सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २८ आइतबार
  • Sunday, 12 July, 2020
घम्बर नेपाली
२०७७ जेठ २ शुक्रबार ०९:३९:००
दृष्टिकोण

[अग्रलेख] पोखरा घटना : जात-व्यवस्थाको नग्न अनुहार

तागाधारी, मतवाली, पानी चल्ने र नचल्ने भनेर संसारको कुन चराले मान गर्नेवाला छ र ?

घम्बर नेपाली
२०७७ जेठ २ शुक्रबार ०९:३९:००
?>

हाल सामाजिक सञ्जाल पोखरामा भएको जातीय विभेदको घटनाले रंगिन खोज्दै छ । खासगरी, दलित समुदाय तथा दलित मुद्दाबारे चासो राख्नेले यस घटनाको विरोधमा आ–आफ्ना प्रतिक्रिया अभिव्यक्त गरिरहेका छन् । राष्ट्रियस्तरका मिडियाले समेत प्राथमिकतामा राख्दै समाचार प्रकाशित गरिसकेपछि यो घटना सार्वजनिक बहसमा तानिएको छ ।

विभेदको घटनामा हाल सत्तासीन दलका नेता तथा बहालवाला सांसद नै मुछिएकाले झन् आमसरोकारको विषय बन्न पुगेको छ । शक्तिको तुजुक र सामाजिक न्यायबीच चर्किंदै गएको यो संघर्षमा कतापट्टि पल्ला भारी हुने हो ? निकट भविष्यले नै यो कुराको छिनोफानो गर्ने भए पनि न्यायप्रेमी जनसमुदायले बढो उत्सुकतासाथ यसतर्फ नियालिरहेका छन् । 

त्यसो त कोरोना महामारीको कष्टसाध्य लकडाउनभित्र कैयौँ जातीय विभेदका घटना घटिरहेका छन् । बाग्लुङकी सम्झना किसानले आफ्नो पेटमा भएको बच्चा प्रहरी जवान राकेश दवाडीको भएको सुसाइड नोट लेखेर आत्महत्या गरिन् । रक्ताम्य हुने गरी पिटिने, विभेदजन्य गालीगलोज खेप्नेलगायत बहिष्करणका घटना निकै बढेका छन् ।

राहत वितरण तथा क्वारेन्टाइनभित्र पनि विभेद भएको समाचार आइरहेका छन् । तर, पोखरामा घटेको यो घटना किन महत्वपूर्ण बन्यो, र यो घटना कसरी नेपालको जात–व्यवस्थालाई उजागर गर्ने प्रतिनिधि घटना हो, भन्ने सवाललाई यस आलेखमा समालोचनात्मक ढंगले विश्लेषण गरिएको छ । 

के हो पोखरा घटना : पोखरा महानगरपालिका–१६ चण्डीटोलका सम्मरबहादुर सुनारको गत २३ चैतमा निमोनियाका कारण दुबईमा निधन भयो । किरिया बस्नका लागि चण्डीटोलमा पोखरा महानगर, वडा कार्यालय, स्थानीयसमेतको लगानीमा सार्वजनिक जग्गाभित्र किरियापुत्री भवन बनेको थियो । सोही भवनमा किरिया बस्न सम्मरका दाइ मोहन सुनारले चैत २६ गते किरियापुत्री भवनको चाबी मागे । तर, समाजका मानिसले चाबी दिएनन्, उल्टै हामी ‘क्षेत्री’ले बनाएको भवनमा ‘कामी’लाई छिर्न नदिने भन्दै हप्काए ।

मार्क्सवादको मन्थन र अभ्यास गरिसकेका जिल्ला अध्यक्ष र प्रदेश सभाका प्रतिनिधि, सर्वहारा वर्गको अग्रदस्ताका नेतामा यति भयंकर यु-टर्न कसरी सम्भव भयो होला ? सांस्कृतिक विचलनको पराकाष्ठाबाट गुज्रिरहेको नेपाली कम्युनिस्ट आन्दोलनसमक्ष उभिएको यक्षप्रश्न यही हो । सत्ताको उन्मादमा डुबेको ओली–दाहाल नेतृत्व के यो प्रश्नलाई आँखा उघारेर हेर्न तयार छ?

