मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २४ शनिबार
  • Saturday, 06 June, 2020
विजयराज खनाल काठमाडौं
२०७७ जेठ २ शुक्रबार ०७:२४:००
सेयर बजार

लगानीकर्ताकै दबाबमा खुल्दै र बन्द हुँदै नेप्से

२०७७ जेठ २ शुक्रबार ०७:२४:००

लकडाउनका कारण ४९ दिनपछि खुलेको सेयर बजार दुई दिनपछि पुनः बन्द भएको छ । लगातार नकारात्मक सर्किट ब्रेक लागेर दुई दिनमा ५० अंक घटेपछि लगानीकर्ताको दबाबमा नेप्से बन्द गरिएको हो ।

यो दुई दिनमा ६३ अर्ब ७७ करोडभन्दा बढी सम्पत्ति गुमेको छ । तर, लगानीकर्ताको दबाबले नभई माथिल्लो निकायसँगको छलफलपछि बजार बन्द गरिएको धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता नीरज गिरीले बताए । उनले भने, ‘स्याल कराउनु र बाख्रा हराउनु एकैपटक भएको जस्तो देखिए पनि मन्त्रिपरिषद्को निर्णयअनुसार बजार खोलिएको थियो भने अर्थ मन्त्रालयसँगको छलफलपछि बन्द गरेका हौँ ।’ 

दुई दिनमा ५० अंक घट्दा लगानीकर्ताको पौने ६४ अर्व रुपैयाँ गुम्यो, नियामक धितोपत्र भन्छ- अर्थ मन्त्रालयसँगकै छलफलबाट खोल्ने र बन्द गर्ने निर्णय गर्दै आएका हौँ ।

लगानीकर्ताको चाहनामा बजार खोल्नु र बन्द गर्नु गल्ती भएको सेयर विश्लेषक प्रकाश तिवारी बताउँछन् । उनी भन्छन्, ‘बजार लगानीकर्ताले चाहेमा खोल्ने, लगानीकर्ताले चाहेमा बन्द गर्ने गर्नु नै गल्ती भएको हो ।’

संक्रमितको संख्या बढ्न थालेका तथा बोर्डले ब्रोकर र तिनका कर्मचारीलाई उपलब्ध गराएको पासले मान्यता पाउन छाडेपछि लकडाउनभर बजार बन्द गरेको बोर्डको भनाइ छ । सरकारले जेठ ५ गतेसम्म बन्दाबन्दी हुने बताए पनि समय थप बढ्न सक्ने देखिएको छ ।  

लगानीकर्ताले जे भने त्यही ? 

चैत ११ गते लकडाउन हुनेबित्तिकै लगानीकर्ताले सेयर बजार पनि बन्द गर्नुपर्ने आवाज उठाएपछि धितोपत्र बोर्डले पनि बजार बन्द गर्न निर्देशन दियो । एक महिनाभन्दा बढी बजार बन्द भएपछि अब खुलाउनुपर्छ भन्ने माग लगानीकर्ताका संघहरूले गर्न थाले । यसबीच बुधबार मन्त्रिपरिषद्ले समेत वित्तीय संस्थासँगै धितोपत्र कारोबारसमेत खुला गर्न सकिने बताएपछि मंगलबारबाट बजार खुल्यो ।

खुलेको दुई दिनमै नेप्से परिसूचक ५० अंकले घटेपछि भने लगानीकर्ता आत्तिन थाले । बजारमा सीमित वर्गको हाबी भएको भन्दै बजार बन्द गर्नुपर्ने मात्र होइन, कारोबार नै रद्द गर्नुपर्ने भन्दै लगानीकर्ताले माग गर्न थालेका छन् ।

‘केही लगानीकर्ताले भन्नुभएको हो, तर कुनै पनि लगानीकर्ता संघको तर्फबाट बजार खोल्न भनिएको थिएन,’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने । उनले १०–१० कित्ताका दरमा बजारमा कारोबार गरेरसमेत मूल्यमा खेलिएको भन्दै कारोबार नै रद्द गर्नुपर्ने माग राखेका छन् ।  बजारमा न्यूनतम १० कित्ता कारोबार गर्न सकिने व्यवस्था छ ।

धितोपत्र बोर्डले केही वर्षदेखि सेयर निष्कासनका क्रममा ठूला लगानीकर्ताले मात्र सेयर पाउने अवस्था आएको भन्दै आवेदन दिने सबैले कम्तीमा १० कित्ता सेयर पाउने गरी बाँडफाँड गर्न निर्देशन दियो । अहिले त्यही १० कित्ता सेयर किनबेच गरेर बजारमा समस्या आएको लगानीकर्ताले बताउन थालेका छन् ।   

आरोप–प्रत्यारोपको शृंखला 

सेयर बजारमा अहिले दुई तरिकाले कारोबार हुने गर्छ । एउटा अनलाइनमार्फत आफैँले आदेश प्रविष्टि गरेर र अर्को ब्रोकरमार्फत । हाल बजारमा १६ लाख लगानीकर्ताको सेयर खाता रहेको छ । त्यसमा दोहोरोपना पनि उत्तिकै छ ।

अनलाइन लिनेको संख्या भने हाल २७ हजार पुगेको छ । बन्दाबन्दीकै बीचमा ५ हजार नयाँ लगानीकर्ताले अनलाइन सुविधा लिएको नेप्सेको दाबी छ । तर, अनलाइन प्रणालीमा समस्यासमेत देखिएको र मात्रै १ प्रतिशतले कारोबार गर्न सकेकाले पनि लकडाउनको बीचमा दुई दिन खुलेको बजार बन्द गर्नुपर्ने माग लगानीकर्ताले गरेका हुन् ।  

खोल्दा सबैलाई समान अवसर अभाव, बन्द गर्दा मर्म मर्ने

सेयर बजारको मर्म भनेकै यो तरल सम्पत्तिसरह हो । अर्थात्, लगानीकर्ताले आफूलाई पैसाको आवश्यकता पर्दा जहिले चाहेको वेलामा तुरुन्त बिक्री गर्न पाउनुपर्छ । तर, लामो समय बजार बन्द गर्दा भने लगानीकर्तालाई आर्थिक समस्या पर्ने भन्दै कतिपयले बजार बन्द गर्नै नहुने बताउँदै आएका थिए ।

लगानीकर्ताले सेयर नबेच्दासम्म नाफा–घाटा भन्ने नै नहुने सेयर विश्लेषक प्रकाश तिवारी बताउँछन् । उनका अनुसार ऋण लिएर लगानी गरेकाहरूलाई भने सेयर धितोको मूल्य घट्दा बैंकबाट धितो पु-याउन दबाब हुन्छ । अहिले यसमा बैंकहरूले समेत कडाइ गरेका छैनन् ।

त्यसैले पनि अहिलेको मूल्य घटबढमा किन्ने र बेच्ने मात्र लाभ वा हानिका हिस्सेदार हुन् । लगानीकर्ताकै भनाइलाई आधार मान्ने हो भने दुई दिनमा कुल कारोबार १० करोड ८० लाखमा मात्रै ७० देखि ८० लाख नियमित कारोबार भएको हो । तर, लगानीकर्ताले भने कागजी मूल्यमा भइरहेको उतारचढावकै कारण जोखिम भएको भन्दै बजार बन्दको माग गरिरहेका हुन् ।