मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ १४ बुधबार
  • Wednesday, 27 January, 2021
२०७७ श्रावण २७ मंगलबार १९:४४:००
प्रदेश

छोरी सुरक्षा कार्यक्रमअन्तर्गत कर्णाली सरकारले साढे ६ हजार छोरीको बैंक खाता खोल्यो 

२०७७ श्रावण २७ मंगलबार १९:४४:००

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ बाट सुरु गरेको छोरी सुरक्षा कार्यक्रम (बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको) अन्तर्गत ६ हजार पाँच सय १५ छोरीको बैंक खाता खोलेको छ । गत आर्थिक वर्षको साउनयता जन्मिएका छोरीहरूको बैंक खाता खोलिएको हो । 

कर्णालीका ७० वटा स्थानीय तहमा कार्यक्रम लागू भएको छ । गत आर्थिक वर्षको १ पुसमा कालिकोट खाँडाचक्र नगरपालिका– २ मान्मनिवासी दर्शना दमाईंकी चारमहिने छोरी जानकी परियार र सोही नगरपालिका– १ का रतना सुनारका दुईमहिने छोरी जमुना सुनारको बैंक खाता खोल्न कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक हजार रुपैयाँको चेक दिएर कार्यक्रम शुभारम्भ गरेका थिए । मुख्यमन्त्री शाहीले कर्णालीका छोरीको सामाजिक न्यायका लागि सरकारले विशेष कार्यक्रम ल्याएको बताए । ‘छोरी सुरक्षा कार्यक्रमले लैंगिक हिंसा अन्त्य भएको छ,’ उनले भने, ‘सरकारले कर्णालीमा जन्मिने हरेक छोरीको नाममा खाता खोलेर मासिक पाँच सयका दरले २० वर्षसम्म रकम जम्मा गर्नेछ ।’

गत आर्थिक वर्षको नीति तथा कार्यक्रमबाटै प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । कार्यक्रमअन्तर्गत १ साउन ०७६ पछि कर्णालीमा जन्मिएका छोरीहरूको बैंक खाता खोलिएको हो । खातामा २० वर्षसम्म मासिक रूपमा सरकारले नै योगदानस्वरूप पाँच सय रकम जम्मा गर्नेछ ।

छोरी जन्मेको पहिलो महिना एक हजार र त्यसपछि मासिक पाँच सयका दरले जम्मा हुन्छ । कर्णालीका ७९ वटा स्थानीय तहमध्ये ७० वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन भएको छ । चालू आर्थिक वर्ष ०७७/७८ बाट सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।