किरियापुत्री भवनमा खाना बनाउने, नुहाउनेलगायतका सुविधा राखिएको थियो । घरदेखि पाँच मिनेटको बाटोमा रहेको किरियापुत्री भवन नदिएपछि आधा घन्टाको बाटो हिँड्दै कालीखोला धाएर काजक्रिया सम्पन्न गरे । स्थानीय जनक थापाले वैशाख १४ गते घरअगाडि बाटोमा मोहनले चलाएको मोटरसाइकल रोकेर हातपात गर्न खोजे । तर, गाउँले आएकाले केही गर्न सकेनन् ।

असह्य भएपछि मोहनले वैशाख १८ गते जातीय छुवाछुत र भेदभाव कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिए । केही दिन उजुरी लिन आनाकानी गरे पनि दबाबपछि प्रहरीले उजुरी दर्ता गत्यो । वैशाख २३ गते उजुरीमा किटानी गरिएका रामबहादुर जिसी र जनक थापालाई प्रहरीले पक्राउ ग-यो ।

लकडाउन छलेर वैशाख २४ गते पीडक पक्षले प्रदर्शन गरे । पीडक पक्षले ढुंगामुढा गरेपछि केही बेर प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । घटनापश्चात् बुधबार नै नेकपा कास्कीका अध्यक्ष एवं प्रदेश सभा सांसद कृष्ण थापाले ‘केही उच्छृंखल तत्वहरूले जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने, जातिवादी नेता, कार्यकर्ताको षड्यन्त्रले सदियौँदेखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको’ भनेर विज्ञप्ति निकाले ।

छुवाछुतको आरोपमा पक्राउ परेका रामबहादुर जिसी र जनक थापालाई षड्यन्त्रपूर्वक पक्राउ गरिएको भन्दै विनासर्त रिहाइको माग गरे । उजुरीकर्ता मोहन नेकपाका जिल्ला सदस्य हुन् भने उनका विरुद्ध विज्ञप्ति जारी गर्ने कृष्ण थापा हाल नेकपाका जिल्ला अध्यक्ष छन् । पीडित मोहन सुनारले उजुरी फिर्ता गर्न थेगिनसक्नु दबाब आए पनि आफूले कुनै हालतमा फिर्ता नलिने बताएका छन् ।

कृष्ण थापा : पात्र कि प्रवृत्ति ? पोखरा छुवाछुत काण्डमा मुख्य खलनायकको भूमिकामा देखिएका कृष्ण थापा यो घटनाका एउटा पात्र मात्र हुन् र ? अवश्य होइनन् । उनले आजको विज्ञान र प्रविधिको दुनियाँमा पनि जातपात र छुवाछुतजस्तो घटिया कुकृत्य टिकाइराख्ने सतिसालको काम गर्दै आएका छन् । उनलाई बाजेबराजुदेखि चल्दै आएका जातप्रथा, छाउपडी, बोक्साबोक्सी, धामीझाँक्री, हलिया, बालिघरे सबै प्रथा परम्परा टिकाउनु छ । निजी घरमा मात्र होइन, मन्दिर, पानी धारो, किरियाघर, पार्टी कार्यालय हुँदै अब प्रदेश सभामा पनि दलित, महिला, जनजाति र सीमान्त समुदाय उनीसँग बसेको पटक्कै मन पर्दैन । 

उनीहरूले पढेलेखेको, मिहिनेत गरेर सम्पन्न भएको, राम्रो पदमा जागिर खाएको, अझ उनीजस्तै सार्वजनिक बहसमा नारिएको किमार्थ सह्य हुँदैन । यो प्रवृत्तिले दलितलाई हिजोकै बालीमा काम गर्ने ‘घरको दमाई’, ‘घरको कामी’ ‘हली’का रूपमा मात्र हेरिरहन्छ । कृष्ण थापाहरूले सभ्यताको यत्रो उचाइ हासिल गर्दासम्म पनि जातीय विभेदजन्य कर्तुत गर्न हुँदैन भन्ने हेक्का नराखेका होलान् त ? यो कुरामा रत्तिभर पनि सत्यता छैन । उनका पुर्खाले शास्त्रास्त्रको सामीप्यतामा रहेर ज्ञान हासिल गरिरहे । अहिलेसम्म हरेक शासन प्रणालीमा आफ्नो प्रभुत्व कायम गर्दै आएका छन् ।

राज्यको स्रोत साधनलाई आफ्नो हिसाबले पुस्ता दरपुस्ता पुग्ने गरी चाँजोपाँजो मिलाइसकेका छन् । राजनीति मात्र होइन, कर्मचारीतन्त्र, सुरक्षा, न्यायालय, सबैतिर बलियो पहुँच र नियन्त्रण छँदै छ । विद्यालय, विश्वविद्यालय पनि यिनकै विचार र ढाँचामा चलिराखेकै छन् । यस्ता प्रचण्ड प्रतापी थापाहरूलाई नाथे दलित पनि मान्छे हो भन्ने भ्रम पैदा हुनु स्वाभाविक हो । पशु जगत्तिर हेर्दा एउटा कुकुरले अरू सबै कुकुरलाई समान देख्छ, विभेद गर्दैन । तर, जंगबहादुरको मुलुकी संहिताबाट निर्देशित कृष्ण थापाहरूले ‘पानी नचल्ने छोइछिटो हाल्नुपर्ने बबुरो दलित’ नै देखिराख्छ ।

