Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २८ बुधबार
  • Wednesday, 12 August, 2020
२०७७ जेठ १९ सोमबार २०:३९:००
मुख्य समाचार

नयाँ पत्रिका अर्काइभ : राजा वीरेन्द्र भन्थे- ०४७ को संविधान दश वर्षभन्दा टिक्दैन

२०७७ जेठ १९ सोमबार २०:३९:००

टीका धमला, राजा वीरेन्द्रका तत्कालीन प्रमुख एडिसी

राजा वीरेन्द्रसँग २० वर्ष काम गरेका नेपाली सेनाका अवकाशप्राप्त उपरथी टीका धमलासँग मैले नयाँ पत्रिका दैनिकका लागि पुस १२, ०७१ मा लामो कुराकानी गर्ने अवसर पाएँ । साढे चार घन्टाको कुराकानीको एउटा अंश पुस १४ गते नयाँ पत्रिका दैनिकको मध्यपृष्ठमा प्रकाशित छ । तर, स्थानको सीमितताका कारण सबै विषय प्रकाशन सम्भव थिएन । नयाँ पत्रिकामा प्रकाशित र अप्रकाशित दुवै विवरणहरू यसमा उल्लेख छ । 

राजा वीरेन्द्रसँग धमलाको संस्मरण यस्तो छ :

म कक्षा ६ मा पढ्दा काठमाडौंबाट गाउँ धादिङ ज्यामरुङ गएका वेला तत्कालीन युवराजाधिराज रहेका वेला वीरेन्द्र सरकारको सवारी थियो । सेनाको युनिफर्म लगाउनुभएको थियो, दुब्लो हुनुहुन्थ्यो । राजाको छोरा आएको हेर्न हामी झुम्मियौँ । भोलिका राजा कस्ता होलान् भन्ने कुतूहल थियो । 

०३१ सालमा सेनाको लप्टनबाट जागिर सुरु गरेँ । त्यो वेला लामो तालिमको प्रक्रिया पुऱ्याएर राजाकहाँ सेना र प्रहरीबाट दुई–दुईजना एडिसी जाने चलन थियो । प्रक्रियामा परेर मलाई अफिसले दरबार पठायो । शिक्षालयमा म निर्देशक रहेर हतियारसम्बन्धी तालिम चलाइरहेको थिएँ । शिक्षालयको कमाण्डेन्ट राजेन्द्र राणाले भन्नुभयो, ‘तिमीलाई भिभिआइपी तालिमका लागि छानिएको रहेछ, तर अहिले नै म पठाउन सक्दिनँ । यो कोर्स यहाँ कसले चलाउँछ तिमी गएपछि ? म नजाने मुडमा पुगेँ । तर बोलावट भयो । अनि म गएँ । प्रहरीबाट गोविन्दप्रसाद थापा र सेनाबाट म नारायणहिटी गयौँ ।

म दुई वर्षका लागि गएको थिएँ । नारायणहिटीमा तालिमका वेला राजा वीरेन्द्रको सवारी भयो । त्यहाँ राजा देख्दा गर्व अनुभूति हुन्थ्यो । दोस्रो समय त्यहीँ देखेँ ।

तालिम सकिएपछि शान्तकुमार मल्ल जर्सावले गोविन्द थापाजी र मलाई राजाकहाँ लिएर जानुभयो । हामीले दाम राख्यौँ । राजाबाट हुकुम भयो, मलाई थाहा छ, तिमीहरूले सुरुमा ड्युटी गर्न अप्ठ्यारो हुन्छ यहाँ । तर, अप्ठ्यारो नमान्नू । सिनियरलाई सोध्नू । मलाई सोधे पनि हुन्छ । सजिलो गरी काम गर’ त्यो आवाज अहिले पनि घन्किइरहेको छ । मैले राजाको बाेली पहिलोपटक त्यहीँ सुनेको थिएँ । मैले राजालाई गाउँमा देखेको–भेटेको कुरा भनिनँ । हाम्रो अनुशासनको कुरा थियो ।

२०४७ को संविधान आएपछि राजालाई रिलिफ महसुस भयो । मैले चुज लाइफ नामको किताब किनेँ । आनोल्ट टोयन्वी, दिसाकु इकेदाले लेखेको । जापानी लेखक इकेदा काठमाडौं आएका थिए । उनले राजालाई भेट्ने कार्यक्रम थियो । आधा घन्टाको समय दिइए पनि डेढ घन्टा कुराकानी भयो । मैले पनि उहाँलाई होटेल सोल्टीमा गएर भेटेँ । पूर्वीय र पश्चिमा दर्शनका विषयमा लेखिएको किताबमा राजसंस्था बारे उल्लेख छ ।

युरोपका राजाहरूको बारेमा उल्लेख छ । युरोपका राजाहरूलाई जनता वा नेताले अब फाल्न सक्दैनन् । राजसंस्था त्यहाँ त्यतिवेला जान्छ जब राजाहरूले नै राजा हुने रुचि देखाउँदैनन् । मैले राजासँग सेयर गरेँ र उहाँलाई दिएँ पनि । त्यसवेला राजाले मलाई भन्नुभयो, ‘हेर, राजा हुन सजिलो छैन । यो यस्तो गह्रौँ भारी हो, जहाँ पायो त्यहीँ बिसाउन पनि पाइँदैन । यसबाट छट्कारा पनि पाइँदैन । समय र परिस्थितिअनुसार मिलेर जानुपर्छ, त्यसपछि सजिलो गरी जान्छ ।’

एकपटक हामी  ऱ्याफ्टिङ गएका थियौँ । त्रिशूलीमा राजाको डुंगा अगाडि, हाम्रो पछाडि । मुग्लिनको तल टेन्टमा राति २ बजे पुगेका थियौँ । राजा खुसी हुनुहुन्थ्यो । मलाई बोलाउनुभयो, ‘तिमी यता आऊ’ । म ड्युटीमा थिएँ । राजाले भन्नुभयो, त्यहाँ पर एउटा झरना छ, म नुहाउँछु ।’

