Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
डा.गोविन्दराज पोखरेल / राजु नेपाल
२०७७ असार ३१ बुधबार ०८:०८:००
दृष्टिकोण प्रिन्ट संस्करण

महामारीमा अबको बाटो

अहिलेको महामारीले हामीलाई खाद्यान्न तथा वस्तुको ठूलो हिस्सा उत्पादन गर्न प्रोत्साहित गरेको छ

डा.गोविन्दराज पोखरेल / राजु नेपाल
२०७७ असार ३१ बुधबार ०८:०८:००

अठारौँ शताब्दीका फ्रान्सेली कपडा व्यापारी चाल्र्स फौरिएरले आर्थिक असमानताले मानिसको जीवन विपन्न हुने होइन, बरु मानिसमा निहित राग र जोसलाई गलत प्रयोग गर्नाले दरिद्रताउन्मुख हुन्छन् भनेका थिए । यी व्यापारीले फ्रान्सेली क्रान्तिमा सबै श्रीसम्पत्ति गुमाएका मात्र थिएनन्, झन्डै फाँसीको फन्दामा झुन्डिनुपरेको थियो । त्यसबखत आन्तरिक संघर्षको कारण मानिसका दिन कष्टप्रद बित्दै थिए । अहिले कोरोना महामारीले संसारैभरि एक प्रकारको आतंक फैलिएको छ । परदेशमा रहेका र आफ्नो घर छाडी कामको खोजीमा सहर पसेकाहरू आ–आफ्ना थातथलोतिर लागेका छन् । 

स्वास्थ्य क्षेत्रका बाहेक धेरैजसो उद्योग ठप्पप्रायः छन् । रोजगारी गुमेर क्रयशक्ति घटेका कारण खाद्यान्न र केही ओखतीबाहेकको खपत स्वाट्टै घटेको छ । अति आवश्यक एम्बुलेन्स, शववाहन र सुरक्षाकर्मीका साधनबाहेक अरू सबै आवश्यकदेखि विलासिताका यातायातका साधन एकदम कम सञ्चालनमा छन् । महामारीले संसारलाई परिवर्तन गरिदिन्छ भन्ने थुप्रै विचार प्रवाह भइरहेका पनि छन् । विश्व साँच्चै एक प्रकारको अदृश्य शक्तिसँग युद्ध लडिरहेको भान हुन्छ । धेरै विचारकको भनाइजस्तै के समाजले यो महामारीपछि आफ्नो जीवनशैलीमा परिवर्तन गर्ला त ? प्रश्नको उत्तर सजिलो छैन । तर, अब उत्तर खोज्नुपर्ने र विचार प्रवाह गर्नुपर्ने वेला भने आएको छ। 

अहिलेको महामारीपछि पनि वर्तमान सामाजिक र आर्थिक प्रणालीमा व्यापक सुधार नगर्ने हो भने यो जगत्ले जुनसुकै वेला हामीलाई पर्खालभित्र कैद गर्न सक्ने रहेछ भन्ने देखाएको छ

विश्व समाजका हरेक गतिविधि दोस्रो विश्वयुद्धपछि व्यापक रूपमा समाहित भएको अहिलेको अर्थतन्त्र वा पुँजीवादले जेफ्रे साख्सले आफ्नो पुस्तक ‘द प्राइस अफ सिभिलाइजेसन’ र सेवस्टियन डुल्लियन लगायतले ‘डिसेन्ट क्यापिटलिजम’ मा भनेजस्तै समाजको बृहत् हितका निम्ति आर्थिक समृद्धि, सामाजिक न्याय र वातावरणीय दिगोपनाजस्ता अति महत्वपूर्ण उद्देश्य बोकेको हुनुपर्छ ।

अहिलेको महामारीपछि पनि वर्तमान सामाजिक र आर्थिक प्रणालीमा व्यापक सुधार नगर्ने हो भने यो जगत्ले जुनसुकै वेला हामीलाई पर्खालभित्र कैद गर्न सक्ने रहेछ भन्ने देखाएको छ । प्रविधिको विकासले विश्वलाई अत्यन्तै नजिक ल्याइदिएको छ, जसले सम्पर्क, प्रतिस्पर्धा र सहकार्यका लागि उपलब्ध क्षमता र औजार मानिसले प्रयोग गर्न सक्छन् भनी ‘द वल्र्ड इज फ्ल्याट’ पुस्तक लेख्ने थोमस फ्रिडमानले भर्खरै एउटा लेखमा कोभिड–१९ पछिको समाज सामाजिक रूपमा कानुन पालना गर्ने कुरामा अत्यन्तै कडा हुनुपर्छ भन्ने धारणा राखेका छन् । 

