मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २४ शनिबार
  • Saturday, 06 June, 2020
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार १४:२५:००
समाचार

डा. बाबुराम भट्टराई भन्छन्– प्रधानमन्त्री ओलीको सम्बोधन आवश्यक, तर कतिपय शब्द अप्रिय र अनुचित  

नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार १४:२५:००

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा कतिपय प्रसंगमा अप्रिय शब्द प्रयोग भएको संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान राष्ट्रका नाममा गरेको सम्बोधनप्रति टिप्पणी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले उपरोक्त कुरा बताएका हुन् । 

‘संकटको वेलामा प्रधानमन्त्रीले नियमित रूपमा जनतालाई जानकारी गराउनुपर्ने हुन्छ, यस्तो सम्बोधन उहाँले दुई–तीन हप्ताअघि मात्र गर्नुभएको थियो,’ डा. भट्टराईले नयाँ पत्रिकासँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीको सम्बोधन ढिलो आएको छ । तर, यसरी सम्बोधन गर्नुलाई मैले स्वाभाविक र आवश्यक कर्तव्यको रूपमा लिएको छु ।’  

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संक्रमितको संख्या, देशभर स्थापना गरिएका आइसोलेसन सेन्टर, नेपाल–भारत सिमानाको सीमावर्ती क्षेत्रमा क्वारेन्टाइनमा राखिएका नेपालीहरूको संख्यालगायतको तथ्यांक प्रस्तुत गरेका छन् । 

प्रधानमन्त्रीको सम्बोधनमा यसरी तथ्यांकहरू प्रस्तुत गरिएको विषयलाई पनि उनले सकारात्मक रूपमा लिए । साथै मिडिया, नागरिक समाज र दलहरूको आवश्यकतालाई महसुस गरेकोमा त्यसको प्रशंसा पनि डा. भट्टराईले गरे ।  

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा सरकार र जनताबीचको, राजनीतिक दलहरूबीचको, राज्य र समाजका सबै अंगहरूबीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वसर्त रहेको बताउँदै संसद्को साझा संकल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दलसहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरूको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने’ भनाइलाई यस सन्दर्भमा मैले राष्ट्रिय शक्तिको रूपमा लिएको बताएका थिए ।  

आलोचना 
‘यति हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीको सम्बोधनमा वस्तुस्थितिको यथार्थ चित्रण आउन सकेको छैन,’ डा भट्टराईले भने, ‘यस्तो विश्वव्यापी संकटका वेला गरिएको सम्बोधनमा कतिपय अनावश्यक र अप्रिय शब्दसमेत प्रधानमन्त्रीको सम्बोधनमा परेका छन् ।’ 

कोरोना भाइरसको विस्तारले सिर्जना गरेको परिस्थितिसँग जुध्ने क्रममा सरकारको तर्फबाट भएका कमी–कमजोरी, स्वास्थ्य सामग्री खरिदमा भएका अनियमितताको मिडिया, राजनीतिक दल र सर्वसाधारणबाट समेत आलोचना भइरहेको छ । नेकपाकै कतिपय नेता–कार्यकर्ताले समेत सरकारी कमजोरी र अनियमितताको आलोचना गरेका छन् । तर, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले तिनै आलोचनामाथि प्रहार गरेका छन् ।

जस्तो कि, प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भनेका छन्, ‘मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजाजस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।’  

‘उहाँले सम्बोधनमा ‘बेमौसमी बाजा’ भन्ने शब्द प्रयोग गर्नुभयो, यस्तो संकटको घडीमा यस्तो शब्दको प्रयोग अनुचित हो,’ डा. भट्टराईले भने, ‘कमी–कमजोरी भएका भए तिनलाई सुधारेर जान्छौँ भन्नुपर्थ्याे । तर, यो लडाइँमा ‘हामी आफैँ पूर्ण छौँ, अरूको सहयोग चाहिन्न’ भनेजस्तो प्रवृत्ति देखियो । उहाँले त्यस्तो अप्रिय वाक्य उहाँले प्रयोग गर्नुभयो, जुन गर्नै हुँदैनथ्यो ।’  
 
कोरोना भाइरसविरुद्धको लडाइँमा सिर्जना भएका चुनौतीबारे प्रधानमन्त्रीको सम्बोधनमा कुनै उल्लेख नभएको डा. भट्टराईको ठहर छ । ‘यो लडाइँमा आवश्यक पर्ने कतिपय पूर्वाधारको कमी छ, तर प्रधानमन्त्रीको सम्बोधनमा यी कुरा पनि परेनन्,’ उनले थपे, ‘पूर्वाधारको तयारीमा भएको कमजोरीबारे पनि उल्लेख गर्नुभएको भए राम्रो हुन्थ्यो । चुनौती पहिचान गर्न सक्दा सफलतापूर्वक अघि बढ्न सहज हुन्थ्यो ।’

यसैगरी कोरोना भाइरसबाट लड्न आवश्यक पर्ने सामग्री जिटुजीको प्रक्रियाबाट ल्याइने भनेर सम्बोधनमार्फत जनतामा विश्वास दिलाइएको भए जनताकाे भरोशा बढ्ने भए पनि त्यो नगरिएको पनि डा. भट्टराईले बताए । 

सुझाब 
रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका नेपालीहरूको भविष्यका विषयमा सरकारको ध्यान नपुगेकोमा उनले असन्तोष व्यक्त गरे । ‘५०–६० लाख नेपालीहरू रोजगारीको सिलसिलामा देशबाहिर छन्, उनीहरूले पठाएको रेमिट्यान्सले नै मुलुकको अर्थतन्त्र चलेको छ,’ डा. भट्टराईले भने, ‘उनीहरू अहिले आउन्नन् भनेर त्यत्तिकै बसेर हुँदैन । संकट लम्बिँदै गयो भने आउन सक्छन् । आए भने के गर्ने भन्नेबारेमा प्रधानमन्त्रीले सम्बोधनमार्फत ठोस योजना दिन सक्नुभएन ।’ 

‘सधैँ लकडाउन गरिरहने भनेर मात्र पनि हुँदैन, लडडाउन मात्रै गरेर देश चल्न सक्दैन,’ उनले थपे, ‘लडडाउनको स्थितिबाट मुलुकलाई कसरी बाहिर निकाल्ने हो, त्यसको मार्गचित्र आउनुपर्थ्यो, तर प्रधानमन्त्रीको सम्बोधनमा यो कुरा आएन ।’ 

डा. भट्टराईका भनाइमा, लकडाउनको अवधिमा श्रमिक र विपन्न नागरिकले निकै ठूलो कठिनाइ भोग्नुपरेको छ, राहत दिने भनिए पनि लकडाउन सुरु भएको दुई हप्ता बितिसक्दा पनि अधिकांशले राहत पाउन सकेका छैनन् । ‘उनीहरू भोकभोकै परेका छन्, डेराबाट निकालिएका समाचारहरू सार्वजनिक भइरहेका छन्, तर पनि सरकारले राहतको कामलाई प्रभावकारी बनाउन सकेको छैन ।’  

स्थानीय निकायलाई व्यवस्थापनको जिम्मेवारी दिएको भनिए पनि त्यो प्रभावकारी हुन नसकेको डा. भट्टराईको ठहर छ । ‘यो वेला वडा तहसम्म सर्वपक्षीय संयन्त्र बनाएर सोही संयन्त्रमार्फत राहत वितरणको प्रबन्ध गरिएको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘यसतर्फ सरकारको ध्यान पुग्न सकेको छैन ।’