Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2020
सागर चन्द काठमाडाैं
२०७७ बैशाख ४ बिहीबार ०६:२८:००
मुख्य समाचार

पिपिई जोगाउन टेकुका डाक्टर र नर्स २४सै घन्टा ड्युटीमा

कोरोनाविरुद्ध अग्रपंक्तिका योद्धाको कथा 

सागर चन्द, काठमाडाैं
२०७७ बैशाख ४ बिहीबार ०६:२८:००

स्वास्थ्यकर्मी भन्छन्, ‘आठ–आठ घन्टा ड्युटी राख्यो भने दिनमा तीन सेट पिपिई चाहिन्छ, हामीलाई बिरामीको ज्यानसँगै पिपिई पनि जोगाउनुपर्ने चुनौती छ’

देशमा खरिद–बिक्री, ठेक्कापट्टा, भ्रष्टाचार र छानबिनको आफ्नै कथा छ, तर त्यो कोलाहलकै बीच स्वास्थ्यकर्मीहरू संक्रामक रोगको उपचारमा दिनरात खटिरहेका छन् । कोरोनाविरुद्धको संघर्षमा अग्रपंक्तिमा यी योद्धाहरू २४सै घन्टा ड्युटीमा छन्, किनकि उनीहरूलाई आठ–आठ घन्टामा फेर्ने पिपिई छैन । 

अहिले देशमा सबैभन्दा बढी सुनिएको शब्द हो पिपिई अर्थात् व्यक्तिगत सुरक्षा उपकरण । तर, यो देशमा सबैभन्दा बढी अभाव पनि त्यसैको छ । त्यसैले कोरोना उपचारका लागि समर्पित टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका स्वास्थ्यकर्मी २४ घन्टा ड्युटीमा खटिएका छन् । 

टिम नयाँ पत्रिका टेकु अस्पताल पुग्दा डा. श्रवणकुमार मण्डल स्वास्थ्यकर्मी र कर्मचारीका लागि दिउँसोको खाजा व्यवस्थापन गर्न तल्लीन थिए । उनीहरूको खाना, खाजा अस्पतालमै हुन्छ, दिनरात अस्पतालमै बित्छ । 

नेपालमा कोरोना संक्रमण देखिनुअघि अस्पतालका स्वास्थ्यकर्मी बिहान, बेलुका र राति गरेर तीन सिफ्टमा काम गर्थे । ‘तर, अहिले हामी २४सै घन्टा ड्युटी गरिरहेका छौँ । २४ घन्टे ड्युटीले पिपिई जोगाएको छ,’ डा. मण्डलले भने, ‘सिफ्ट फेर्‍यो भने हरेक सिफ्टका स्वास्थ्यकर्मीलाई नयाँ पिपिई चाहिन्छ । तर, २४ घन्टा एकजनाले ड्युटी गर्‍यो भने एउटा मात्र पिपिईले पुग्छ, किनकि हामीलाई बिरामीको ज्यानसँगै पिपिई पनि जोगाउनुपर्ने चुनौती छ ।’

अस्पतालमा अहिले ३९ जना डाक्टर खटिएका छन् । आकस्मिक कक्ष, फिभर क्लिनिक, क्वारेन्टाइन, आइसोलेसन र आइसियूजस्तो व्यस्त सेवामा उनीहरू अथक रूपमा खटिरहेका छन् । पिपिई मात्र होइन, मास्क पनि जोगाउनुपर्ने आवश्यकता भएको बताउँछिन् डा. सृष्टि नेपाल । आकस्मिक कक्षमा खटिएकी डा. नेपाल भन्छिन्, ‘हामीसँग पिपिई मात्र होइन, मास्क पनि पर्याप्त छैनन्, त्यसैले एकैजनाले लामो ड्युटी गरेर पिपिई र मास्क जोगाउने निर्णय गरेका हौँ ।’

२४ घन्टाको ड्युटीपछि स्वास्थ्यकर्मीले एक दिन आराम गर्न छुट्टी पाउँछन् । तर, जाने कहाँ ? घरमा जान, परिवारसँग घुलमिल गर्न उनीहरू डराउँछन् । त्यसमाथि घरभाडामा बस्ने डाक्टर र नर्सलाई घरबेटीले निषेधको मनोविज्ञान सिर्जना गरिसकेका छन् । त्यसैले कतिपय स्वास्थ्यकर्मी घर नगई अस्पतालमै बसिरहेका छन् ।

डा. मण्डल घर नगएको २७ दिन भयो । मैतिदेवीमा भाडामा बस्ने डा. मण्डल भन्छन्, ‘स्टोनले आमाको पिसाबनली ब्लक भएकाले पाइप हालिएको छ । अप्रेसन गर्नुपर्ने थियो । भाउजू पनि गर्भवती हुनुुहुन्छ । परिवारको हेरविचार गर्नुपर्ने यो वेलामा घर जानै सकेको छैन ।’ उनी धेरैजसो अस्पतालमै बस्छन्, कहिलेकाहीँ भाइको डेरामा जान्छन् । 

