Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
केदार दाहाल काठमाडौं
२०७७ असार ९ मंगलबार १०:०२:००
अर्थ

पर्यटन क्षेत्र खुला गर्न ‘अपरेसन गाइडलाइन’ जारी, ठूला समूहमा आउनेलाई प्रतिबन्ध

केदार दाहाल, काठमाडौं
२०७७ असार ९ मंगलबार १०:०२:००

कोभिड–१९ संक्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्न सरकारले ‘अपरेसन गाइडलाइन प्रोटोकल’ सार्वजनिक गरेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गाइडलाइन (मार्गनिर्देशन) सार्वजनिक गरेका हुन् । पर्यटन व्यवसाय कोभिड–१९ पछि खुला गर्दा अपनाउनुपर्ने मार्गनिर्देशन तय गरिएको हो । होटेल, रेस्टुरेन्ट, टुर एन्ड ट्राभल, पर्यटक बसदेखि साहसिक पर्यटनमा पर्यटक र व्यवसायीले अपनाउनुपर्ने प्रोटोकल तयार पारिएको छ । मार्गनिर्देशनमा पर्यटक विमानस्थलमा ओर्लेदेखि फर्किंदासम्म अपनाउनुपर्ने विषय समावेश गरिएको छ ।

लकडाउन खुलेलगत्तै सबै पर्यटन व्यवसाय पनि खुल्ने भएकाले मार्गनिर्देशन जारी गरिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले जानकारी दिए । ‘सबै कर्मचारी, व्यवस्थापन तथा पर्यटकहरूका लागि प्रोटोकल तयार पारेका हाैँ,’ रेग्मीले भने । 

६२ पृष्ठ लामो प्रोटोकल नमान्ने व्यवसायी र पर्यटकलाई प्रतिबन्ध लगाइनेछ । टुर प्याकेज बिक्री गर्ने व्यवसायीले नेपाल घुम्न आउने पर्यटकलाई गाइडलाइनबारे पहिल्यै अवगत गराएर सहमति लिनुपर्नेछ । नेपाल भ्रमणमा आउने पर्यटकले स्वस्थ रहेको प्रमाण पेस गर्नुका साथै घुम्दा र बस्दासमेत सबै गाइडलाइन पालना गर्नुपर्ने हुन्छ । 

होटेल तथा रेस्टुरेन्टका मार्गदर्शन 
होटेलभित्र छिर्ने पर्यटकले तालिमप्राप्त व्यक्तिबाट तापक्रम जाँच गराउनुपर्नेछ । ठूला होटेलले हरेक कर्मचारी तथा ग्राहकका लागि स्यानिटाइजर टनेल बनाउनुपर्ने र कोभिड–१९ सम्बन्धी चेतनामूलक जानकारीको बोर्ड राख्नुपर्छ । कुनै पनि व्यक्तिमा कोभिड–१९ को लक्षण देखिएमा तत्काल सरकारले तोकेको संस्थामा रिफर गर्नुपर्नेछ ।  

यता होटेलमा कार्यरत कर्मचारीहरूले पनि गाइडलाइन अनुसार मास्क, पन्जादेखि स्यानिटाइजरको प्रयोगका साथै भौतिक दूरीलाई अनिवार्य रूपमा कायम गर्नुपर्नेछ । होटेल खुला गर्नुभन्दा पहिले होटेल कर्मचारीहरू स्वस्थ रहेको प्रमाणित गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । 

कोठा, बाथरुमदेखि बैठक हलसम्म स्यानिटाइज गरिएको हुनुपर्छ । किचनमा काम गर्ने श्रमिकदेखि ‘डेलिभर’ सेवाका कर्मचारीले अनिवार्य पिपिई, मास्क, पन्जाको प्रयोग गर्नुपर्ने हुन्छ । रेस्टुरेन्टमा भने भौतिक दूरी कायम गरेर मात्रै ग्राहक बस्नुपर्ने हुन्छ । रेस्टुरेन्ट तथा बैंकेटका कर्मचारी तथा ग्राहकले हरेक मुभमा (वरपर सर्दा) स्यानिटाइज गर्नुपर्छ । ग्राहक उठेर गएपछि बसेको ठाउँलाई डिसइन्फेक्सन गर्नुपर्छ । बस्ने सिटिङ परिवर्तन गर्नुपर्छ । १० वर्गमिटरको क्षेत्रफलमा जम्मा चारजनाभन्दा बढीको सिटिङ हुनुहुँदैन । एउटा कुर्सीबाट अर्को कुर्सीको दूरी १ मिटरभन्दा बढी हुनुपर्छ । 

पर्यटक यातायातको मागदर्शन 
पर्यटकहरूलाई प्रयोग गरिने यातायातमा पनि भौतिक दूरी कायम गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । तीन सिटको कारमा दुईजना मात्रै बस्नुपर्नेछ । १२ सिट क्षमताको गाडीमा ६, २२ सिटको गाडीमा ११ जना र ३५ सिटको गाडीमा १५ जना मात्रै बस्नुपर्ने व्यवस्था गरिएको छ । 

टुर, ट्रेकिङ र पर्वतारोहण
सरकारले जारी गरेको प्रोटोकलमा प्याराग्लाइडिङ, कायकिङ, र्‍याफ्टिङ, ट्रेकिङ तथा पर्वतारोहण र टुरमा जाने पर्यटकले पनि अनिवार्य रूपमा गाइडलाइनलाई मान्नुपर्ने हुन्छ । जसमा घुमाउने गाइडदेखि पर्यटकसम्मले पालना गर्नुपर्ने नियम तयार पारिएको छ । जसमा एउटै समूह हुनुपर्ने, एउटै परिवार हुनुपर्ने र २ देखि १५ जनाभन्दा ठूलो समूह बनाउन नपाउने व्यवस्था गरिएको छ । खासगरी चिनियाँ, कोरियन र जापानिजहरूले सयाँैको समूह बनाएर घुम्ने गरेका छन् ।

ठमेल क्षेत्रका व्यवसायीलाई एक वर्ष भाडामा ५०% छुट

ठमेल क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले भाडामा ५० प्रतिशत छुट पाउने भएका छन् । आइतबार ठमेल पर्यटक विकास समितिको रोहबरमा दर्जनौँ संस्थाबीच भएको छलफलमा घरधनीहरूले एक वर्षसम्म ५० प्रतिशत छुट दिन सहमत भएका हुन् । घरधनीसहित ११ व्यावसायिक संस्थाबीच आइतबार सहमति भएको हो । ठमेल क्षेत्रमा मात्रै पर्यटन क्षेत्रसँग सम्बन्धित ५ हजार व्यवसाय रहेको अनुमान छ । पर्यटक मात्रै निर्भर भएको ठमेल क्षेत्रमा पर्यटक भित्रिन नथालेसम्म भाडा तिर्न नसक्ने अवस्था आएको व्यवसायीले बताउँदै आएका थिए । ठमेल क्षेत्रमा १५ हजारदेखि २५ लाखसम्म मासिक भाडामा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।