सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २९ सोमबार
  • Monday, 13 July, 2020
२०७७ जेठ २१ बुधबार ०४:४०:००
मुख्य समाचार

अन्तर्जातीय प्रेमविवाह गर्दा झुटा मुद्दामा जेल

२०७७ जेठ २१ बुधबार ०४:४०:००

झापाको दमक नगरपालिका– २ का सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकी राई थरकी एक किशोरीसँग प्रेमविवाह गरे । सुमनको उमेर १७ र किशोरीको उमेर १५ वर्षको थियो । फेसबुकमार्फत चिनजान भएका उनीहरूले दुई महिना प्रेम–सम्बन्धमा रहेपछि विवाह गरेका थिए । तर, बिहे गरेको सातौँ दिन प्रहरी घरमै आएर सुमन र ती किशोरीलाई पक्राउ गरेर लग्यो । 

‘पुलिसले हथकडी लगाएर लग्यो । किन लग्यो हामीले त थाहै पाएनौँ,’ सुमनका बुबा गोपालले भने, ‘पछि त तेरो छोराले बलात्कार गर्‍यो पो भन्छन् !’ विवाह नगरे आत्महत्या गर्ने प्रेमिकाको घुर्कीपछि सुमनले उनलाई भित्र्याएका थिए । तर, प्रेमको बदला उनले जेल सजाय पाए । जिल्ला अदालत झापाले सुमनविरुद्ध जबर्जस्ती करणी मुद्दामा नौ वर्ष जेल सजाय तोकेको छ । उनी अहिले बाल सुधारगृह विराटनगरमा छन् ।

छोरीले कथित तल्लो जातको युवकसँग बिहे गरेपछि उनको परिवारले इलाका प्रहरी कार्यालय दमकमा बलात्कार मुद्दा दर्ता गराएको थियो । प्रहरी र अदालतमा ती किशोरीले सहमतिमै विवाह गरेको बयान दिँदा पनि सुमनले धर पाएनन् । ‘जातकै कारण मेरो छोरोलाई फसाइयो । बिहे गरेर घरमा ल्याएकी बुहारीलाई बलात्कार गर्‍यो भनियो । त्यस्तोमा कसरी बलात्कारको मुद्दा लाग्यो,’ गोपालले भने, ‘बरु, बालविवाह गरेको भन्न मिल्छ, त्यही मुद्दा लगाएको भए ठीकै हो भन्न पनि हुन्थ्यो नि !’ 

अहिले वेलावेला छोरा भेट्न विराटनगर पुग्छन् गोपाल । ‘जति खर्च लाग्छ यहाँबाट निकाल्नु बुबा, बरु म कमाएर तिर्छु’ भन्दै सुमन रुन्छन् । छोराको रोदनले गोपाल पनि भक्कानिन्छन् । ‘मनमनै भन्छु– दलित भएर जन्मनु नै तेरो पाप रहेछ,’ गोपालले भने, ‘हामी निमुखाको त के नै पो लाग्दोरहेछ र !’ दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्ने गोपाल कानुनको भाषा बुझ्दैनन्, छोरो छुट्ने आसमा कानुन व्यवसायी जे भन्छन् त्यही गर्छन् । मुद्दा–मामिलामा अहिलेसम्म एक लाख सकिसके, तर छोरो छुटेन । ‘खै वकिलले छुट्छ भन्थ्यो । पैसा मात्र लग्यो, तर छोरा छुटेन, अहिले पनि के–के गर्दिन्छु भन्छन् । पैसै मात्र माग्छन्,’ गोपालले भने ।

अन्तर्जातीय विवाह गरेकै कारण जबर्जस्ती करणी मुद्दामा जेल परेका सुमन विश्वकर्माका बुबा गोपाल । 

कानुन व्यवसायीले मात्रै होइन, सुमनविरुद्ध किटानी जाहेरी दिएका किशोरीका बुबाले समेत मुद्दा मिलाइदिने भन्दै गोपालबाट ३५ हजार रुपैयाँ खाए । अदालत र प्रहरीमा कमजोर बयान दिएर मुद्दा कमजोर बनाइदिने उनको प्रतिबद्धता थियो । गोपालले कागज गरेरै रकम दिएका थिए, तर छोरो जेल जानबाट बचेन । पैसा दिँदा गरिएको कागजमा भने छोरी खोज्दा लागेको पैसा बुझेको उल्लेख छ । ‘म मुद्दा मिलाइदिहाल्छु नि भने । होला नि त भनेर ३५ हजार दिएँ । बेकार पैसा मात्र गयो,’ गोपालले भने । पैसा दिएको प्रमाण अहिले पनि गोपालको दराजमा छ । 