नीलो सफा झरना बगेको थियो, सानो पोखरीमा सफा पानी थियो । अरू कसैलाई नआउन भन्नुभयो । उहाँ गएर नुहाउनुभयो । म क्यामेरा लिएर गएँ । राजा साह्रै खुसी हुनुहुन्थ्यो । फोटो खिच्न मन लाग्यो । अनुमति मागेँ । राजाबाट हुकुम भयो, ‘तिमीलाई किन चाहियो फोटो ?’ मैले भनेँ राम्रो छ ।  त्यसपछि ल खिच, तर अरूलाई नदेखाउनु भनेर तयार हुनुभयो । त्यो फोटो अहिले पनि मसँग छ ।

राजासँग धेरै व्यक्तिगत क्षणहरू छन् ।

राजा वीरेन्द्रसँग म धेरैपटक विदेश गएको छु । सम्झनाका धेरै क्षण छन् ।

एकपटक बेंग्लाेर सवारी भएको थियो । त्यहाँ सामूहिक फोटो खिच्ने कार्यक्रम थियो । सबैले टोपी लाएका थियौँ । तर, शाही नातेदार एकजनाको शिरमा टोपी थिएन । उनलाई राजाबाट हुकुम भयो, ‘तिमी बाहिर जाऊ, टोपी लाएका छैनौँ । तिम्रो फोटो नखिच्ने ।’ आफ्नै नातेदारले टोपीका कारण फोटो खिच्न पाएनन् ।

००००००००

मैले सुनेअनुसार राजा वीरेन्द्र बिपीलाई धेरै मान्नुहुन्थ्यो । ०३३ सालमा बिपी राष्ट्रिय मेलमिलापको सिद्धान्त लिएर आउनुभयो । भारतमा जब इन्दिरा गान्धीले स्टेट अफ इमर्जेन्सी लगाएपछि त्यसको बिपीले विरोध गर्नुभयो । त्यसपछि उहाँलाई प्रेसर पऱ्यो । बिपी प्रम भएपछि क्याबिनेटमा भारतको प्रतिनिधित्व मान्नुभएन । इजरायल भ्रमण भारतले मानेन । आत्मवृत्तान्तमा यी कुरा छन् । बिपीको देहावसान भएपछि राजा वीरेन्द्रले परिवारलाई समवेदना पठाउनुभएको छ ।

०००००००

०३८ सालदेखि म राजा वीरेन्द्रको निकट रहेँ । त्यो पञ्चायतको पिक समय थियो । राजा फ्रस्टेट हुनुहुन्थ्याे । किनभने दरबारमा अनेकथरी कुरा लगाउँथे ।

वीरेन्द्र आफ्नो छाता आफैँ ओढ्न नसक्ने राजा भनेर कतिपयले टिप्पणी गरे । तर, त्यस्तो होइन । उहाँ राष्ट्रियताप्रति चिन्तित, सिस्टम राम्रो हुनुपर्छ भन्नेमा हुनुहुन्थ्यो । टिमवर्कमा विश्वास राख्ने उहाँले पञ्चायतमा जस–जसलाई कामको जिम्मा दिनुभयो, जिम्मा लिनेहरूको कामबाट राजा सन्तुष्ट हुनुहुन्थेन । ०४६ सालमा पोखरा सवारी हुँदा म सँगै थिएँ । आन्दोलन भइरहेको थियो । ड्युटीमा रहेको म छेउमा बसेर सबै कुरा सुनिरहेको थिएँ । भेट्न जानेहरूले भन्थे, ‘यो आन्दोलन मुठ्ठीभरको हो, केही पनि होइन ।’ तर, राजाले राति ११ बजे बहुदलीय व्यवस्था जारी गर्नुभयो । त्योभन्दा अगाडि राजा वीरेन्द्रले भनेको कुरा मैले सम्झेको छु मेरो दैलोअगाडि नेपाली गोली लागेर मर्न थालिसक्यो । तिमीहरू यसलाई साधारण अवस्था मान्छौ ? यो साधारण अवस्था होइन । जनतालाई अधिकार दिनुपर्छ ।

राजा वीरेन्द्र बाहिर पढेर बाहिरी संसार चिनेका । उहाँ क्षेत्रीय, ग्लोबल राजनीतिको ट्रेन्डका आधारमा जानुपर्छ भन्नुहुन्थ्यो । ०३६ सालको जनमतसंग्रह, ०४६ को बहुदल घोषणा त्यही आधारमा भयो । त्यसो नगरेको भए पनि त हुन्थ्यो होला नि । राजा वीरेन्द्र समय–परिस्थितिअनुसार अधिकार जनतामा दिँदै जानुपर्छ भन्ने मान्यतामा हुनुहुन्थ्यो ।

मैले सुनेअनुसार दरबारका सिनियर मान्छेले भनेको । पाकिस्तानमा सार्क शिखर सम्मेलन हुँदा वीरेन्द्र सरकार चियापानमा सवारी नहुँदा राजीव गान्धीसँग मनमुटाब भयो । त्यसपछि यहाँ नाकाबन्दी लाग्यो । म बेलायतमा स्टाफ कोर्स गर्न गएको थिएँ ।

मैले सुनेअनुसार माथिल्लो कर्णाली संसारका तीनवटा सबैभन्दा सस्तोमध्येको आयोजना । भारतसँग महाकाली नदीको पनि कुरा चलिरहेको थियो । राजा वीरेन्द्रले  भन्नुभयो– कर्णाली नेपाल आफैँले बनाउँछ, महाकालीमा कसरी सहकार्य गर्ने, छलफल गरौँ । हामीलाई बढी भएको ऊर्जा हामी दिन्छौँ । यसमा कुरा नमिलेपछि भारतले त्यो कदम चाल्यो । सोनियाँ गान्धीलाई पशुपतिनाथ मन्दिर छिर्नै नदिएका कारण भन्छन् कतिपयले । यो कारण होइन । मुख्य कुरा राष्ट्रिय स्वार्थका कुरामा राजा वीरेन्द्रले लिएको अडानका कारण भारतले नाकाबन्दी गऱ्यो ।

