दुुई छोराछोरीसहित डण्डा खोलामा हामफालेकी महिलाको उद्धार
सिद्धार्थनगर नगरपालिका– १ मेउडिहवास्थित डण्डा खोलामा हामफालेकी महिलाको तत्काल उद्धार भएको छ । उनले दुई छोराछोरीलाई कम्मरमा बाँधेर शनिबार दिउँसो खोलामा हामफालेकी थिइन् । उनको स्थानीय र प्रहरीले उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्युठान स्वर्गद्वारी नगरपालिका घर भई हाल सिद्धार्थनगर नगरपालिका– ८ बसडिलियामा भाडामा बस्ने २२ वर्षीया महिलाले ६ वर्षीया छोरी र तीन वर्षीय छोरालाई सलले कम्मरमा बाँधेर डण्डा खोलामा हाम फालेकी थिइन् ।
हामफालेको स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । उद्धारपछि उनीहरू तीनैजनालाई उपचारका लागि भीम अस्पताल भैरहवा ल्याइएको थियो । जिप्रकाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ । उनका श्रीमान् रोजगारीका लागि भारतमा रहेको र थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।