काठमाडौं महानगरपालिकाले ‘फुटपाथ र ठेलागाडा’मा गरिने व्यापार–व्यवसायलाई प्रतिबन्ध लगाउन प्रशासनको ध्यानाकर्षण गराएको छ ।
महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटेर महानगरपालिकाले फुटपाथ र ठेलागाडा हटाउने नीतिगत निर्णय गरेर अघि बढिसकेको भन्दै निषेधाज्ञा अवधिमा समेत त्यस्ता पसलहरू सञ्चालन हुन नपाउने व्यवस्था गर्न ध्यानाकर्षण गराइन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले २४ भदौमा जारी गरेको आदेशमा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरू, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरू र डिपार्टमेन्ट स्टोरहरू बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ’ भनिएको छ ।
महानगरका वडाध्यक्षहरूसहित पुगेकी उपप्रमुख खड्गीले भनिन्, ‘यस बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनः आदेश जारी गरियोस्, महानगरले फुटपाथ र ठेलाको व्यापारमुक्त गर्ने नीति पारित गरिसकेको छ ।’
उपप्रमुखसहित वडाध्यक्षहरूले निषेधाज्ञामा प्रशासनले जारी गरेको आदेश महानगरकोे नीतिविपरीत रहेको भन्दै सच्याउन आग्रह गरेका छन् ।
‘सहरी सुन्दरतालाई ध्यान दिएर महानगरले त्यस्तो व्यवसाय बन्द गराएको छ, अहिले त झन् संक्रमण पनि फैलिँदो दरमा छ, यसै पनि कन्ट्याक्ट ट्रेसिङ गर्न कठिन भइरहेको छ,’ उपप्रमुख खड्गीले भनिन्, ‘यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रणबाहिर जान्छ ।’
ध्यानाकर्षणपत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रशासनले जारी गरेको आदेश सहरी सौन्दर्य र व्यवस्थापनमा प्रतिकूल गराउने उद्देश्यले जारी नगरिएको स्पष्ट पारे ।
उनले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा छलफल गरेर निर्णय लिने बताए । प्रशासनले फुटपाथ पसल र ठेला सञ्चालन गर्न पाइने भने पनि कतिपय वडाहरूले भने सूचना निकालेरै त्यस्तो सेवा रोकिसकेका छन् ।
वडाध्यक्षहरूले प्रशासन र स्थानीय सरकार सँगसँगै हिँड्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।