पार्टी प्रशिक्षण : मार्क्सवाद कि मनुवाद ? मार्क्सवादले लोकतन्त्रको मात्र कुरा गर्दैन, समतामूलक विकाससहितको सामाजिक न्यायको कुरा गर्छ । माक्र्सले परिकल्पना गरेको समाज वर्ग, जाति, क्षेत्र, लिंग वा यस्तै अरू कुनै पनि आधारमा हुने विभेद र शोषणबाट मुक्त समाज हो । यस्तो समाज बनाउने अग्रदस्ता कम्युनिस्ट पार्टी हो । यो पार्टीको सदस्य मात्र हुन पनि सामान्य जनस्तरको चेतना र व्यवहारले पुग्दैन । त्योभन्दा माथिल्लो चेतना र व्यवहारले लैस भएको व्यक्ति मात्र कम्युनिस्ट पार्टीको सदस्य बन्न योग्य हुन्छ । 

वेला–वेला हिन्दू धर्माधिकारी र निकायबाट धर्म परिवर्तनबारे निकै गम्भीर चासो व्यक्त गरेको पाइन्छ । त्यो चासो आफ्नै धर्मभित्र रहेका लाखौँ अनुयायीमाथि थोपरिँदै आएको विभेद र बहिष्करण हटाउन दिनुपर्ने होइन ?

कृष्ण थापा पार्टीको चानचुने वडा सेलको सदस्य पनि होइनन् । उनी माक्र्सवादको दशकौँ मन्थन र अभ्यास गरिसकेका जिल्लाका अध्यक्ष र आमजनताको प्रदेश सभा प्रतिनिधि हुन् । उनलाई यो हैसियतसम्म पु¥याउन अमुक जातको मात्र होइन, सिंगो दलित र अरू उत्पीडित समुदायले निकै रगत पसिना खर्चिएको हुनुपर्छ । अफसोच ! पार्टीको आधिकारिक लेटरप्याडमा जारी गरेको विज्ञप्तिको व्यहोरा हे-यो भने उनलाई कम्युनिस्ट नेता त परको कुरा, सामान्य समर्थक होलान् भनेर पनि कल्पना गर्न सकिँदैन । 

बरु उनको विज्ञप्तिमा आजभन्दा २३ सय वर्ष पहिले हिन्दू राजा मनुले तयार गराएको मनुस्मृतिको गन्ध आउँछ । जसले शुद्रलाई बर्बरता र निकृष्टताको व्यवहार र व्याख्या गर्न कुनै पनि कसर बाँकी राखेको छैन । एउटा सर्वहारा वर्गको अग्रदस्ताको नेतामा यति भयंकर यू–टर्न कसरी सम्भव भयो होला ? सांस्कृतिक विचलनको पराकाष्ठाबाट गुज्रिरहेको आजको नेपाली कम्युनिस्ट आन्दोलनसमक्ष उभिएको यक्षप्रश्न यही हो । सत्ताको उन्मादमा डुबेको ओली–दाहाल नेतृत्व के यो प्रश्नलाई आँखा उघारेर हेर्न तयार छ ?

कानुनी शासनमाथि प्रश्न : कानुनको शासन लोकतन्त्रको अभिन्न र सर्वाधिक महŒवपूर्ण पक्ष हो । १९औँ शताब्दीमा एभी डायसीले प्रसिद्ध बनाएको यो सिद्धान्त प्राचीन समाजमा पनि प्रयोग गरिएको थियो । यो सिद्धान्तको सारतत्व संविधान र कानुनभन्दा कोही माथि छैन भन्ने हो । कानुनको परिधिभित्र रहेको व्यवस्थामा मात्रै लोकतन्त्र फस्टाउँछ भन्ने मान्यता यो सिद्धान्तले बोकेको छ ।

