सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २३ मंगलबार
  • Tuesday, 07 July, 2020
२०७७ बैशाख २ मंगलबार ११:११:००
नयाँCity

बाँकेका साहित्यकार : लकडाउनमा सिर्जनाको अवसर

२०७७ बैशाख २ मंगलबार ११:११:००

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य–सचिव सनत रेग्मीले लकडाउनको एकान्तवासलाई चारवटा लघुकथा र एउटा कविता सिर्जना गर्ने अवसरमा बदले । यहीवेला उनी नेपालगन्जको इतिहास लेख्ने तयारीमा जुटेका छन् । र, धमाधम सन्दर्भसामग्री जुटाइरहेका छन् । ‘लकडाउनले साहित्य सिर्जनामा नयाँ आयाम थपेको छ,’ उनी भन्छन्, ‘किनेर राखेको पुस्तक पनि समय नपाएर पढ्न पाएको थिइनँ । उपन्यास पढ्ने र साहित्य सिर्जना गर्ने राम्रो अवसर मिलेको छ ।’

यस्तै, प्रतिष्ठानका सदस्य तथा भेरी साहित्य समाजका अध्यक्ष हरिप्रसाद तिमिल्सिना दुईवटा कविता र कथा लेख्दै छन् । उनी पनि बाँकेको सय वर्षको साहित्यिक इतिहास लेख्ने तयारीमा छन् । महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा स्थानीय सहकारी संस्थाको अध्यक्षसमेत रहेका उनी सामान्य दिनमा व्यस्त रहन्थे । ‘लकडाउनले राम्रो अवसर जुराइदियो ।’

बाँकेका साहित्यकारहरू लकडाउनको समयलाई सिर्जनात्मक बनाउन व्यस्त छन् । कतिपय त ०७७ सालमा दुईवटा कृति प्रकाशनको तयारीमा छन् । ‘पुस्तक पढ्ने र लेख्ने संस्कृति हराउँदै गएको थियो । लकडाउनले थोरै भए पनि त्यो संस्कृतिको पुनर्जीवनमा योगदान दिएको छ ।’

प्रतिभा साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर भण्डारी (इन्द्रेणी) पनि उपन्यास लेख्दै छन् । ऐतिहासिक विषयवस्तुमा आधारित उनको उपन्यास आधा लेखेर थन्किएको थियो । भन्छन्, ‘लकडाउनले पूरा गर्ने अवसर जुराइदियो ।’ यहीवेला उनले महाभारत टेलीशृंखला हेरिसकेका छन् । कम्पो, अश्वत्थमा र बाह्रखरीका उत्कृष्ट कथा यहीबीचमा पढिसके, उनले । ‘उपन्यास र कथा पढ्दा नयाँ शब्द र लेखनशैलीको विकास हुन्छ,’ महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख उनी भन्छन् ।

पूर्णिमा साहित्य समाजका अध्यक्ष महानन्द ढकालले लेख्दालेख्दै छाडेको नियात्रालाई अन्तिम रूप दिएका छन् । कोरोना भाइरससम्बन्धी कविता पनि रचना गरेका छन् उनले । महामारीका वेला निरास बनेका मानिसलाई आशावादी बनाउने प्रकृतिको कविता तयार पारेका छन् ।

अर्का साहित्यकार सागर गैरेले लकडाउनको मौकामा नियात्रा र निबन्धसंग्रहको खेस्रा तयार पारेका छन् । ‘लकडाउनपछि कम्युटराइज्ड गरेर सम्पादन गर्छु, ०७७ मा दुईवटा कृति प्रकाशन गर्ने अवसर जुरेको छ,’ उनी भन्छन् । दैनिक पाँचदेखि १० पानामा साहित्य सिर्जना गर्छन् उनी । बचेको समयमा चेतनामूलक टेलिशृंखला, नाटक र वृत्तचित्र देखाउँछन् । आफू पनि हेर्ने कथा र निजात्मक अनुभूति समेटिएका पुस्तक पढेर ज्ञान बढाउँछन् ।

अर्की साहित्यकार ऋचा लुइँटेलले दिउँसो दुई घन्टा रामायण पढ्न छुट्याएकी छिन् । साथमा लघुकथा, मुक्तक र कविता पनि लेखिरहेकी छिन् । राति सुत्नुअघि गीता सार र अकबर–वीरबलका कथा सुन्छिन् ।

लकडाउनले पढ्ने र लेख्ने संस्कृतिको विकासमा टेवा पुर्‍याएको बाँकेका साहित्यकारहरू बताउँछन् । ‘पुस्तक पढ्ने र लेख्ने संस्कृति हराउँदै गएको थियो,’ प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य–सचिव रेग्मी भन्छन्, ‘लकडाउनले थोरै भए पनि त्यो संस्कृतिको पुनर्जीवनमा योगदान दिएको छ ।’ कहिल्यै नलेख्ने व्यक्तिले पनि साहित्य सिर्जना गरेर सामाजिक सञ्जालमा पोस्ट गरेको देख्दा अर्का साहित्यकार तिमिल्सिना पनि दंग छन् । भन्छन्, ‘यसबाट साहित्यिक क्षेत्रलाई उकास्न मद्दत पुग्नेछ ।’