
कांग्रेस नेता गगन थापाले कांग्रेस सांसद र नेकपाका सांसदले एउटै प्रस्ताव बनाए संविधान संशोधन सँगसँगै नक्सा मात्रै हाेइन नेपाली भूमिबाट विदेशी सेना पनि फिर्ता पठाएर छाड्ने संकल्प गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामाको मंगलबारको बैठकमा उनले भने, ‘दुईवटा संकल्प प्रस्ताव अहिले संसदमा दर्ता छ । कांग्रेसको सांसद र नेकपाको सांसद एउटै प्रस्ताव बनाऊँ र यो संविधान संशोधन सँगसँगै नक्सा मात्रै हाेइन यो भूमिबाट विदेशी सेना पनि फिर्ता पठाएर छाड्छौँ भन्ने संकल्प पनि यो संसदबाट गरौँ । र, भनौँ सरकारलाई पूरा हाम्रो साथ रहन्छ । सरकार खुट्टा नकमाऊ, तर सँगसँगै गफ मात्रै हाेइन, काम पनि गर, संसदप्रति जवाफदेही हौँ भनेर सँगै भन्ने प्रस्ताव पनि पारित गरौँ ।’
नेपाल आफ्नो अडानमा दृढ रहँदै सँगसँगै सबै तयारी पनि गर्नुपर्नेमा उनको जोड थियो । अहिलेसम्मको तयारीबारे सदनलाई जानकारी गराउन उनले प्रधानमन्त्रीलाई आग्रहसमेत गरे । ‘माटो जोगाउने मुद्दामा प्रधानमन्त्रीलाई पूरा साथ छ, तर सँगैसँगै माटो जोगाउँदै गर्दा मानिसबारे भुल्न पाउनुहुन्न भन्ने कुरा भन्न नछाडौँ । तर, मान्छेबारे कुरा गर्दैगर्दा माटो केही पनि हाेइन भन्ने कुरा कसैले नगरौँ,’ उनले भने ।