मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ६ सोमबार
  • Monday, 19 April, 2021
२०७७ भदौ १० बुधबार ०४:०३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उच्च जोखिममा दक्षिण एसियाका बालबालिका, नेपालमा चार हजार तीन सय २२ बालबालिका संक्रमित

Read Time : > 2 मिनेट
२०७७ भदौ १० बुधबार ०४:०३:००

कोरोना भाइरसको महामारीले दक्षिण एसिया क्षेत्रका बालबालिका प्रभावित भएका छन् । उनीहरू संक्रमणको उच्च जोखिममा रहेको जनाइएको छ । नेपालमा पनि थुप्रै बालबालिका संक्रमणको चपेटामा परेका छन् । 

कोभिड– १९ का कारण बालबालिकामाथि परेको प्रभावसम्बन्धी दक्षिण एसियाली राष्ट्रहरूको सहकार्यका विषयमा मंगलबार आयोजित छलफलमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महामारीले बालबालिका प्रभावित भएको बताए । नेपालमा विपत्का कारण धेरै बालबालिका प्रभावित हुँदै आएको उल्लेख गर्दै मन्त्री गुरुङले भने, ‘पहिले जनयुद्ध, भूकम्प र बाढीपहिरोले बालबालिकालाई प्रभावित गर्‍यो, अहिले कोभिडका कारण पनि बालबालिका र ज्येष्ठ नागरिक नै बढी प्रभावित छन् ।’ 

मन्त्री गुरुङले कोभिडका कारण सडकबालबालिकाको संख्या पनि बढेको बताए । यसले सरकारको सडक बालबालिकामुक्त घोषणा गर्ने कार्यक्रम पनि प्रभावित भएको उनको भनाइ थियो । ‘कोभिडलाई समेत लक्षित गरी १० वर्षे रणनीतिक योजना बनाउँदै छौँ, संकटका वेला उनीहरूको संरक्षण, स्वास्थ्य, शिक्षासहितका अधिकारको सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ,’ मन्त्री गुरुङले भने । 

त्यस्तै, छलफलमा सहभागी माल्दिभ्सकी सामाजिक सेवामन्त्री इफाम हुसेनले दक्षिण एसियाली राष्ट्रहरूमै कोभिडका कारण रोजगारी गुमाएको परिवारका बालबालिका सबैभन्दा बढी प्रभावित भएको बताइन् । उनले बालबालिकाको अधिकार संरक्षण तथा मानव बेचबिखन रोक्नका लागि अन्तरदेशीय सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको बताइन् । 

राष्ट्रिय मानव अधिकार आयोगकी उपसचिव मञ्जु खतिवडाले कोभिड अवधिमा सरकार बालमैत्री हुन नसकेको बताइन् । ‘बालबालिकाको सिक्ने थलो नै क्वारेन्टिन बनो, तर ती क्वारेन्टिन बालमैत्री भएनन्,’ आयोगले गरेको अनुगमनको निष्कर्ष सुनाउँदै खतिवडाले भनिन्, ‘कोभिडको संक्रमणभन्दा बढी बालबालिकामा मानसिक, सामाजिक तनाव र मनोवैज्ञानिक असर परेको छ ।’ 

त्यस्तै, राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेल दैनिक मजदुरी गरेर खाने परिवारका बालबालिका सबैभन्दा बढी प्रभावित भएको बताउँछन् । ‘संक्रमित हुने कुरा त भयो नै, विद्यालय बन्द भएपछि उनीहरू मानसिक, शारीरिक र सामाजिक रूपमा पनि तनावमा छन्,’ निर्देशक धरेलले भने, ‘हामीले बालबालिकालाई तनावमुक्त गर्न मनोवैज्ञानिक परामर्शको व्यवस्था गरेका छौंँ ।’ छलफलमा दक्षिण एसियाली राष्ट्रहरूले आ–आफ्नो देशको कोभिड संक्रमण र प्रभावित बालबालिकाको विषयमा जानकारी गराएका थिए ।