०००००००००००००


अर्को देशबाट हतियार ल्याउन नहुने कुरा काहीँबाट पनि लेखेको छैन । पहिला हरेक सामान भारत भएर आउँथ्यो । त्यो अवस्थामा भारको स्वीकृति लिनुपर्थ्याे । यो अन्तर्राष्ट्रिय प्रचलन हो । अर्को मुलुकबाट किन्नै नपाइने भन्ने होइन ।

चीनबाट एन्टी एयरक्र्याफ्ट गन किनिएको हो । तर, त्यसको जवाफ त किसुनजीले भारत भ्रमणमा जाँदा दिइसक्नुभएको थियो । उहाँको भनाइ थियो, जहाँबाट सस्तो थियो, राजा वीरेन्द्रले त्यहीँबाट ल्याउनुएको हो । तपाईंहरू सस्तोमा दिनुस्, म यहीँबाट किन्छु । नेपाल स्वतन्त्र र सार्वभौम मुलुक भएको सन्देश त्यो निर्णयबाट भएको थियो । 

राजा वीरेन्द्रले चीन र भारतबीच सन्तुलन मिलाउनुभएको थियो । पूर्व–पश्चिम सडक खण्डअन्तर्गत कोहलपुर–बनबासाका ठेक्का ग्लोबल टेन्डरमा चीनलाई परेपछि भारतलाई चिन्ता भयो । त्यतिवेला दरबारका सचिव रहनुभएका व्यक्तिको घरमा बिहानै ६ बजे भारतीय राजदूत पुगेछन् । उनले दर्शनभेट मिलाइदिनुपऱ्योयो भनेछन् । राजा वीरेन्द्रकहाँ कुरा पुग्यो । त्यसपछि उहाँले चिनियाँलाई व्यक्तिगत रूपमा सम्पर्क गरेर मेरो अर्को छिमेकीलाई असहज भयो भन्नुभएछ ।  चीनले राजा वीरेन्द्रको कुरा मानिदियो । राजाको अनुरोध नमानेर चीन अन्तर्राष्ट्रिय अदालतमा जान सक्थ्यो र उसले मुद्दा जित्थ्यो । चीनले चित्त नदुखाएको होइन, तर राजा वीरेन्द्रको मन राखिदियो ।

राजा वीरेन्द्र वर्षको एकचोटि क्वाइट डिनरमा एकजना एडिसी मात्र लिएर चिनियाँ दूतावास र भारतीय दूतावासमा जानुहुन्थ्यो । यो कुरा धेरैलाई थाहै छैन । त्यहाँ राजदूत र राजा मात्रै बस्नुहुन्थ्यो । राजासँग म धेरैपटक गएको छु । दुवै देशलाई यसरी पनि राजाले विश्वासमा लिनुभएको थियो । अरू दूतावासमा राजाको त्यसरी सवारी भएको मलाई थाहा छैन ।

म राजा वीरेन्द्रसँग नाैपटक भारत गएको छु । तीन–चारपटक भारतको राष्ट्रपति भवनमा बसेको छु राजासित । म सम्झिन्छु, एकपटक भारतका नेताहरूले राजालाई भने, ‘योर मेजस्टी, तपाईंका नेताहरू मन्त्री भएका वेला आएर एउटा, नभएको वेला अर्को कुरा गर्नुहुन्छ ।’ राजाले हाम्रा नेताको बचाउ गर्नुहुन्थ्यो । मैले धेरैपटक नजिकै बसेर सुनेको छु । भारतीय नेतालाई राजा भन्नुहुन्थ्यो, ‘तपाईंहरूले उहाँहरूको कुरा बुझिदिनुपर्छ । मन्त्री हुँदा उहाँको एउटा जिम्मेवारी हुन्छ, नहुँदा पार्टीको अर्को जिम्मेवारी । नेताहरूको यो समस्या तपाईंहरूले बुझ्नुपर्छ ।’

एकपटक भारतीय राष्ट्रपति कलामउद्दिनको निम्तामा दिल्ली गएको क्षण सम्झिन्छु । राष्ट्रपति मुस्लिम भए पनि गीताको गहिरो ज्ञान रहेछ । गीताका विषयमा राजासँग भयो । कुनै ठाउँमा गीतामा भनिएको छ– राजा भगवान् विष्णुको मानवीय स्वरूपमा हनुहुन्छ । राजा बेस्सरी हाँस्नुभयो, हामी पनि दंग पऱ्याैँ । वीरेन्द्रले जवाफ दिनुभयो, ‘नो, तपाईं पनि त्यस्तै हो जस्तो म हुँ । राजालाई विष्णको अवतार भनेको सबैभन्दा उच्च स्थानमा भन्ने अर्थमा हो । तपाईं पनि त्यही ठाउँमा हुनुहुन्छ ।’ त्यसपछि ठूलो हाँसो भयो । म त्यो क्षण कहिल्यै पनि बिर्सिन्नँ ।

एकपटक सरकारले टिएडिएको नियम चेन्ज गरेछ । प्राइभेट भिजिटमा हामी जयपुर गएका थियौँ । राजा वीरेन्द्रको नातेदारको विवाह थियो । १२ दिनको भिजिट थियो । राजासहित हामी सबैले पहिलाको भन्दा धेरै पैसा पायौँ । फर्केर आएपछि राजाले सोध्नुभयो, ‘यसपालि कति पैसा पायौ ? हामीले जे हो त्यो भन्यौँ । राजालाई चित्त बुझेनछ । उहाँले सम्बन्धित सरकारी अधिकारीलाई बोलाउन लगाउनुभयो र भन्नुभयो, भारत जाँदा यति धेरै टिएडिएको नियम किन ?  सार्क मुलुकमा एउटा रेट, युरोप अमेरिकामा अर्को, होस्ट कन्ट्रीले बस्नखानको व्यहोर्छ भने एउटा रेट, व्यहोर्दैन भने अर्को रेट बनाउन भन्नुभयो । भारतमा लिएको टिएडिए राजाले सरकारी कोषमा फिर्ता गर्नुभयो । हामीले पनि फिर्ता गऱ्याैँ । यो ०४७ सालपछिको घटना हो ।

