Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २५ आइतबार
  • Sunday, 09 August, 2020
२०७७ जेठ २३ शुक्रबार ०७:२४:००
नयाँCity

पोखरामा अझै ३३९ विदेशी पर्यटक, भन्छन्- स्वदेशभन्दा पोखरा नै सुरक्षित

२०७७ जेठ २३ शुक्रबार ०७:२४:००

२५ फागुनयता पोखरामा रोकिएर बिहीबार स्वदेश फर्किएका इटालीका फिल्म–मेकर तथा पत्रकार रिकार्डो बियान्कोले यसबीचमा तीनवटा भिडियो डायरी तयार पारे । इटालीको टुरिनस्थित घरबाट झन्डै ६ हजार सात सय ९९ किलोमिटर परको पोखरामा उनले करिब ८९ दिन बिताए ।

उनको पहिलो भिडियो डायरी थियो- ‘लकडाउन इन पोखरा’ । यसमा उनले आफू पोखरामा रोकिनुपर्दाको कथा समेटेका छन् । दोस्रो भिडियो डायरी थियो- ‘पोखराका बालबालिका’ । पोखराका सडकमा लकडाउनको समयमा साइकल गुडाइरहेका बालबालिकालाई चित्रित गर्दै उनले यो भिडियो डायरी तयार पारेका थिए ।

यस्तो वेला पनि विदेशी पर्यटक यसरी रमाएर बसिरहनु पोखराको पर्यटनका लागि सुखद भविष्यको संकेत भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल बताउँछन् ।

स्वच्छ हावामा मनोरञ्जन लिइरहेका उनीहरू कोही क्रिकेट खेल्दै थिए । साइरन बजाउँदै लकडाउनको नियमन गर्न प्रहरी आएसँगै उनीहरू दौडिँदै भाग्थे, अनि लुकेजस्तो गरेर फेरि सडकमै फर्किन्थे । ‘प्रहरी र बालबालिकाबीचको यो लुकामारी साँच्चै रमाइलो थियो,’ उनी भन्छन्, ‘त्यही लुकामारीलाई भिडियोमा कैद गरेको हुँ ।’ उनले तेस्रो भिडियो डायरी तयार पारे- ‘घर फर्कन नपाएकाहरूमा समर्पित’ ।

अर्को मुलुकमा पुगेका पर्यटकले अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा बेहोरेको हैरानी उनले यसमा समावेश गरेका छन् । ‘कोरोना भाइरसका कारण विश्व बदलिएको छ । र, यसको किनाराका साक्षी बन्नुबाहेक हामीसँग विकल्प छैन,’ उनी भन्छन्, ‘पोखरा मलाई सबैभन्दा सुरक्षित सहर लागेको छ ।’

अस्ट्रेलियाको क्विन्सल्यान्डकी बेथनी पेडेर्सेन पोखरा आएको तीन महिना भएको छ । सात हजार एक सय २९ मिटर उचाइको हिम्लुङ हिमाल चढ्न आएकी उनको योजना यसपालि पूरा हुनेछैन ।

लकडाउन खुलेपछि मात्र स्वदेश फर्कने योजनामा रहेकी उनी मार्च २०२१ मा फेरि पोखरा आएर अधुरो इच्छा पूरा गर्ने सोचमा छिन् । ‘यसपालि हिमाल चढ्न र प्याराग्लाइडिङमा उड्न पाइनँ । तर, मलाई केही पछुतो छैन । नेपालीसँग बस्न पाएकी छु,’ उनी भन्छिन्, ‘यस्तो महामारीमा पनि यहाँ कसैलाई दुःखी देख्दिनँ । नेपाललाई ‘मुस्कानको देश’ संज्ञा दिनुपर्छ ।’

यसअघि सगरमाथा आधारशिविरसम्म पुगेको स्मरण ताजै छ, उनको मनमा । पहिलो यात्रामै नेपालको प्राकृतिक सौन्दर्यमा लोभिएकी उनको यो छैटौँ भ्रमण हो । ‘सुन्दर प्राकृतिक दृश्य अनि हँसिला नेपाली । यस्तो संयोग संसारमा कमै मिल्छ,’ उनी भन्छिन्, ‘लकडाउनमा म नेपालमा हुनु भाग्यको कुरा हो । अस्ट्रेलियामा रहेका मेरा बहिनीहरू आफू पनि यतिवेला नेपालमै हुन पाएको भए कस्तो हुन्थ्यो होला भनिरहेका छन् ।’ तीन महिनादेखि पोखरामा बसिरहँदा आफूले एक दिन पनि दुःखी महसुस गर्नुनपरेको उनी बताउँछिन् ।

