबन्ध लगाउने प्रयास गरेको थियो । यससम्बन्धी प्रचार–प्रसार गरेर जनसमुदायलाई सचेत गराउने प्रयास पनि गरेको थियो । तर, अदालतले त्यो प्रयासलाई किन रोक्यो, कारण अस्पष्ट छ । लोप नै हुन लागेका परम्परागत खेलहरूलाई पुनः प्रचलनमा ल्याउनुपर्ने र त्यसका लागि बहस चलाउनुपर्ने आवश्यकता सँगसँगै बढेको छ । मोबाइल फोनको सेवा र सुविधा विस्तारसँगै व्यावसायिक जीवनमा दक्षता र सहजता थपिएको सत्य हो, तर यसको रंगीन तथा मायावी पक्षबारे मौका छँदै सोचविचार पुर्‍याउनु जरुरी भइसकेको छ ।

भावी नेपालका जिम्मेवार नागरिक तयार गर्न आजका बालक वा किशोर पुस्तालाई कसरी हुर्काउने भन्ने कुरालाई गम्भीर सवाल र चुनौतीका रूपमा लिनु जरुरी छ । बाल मस्तिष्कमा अति नै हिंस्रक खेलले पार्ने छाप वा प्रभावको गम्भीरतालाई सरकारले मनन गर्ने वेला आएको छ । समय छँदै सचेतनाका साथ यस्ता खेललाई नियन्त्रण र नियमन गर्दै शारीरिक अभ्यासका आँगन–खेल (आउटडोर गेम)हरूमा उत्प्रेरणा, प्रोत्साहन, प्रतिस्पर्धा गराइएन भने वर्तमान पुस्ता पंगु र अनुत्पादक हुन बेर नलाग्न सक्छ । हाललाई पब्जीजस्ता खेललाई पूरै प्रतिबन्ध लगाउन नसके पनि दिनमा एकपटक सीमित समयका लागि खोलिदिने र बन्द गर्ने उपायहरू अपनाउन सकिन्छ । भयावह बन्दै गएको पब्जी खेलको समस्यामा सरकारले नियन्त्रण गर्न सकेमा लाखौँ परिवार तथा अभिभावकमा असाधारण हर्ष छाउने थियो । सरकार, विद्यालय, अभिभावक र स्थानीय समाजको एकीकृत र समन्वयात्मक प्रयास जुटेमा यो समस्या हल भएर जाने निश्चित छ । र, यसो गर्नु हाम्रो जिम्मेवारी पनि हो भन्ने हामीले नभुलौँ । 

(सिंह पर्यटन व्यवसायी हुन्)