अन्तर्जातीय प्रेमलाई विवाहमा परिणत गर्दा सुमनजस्तै दर्जनौँ दलित युवा–युवतीले झुटा मुद्दामा सजाय भोगिरहेका छन्, अधिकांशलाई कथित उपल्लो जातको बोलवाला रहेको समाजले समेत तिरस्कार गर्ने गरेको छ । 

दलित महिला विवाह गर्ने गैरदलित पुरुष घरबाटै लखेटिन्छ । उसले समाजमा बस्ने अधिकार गुमाउँछ । दलित पुरुषले गैरदलित महिला विवाह गर्दा सधैँ कानुनी झमेला भोग्नुपर्छ । महिलाको परिवारले उनीहरूमाथि जबर्जस्ती करणी, अपहरण, मानव बेचबिखनलगायतका मुद्दा चलाइदिन्छन् । कानुनको डण्डाले उनीहरूको भविष्य नै बर्बाद बनाइदिन्छ । यस्तै झमेला भोग्ने अर्का किशोर हुन्– पाँचथरको फिदिम नगरपालिका– ५ का १६ वर्षीय गोपाल शंकर (विक) ।

गोपाल र उनकै छिमेकी १६ वर्षीया सापकोटा थरकी किशोरीले ०७५ चैतमा अन्तर्जातीय प्रेमविवाह गरे । एउटै विद्यालयमा पढ्ने उनीहरूबीच कक्षा–८ देखि नै प्रेम–सम्बन्ध थियो । पूर्वयोजनाअनुसार नै उनीहरूले एसइई सकेर घरबाट भागेर विवाह गरेका थिए । 

कथित माथिल्लो जातको माइती पक्षबाट जोगिन उनीहरू इलाम आएर बसेका थिए । तर, यो कुरा धेरै दिन लुक्न सकेन । युवतीको परिवारका मान्छे उनीहरू बसेकै ठाउँमा आइपुगे । गोपाललाई प्रहरीको जिम्मा लगाएर उनीहरू छोरी लिएर फर्किए । तर, एक हप्तामै युवती फेरि भागेर इलाम आइन् । गोपाल र उनी पुरानो ठाउँ परिवर्तन गरेर सँगै बसे । 

फेरि पनि युवतीको परिवार उनीहरूको प्रेममा तगारो बनेर उभियो । छोरी खोज्दै दोस्रोपटक आएका परिवारका सदस्य थप क्रूर बने । छोरीलाई लगेर मात्र गएनन्, गोपालविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा अपहरण, जबर्जस्ती करणी र मानव बेचबिखनको जाहेरी पनि दिए । प्रहरीले गोपाललाई पक्राउ गरेर जिल्ला अदालतमा मुद्दा चलायो । मानव बेचबिखन र अपहरण प्रमाणित हुन सकेन । तर, जबर्जस्ती करणीमा उनलाई सात वर्ष जेल सजाय सुनाइयो । उनी पनि अहिले बाल सुधारगृह विराटनगरमा छन् । 

यो मुद्दालाई नजिकबाट हेरेका कानुन व्यवसायी तथा दलित अधिकारकर्मी देवेन्द्र विश्वकर्माले दलित भएकै कारण गोपालमाथि मुद्दा चलाइएको बताए । ‘यो जातीय विभेदको पराकाष्ठा हो, जात नमिलेको भनेर मात्रै मुद्दा चलाइएको हो । कथित पानी चल्ने जातबीचमा बालविवाह भएको छ भने यसरी मुद्दा लगाएको हामीले कहीँ सुनेका छौँ ?’ उनले भने, ‘यदि केटा कथित उपल्लो जातको भए यस्तो सजाय पाउँदैन थियो । कानुनतः १८ वर्षमुनिको किशोरीलाई सहमतिमै शारीरिक सम्बन्ध राख्नु पनि जबर्जस्ती करणी हो । तर, यो डण्डा दलितमाथि मात्रै प्रहार भयो, हुने गरेको छ ।’ मुद्दालाई पुनरावेदनको तयारी भइरहेको उनले बताए । 