अहिले कोभिड– १९ का कारण विश्वका एक सय ८६ देशमा दुई अर्ब ३४ करोड बालबालिका प्रभावित छन् । युनिसेफका अनुसार हाल लकडाउन भएका ८२ देशमा १४ करोड बालबालिका धेरै प्रभावित भएका छन् । यस्तो जोखिमका वेला बालबालिकालाई स्वस्थ राख्नुपर्ने, खानेपानी, सरसफाइ र स्वच्छताको पहुँच पुर्‍याउनुपर्ने, बालबालिकाको सिकाइलाई निरन्तरता दिनुपर्ने र हिंसा, शोषण तथा दुव्र्यवहारबाट जोगाउन युनिसेफले आग्रह गरेको छ ।

नेपालमा चार हजार तीन सय २२ बालबालिका संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर चार हजार तीन सय २२ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये एक हजार चार बालिका र तीन हजार तीन सय १५ बालक रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । 

संक्रमित हुनेमा १५ देखि १८ वर्ष उमेर समूहका धेरै छन् । कोरोनाबाट चार बालबालिकाले ज्यान गुमाएका छन् । ‘अहिलेसम्म संक्रमणको तुलनामा बालबालिकाको मृत्युदर कम छ,’ प्रवक्ता डा. अधिकारीले भने, ‘उनीहरूले अन्य दीर्घरोगी र बालबालिकालाई सार्ने जोखिमचाहिँ धेरै उच्च हुन्छ ।’ 

समुदायस्तरमा संक्रमण फैलिने क्रममा रहेकाले बालबालिका सबैभन्दा बढी जोखिममा रहेको बालरोग विशेषज्ञ डा. आरपी चौधरी बताउँछन् । ‘बच्चाहरू आफैँले वयस्कको जस्तो सावधानी अपनाउन जान्दैनन्, स्कुल पनि बन्द छन्,’ डा. चौधरी भन्छन्, ‘उनीहरू घरमा हुँदा पनि भित्र–बाहिर गरिरहन्छन्, खेल्ने, चकचक गर्ने बालबालिकाको स्वभाव नै हो, त्यसैले अभिभावकले खास ध्यान नपुर्‍याउने हो भने बालबालिकामा संक्रमण भयावह हुन सक्छ ।’

काममा गएर फर्किने अभिभावक भएको घर तथा डेरामा बस्ने बालबालिका झनै जोखिममा रहेको उनले बताए । ‘बालबालिकामा एउटा संक्रमण भए, अर्कोलाई सार्न धेरै समय लाग्दैन । उनीहरूले भौतिक दूरी पनि जान्दैनन्, त्यसैले यस्तो वेला अभिभावकले विशेष ध्यान दिनु जरुरी हुन्छ,’ डा. चौधरी भन्छन् । बालबालिकालाई खानपान र पोषणका कुरामा पनि ध्यान पुर्‍याउनुपर्ने उनको सुझाब छ । 

कोरोनाको प्रभावले बढे सडक बालबालिका

तीन वर्षअघि नै सरकारले ‘बालबालिका सडकमा बस्नुपर्दैन, सडकमा बस्न हुँदैन’ नारा दिएर सडक बालबालिकालाई उद्धार गर्न सुरु गरेको थियो । तर, कोरोनाको प्रभावले फेरि सडक बालबालिका बढ्न थालेका छन् । मजदुरी गर्ने, ज्यामी काम गर्नेलगायत सानो व्यवसाय गर्ने मानिसका बालबालिका तथा लुकेर–भागेर बस्ने गरेका बालबालिका भोकै परेपछि सडकमा देखिन थालेको राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताए । कोभिड संक्रमण भएको पाँच महिनामा मात्रै परिषद्ले ७९ सडक बालबालिकाको उद्धार गरेको छ ।

कोभिडकै अवधिमा ६ वटा बालगृहबाट ५५ जना बालबालिकालाई उद्धार गरी पुनर्मिलन गराइएको छ । बन्दाबन्दीमा भारतमा अलपत्र परेका २६ बालबालिकाको त्यहाँस्थित बाल संरक्षण संस्थासँग समन्वय गरी उद्धार गरिएको छ । परिषद्ले कोभिड अवधिमा १५ वटा बालगृहलाई खाद्यान्न, मास्क, स्यानिटाइजरलगायत सामग्री उपलब्ध गराएको छ भने अन्यलाई समेत त्यस्ता सामग्री अभाव हुन नदिन निर्देशन गरेको कार्यकारी निर्देशक मिलन धरेलले बताए । देशभर तीन सय ५९ वटा बालगृह छन् ।