११ चैतमा नेपालमा देशव्यापी लकडाउन सुरु हुँदा पोखरा र आसपासका क्षेत्रमा रहेका एक हजार दुई सय ३७ जनालाई सम्बन्धित मुलुकले उद्धार गरेर स्वदेश फर्काइसकेका छन् । पर्यटन प्रहरी कार्यालय पोखराका निरीक्षक गणेश खनालका अनुसार अहिले पोखरामा तीन सय ३९ जना विदेशी पर्यटक छन् । तिनैमध्येका हुन्, अमेरिकाको न्युयोर्कका माइकल एन्थोनी । अन्नपूर्ण फेरो मार्न आएका उनी लकडाउनयता पोखरामै छन् ।

यसपालि हिमाल चढ्न र प्याराग्लाइडिङमा उड्न पाइएन । तर, केही पछुतो छैन, नेपालीसँग बस्न पाइएको छ । यस्तो महामारीमा पनि यहाँ कसैलाई दुःखी देखिँदैन । नेपाललाई ‘मुस्कानको देश’ संज्ञा दिनुपर्छ ।

आफ्नो मुलुकमा १८ लाख ९० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण र करिब एक लाख नौ हजारको मृत्यु भइसक्दा एन्थोनीलाई नेपाल नै सुरक्षित लागेको छ । अमेरिकामा पनि उनको गृहनगर न्युयोर्क कोभिड–१९ को सबैभन्दा ठूलो चपेटामा छ । ‘त्यसैले स्वदेश फर्कन नचाहेको हुँ,’ उनी भन्छन्, ‘नेपालमा पनि कोभिड–१९ को संक्रमण बढ्दो छ । तर, यहाँ दबाब छैन । सबै मुस्कुराइरहेका छन् ।’ काठमाडौंस्थित अमेरिकी दूतावासले उनलाई पनि स्वदेश फर्किनेबारे नसोधेको होइन । तर, उनले पोखरामै बस्छु भनिदिए । उनी लामै समय पोखरामै बिताउने योजनामा छन् ।

अमेरिकाकै विन्सकन्सिनका रोबर्ट ज्याकोब हेनरी ‘राउन्ड अन्नपूर्ण’ ट्रेकिङबाट भर्खरै पोखरा फर्केका थिए, नेपालमा पनि लकडाउन सुरु भइहाल्यो । लकडाउन खुलेपछि मात्र उनी स्वदेश फर्किने योजनामा छन् ।

जर्मनीको सिग्बर्गकी सिला मारिया प्राकृतिक सौन्दर्यबीच हाइकिङ र योग गर्न पोखरा आएकी थिइन् । उनले पनि तत्काल स्वदेश फर्किने योजना बनाएकी छैनन् । भन्छिन्, ‘लकडाउन खुलेपछि पनि भिसा मिल्यो भने केही समय पोखरामै बिताउँछु ।’ यस्तै, क्यानडाको एडमन्टनका बेन्जामिन अल्बर्ट पनि दुई महिनाभन्दा बढीदेखि पोखरामै छन् । ट्रेकिङका लागि यहाँ आएका उनी लकडाउन खुलेपछि मात्र स्वदेश फर्किने योजनामा छन् ।

विदेशी पर्यटकले महामारीका वेला पोखरालाई सुरक्षित स्थानका रूपमा लिएको पोखरा प्याराडाइज अपार्टमेन्टका सञ्चालक सुरेन्द्र न्यौपाने बताउँछन् । उनको अपार्टमेन्टमा मात्र १३ जना विदेशी पर्यटक बसिरहेका छन् ।

यस्तै, पोखरा अपार्टमेन्टमा क्यानडा, जर्मनी, फ्रान्स, रुस, टर्कीका नौजना पर्यटक बसिरहेका छन् । सञ्चालक एकराज न्यौपानेका अनुसार महँगो पर्ने भएकाले चार्टर्ड फ्लाइटबाट स्वदेश फर्किन चाहिरहेका छैनन् । ‘महामारी नियन्त्रणमा आएर सस्तो र नियमित फ्लाइट नहुन्जेल उनीहरू पोखरामै रमाउन चाहन्छन्,’ न्यौपाने भन्छन् ।

यस्तो वेला पनि विदेशी पर्यटक यसरी रमाएर बसिरहनु पोखराको पर्यटनका लागि सुखद भविष्यको संकेत भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल बताउँछन् । भन्छन्, ‘कोभिड-१९ पछि पोखराको पर्यटनले छिटै पुरानो लय समात्ने संकेत पनि हो, यो ।’