Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2020
सागर चन्द काठमाडौं
२०७७ असार १५ सोमबार ०४:०९:००
मुख्य समाचार

विदेश जाँदा पनि ऋण, फर्किँदा पनि ऋण !

सागर चन्द, काठमाडौं
२०७७ असार १५ सोमबार ०४:०९:००

४ असारको साँझ हिमालय एयरबाट काठमाडौं ओर्लिएका सल्यानका निर्मल बुढामगर मलेसियामा सामान प्याकिङको काम गर्थे । तीन महिनाअघि सम्झौता अवधि सकिएपछि उनी घर फर्किने तयारीमा थिए । तर, कोरोना महामारीका कारण त्यहीवेला अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि उतै थुनिए, ९२ दिन बेरोजगार बसेर स्वदेश फर्किए ।

निर्मलले तीन महिना साथीको कोठामा शरण लिएर बिताए । ‘बेरोजगार थिएँ, आयस्रोत केही थिएन । कतिदिन त भोकै, प्यासै भएर बसियो, केही समय साथीको कोठामा शरण लिइयो,’ उनले सुनाए । स्वदेश फर्किन पनि उनले दोब्बरभन्दा बढी हवाई भाडा तिर्नुप¥यो । करिब २० हजार लाग्ने भाडाको उनले ४५ हजार ६ सय ३२ रुपैयाँ तिरे । ‘पैसा थिएन, साथीहरूसँग ऋण मागेर टिकटको जोहो गरेर फर्किएँ,’ निर्मलले भने । रोजगारीका लागि मलेसिया जाँदा पनि गाउँमा ऋण काढेर गएको उनले सुनाए । 

मलेसियामा रहेका एक सय ५८ नेपाली मजदुर ४ असारमा हिमालय एयरलाइन्सबाट स्वदेश फर्किएका छन् । सबैको पीडा उस्ताउस्तै छ । अधिकांश रोजगारी गुमाएका, भिसा र सम्झौता अवधि सकिएर बेरोजगार थिए । प्रायः सबै ऋण खोजेर वैदेशिक रोजगारीमा गएका थिए, अहिले फर्किंदा पनि थाप्लोमा ऋण थपिएको छ । तिनैमध्येका अर्का युवा हुन् कैलालीका सुनील चौधरी । काम गर्ने कम्पनीसँगको सम्झौता अवधि सकिएर उनी तीन महिनादेखि बेरोजगार थिए, त्यसैले घर फर्किदा पनि ऋण गरेर जहाजको टिकट काट्नुप¥यो । ‘विदेश जाँदा पनि ऋण, आउँदा पनि ऋण,’ उनले भने ।

काठमाडौंका गोविन्द रेग्मी माल्दिभ्समा इन्जिनियरिङको काम गर्थे । कोरोना महामारी बढ्दै गएपछि उनको काम बन्द भयो, तीन महिना बेरोजगार बसे । आर्थिक संकट बढ्दै गएपछि माल्दिभ्स सरकारले आप्रवासी कामदारलाई आ–आफ्नो देश फर्किन अनुरोध ग¥यो । ‘त्यहाँको सरकारले स्वदेश फर्किन चाहनेहरू जाऊ भन्यो,’ गोविन्दले भने । माल्दिभ्समा नेपाली दूतावास नभएकाले श्रीलंकास्थित दूतावाससँग समन्वय गरेर नेपाली कामदारले स्वदेश फर्किने चाहना देखाए । तर, दूतावासले कोरोना संक्रमण नभएको स्वास्थ्य रिपोर्ट ल्याएपछि मात्रै फर्काउन सकिने बतायो । स–साना टापुहरूको देश माल्दिभ्समा आप्रवासी कामदारले एक टापुबाट अर्कोमा जान पनि सरकारको अनुमति लिनुपर्छ । त्यसैले उनीहरूले स्वास्थ्य परीक्षणको रिपोर्ट पेस गर्न सक्ने अवस्था थिएन । 

दूतावासँगको हारगुहारपछि माल्दिभ्समा रहेका नेपाली कामदार आफ्नै खर्चमा घर फर्कन पाउने भए । तर, हवाई भाडा भने झन्डै दोब्बर तिर्नुपर्ने भयो । ‘अरू वेला करिब ४० हजार नेपाली रुपैयाँ लाग्थ्यो भाडा । तर, अहिले करिब ५९ हजार रुपैयाँ ति¥यौँ,’ गोविन्दले भने । तीन महिनासम्म बेतलबी बसेका उनले जहाजको भाडा तिर्न पनि नेपालबाट पैसा मगाए ।

होटेल क्वारेन्टाइन पनि अव्यवस्थित

गत ३ असारमा माल्दिभ्सबाट फर्केका गोविन्द रेग्मीसहित एक सय ५४ नेपाली कामदार हिमालय एयरबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । त्यहाँ उनीहरूलाई नेपाली सेनाले ‘पिसिआर, आरडिटी जाँच नगरी किन आएको’ भन्दै हप्कायो । त्यसै बहानामा उनीहरूलाई केहीबेर विमानस्थलमै रोकियो । पछि प्रदेशअनुसार छुट्टाछुट्टै गाडीमा राखेर उनीहरूलाई होल्डिङ सेन्टरसम्म पु¥याइयो । त्यहाँ उनीहरूलाई दुईवटा विकल्प दिइयो । पहिलो, सरकारी क्वारेन्टाइनमा बस्ने । दोस्रो, आफ्नै खर्चमा होटेल क्वारेन्टाइनमा बस्ने । सरकारले बनाएका क्वारेन्टाइनको दूरावस्थाबारे समाचारबाट थाहा पाएका गोविन्दलाई होटेल नै ठीक लाग्यो । ‘सरकारी क्वारेन्टाइनमा गएर मर्नुभन्दा त होटेल नै ठीक होला भनेर होटेल रोजेका हौँ,’ उनले भने । उनीसहित माल्दिभ्सबाट फर्किएका ३४ जना सिनामंगलको होटेल रिडर्स इनमा बसे । होल्डिङ सेन्टरमै भेटिएका होटेलका प्रतिनिधिले गोविन्दलाई होटेलको बिल सुनाए, ‘एउटा कोठामा एकजना मात्र बसे दिनको तीन हजार । दुईजना बस्ने भए दुई हजार र तीनजना बसे एक हजार ।’ गोविन्दले दुई हजारको स्किम रोजेका थिए । तर, होटेलमा पनि राम्रो सेवा–सुविधा नभएको उनको गुनासो छ । उनले पिसिआर जाँच गरेर चाँडै घर जाने सोच पनि बनाए । तर, सरकारले कुनै स्वास्थ्य समस्या वा कोरोना संक्रमणको शंका नभएसम्म पिसिआर जाँच नगर्ने बताएपछि जान पाएनन् ।