००००००००००००

पञ्चायतमा दुईवटा समूह हुन्थ्यो । राष्ट्रिय पञ्चायतको एउटा, प्रधानमन्त्रीको अर्को । राजाको क्षेत्रीय भ्रमणमा सवारीमन्त्री जान्थे उनले प्रधानमन्त्रीको प्रतिनिधित्व गर्थे । राष्ट्रिय पञ्चायत अध्यक्ष पनि सँगै जाने । राजासँग विकास लिनेवेला हानाथाप हुन्थ्यो अध्यक्ष र मन्त्रीका मान्छेहरूको । वास्तवमा दुईवटा समूह नै हुन्थ्यो त्यो वेला । पानी नभएका ठाउँमा धारो उद्घाटन गर्न लगाउने, खोलाको तीरमा खानेपानी योजना उद्घाटन गराउनेजस्ता काम हुन्थे त्यो वेला । भ्रमणमा रानीको बेग्लै कार्यक्रम हुन्थ्यो, बालमन्दिरलगायतका ठाउँमा । रानीको सवारीमा प्रायः अध्यक्ष जानुहुन्थ्यो । राजासँग सवारीमन्त्री । त्यसक्रममा अध्यक्षले रानीलाई कुनै योजनाका बारेमा कुरा सुनाउनुहुन्थ्यो । साँझ छलफल हुँदा रानीले भन्नुहुन्थ्यो फलाना ठाउँमा योजना दिँदा के हुन्छ ?  तर, राजा भन्नुहुन्थ्याे, हेर यहाँ कसैले जित्ने–हार्ने कुरा छैन । देशले हार्नुहुँदैन । मैले हारेर केही हुँदैन । मलाई कन्भिन्स गर, होइन भने मान्दिनँ भन्नुहुन्थ्यो । रानी ऐश्वर्यको अर्को रूप, राजाको अर्को रूप भन्ने हल्ला बाहिर छ । तर, त्यस्तो होइन । वीरेन्द्र सरकारका अगाडि कसैको केही लाग्दैन्थ्यो । मैले त नजिकबाट देखेको छु ।

००००००००००

२००४ मा म बेलायतमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा एमए गर्न जाँदा सार्कका विषयमा रिसर्च गर्नुपर्ने भयो । मैले त्यही क्रममा थाहा पाएको हुँ कि शेख मुजिबर रहमान र राजा वीरेन्द्रको पहलमा सार्क स्थापना भएको हो । उहाँहरूको काठमाडौंमा भेट भयो । राजा वीरेन्द्रले भारतका प्रम राजीव गान्धीसँग र बंगलादेशका राष्ट्रपतिले पाकिस्तानसँग कुरा गर्ने सहमति भयो । त्यहीअनुसार कुराकानी भयो ।

तेस्रो सार्क हुँदा वीरेन्द्र सरकारका पालामा मोटर ल्याइएको हो । तेस्रो सार्क होस्ट गर्दा सोनियाँ गान्धीलाई पनि बुलेटप्रुप मोटर चाहिन्छ भन्ने भारतको माग भयो । तर छैन के गर्ने ?  तुरुन्तै जर्मन राजदूतलाई फोन गरेर कसरी व्यवस्था गर्न सकिन्छ भनेर सोधखोज भयो । एउटा अरबियन देशले अर्डर गरेको मोटर रहेछ । बायाँतिर स्टेरिङ भएको मोटर । राजाले भन्नुभयो, त्यही भए पनि ल्याउनु । जर्मनबाट ल्याइयो । तर, एयरपोर्टमा मोटर निकाल्ने क्रेन थिएन हामीसँग । राजा वीरेन्द्रले व्यक्तिगत रूपमा थाई नरेशसँग अनुरोध गर्नुभयो । थाई नरेशले क्रेन पठाइदिनुभयो र त्यसले मोटर निकालियो ।

००००००००००

०४७ सालको संविधानमा शान्तिक्षेत्रको प्रस्ताव राख्नुपर्थ्याे । नराखेर गल्ती भयो । भारतलाई कन्भिन्स गराउन नसक्नु हाम्रो कूटनीतिक कमजोरी भयो ।  ११६ देशले समर्थन गरेको शान्तिक्षेत्रको प्रस्ताव ०४७ को संविधान र अन्तरिम संविधानमा राख्नुपर्थ्याे । तर, माइनस गरियो । राम्रो भएन । हाम्रो सम्पत्ति थियो त्यो । यो दुर्भाग्य भयो । 

०४७ सालको संविधान बनाउँदा राजाले शान्तिक्षेत्रको प्रस्ताव  राख्न खोज्नुभएको थियो । म सम्झन्छु, एक दिन मेरो बिहानको ड्युटी थियो । बिहान ९ बजे प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आउनुभएको थियो । भट्टराईजी, विश्वनाथ उपाध्याय, दरबारका एकजना सचिव र राजाबीच कुराकानी चल्यो । राजाले भन्नुभयो, ‘संविधान सन्तुलित बनाऊँ ता कि भोलि प्रधानमन्त्रीलाई र मलाई काम गर्न गाह्रो नहोस् । पिस अफ जोन नछुटाऊँ भन्ने राजाको चाहना थियो । बिहान किसुनजी कन्भिन्स हुनुभयो । म गर्छु सरकार भन्नुभयो । म पनि त्यहीँ थिएँ । किसुनजी विश्वस्त हुनुभयो । विश्वनाथजी पनि कन्भिन्स हुनुभयो । दिउँसो त्यही दिन खुल्लामञ्चमा आमसभा थियो । किसुनजीले बोल्नुभयो, ‘दरबारले संविधान यसरी बनाउन खोजेको छ ।’ उहाँले बोल्नासाथ दरबारमा सूचना आयो । राजाबाट त्यही साँझ ६ बजे प्रधानमन्त्रीलाई बोलाइयो । राजाले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू, मैले देशलाई राम्रो होस् भनेर तपाईंलाई सुझाब दिएको थिएँ । तपाईंले दिउँसो बोलेको कुरा मैले सुनेँ । तर, अब तपाईंले जे ल्याउनुभयो, म त्यसमै हस्ताक्षर गरिदिन्छु ।’ 

