Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
रासस/एपी दुबई
२०७७ असार २३ मंगलबार १५:०२:००
विश्व डिजिटल संस्करण

कोरोना महामारीकै बीच पर्यटकका लागि दुबई खुल्याे

रासस/एपी दुबई
२०७७ असार २३ मंगलबार १५:०२:००

कोरोना महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि लोकप्रिय दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन थालेको छ । 

पर्यटक आवागमनको अनिश्चितता र कोरोना भाइरससँग अझै धेरै मुलुक जुधिरहेको अवस्थामा यहाँका ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरू खुला गरिएका छन् । पछिल्लो समय दुबईको मुख्य आम्दानीको स्रोत पर्यटन पनि हो । 

दुबई सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न यहाँको सरकारले प्रयास थालिसकेको छ । नजिकिँदै गएको हिउँदे महिनामा पर्यटकलाई यहाँ आमन्त्रण गर्न दुबईले तयारी थालेको छ । 

मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको दुबईमा थर्मोमिटरबाट प्रत्येक आगन्तुकको शरीरको तापक्रम नाप्ने व्यवस्था गरिएको छ । 

दुबई घुम्न चाहनेहरूका लागि प्रत्येक पर्यटकले गन्तव्यबाट उड्नु ९६ घन्टाअघि कोभिड–१९ को परीक्षण गरेको हुनुपर्नेछ । अन्यथा, परीक्षण नगरेको अवस्थामा आगमनमै उनीहरूको परीक्षण गरिने तथा स्वास्थ्य प्रतिवेदन प्राप्त नहुँदासम्म आइसोलेसनमा बस्नुपर्नेछ । स्वास्थ्य प्रतिवेदन प्राप्त गर्न केही घन्टामै सम्भव हुने अधिकारीहरूले बताएका छन् । 

साथै, दुबई भ्रमण गर्न चाहनेहरूले कोभिड–१९ समेटिएको स्वास्थ्य बिमा अनिवार्य रूपमा गरेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ । 

विश्वकै अग्लो भवन बुर्ज खलिफा र बुर्ज अल–अबर लक्जरी होटेलजस्ता संरचना निर्माण गरिएको दुबईमा विश्वकै सबैभन्दा व्यस्त दुबई अन्तर्राष्ट्रिय विमानस्थल पनि रहेको छ । 

सन् २०१९ मा मात्र दुबईमा एक करोड ६७ लाख मानिसले भ्रमण गरेका थिए । यहाँ सबैभन्दा बढी पर्यटक भारत, साउदी अरेबिया, बेलायत, ओमान, चीन, रसिया र अमेरिकाबाट आएका थिए । 

दुबई घुम्न आउने पर्यटकहरूको औसत बसाइ साढे तीन दिन रहे पनि पर्यटकका कारण यहाँका रेस्टुराँ, बार र रात्रिजीवन निकै खचाखच हुने गर्दथे । शारजाहसहित छिमेकी मुलुकहरू इरान, कुवेत र साउदी अरेबियामा मदिरा सेवनमा प्रतिबन्ध भए पनि दुबईको अर्थतन्त्रको मुख्य आकर्षणमा मदिराको खुला बिक्री–वितरण पनि हो । 

तर, दुबईमा जोखिम भने यथावत् छ । दुबईको राष्ट्रिय ध्वजाबाहक इमिरेट्सले कोरोना भाइरसको जोखिम देखाउँदै हवाई उडान स्थगित गरेको छ । 

करिब ९० लाख जनसंख्या रहेको युएईमा ५० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तर, यीमध्ये करिब ४० हजार निको भइसकेका छन् भने तीन सय २१ जनाको मृत्यु भएको छ ।