विचारकले पनि नचिताएको यो घटनाले अब आउने दिनमा हाम्रो अर्थतन्त्रको संरचना, सामाजिक संरचनाको परिचालन, सरकार र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको भूमिका पुनः परिभाषित गरी नयाँ–नयाँ औजारको प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याएको छ । अहिलेको असरबाट उम्किन त राहत र प्रोत्साहनका सरकारी कार्यक्रमले केही सहयोग गर्लान्, तर भोलिका सम्भावित यस्तै विपत्मा हामी कसरी कम क्षति व्यहोर्न सक्छाैँ  भन्ने योजना अहिले नै बनाउनुपर्ने हुन्छ । यस्तो योजना विश्वभरि लागू हुने एउटा मूल योजना हुन सक्छ भने हरेक देश र परिवेशअनुरूप अरू सहायक योजना हुन सक्छन् । 

समस्या

ठ्याक्कै १० वर्षअगाडि आइसल्यान्डमा भएको ज्वालामुखी विस्फोटनले निसान र बिएमडब्ल्युका कार उत्पादनमा केही दिनका लागि अवरोध आयो । यसको मूल कारण ज्वालामुखीको धुवाँले युरोपमा विमानको उडानमा केही दिन रोक लगाइएको थियो र कार उत्पादनका लागि आवश्यक पार्टपुर्जा आयात सुचारु भएन । अहिले पनि सरकारद्वारा गरिएका बन्दाबन्दीले संसारैभरि आवश्यक सामानसमेत ओसारपसार प्रभावित छ । अहिलेको अनुभवले बताएको छ कि विपत् जति लामो पनि हुन सक्ने रहेछ । यसले कतै फेरि विश्वलाई कच्चापदार्थ भण्डारण गरेर उत्पादनमा जानुपर्छ भन्ने त होइन । त्यसो भएमा उत्पादन लागत बढ्ने र जापानले सुरु गरी संसारका अरू देशले पछ्याएको ‘जस्ट इन टाइम’ फर्मुलाका फाइदाबाट पूरै संसारै वञ्चित हुन पुग्छ । 

हाम्रो समाज बिस्तारै हजाराँै किलोमिटर पर उत्पादन गरिएका सामान खपत गर्ने संस्कार विकास गर्दै हुर्केको छ । स्थानीय उत्पादन कि त हुन छाड्यो, कि त उत्पादन लागत बढी भयो वा आमउपभोक्ताको प्राथमिकतामा परेन । साथै मानिसको आयशक्ति बढेसँगै आफ्नो गाउँ–छिमेक वा स्वदेशमा उत्पादित वस्तु तथा सेवाको उपभोगबाट उनीहरूको जीवन नचल्ने भयो । त्यति मात्र नभई आफ्नै क्षेत्रमा काम गरेर पनि उनीहरूको जीविका चलाउन कठिन भयो । तर, कोरोनाका कारण यो परिस्थिति केही हदसम्म उल्टिने सम्भावना देखिँदै छ । अब केही समय मानिस आफ्नै क्षेत्रमा काम गर्ने र सीमित वस्तु तथा सेवाको उपभोगबाट जीवन धान्न बाध्य हुने सम्भावना बढेको छ । 

अहिलेको जस्तो महामारी वा यस्तै गाउँघर या आफ्नै टोलमा बस्नुपर्ने बाध्यता युद्धका वेला, भूकम्पजस्ता अन्य प्राकृतिक विपत्तिका वेला नपर्ला भन्न सकिन्न । मानिसलाई न्यूनतम आवश्यक पर्ने खाद्यान्न तथा वस्तुको ठूलो हिस्सा हाम्रै परिवेशमा उत्पादन गर्न अहिलेको माहामारीले हामीलाई प्रोत्साहित गरेको छ । गान्धीले पैरवी गरेका ‘प्रोडक्सन बाई मासेस’ अर्थात् उत्पादनमा धेरै जनता लगाउने र समुदाय केही हदसम्म आत्मनिर्भर हुने भन्ने सोचाइ यस्ता क्षणमा उपयोगी हुने देखियो ।