‘गैरदलित–गैरदलित र दलित–दलितबीचमा पनि बालविवाह हुन्छ । त्यस्तो वेला कुनै मुद्दाको विषय बन्दैन । तर, जब दलित र गैरदलितबीच बालविवाह हुन्छ त्यो वेला मुद्दा बनाइन्छ,’ दलित अधिकारकर्मी नवराज शंकरले भने, ‘गरेको बालविवाह हुन्छ मुद्दा चलाइन्छ– बलात्कार, अपहरण तथा मानव बेचबिखनको । दलितहरू भनेको त पैतालामै राख्ने जात हो भन्ने पुरातन मनोविज्ञानको धङधङी कथित उपल्लो जातमा अझै हटेको छैन ।’ 

शासन व्यवस्था फेरिए पनि सामाजिक संरचना र मानिसको सोचमा परिवर्तन नआउँदा विभेद हट्न नसकेको शंकरको भनाइ छ । ‘थुप्रै राजनीतिक परिवर्तन भए र शासन व्यवस्था फेर्‍यौँ । तर, समाजमा रहेका विभेदकारी संरचना र सोच, व्यवहारमा परिवर्तन गर्ने बिन्दुमा हामी पुगेनौँ, हिजो विवाह भोजमा दुईवटा भान्सा लाग्थ्यो । दलितले छुट्टै भान्सामा खाना खान्थे । आज एउटा भान्सा हुन्छ, तर दलितलाई भोजमा बोलाउनै छाडियो । यो विभेद नै हो । शैली मात्रै फेरिएको हो,’ उनले भने ।

शिक्षामा विभेद : गुरुकुलहरूले दलित विद्यार्थीलाई भर्ना लिनै मान्दैनन्, लिए पनि विभेद गर्छन्

गुरुकुलका प्रधानाध्यापक भन्छन्, ‘समाजले पूजापाठमा पढ्न ब्राह्मण बटुक नै खोज्छन् । त्यसैले उनीहरूलाई लैजान सक्दैनौँ । दलित विद्यार्थीहरू पढ्छन्, बुझ्छन् । तर, बाहिर जान पाउँदैनन्’

नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको १४ वर्ष पूरा भएको छ । तर, अहिले पनि विभेद कायमै छ । अशिक्षाका कारण जातीय विभेद भएको भन्ने गरिन्छ । तर, शिक्षामा पनि दलित समुदायमाथि विभेद भएको पाइएको छ । दलित विद्यार्थीले संस्कृत पाठशाला गुरुकुलमा भर्ना नै पाउँदैनन् । पाइहाले पनि विभेद भोगेरै उनीहरू पढ्न बाध्य छन् । उनीहरूलाई गुरुकुलमा गैरदलितसरह व्यवहार गरिँदैन । झापामा २३ वटा गुरुकुल छन् । तर, गुरुकुलमा पढ्न जाने दलित ‘बटुक’लाई दलितले पढ्न हुँदैन भन्दै फर्काइने गरिएको छ । अधिकांश गुरुकुलले दलित विद्यार्थीलाई भर्ना नै लिँदैनन् । 

इलाम–५ बरबोेटेका ११ वर्षीय विकास कार्कीडोली (दर्जी) झापा, भद्रपुरको कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा भर्ना हुन गए । तर, गुरुकुलले भर्ना लिनै मानेन । गुरुकुलले ब्राह्मण बटुकलाई मात्र भर्ना लिने भनेपछि यो विषय दलित अधिकारकर्मीको कानमा पुग्यो । पढेलेखेकाहरूबाटै यस्तो विभेद भएपछि ०७५ जेठमा आन्दोलन भयो । दलित अधिकारकर्मीको आन्दोलन र दबाबपछि गुरुकुल भर्ना लिन तयार भयो । तर, विकासमाथि गरिएको विभेदका कारण उनले पढ्नै सकेनन् । भर्ना भएको चार दिनपछि उनले पढाइ नै छाडे । उनी अहिले गाउँ फर्केर स्थानीय विद्यालयमा पढ्दै छन् । 

‘त्यहाँ बस्न थालेपछि मलाई दाइहरूले कुट्न थाले । दमाई, कामीले संस्कृत पढ्न हुँदैन भन्दै हप्काए,’ विकासले नयाँ पत्रिकासँग भने, ‘मलाई त पढ्नै मन लागेन । संस्कृत त अब कहिले जान्न ।’ बुबा सानै उमेरमा बिते । आमाले अर्को विवाह गरेपछि टुहुरो बनेका विकासले अझै पनि वेलावेला संस्कृत पढ्ने रहर गर्छन् । तर, गुरुकुलको आवासमा बस्न मान्दैनन् । ‘अहिले पनि संस्कृत पढ्छु । तपाईं पनि मसँगै बस्नु, आवासमा बस्दिनँ भन्छ,’ आमा मीना दर्जीले भनिन्, ‘उसको स्वभाव पनि संस्कृत पढ्नेजस्तै छ । अब एक वर्षजति आफैँ बसेर पढाउँछु । त्यसपछि त बानी पर्छ होला नि ।’