राजाले त्यतिवेलै भविष्यवाणी गर्नुभएको थियो, ‘किसुनजी, तपाईंहरूले बनाएको संविधानले बढीमा १० वर्षभन्दा बढी काम गर्न गाह्रो छ ।’ यो कुरा सुन्ने म मात्र होइन, अरू पनि हुनुहुन्थ्यो । आखिर भयो त्यही । ०४७ सालको संविधानले प्रधानमन्त्रीलाई कागजी रूपमा बलियो बनायो । तर, यथार्थमा प्रधानमन्त्री निरीह भए । आफ्ना मन्त्रीको विकृति रोक्न प्रधानमन्त्री नसक्ने अवस्था भयो । २०१५ सालका केही व्यवस्था राख्ने वीरेन्द्रको चाहना थियो । तर, नेताहरूलाई यस्तो पऱ्यो कि २०१७ सालमा राजा महेन्द्रले जसरी संसद् विघटन गर्छन् कि । वीरेन्द्र सरकार स्पष्ट हुनुहुन्थ्यो, ‘यसरी काम गरौँ कि मलाई अप्ठ्यारो परेमा तपाईंलाई दोष दिने, तपाईंलाई अप्ठ्यारो परेमा मलाई दोष दिने । यसरी जाऊँ । संविधान बनाऊँ ।’

००००००००

किसुनजीलाई भातमा घिउ हालेर खान खुब मन पर्नेरहेछ । राजा वीरेन्द्रले यो कुरा थाहा पाउनुभएछ । पोखरा जाँदा किसुनजी सातामा एकपटक जाहेरीमा जानुहुन्थ्यो । हामी एडिसी प्रधानमन्त्रीज्यूलाई लिन जानुपर्ने । प्रधानमन्त्रीज्यूलाई घिउ र भात मन पर्छ भनेर राजाले नै दरबारबाट घिउ पठाउनुहुन्थ्यो किसुनजीलाई । पोखराको राष्ट्र बैंकको गेस्टहाउसमा प्रधानमन्त्री बस्नुहुन्थ्यो । त्यहाँ मैले देखेको छु, किसुनजीले पलेँटी मारेर खाना खानुभयो । किसुनजीले ‘ओहो, दरबारबाट आएको घिउ, राजाले बक्सेको घिउ मिठो हुन्छ’ भन्दै खाना खाएको मलाई झल्झली याद भइरहेको छ ।

००००००००

अन्तरिम सरकारका पालामा एउटा घटना भयो । एकजना प्रहरी मारिए र गृहमन्त्री योगप्रसाद उपाध्याय मृतक प्रहरी बोकेको ठेलागाडा पछिपछि हिँड्नुपऱ्यो । त्यो साँझ किसुनजीले प्रधानमन्त्रीबाट राजीनामा गर्न खोज्नुभयो । दरबारमा राजासँग उहाँले भन्नुभयो, ‘सरकार, म असफल भएँ, राजीनामा गर्छु ।’ राजाले भन्नुभयो, ‘तपाईंले यो के भन्या ?  म सहयोग गर्छु तपाईंलाई । राजीनामा गर्नुहुँदैन ।’ धैर्य गर्नुस् सबै नेपाली भनेर भोलिपल्ट राजाको सन्देश आयो । प्रधानमन्त्रीलाई उहाँले त्यसरी सहयोग गर्नुभयो ।

०००००

नेपाली सेनाका सुप्रिम कमान्डर राजा हुनुहुन्थ्यो । उहाँ सुरक्षा निकायलाई सकेसम्म आत्मनिर्भर बनाउनुपर्छ भन्नुहुन्थ्यो । उहाँकै पहलमा जर्मनबाट मेसिन ल्याएर सुन्दरीजलमा हतियार मर्मत भइरहेको छ । जर्मन हेक्लर एन्ड कोक कम्पनीले नेपालमा हतियार एसेम्बल गर्ने र दक्षिण एसियामा बेच्ने जसले गर्दा नेपाली सेनालाई आवश्यक हतियार यहीँ तयार हुने प्रसंग अगाडि बढेको थियो । कम्तीमा हामीलाई मात्रै हतियार पुऱ्याउन सक्यौँ भने पनि राम्रै हुन्थ्यो । नेपाली सेनाले लगाउने पोसाक हेटौँडाबाट उत्पादन हुन्थ्यो । हेटौँडा गएका वेला राजाले भन्नहुन्थ्यो, ‘सेनालाई लगाउने लुगा यहीँ बनाउनुपर्छ ।’ राजा पनि यहीँ बनेको युनिफर्म लगाउनुहुन्थ्यो । 

०४७ पछिको कुरा गर्दै छु । त्यतिवेला एकजना मेजर जनरललाई भ्रष्टाचार अभियोगमा सात वर्ष जेल हालियो । राजा भ्रष्टाचार सहनुहुन्नथ्यो । संवैधानिक राजा हुँदाहुँदै पनि सेनाको कमान्डरका हिसाबले मेजर जनरललाई जेल हाल्नु ठूलो कुरा थियो । 