आजभन्दा झन्डै ३७ वर्षअगाडि ई. एफ. सुमाखरले पनि आफ्नो पुस्तक ‘स्मल इज ब्युटिफुल’मा गान्धीकै विचारमा समर्थन जनाउँदै तीनवटा प्रस्ताव राखेका थिए । कृषिमा वातावरणीय स्थायित्व दिने उत्पादन, उद्योगमा मानवताको सम्मान गरिने तथा मानवहितका लागि साना, मझौला प्रविधिको प्रयोग एवं उत्पादन हुनुपर्ने र उद्योगको व्यवस्थापन पनि सहकारी वा समुदायको साझेदारी मोडेलमा गरिनुपर्ने सुझाएका थिए । 

अहिले हामी महामारीको मारमा छौँ । संक्रमितको आँकडा लाखमा पुग्ने आकलन गरिरहेका वेला ३५ जनाको मृत्यु भइसकेको छ । सहर होस् वा गाउँ मानिस घरभित्र खुम्चिनुपरेको छ । तरकारी, पेट्रोलियम पदार्थ, ओखतीलगायत अत्यावश्यक वस्तुको समेत आपूर्ति सहज छैन । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई काम नभएपछि बिहान–बेलुकी हातमुख जोर्न धौ–धौ छ । करिब २० लाख नेपाली परदेशबाट या सहरबाट थातथलो पसेका छन् । पूर्ण रूपमा बन्दाबन्दी खुलेपछि यो संख्या अझ बढ्छ र विदेशमा रोजगारीमा गएका युवाको ताँती लाग्नेछ । 

बदलिँदो अवस्था

यी सब कुराबाट पर्न सक्ने प्रभाव ध्यानमा राखेर हामीले अब आफ्नो सोच बदल्नु जरुरी छ । यो महामारीले हामीलाई संसारका सबै विषयमा लहलहैमा लागे हामीजस्ता कमजोर अर्थतन्त्र र संरचना भएका मुलुकलाई विपत्का वेला बाँच्न गाह्रो हुने रहेछ भन्ने गतिलो पाठ सिकाएको छ । अबका दिन हाम्रा सरकारी र सामाजिक नीतिको दैनिकी यहीँबाट सुरु हुन्छ र गर्नुपर्छ । 

अहिलेको असरबाट उम्किन त राहत र प्रोत्साहनका सरकारी कार्यक्रमले केही सहयोग गर्लान्, तर भोलिका सम्भावित यस्तै विपत्मा हामी कसरी कम क्षति व्यहोर्न सक्छाैँ  भन्ने योजना अहिले नै बनाउनुपर्ने हुन्छ ।

हामीले नब्बेको दशकमा सुरु गरेको आर्थिक सुधारले हाम्रो अर्थतन्त्रको जग बलियो बनाएकै कारण दशक लामो हिंसात्मक आन्तरिक द्वन्द्वमा पनि थेगियौँ, हामी असफल राष्ट्र बन्नबाट जोगियौँ । ठूलो भूकम्पमा पनि हामी देश–विदेशको सहयोगले तंग्रियौँ । तर, अब संसारमै विशेषगरी धनी राष्ट्र नै आर्थिक संकटमा परेपछि हामी पनि केही विषयमा नयाँ तरिकाले जानुपर्ने हुन्छ । स्वावलम्बनतर्फको यात्रा र सरल जीवनशैली नै यसको प्रमुख उपाय हो । रेमिट्यान्सका कारण बढेको उपभोगमुखी स्वभाव अब हामीले परिवर्तन गर्नैपर्छ । 

यो महामारीबाट हामीले अर्को एउटा अनुभव पनि पायौँ । भोलि मध्यपूर्वमा कुनै युद्ध वा महामारी आयो भने सायद मुलुकको अर्थतन्त्र नै डगमगाउनेछ । विदेशमा बस्ने नेपाली सबै घर फर्के भने हाम्रा तत्कालीन र दीर्घकालीन आवश्यकता कस्ता हुने रहेछन् । करिब तीन वर्षअगाडिको तथ्यांकअनुसार हाम्रो देशका आधाभन्दा बढी जनसंख्यालाई वर्षभरि खाद्यान्न नपुग्ने अवस्थामा छौँ । झन् महिला र बालबच्चा खाद्यान्नको कमीबाट सबैभन्दा बढी प्रभावित छन् ।

अब के गर्ने ?