हामीकहाँ अहिले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको जगमा जननिर्वाचित संविधानसभामार्फत बनेको नेपालको संविधान ०७२ प्रचलनमा छ । यो संविधानको मौलिक हकले नै जातीय विभेद र छुवाछुत सार्वजनिक मात्र होइन, निजी स्थानमा गर्न पनि बर्जित गरेको छ । सबै प्रकारका छुवाछुत र भेदभावजन्य कार्यलाई गम्भीर सामाजिक अपराधका रूपमा दण्डनीय हुने व्यवस्था गरिएको छ । जुन लोकतान्त्रिक समाज व्यवस्थाका लागि सकारात्मक पक्ष हो । कानुन बनाउने जिम्मेवारी पाएका कृष्ण थापाले नै सार्वजनिक स्थानमा जातीय विभेदको गम्भीर सामाजिक अपराध गरेका छन् । उनले सिंगो एउटा समुदायको नुर गिराउने, उनीहरूलाई अपमानित गर्नेगरीको कानुनी अपराध गरेका छन् । उनको यो कुकर्मले दलित समुदायलाई मात्र होइन, समग्र कानुनको शासनका पक्षपातीलाई गहिरो चोट पुगेको छ ।

घटनाका दुईजना आरोपीलाई पक्राउ गरेर प्रहरीले राम्रो सुरुवात गरेको छ । अब पालो कृष्ण थापा र बाँकी अभियुक्तलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउने हो । यो प्रक्रियामा सरकारी वकिलको कार्यालयले कति गहनताका साथ अभियोजनपत्र दायर गर्छ, र न्यायालयले कति तथ्य, प्रमाण र न्यायिक सिद्धान्तको विश्लेषण गरेर अपराधीलाई दोषी करार र पीडितलाई न्याय प्रदान गर्छ भन्ने कुराले नै कानुनी शासनको अनुभूति दिलाउनेछ । 

आगामी गोरेटो : लोकतन्त्रको दायरा संकुचन हुँदै गर्दा भरथेग गर्ने राज्यको चौथो अंग सञ्चार जगत् हो । पोखरा जातीय विभेद काण्डमा मिडियाले खेलेको भूमिका सराहनीय छ । अब आउने थप जटिल प्रक्रियामा हुन सक्ने सम्भावित चलखेललाई निगरानी गर्ने र आमजनतासामु ल्याउने काममा मिडियाको भूमिका अरू सशक्त बनाउनुपर्नेछ ।

लकडाउनकै अवधिमा भएका विभिन्न गतिविधिलाई हेर्दा सरकारको अभिमुखीकरण आमजनसरोकारका विषयभन्दा बढी स्वार्थ राजनीतितिर केन्द्रित देखिन्छ । त्यसकारण सामाजिक सञ्जाललगायत अरू विभिन्न माध्यम प्रयोग गरेर सबैले न्याय नमिलेसम्म निरन्तर खबरदारी गर्नुपर्नेछ ।

जातीय विभेदको मुद्दा हिन्दू धार्मिक पवित्रता र अपवित्रताको दर्शनबाट निर्देशित छ । वेला–वेला हिन्दू धर्माधिकारी र निकायबाट धर्म परिवर्तनबारे निकै गम्भीर चासो व्यक्त गरेको पाइन्छ । त्यो चासो आफ्नै धर्मभित्र रहेका लाखौँ अनुयायीमाथि थोपरिँदै आएको विभेद र बहिष्करण हटाउन दिनुपर्ने होइन ? विश्व हिन्दू महासंघलगायतका संघसंस्था र अरू हिन्दू पण्डितहरूले यसबारे गरेको काम के हो ?

ताज्जुबलाग्दो कुरा धर्मसँग घाँटी जोडिएको कम्युनिस्ट पार्टी, त्यसको नेतृत्व र कार्यकर्ताको हो । डबल नेकपालगायत नेपालका कम्युनिस्ट भनिने पार्टीभित्र मौलाएको यो कस्तो गाईजात्रा हो ? यो गाईजात्रामा रमाइरहेका हाम्रा मौलिक कम्युनिस्ट सुध्रिएलान् ? अर्को सबैभन्दा महत्वपूर्ण विषय हामी इतिहास निर्माण गर्ने जनताकै हो । हामी जस्ता छौँ, हाम्रा पार्टी, नेता र व्यवस्था त्यस्तै बन्दोरहेछ । हामी नसच्चीकन हाम्रा नेता र व्यवस्था बदलिएलान् भनेर सोच्नु नै मूर्खता हुन जान्छ । तागाधारी, मतवाली, पानी चल्ने र नचल्ने भनेर संसारको कुन चराले मान गर्नेवाला छ र ? जाति व्यवस्थाको भद्दा गलगाँड बोकेर हिँड्दा हाम्रै बेइज्जती भइरहेको छ । सभ्य नागरिकको परिचय विश्वसामु दिन हामीसँग जात–व्यवस्था फाल्नुको विकल्प छैन ।