झापाको गौरादहस्थित ज्ञानेश्वर गुरुकुलमा २५ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये दुईजना दलित बालक पनि पढ्छन् । तर, गुरुकुलजस्तो शिक्षित ठाउँमा पनि दलित विद्यार्थीमाथि विभेद छ । दलितलाई औपचारिक शिक्षा मात्र दिइएको छ । गैरदलितलाई जस्तो व्यवहार गरिँदैन । गौरादह–१ का आसिक दर्नाल (दर्जी) र गौरादह–२ का रोहित विक गुरुकुलमा पढ्दै आएका छन् । गुरुकुलका सबै विद्यार्थीलाई मन्दिर तथा घरमा पूजामा पुरोहितका रूपमा लगिन्छ । तर, दलित विद्यार्थीलाई न त घरमा पूजा गर्न नै लगिन्छ, न त अरू कुनै कार्यक्रममै सहभागी गराइन्छ । उनीहरूमाथि विभेद गरिएको छ ।

‘हाम्रा छोरालाई चाहिँ कुनै कार्यक्रममा पनि लगिँदैन । सोध्दा दलितलाई लान मिल्दैन भन्छन्,’ आसिकका बुबा प्रेम भन्छन्, ‘गुरुकुलमा पढाएर मात्र के गर्नु, बाहिरको ज्ञान पनि त लिनुपर्‍यो नि, गैरदलितहरूले घरमा हुने पूजामा गएर पैसा पनि ल्याउँछन् । हाम्रा नानीहरूलाई त त्यो पनि छैन । पढेलेखेकाले नै विभेद गर्दा रहेछन् । कागजमा छुवाछुतमुक्त राष्ट्र भनेर के नै हुने रहेछ र !’

झापाको गौरादहमा रहेको ज्ञानेश्वर गुरुकुलमा अध्ययनरत आसिक दर्नाल र उनका बुबा प्रेम । गुरुकुलमा पढ्न पाए पनि उनी विभेदमा परेका छन् । 

गुरुकुलका प्रधानाध्यापक पुष्पराज गुरागाईं पनि दलित भएकै कारण गुरुकुलबाहिर लान नसकिएको बताउँछन् । ‘अरूले त दलितलाई पढाएका पनि छैनन् । कम्तीमा हामीले त पढाएका त छौँ । दलित विद्यार्थीलाई अरूलाई जस्तो बाहिरको पूजापाठमा पढाउन लान सकिँदैन । सुरुमै हामीले अभिभावकसँग बोकेर हिँड्न सक्दैनौँ भनेर सम्झौता गरेका छौँ,’ गुरागाईं भन्छन्, ‘तर, समाजले पूजापाठमा पढ्न ब्राह्मण बटुक नै खोज्छन् । त्यसैले हामीले लान सक्दैनौँ । उनीहरूले पढ्छन्, बुझ्छन् । तर, बाहिर जान पाउँदैनन् ।’

पढ्न नदिनु र पढेपछि पनि विभेद गर्नु अपराध हो

देवेन्द्र विश्वकर्मा, दलित अधिकारकर्मी

संविधानले नेपाली नागरिकलाई जुनसुकै विषय अध्ययन गर्ने अधिकार दिएको अधिवक्ता तथा दलित अधिकारकर्मी देवेन्द्र विश्वकर्मा बताउँछन् । मानवअधिकार र संवैधानिक व्यवस्थाअनुसार कुनै एक जात विशेषले मात्र पेसा व्यवसाय नगरी सबै नागरिकले गर्न पाउने व्यवस्था रहेको उनको भनाइ छ । गुरुकुलमा दलितलाई पढ्न नदिइनु र पढ्न दिए पनि विभेद गर्नु आपत्तिजनक भएको उनले बताए । ‘यो त जातीय विभेदको पराकाष्ठा नै हो । संविधानअनुसार दलितले पनि गुरुकुल पढ्न पाउँछ । पढ्न नदिनु र पढेपछि पनि विभेद गर्नु अपराध हो,’ विश्वकर्मा भन्छन्, ‘कानुन बन्यो । तर, कार्यान्वयन गर्ने ठाउँमै विभेद गर्ने सोच भएका मानिस भएपछि दलितले सधैँ विभेद भोग्नुपर्छ ।’