‘यहाँ काम गर्ने सबैजसो स्वास्थ्यकर्मीलाई यस्तै समस्या छ । कतिपय घरबेटी सीधै बोल्छन्, कतिपयले मनोवैज्ञानिक दबाब दिन्छन्, त्यसैले साथीहरू घर जान मन गर्दैनन्,’ उनी भन्छन् । 

त्यसो त कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू आफूलाई र आफूबाट अरूलाई संक्रमण नफैलियोस् भनेर सचेत पनि छन् । आइसोलेसन डिर्पाटमेन्ट इन्चार्ज नर्स बेली पौडेल भन्छिन्, ‘म घरमा पनि छुट्टै कोठामा बस्छु । घर जाने समयमा अस्पतालमै नुहाएर जान्छु, फेरि घर पुग्नेबित्तिकै पनि नुहाउँछु । परिवारसँग घुलमिल गर्दिनँ ।’

संक्रमणबाट जोगिन अस्पतालको गेटैमा ‘डिसइन्फेक्सन’ छर्किने व्यवस्था छ । तैपनि घर जाने स्वास्थ्यकर्मी सेल्फ आइसोलेसनमा बसिरहेका छन् । नर्स पौडेल भन्छिन्, ‘घरमा रोगी मान्छे । बुढा र बच्चा भएका साथीहरू त यतै बसिरहनुभएको छ । घर जाने स्वास्थ्यकर्मी पनि छुट्टै कोठामा बस्नुभएको छ ।’

आकस्मिक कक्षकी डा. नेपाल पनि घर जान्छिन्, तर परिवारसँग अलग्गै बस्छिन् । भन्छिन्, ‘छुट्टै कोठामा बस्छु, खान्छु । परिवारका सदस्य र छिमेकीसँग भेट्दिनँ, आफ्ना सरसामानहरू छुट्टै राखेकी छु ।’ 

संक्रमणको डरले मात्र होइन, आपत्कालीन अवस्थामा सहज होस् भनेर अधिकांश स्वास्थ्यकर्मीलाई टेकुपरिसरमै बस्न आग्रह गरिएको बताउँछन् अस्पतालका निर्देशक डाक्टर सागरकुमार राजभण्डारी । उनी भन्छन्, ‘उहाँहरूलाई घर जान अप्ठ्यारो पनि छ, फेरि आवश्यकता परे तत्कालै काममा खटाउन सकियोस् भनेर हामीले डाक्टर तथा नर्सलाई सकेसम्म यही परिसरभित्र बस्न भनेका छौँ ।’

त्यसो त स्वास्थ्यकर्मीलाई पनि उमेर, स्वास्थ्यअवस्था र परिस्थितिअनुसार वर्गीकरण गरेर उपचारमा खटाइएको डा. राजभण्डारी बताउँछन् । ‘आफैं पनि कुनै रोग नभएका र तुलनात्मक रूपमा युवा स्वास्थ्यकर्मीलाई हामीले फर्स्ट लाइनमा खटाएका छौँ । कुनै रोग भएका, अलिक वृद्ध र परिवारमा दीर्घरोगी भएका स्वास्थ्यकर्मीलाई हामीले सेकेन्ड लाइनमा खटाएका छौँ,’ उनले भने ।

अस्पतालमा प्रहरीको सुरक्षा

कोरोना जाँचका लागि आउने भीडले पनि टेकुका स्वास्थ्यकर्मीलाई व्यस्त बनाएको छ । ‘निजी अस्पतालको अवस्था त कस्तो छ भने न्युरोको बिरामीले खोक्यो भने पनि यता पठाउँछन्, त्यसैले यहाँ भीड र तनाव बढ्छ,’ डा. मण्डल भन्छन् । 

उनी उदाहरण सुनाउँछन्, ‘विदेशबाट आएका एकजना अस्ति शंका लागेर यहाँ जचाउन आए । अवस्था सामान्य थियो । संक्रमणको लक्षण थिएन । त्यसमाथि समयभन्दा ढिला आएका थिए । तर, तिनले हामीलाई गाली गरे, नैतिकता नै छैन भन्दै थर्काएर गाली गरेको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेछन् ।’

अर्को उदाहरण सुनाउँछन्,  ‘सर्पले टोकेको एउटा केस आयो । अहिले यो अस्पतालले कोरोनाको मात्र उपचार गर्छ, अरू सेवा पाटन अस्पतालमा सारिएको छ । त्यहाँ जानुहोस् भन्यौँ । तिनले पनि हामीलाई गाली गरे, धम्की दिए, कुटौँलाजस्तै गरेर भिडियो खिचे ।’