००००००००००००

राजा वीरेन्द्रसँग विश्वनेता हुने विशेषता र खुवी थियो । राजाको अमेरिकाको स्टेट भिजिटमा सवारी थियो । अमेरिकी पत्रकारहरू बाहिरै प्रतिक्रिया लिन आए । हेड अफ द स्टेट भएकोले बाहिर बोल्नुहुँदैन भन्यौँ हामीले । राजा विवादमा पर्नुहोला भन्ने भयो । सानफ्रान्सिस्कोमा  दिउँसो लन्च खाइसकेपछिको समय थियो । पत्रकारहरू सामुन्नेमा आए । राजाले भन्नुभयो, ‘नरोक, म कुरा गर्छु ।’ अमेरिकी पत्रकारले ‘मिस्टर वीरेन्द्र’ भनेर प्रश्न सोधे । हाम्रा राजालाई मिस्टर भनेर सम्बोधन गरेको सुन्दा मन चसक्क भयो । तर, त्यहाँको संस्कार त्यही हो भन्ने कुरा राजालाई थाहा थियो । राजा वीरेन्द्रले बोल्नुभएको विषय भोलिपल्ट सारा अमेरिकी मिडियामा आयो । उहाँलाई त्यसले अमेरिकामा चिनायो । डेमोक्रेटाइजिङ द मोनार्क नामको किताबमा राजाका ट्युटरले पनि राजाले टोपी र नेपाली लुगा लगाएको प्रसंग उल्लेख गरेका छन् ।

०३८ सालमा उहाँ अल्पविकसित मुलुकको सम्मेलनमा अतिथिका रूपमा पेरिस जानुभयो । म पनि साथमा थिएँ । राजाले सम्बोधनका क्रममा भन्नुभयो, ‘अहिले म यहाँ बोलिरहँदा मेरो कानमा गरिब देशका बच्चाको रोदन–क्रन्दन सुनिरहेको छु । उनीहरूले दाल, भात, खाना मागिरहेका छन्, ठूला मुलुकले बम दिइराखेका छन् । को हो बम दिने ? संसारमा अस्थिरता किन ल्याउँछौ तिमीहरू ?  त्यो भाषणले राजालाई धेरै चर्चामा ल्यायो ।

००००००

गिरिजाबाबु प्रधानमन्त्री हुँदा दरबारमा संसदबाट नागरिकता विधेयक लालमोहरका लागि पठाइयो । राजालाई चित्त बुझेन । प्रधानमन्त्रीलाई बोलाएर भन्नुभयो, ‘म यो विधेयकमा कन्भिन्स छैन । अफिसियल्ली म यो फर्काउँदिनँ । तपाईं आफ्ना साथीहरूसँग कुरा गर्नुस् । यसले देशलाई राम्रो गर्दैन ।’ दोस्रोपटक आउँदा पनि गिरिजाबाबुले अडान लिनुभयो । फेरि पनि राजाको एउटै अडान थियो । कानुनी विज्ञहरूसँग सल्लाह भइसकेको थियो । अर्कोपटक आउँदा गिरिजाबाबुलाई राजाले भन्नुभयो, ‘तपाईं अन्यथा नलिनुस् । यो देशको पक्षमा छैन । यो विधेयक म सर्वाेच्च अदालतमा पठाइदिन्छु । अदालतले जे भन्छ, त्यो मान्छु ।’ गिरिजाबाबु राजाप्रति इमानदार हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘हस् सरकार ।’ प्रधानमन्त्रीलाई भनेरै राजाले सर्वाेच्चमा पठाउनुभएको हो । राजाले विधेयक ठीक छैन, प्रधानमन्त्रीलाई कन्भिन्स गराउनुस् भनेर कांग्रेसका नेताहरूलाई पनि सेयर गर्नुभएको थियो ।

०००००००००

तत्कालीन एमाले नेता मदन भण्डारीले टुँडिखेलबाट भाषण गर्नुभयो, ‘राजालाई राजनीति गर्न मन छ भने श्रीपेच फुकालेर टुँडिखेल आइबक्स्योस् । दरबारमा बसेर चलखेल नगरिबक्स्योस् ।’ त्यसपछि उहाँसँग राजाको भेटको कार्यक्रम भयो । दरबार आउँदा उहाँ तनावमा हुनुहुन्थ्यो, बस्नुस् भन्दा पनि मान्नुभएन । पुग्नासाथ सोझै राजासँग कुराकानी गर्नुभयो । बाहिर निस्किएपछि कुर्सीमा थचक्क बस्नुभयो । पानी माग्नुभयो । कालो टोपी लाउनुभएको थियो । अर्को मान्छे भेट्ने टाइम भइसकेको थियो । मदनजीको विषयमा हामीले जानकारी दिएपछि राजाले भन्नुभयो, ‘केही भयो कि ? मोटर मगाएर पठाइदेऊ ।’ हामीले मोटर मगाइसकेका थियौँ, उहाँ जानुभयो । त्यो भेटपछि मदन भण्डारीले भाषण गर्दा भन्नुभयो, ‘राजा पनि यो देशका शक्ति हुन् ।’

मनमोहन अधिकारीलाई पनि राजा वीरेन्द्रले मान्नुहुन्थ्यो । उहाँ प्रधानमन्त्री भएपछि कतिपयले राजालाई भन्थे, ‘सरकार, कम्युनिस्ट प्रधानमन्त्रीसँग कसरी काम गर्ने ?’ राजाले भन्नुहुन्थ्यो, ‘एमालेले २०४७ को संविधान मानेको छ । मलाई जो भए पनि के फरक पर्छ ? ’कुनै पनि प्रधानमन्त्रीप्रति राजाको भिन्नमत थिएन । सबैलाई एउटै रूपमा हेर्नुहुन्थ्यो ।

०४७ सालपछि हरेक पार्टीले साेचे, राजा वीरेन्द्रले मलाई मात्रै मानिदिउन् । कांग्रेस, एमाले, राप्रपा र अन्य दलले यही साेचे । राजालाई लाग्थ्यो, म सबैको राजा । गरिब, धनी, हिमाल, पहाड, तराई सबैको राजा । मलाई सम्झना छ, सुरक्षा निकायका प्रमुखले राजालाई भन्थे, सरकार आज यतिजना माओवादी माऱ्याैँ । राजा भन्नुहुन्थ्यो, ‘तिमीहरूले साँच्चिकै माओवादी माऱ्याै वा मारेनौ थाहा छैन । माओवादी नै माऱ्याै भने पनि नेपालीलाई माऱ्याै । नेपाली मारेर माओवादी सकिँदैन । माओवादी आन्दोलन कसरी सुरु भयो, त्यतातिर साेच ।’