यो परिस्थितिबाट तत्काल र भविष्यमा जुध्न हामीले बिस्तारै हाम्रो प्रणाली दरिलो बनाउनु र सोच बदल्नु जरुरी छ । अहिले केही क्षेत्रमा सुुरुवात गरिहालौँ ।पहिलो, महामारीका कारण अहिले खेतीको मौसममा काम गर्न सक्ने युवा गाउँमा थुप्रिएका छन् । यसै मौकामा स्थानीय सरकार, सहकारी र लघुवित्त या बैंकसँग समन्वय गरी युवालाई कृषिमा उत्साह दिन उत्पादनको आधारमा विनाब्याज ऋण, अनुदानमा मल, बिउ, बिमा र तालिम उपलब्ध गराउनुपर्छ । बजार व्यवस्थापनका लागि सहकारीलाई पनि किसानले उत्पादनको आधारमा पाउने अनुदानको केही हिस्सा उपलब्ध गराउनुप¥यो । यसले स्थानीयस्तरमै स्वरोजगारी र रोजागारी सिर्जना हुन्छ । उत्पादनले आयात प्रतिस्थापन हुनेछ र स्थानीय बजार चलायमान हुनेछ ।

दोस्रो, आत्मनिर्भर भई सस्तो प्रोटिन उपलब्ध गराउँदै आएका कुखुरापालन र डेरी क्षेत्र झन् मारमा परेको वेला यी क्षेत्रलाई आर्थिक राहतसँगै अहिलेको उत्पादन सञ्चय गर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन उपायका लागि पूर्वाधार निर्माण गर्नेतर्फ लागौँ । विगत तीन महिनामा परेका समस्याका कारण मासु र अन्डाको भाउ जसरी बढेको छ, त्यो नहुन पनि अब हामीले यो क्षेत्रको पूर्वाधारमा लगानी बढाउनुपर्ने भएको छ । 

तेस्रो, फजुल खर्च रोक्न अर्थ मन्त्रालयले भर्खरै विभिन्न शीर्षकमा खर्च कटौती गर्न परिपत्र गरेको छ । झन्डै दुईतिहाइको सरकार छ । ती कटाइएका खर्चबाट हामीले हाम्रा अस्पताललाई सुधार गरौँ, आवश्यक उपकरण खरिद गरौँ । कम्तीमा प्रत्येक प्रदेशका अञ्चल अस्पतालमा दुई दर्जन आइसियु, भेन्टिलेटर र डायलासिस गर्ने उपकरण र त्यसलाई प्रयोग गर्न सक्ने जनशक्ति राखौँ ।

चौथो, उद्योग, पूर्वाधार, पर्यटन, कृषि, हवाई र यातायात क्षेत्रलगायतका लागि सावाँ–ब्याज तिर्ने समय ६ महिनादेखि एक वर्षसम्म बैंकसँग समन्वय गरेर पर सारिदिऊँ । आसन्न मौद्रिक नीतिले यसलाई सम्बोधन गर्नैपर्छ । अझ पर्यटन क्षेत्रका लागि त्यो अवधि धेरै चाहिने हुन सक्छ । 

पाँचौँ, प्रत्येक स्तरको सरकार यही वेलामा पारदर्शिता, समन्वय र सही सूचना प्रसारण गर्नतिर लागौँ । बेरोजगार भई घर फर्केको युवाको ठूलो समूह घरमै निष्क्रिय रूपमा बसेको छ । यो वर्गलाई उत्तेजित, अपमानित र निराश हुन दिनु भनेको एक दशक लामो आन्तरिक द्वन्द्व, एक दशकको राजनीतिक संक्रमणपछि स्थिर हुन लागेको राजनीति फेरि द्वन्द्वतिर जान सक्ने हुँदा विपरीत विचार राख्नेसँग, राजनीतिक रूपले प्रतिपक्षमा बस्ने दलसँग पनि सबै तहमा बस्ने सरकारले सहकार्य गरी देशलाई बलियो बनाउने मौका यही हो ।

(डा. पोखरेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् भने नेपाल पूर्वबैंकर हुन्)