बारम्बार यस्ता घटना हुन थालेपछि अस्पताल प्रशासनले सुरक्षाकर्मी बोलाएको छ । अहिले टेकु अस्पतालमा बिरामीको सुरक्षामा स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीको सुरक्षामा प्रहरी खटिएका छन् ।

यसबाहेक मिडियामा आउने विभिन्न समाचारले पनि स्वास्थ्यकर्मीलाई सकस दिएको बताउँछन् डा. मण्डल । धनगढीका कोरोना संक्रमितले डाक्टरले आफूलाई भेट्न नआएको समाचारमा पत्रकारले कोरोना प्रोटोकल नबुझी रिपोर्टिङ गरेको डा. मण्डलको भनाइ छ । 

‘कोरोना संक्रमण एकदमै छिटो फैलिन्छ, बिरामी र डाक्टरको सहकार्यमा मात्र यसको उपचार सम्भव हुन्छ । त्यसैले गम्भीर नभएका बिरामीलाई ज्वरो नाप्न थर्मामिटर दिइएको हुन्छ । डाक्टरसँग सम्पर्कका लागि मोबाइल÷फोन राखिएको हुन्छ । संक्रमित बिरामीले आफैँ बिहान, दिउँसो र बेलुका ज्वरो नाप्छन् र डाक्टरलाई देखाउँछन् । त्यहीअनुसार उपचार हुन्छ,’ उनले बुझाए, ‘बिरामीलाई सास फेर्न अप्ठ्यारो भयो । छातीमा समस्या देखियो भने डाक्टर जान्छन् नै । तर, अनावश्यक रूपमा घन्टैपिच्छे डाक्टर बिरामीलाई भेट्न जाँदैनन् ।’

पहिला डर लाग्थ्यो अब लाग्दैन

पिपिई अभाव र संक्रमणको जोखिमबीच पनि २४सै घन्टा सेवामा खटिएका स्वास्थ्यकर्मी कोरोनासँग हार मान्ने मनस्थितिमा छैनन् । डा. नेपाल भन्छिन्, ‘कोरोनासँग पहिला त डर लागेको थियो, अहिले त बानी परिसक्यो । अब मन बलियो हुँदै गएको छ ।’

नर्स पौडेल सही थाप्छिन्, ‘हामी पनि मान्छे हो, संक्रमणको जोखिम छ । हाम्रै कारणले कतै परिवारमा संक्रमण फैलिन्छ कि भन्ने डर पनि छ । तर, हाम्रो उत्तरदायित्व बिरामी निको पार्नु हो । त्यसैले जति डरभन्दा कर्तव्य अगाडि आउँदोरहेछ । जस्तोसुकै अवस्थामा पनि उपचारमा खटिन्छौँ ।’

हिम्मती स्वास्थ्यकर्मीलाई अर्को चिन्ता भने छ । संक्रमण फैलिएमा यो स्रोत र साधनले धान्न सक्दैन । ‘अहिलेको अवस्थामा दुःखसँग चलाउन सकिन्छ । तर, भोलि बिरामीको संख्या बढ्यो भने हाम्रो दुःखले धान्दैन, स्रोतसाधन पुग्दैन, व्यवस्था अहिलेदेखि नै गर्नुपर्छ,’ पौडेल भन्छिन् ।

अस्पतालका निर्देशक डा. राजभण्डारीका अनुसार अहिले अस्पतालमा स्रोतसाधन थप्ने काम भइरहेको छ । निर्देशक राजभण्डारी भन्छन्, ‘आइसियूको संख्या तीनबाट बढाएर २० पुर्‍याउँदै छौँ । आइसोलेसन पाँचबाट २५ बनाउँदै छौँ ।’ 

तर, प्रधानमन्त्री भन्छन्, ‘अग्रपंक्तिका योद्धाको सुरक्षामा कुनै कमी हुन दिइने छैन’

उपकरणको अभाव, अनुशासनमा नबस्ने बिरामी, परिवारसँगै दूरी, घरबेटीको मानसिक दबाब, अस्पतालकै बसाइ अनि मिडियामा वेलावेला आउने अपुष्ट खबरले जित्ने युद्धमा अग्रपंक्तिमा खटिएका योद्धाहरूको मनोविज्ञान दर्शाउँछ । 

तर, प्रधानमन्त्री केपी ओली भन्छन्, ‘आफैंलाई जोखिममा राखी उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू र नागरिक सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मीजस्ता यस युद्धको अग्रपंक्तिका योद्धाहरूको व्यक्तिगत र व्यावसायिक सुरक्षामा कुनै कमी हुन दिइने छैन । उहाँहरूको हिफाजत सरकारले हरतरहले गर्नेछ ।’