माओवादीसँग कुराकानी गर्नका लागि राजाले विभिन्न मान्छेलाई भन्नुभयो । एउटा पात्रका रूपमा दिलीप रायमाझी खटिनुभयो । अरू पनि धेरैतिरबाट कामहरू भए ।

००००

राजा वीरेन्द्रले टेकओभर गर्ने योजना थियो भनेर म कन्भिन्स छैन । भ्रष्टाचार बढेको, सबै क्षेत्रमा समस्या हुन थालेको, पार्टीभित्र उत्पन्न कलह, सांसद किनबेचजस्ता कुराले राजाको चित्त बुझेको थिएन । पार्टीलाई विश्वासमा नलिई केही काम गर्ने उहाँको साेच नै थिएन । बंगलादेशमा सेनाको व्याकिङमा नागरिक सरकार बन्यो केही समयका लागि । त्यसमा बंगलादेशमा दलहरूले समर्थन गरे । उहाँले यदि कुनै कदम चाल्नुपर्ने साेचेको भए सबै दलको विश्वास लिनुहुन्थ्यो ।

००००००००

राजा वीरेन्द्रको अन्तिम सवारी मैले नै चलाएको थिएँ, जेठ १९ गते साँझ डिल्लीबजारस्थित बडागुरुज्यू केशरीराज पाण्डेको घरमा । त्यही दिन राति घटना भयो । म स्पष्ट छु, ‘तत्कालीन युवराज दीपेन्द्रको हातबाट गोली चलाइएको हो र उहाँबाटै घटना भएको हो ।’ बाहिरका संस्थाहरू लागे भनेर अनेक प्रचारप्रसार भए । दीपेन्द्र सरकारले राक्षसी प्रवृत्ति देखाए । त्यो घटना मानव समाजमा हुने नै चिज हो । नेपालीहरूको धरोहर भएका हिसाबले त्यो घटनाप्रति कुतूहल हुनु स्वाभाविक हो । म बनावटी कुरा गर्दिनँ । घटनापछि ज्ञानेन्द्र सरकार धेरै नै चिन्तित हुनुभयो । उच्चस्तरीय आयोग गठन भयो । माधव नेपालजी बस्छु भनेर पनि बस्नुभएन । बाँचेकाहरूको पनि बयान आयो । हामीे अझै कन्भिन्स छैनौँ । भूतप्रेत आदि विविध वास्तुजन्य कारणले हत्याकाण्ड भएको स्थान त्रिभुवन सदन भत्काइयो । त्रिभुवन सदन देख्नेबित्तिकै मन खिन्न हुन्छ । दिनदिनै कति हेरेर बस्ने ? त्यो केसमा राजपरिवारका कोही पनि संलग्न छैनन् । उनीहरूको संलग्नता कहिल्यै पनि पुष्टि हुनेछैन । युवराज दीपेन्द्रले हतियार राख्नुहुन्थ्यो । यो सुरक्षा सिद्धान्तविपरीत थियो । छोराले बाबुलाई त्यसरी गोली हान्लान् भन्ने साेचेका थिएनौँ । पारिवारिक पार्टीमा त्यस्तो होला भन्ने कसले साेचेको थियो र ? एउटा केटीको मामलामा त्यो हदसम्मको घटना होला भन्ने कसले साेचेको थियो ? बुबाप्रति उहाँ वफादार हुनुहुन्थ्यो । यदि दीपेन्द्रले भन्नुभएको भए राजा वीरेन्द्रले नराम्रो रूपमा लिनुहुन्थ्यो ।

००००००००००

अहिलेको विश्वराजनीतिलाई हेर्दा १९४७ सम्म एउटा, त्यसपछि १९९० सम्म एउटा र त्यसपछि आजसम्म गरी हेर्नुपर्छ । सोभियत विघटनअघिसम्म विश्व राजनीतिक अर्डर तीनवटा ब्लकमा थियो । अमेरिकी नेतृत्वको नेटो, सोभियत नेतृत्वको वार्सा र असंलग्न मुलुक । यी तीनवटाले विश्व राजनीतिक सन्तुलन कायम गरेका थिए ।

१९९० पछि धेरै देशमा कथित वेस्टर्न स्टाइल अफ डेमोक्रेसीले प्रभाव जमाउन थाल्यो । नब्बेपछि प्रजातन्त्र वहाली भएका नेपालसहितका न्यु डेमोक्रेटिक मुलुकहरू अहिलेसम्म समस्यामा छन् । रुस कोल्याप्स भएपछि कम्युनिजमले घुँडा टेक्यो, अब प्रजातन्त्र लाद्नुपर्छ भन्ने एउटा साेच अमेरिकामा जबर्जस्त थियो । अर्को विचार थियो, प्रजातन्त्र लाद्नुहुँदैन । प्रजातन्त्र विभिन्न माटोमा त्यहीँका धरातलीय यथार्थका आधारमा फल्न–फुल्नुपर्छ । र, मानवअधिकारको पनि यही हो । पछिल्लो विचार हेनरी किसिन्जरले पनि राखेका थिए ।

९० पछि नयाँ प्रजातान्त्रिक मुलुकहरूमा समस्या आयो । अरू मुलुकमा जस्तो हामीकहाँ छैन । नेपालीहरू त पुरानो गल्ती बिर्सन सक्छन् । त्यस हिसाबले नेपालीहरूलाई नेतृत्व गर्न सजिलो पनि छ । हामीकहाँ जनता इमानदार छन् । केबल नेतृत्वकाे संकट छ । अन्त पनि समस्या छ । बंगलादेशमा दुईजना लेडीको झगडा छ । श्रीलंकामा राजापाक्षेले सम्हाल्न खोज्दै छन् । नेतृत्व बाहिरबाट ल्याउन सकिन्न । हामीकहाँबाटै जाने हो ।

कुनै प्रधानमन्त्रीले नराम्रो गरौँ भन्दैनन्, तर उनको सर्कल राम्रो नहुँदा क्वालिटी मेन्टेन हुँदैन । क्राइसिस अफ लिडरसिप ।