माल्दिभ्सबाटै फर्केका महेश अधिकारी आफूहरूको पिसिआर परीक्षण गरिदिन आग्रह गर्छन् । ‘रोजगार गुमेको समयमा यसरी १४ दिनसम्म होटेल खर्च तिरेर हामी त कंगालै हुन्छौँ, बरु छिटो पिसिआर गरेर घर पठाए हुन्थ्यो,’ उनले भने, ‘हामी पैसा धेरै भएर होटेलमा बसेका होइनौँ नि । सरकारी क्वारेन्टाइनको अवस्था ठीक नहुँदा बाध्यताले होटेलमा बसेका हौँ ।’

होटेल क्वारेन्टाइनमा राखिएकासँग अहिलेसम्म सरकारी निकायका प्रतिनिधिले सम्पर्क गरेका छैनन् । मलेसिया र श्रीलंकाबाट फर्केका एक सय ५४ मध्ये ८९ जना होटेल क्वारेन्टाइनमा बसेका छन् । ६ जना होम क्वारेन्टाइनमा र ६० जना उपत्यकाका सरकारी क्वारेन्टाइनमा बसेका छन् ।

क्वारेन्टाइनमै संक्रमण !

दाङका रमेश घर्तीमगर (परिवर्तित नाम) १० जेठमा भारतबाट नेपाल आइपुगे । उनलाई दाङका बंगलाचुली गाउँपालिका–२ को कालिका प्राविमा बनाइएको क्वारेन्टाइनमा राखियो । दिल्लीमा पाँचतारे होटेलमा काम गर्ने घर्तीमगरलाई होटेलले भारतमै बस्न भनेको थियो । तर, उनलाई संकटको समयमा आफ्नै देश जानु उचित लाग्यो । ‘साथीहरू सबै स्वदेश आउने भए । घरबाट पनि घर आऊ भन्न थालेपछि आफ्नै देश फर्केको हुँ,’ उनले भने ।

भारतबाट स्वस्थ फर्केका घर्तीमगरलाई ३२ दिनपछि कोरोना संक्रमण देखियो । क्वारेन्टाइनको दुराअवस्थाले आफू संक्रमित भएको उनको आशंका छ । ‘हामी बसेको स्कुलमा ३५ जनालाई राखिएको थियो । सबैले एउटै शौचालय, एउटै धारा प्रयोग गथ्र्यौं,’ उनले भने, ‘एउटै कोठामा पाँचजना राखिएको थियो ।’

भारतबाट आएका कसैको पनि सुरुमै परीक्षण गरिएन । घर्तीमगरसँगै क्वारेन्टाइनमा रहेका एक युवालाई ज्वरो देखिएपछि बल्ल कोरोना परीक्षण सुरु भयो । ज्वरो आएका युवकको पनि दुई दिनपछि मात्र परीक्षण भयो । ती युवकलाई संक्रमण भएको पुष्टि भएपछि २५ जेठमा घर्तीमगरलगायत क्वारेन्टाइनमा रहेका अरूको पनि स्वाब संकलन भयो । क्वारेन्टाइनमा बसेको १५ दिनपछि संकलन भएको नमुनाको रिपोर्ट भने १६ दिनपछि १० असारमा मात्र आयो । यतिन्जलेसम्म क्वारेन्टाइनमा रहेका ३५ मध्ये ३३ जनामा संक्रमण देखियो । कोरोना संक्रमण देखिएपछि घर्तीमगरलगायत अरूलाई अहिले नजिकैको अर्को स्थानमा राखिएको छ । अहिले आफूलाई राखिएको नयाँ ठाउँको अवस्था पनि राम्रो नभएको उनी बताउँछन् । ‘संक्रमण देखिएपछि हामीलाई सदरमुकाम लाने भनिएको थियो । तर, बाटोमा पहिरो गएपछि अहिले हामीलाई अर्को क्वारेन्टाइनमा राखिएको छ,’ उनले भने, ‘संक्रमितहरू एउटै कोठामा पाँचजनासम्म राखिएका छन् । बेड जोडेरै सुत्नुपरेको छ । धारा र शौचालय एउटै छ ।’

अव्यवस्थित क्वारेन्टाइनका कारण ३३ जनामा संक्रमण देखिएको घर्तीमगरको बुझाइ छ । ‘धारा, शौचालय, बेड छुट्टाछुट्टै भएको भए यसरी संक्रमण फैलिँदैन थियो होला,’ उनी सुनाउँछन् । समयमै पिसिआर परीक्षण नगर्दा र स्वाब संकलन गरेर पनि रिपोर्ट ढिला आउँदा संक्रमण फैलिएको हुन सक्ने उनले बताए ।