
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका बारेमा स्थानीय तहका संघसंगठनका पदाधिकारीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफल कोरोना रोकथाम र नियन्त्रण गर्न स्थानीय तहले भोगेका समस्या, क्वारेन्टाइनको निर्माण, स्वास्थ्य सामग्रीको अवस्था, आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटको बारेमा केन्द्रित भएको गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणमा स्थानीय तहले खेलेको भूमिकाको सराहना गर्दै संघ, प्रदेश र स्थानीय तहले मिलेर गरे मात्र सफलता प्राप्त गर्न सकिने बताए ।
उनका अनुसार प्रधानमन्त्रीले कोरोना नियन्त्रण गर्न स्थानीय तहका समस्याबारे सुझाबसमेत लिएका थिए । उनले लामो समय लकडाउनका कारणले मुलुकको आर्थिकलगायतका गतिविधि ठप्प रहेकाे भन्दै उक्त गतिविधि चलायमान गराउनुपर्ने र कोरोनाको नियन्त्रण पनि गर्नुपर्ने भएकाले दुवै चुनौतीलाई सँगैसँगै लैजानुपर्ने बताएको श्रेष्ठले जानकारी दिए ।
नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जूका अनुसार प्रधानमन्त्री ओलीले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले कोरोना नियन्त्रण गर्न स्थानीय तहले भूमिका खेल्नुपर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले स्थानीय सरकार जति सक्रिय भयो त्यति नै चाँडो कोरोना नियन्त्रण गर्न सकिने बताएका थिए । उनले स्थानीय तहको सबलीकरण गरेर मात्र मुलुकमा आर्थिक विकास गर्न सकिने धारणासमेत व्यक्त गरेका थिए ।
छलफलमा प्रधानमन्त्रीलाई स्थानीय तहमा कोरोना नियन्त्रण गर्न खेलेको भूमिका र समस्याका बारेमा आफूहरूले जानकारी गराएको ब्यान्जूले बताए । उनले सांसदलाई छुट्याइएको स्थानीय पूर्वाधार विकास कोषको रकम कोरोनाको रोकथाम र नियन्त्रणमा खर्च गर्न प्रधानमन्त्रीसँग माग गरेको बताए ।
छलफलमा रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दासलगायतको सहभागिता रहेको थियो ।