अहिले कुनै पनि नेतालाई कसैले राम्रो भन्दैन । यो दुर्भाग्य हो हाम्रा लागि । नेता कहाँबाट ल्याउने ? बाहिरबाट मिल्दैन । नेता कमजोर हुनु भनेको व्यक्तिगत रूपमा एउटा नागरिकको नोक्सान हो ।

क्याम्पस चिफ पार्टीमा भाग लाउने । पार्टीको भागबन्डामा राजदूत नियुक्त गर्ने । भिसी बन्नका लागि पार्टीको हुनैपर्छ ।

पार्टीहरूको नर्म्स एन्ड भ्याल्युज हुनुपर्दैन । २०५१ सालसम्म हरेक पार्टीको अपोजिसन त्यहीभित्र जन्मियो । साधारण बहुमत हुँदाहुँदै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन गराउनुभयो । नेपालको राजनीतिक इतिहासमा त्यो दुर्भाग्यको दिन थियो । शिशु प्रजातन्त्रको हत्या त्यही दिन भएको थियो । कांग्रेसभित्रको आन्तकिर द्वन्द्व मिलाएर पाँच वर्ष टिक्न दिएको भए आज यो अवस्था आउने थिएन ।

राजा ज्ञानेन्द्रले माघ १९ गते घोषणा गर्नुपूर्व तीन वर्षका लागि शासनभार लिएको विषयमा संशोधन गर्नुपर्ने धारणा दरबारमा आयो । समय नतोकौँ, काम सम्पन्न भएन भने के गर्ने भन्ने अवधारणा आयो । राजा ज्ञानेन्द्रले भन्नुभयो, ‘नो राजाले रुल गरेको यो समयमा कसैले पनि मान्दैन । तीन वर्षभित्र गर्न सकेनाैँ भने जनतालाई जिम्मा लगाइदिऔँ । त्यही भएर उहाँले राख्नुभयो र पढ्नुभयो ।

०००००००

सिक्किमका राजा वीरेन्द्रको राज्याभिशेकमा काठमाडौं आउँदा म सेकेन्ड लप्टन थिएँ । न्युरोडका ड्युटीमा खटिएको थिएँ । मैले सिक्किम विलयसम्बन्धी स्म्यास एन्ड ग्रयाब किताब पढेको छु । तीनपटक पढेको छु । स्क्यानिङ गरेको छु । सिक्किमको त्यो वेलाको परिस्थिति र नेपालको अहिलेको परिस्थिति धेरै हदसम्म मिल्दोजुल्दो छ । तर, नेपाल सिक्किम हुँदैन । भारत पनि चाहँदैन । सिक्किमको अवस्थामा नेपाल पुग्दा भारतलाई नै सबैभन्दा अप्ठ्यारो पर्नेछ । राजा महेन्द्रले नेपाल सिक्किम हुन नदिने आधार तयार गरेर जानुभएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई बलियो रूपमा स्थापित गर्नुभएको छ उहाँले ।

युएनको सदस्यता लिने वेला नेपालले धेरै कष्ट गर्नुपऱ्यो । मैले सुनेअनुसार त्यतिवेला इजिप्टका नेता नासिर, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू र युगोस्लाभियाका नेता मार्सल टिटो । यी तीनजना ग्लोबल पोलिटिक्सका निर्णायक पात्र थिए । नेपाललाई राष्ट्रसंघको सदस्य बनाउनुपर्छ भनेर प्रस्ताव राख्दा युएनमा सोभियतका नेता ख्रुस्चेभले जुत्ता झिकेर टेबुलमा राखेर नेपाल भन्ने ठाउँ संसारको कुन भूगोलमा छ भने । त्यसवेला सोभियत स्थायी सदस्य राष्ट्र । राजा महेन्द्रले व्यक्तिगत रूपमा नासिर, नेहरू र टिटोसँग सम्बन्ध सम्पर्क राखेर सदस्यता दिलाउन पहल गर्नुभएको थियो ।

नेपाल सार्वभौम मुलुक हो भनेर पुष्टि गर्न धेरै गाह्रो भयो । मैले सुनेअनुसार इजिप्टका नासिरले महेन्द्रलाई सोधेछन्– स्वतन्त्र मुलुक भएको प्रमाण के छ ? मुद्रा छ आफ्नो ?

महेन्द्रले नेपाली रुपैयाँ देखाउनुभएछ । नेपालमा आफ्नो पैसा छ भन्ने कुरा पनि थाहा रहेनछ । महाभारत काटेपछि तराईमा त्यतिवेला नेपाली पैसा चल्ने थिएन, भारुको बिगबिगी थियो । महेन्द्रले एउटै मुद्रा लागू गर्नुभयो । नासिर कन्भिन्स भए मुद्रा भएपछि ।

नेहरूसँग महेन्द्रको राम्रो । तर, सुरुमै समर्थन गरेनन् । महेन्द्रलाई भनेछन्–महाराज अरूलाई कन्भिन्स गराउनुस् न । म त दिइहाल्छु नि । नेहरूलाई मनाएर महेन्द्रले सबैलाई एक–एक गरेर कन्भिन्स गर्नुभयो । पछि नेहरूले विरोध गर्न सक्नुभएन, समर्थन पनि खुलेर गर्नुभएन ।

लिग अफ नेसन्स दोस्रो विश्वयुद्धपछि विघटन भयो । संयुृक्त राष्ट्रसंघ बनेपछि पहिलो युएन ट्रुप्समा नेपाली सेनालाई पठाउने कामको पहल महेन्द्रबाटै भयो । उहाँले नासिरलाई व्यक्तिगत अनुरोध गर्नुभयो । मेरो मान्छे एकजना भए पनि पहिचानका लागि नेपाली सेनाबाट  जानुपर्छ भनेपछि पहिलो अब्जर्भर टिम लेबनान पठाइयो ।  अहिलेसम्म शान्ति मिसनमा नेपाली सैनिक गइरहेका छन् । यो महेन्द्रको देन थियो ।