मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २१ आइतबार ०४:०३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मध्यरातसम्म सात घन्टा वामदेवनिवासमा छलफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २१ आइतबार ०४:०३:००

नेकपा विभाजनसम्मको आशंका भइरहेका वेला प्रधानमन्त्री केपी ओलीनिकट नेताहरूले शुक्रबार मध्यरातसम्म करिब सात घन्टा उपाध्यक्ष वामदेव गौतमसँग उनकै निवास भैँसेपाटीमा छलफल गरेका छन् ।

‘डिनर’सहितको भेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । शुक्रबार बिहान महासचिव विष्णु पौडेलले उपाध्यक्ष गौतमलाई शीतलनिवास लगेर राष्ट्रपतिसँग संवाद गराएका थिए ।

नेता गौतमले यसबारे शनिबार बिहान नेकपा अध्यक्ष प्रचण्डनिवासमा सचिवालयका अन्य पाँच सदस्यलाई जानकारी दिएका छन् । गौतमले आफ्नो निवासमा भएको छलफलबारे प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, मावधकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई भनेका छन्, ‘मलाई भावी अध्यक्ष बन्ने अफर आयो । बहुदलीय जनवादको नेतृत्व गर्ने भनियो । तर, मैले धेरैपटक धोका पाएँ, अब त्यस्तो गल्ती गर्दिनँ भनेर पठाएँ ।’

शुक्रबार साँझ साढे ६ बजेदेखि राति साढे १ बजेसम्मको छलफलमा शुक्रबार प्रचण्डनिवास खुमलटारमा भएको सचिवालयका ६ नेताहरूको छलफलबारे जानकारी लिँदै पोखरेलसहितका नेताहरूले गौतमलाई ओलीको पक्षमा मनाउने कोसिस गरेका थिए । गौतमले सचिवालयका नेताहरूलाई बताएअनुसार ओली समूहका नेताले महाधिवेशनपछि पार्टीको र संसदीय दलको नेतृत्व गर्ने गरी अगाडि बढ्न प्रस्ताव गरेका थिए ।

यसबाहेक ओली समूहका नेताहरूले प्रचण्ड–नेपाल समूहले पार्टी फुटाउन लागेको भन्दै उनीहरूले सकभर पार्टी एकता जोगाउने पक्षमा र यदि विभाजनकै दुर्घटना निम्तिएमा पूर्वएमालेधारको ‘सिनियर’ नेताको हैसियतमा ओलीलाई साथ दिन आग्रह गरेको स्रोतले बतायो ।

जवाफमा गौतमले दुवैतर्फबाट पार्टी फुटाउने गृहकार्य भएको भन्दै आफूलाई निरन्तर धोका दिएका ओलीको पक्षमा पनि नलाग्ने र प्रचण्ड–नेपाल समूहको नेतृत्वको पार्टीमा नलागी बरु एक्लै भए पनि ‘स्वतन्त्र वामनेता’को हैसियतमा बस्ने जवाफ फर्काएका थिए ।

‘मैले उहाँलाई एकतर्फी निरन्तर सहयोग गर्दै आएँ, तर उहाँ (केपी ओली)ले मलाई हदैसम्म अपमान मात्रै गर्नुभो, धोका दिनुभो, उहाँहरू (प्रचण्ड–नेपाल) पनि सहमतिभन्दा बहुमत र अल्पमतको नाममा निर्णय गरेर पार्टी फुटाउने तयारीमा जस्तो देखिनुहुन्छ, खोज्दै हुनुहुन्छ, तयारी त्यस्तै छ,’ गौतमको जवाफ उद्धृत गर्दै सहभागीमध्ये एक नेताले भने, ‘विभाजनबाट के हुन्छ ? मलाई सबै थाहा छ, दुर्घटना नहोस्, त्यस्तो अवस्था आयो भने म (ओली÷प्रचण्ड–नेपाल समूह) कतै लाग्दिनँ, बरु एक्लै भए पनि तटस्थ बस्छु ।’

तर, भेटमा सहभागी संसदीय दलका उपनेता नेम्वाङले पनि गौतमसँग सकारात्मक कुराकानी भएकाले परिणाम देखिन बाँकी रहेको बताए । ‘भेट भयो, हामी उहाँको निवासमै खाना खाएर फर्कियौँ । हामीले अहिलेको समग्र सन्दर्भ पनि राख्यौँ, उहाँका पनि आफ्ना कुरा थिए, तर कुराकानी राम्रो भएको छ, तर हेरौँ, परिणामहरू सबै जोडिएर आउने हो,’ नेम्वाङले भने ।

गौतमले पार्टीमा विभाजन आएको अवस्थामा स्वतन्त्र हैसियतमा बस्ने घोषणासमेत गरेको नेम्वाङले दाबी गरे । ‘उहाँको भनाइ प्रष्ट छ, पार्टी फुट्नुहुँदैन, जोसुकैले फुटायो त्यस्तो अवस्थामा म कतै पनि लाग्दिनँ, बरु स्वतन्त्र भएर बस्छु भनेर घोषणा गर्नुभएको छ,’ नेम्वाङले भने ।

नेकपाको सचिवालयभित्र गौतम र रामबहादुर थापा ‘बादल’ कहिले ओली त कहिले प्रचण्ड–नेपाल समूहको भेलामा सहभागी हुँदै आएका छन् । पछिल्लोपटक गत ४ असारमा विज्ञप्तिमार्फत गौतमले आफू प्रचण्ड–नेपाल समूहमा रहेको जानकारी गराएका थिए भने बादल केही दिनयता उनीहरूकै भेलामा सहभागी हुँदै आएका छन् ।

यद्यपि, बादलले शुक्रबारको खुमलटार भेलामा पार्टीमा फुटपरस्त प्रवृत्तिलाई आफ्नो साथ नरहने बताएको एक नेताले जानकारी दिए । पछिल्ला दिनमा प्रचण्ड–नेपाल समूहमा लागेका गौतमलाई पुनः ओली समूहमै फर्काउने कसरत चलिरहेको छ । उनले शुक्रबारै बिहान राष्ट्रपति विद्या भण्डारीसँग भेटर्वार्ता गरेका थिए । करिब दुई घन्टाको छलफलमा गौतमले राष्ट्रपतिसँग पछिल्लो विकसित राजनीतिक घटनाक्रमकै बारेमा विमर्श गरेको बताइएको छ ।

साँझ ओलीनिकट नेताहरूसँगको छलफलअघि गौतम खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवासमा सचिवालयका ६ नेताको छलफलमा पनि सहभागी भएका थिए ।

उता, उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि स्थायी समिति बैठक स्थगनपछिको अवस्थामा बालुवाटारको सन्देशसहित अध्यक्ष प्रचण्डसँग शुक्रबारै बेग्लै विमर्श खोजे पनि समय व्यवस्थापनका कारण सम्भव नभएको स्रोतले जनाएको छ ।