
उद्धारका लागि सरकारले तथ्यांक संकलन गर्दै, बुधबार लुक्लाबाट ४ र डोल्पाबाट ४ पर्यटकको उद्धार
सरकारले ‘लकडाउन’ गरेसँगै पदयात्रामा गएका सयौँ विदेशी पर्यटकहरू अलपत्र परेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले एक साताका लागि लकडाउन गरेसँगै पदयात्रामा गएका ५ सयभन्दा बढी पर्यटक अलपत्र परेका हुन् ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार सगरमाथा खुम्बु, अन्नपूर्ण, हुम्ला, डोल्पा, मनास्लु क्षेत्रमा सयौँ पर्यटक रोकिएका छन् । खुम्बु क्षेत्रमा १ सय विदेशी पर्यटकहरू पदयात्रामा गएका थिए । उनीहरू आउन नसकेको टानले जनाएको छ । ‘खुम्बुलगायत क्षेत्रमा पर्यटक पदयात्रा गएका थिए,’ टानका अध्यक्ष खुमबहादुर सुवेदीले भने, ‘लकडाउनले सबै रोकिएका छन् ।’ सरकारलाई उद्धारको व्यवस्था मिलाउन आग्रह गरिए पनि हालसम्म उद्धार हुन नसकेको सुवेदीले जानकारी दिए ।
मनास्लु क्षेत्रमा ३० जना पर्यटक रोकिएका छन् । अन्नपूर्ण क्षेत्रमा पनि १ सय हाराहारी पर्यटक रोकिएको अनुमान छ । त्यस्तै, हुम्ला र डोल्पामा पनि १५ देखि २५ जना पर्यटक रोकिएको हुन सक्ने टानको अनुमान छ । मनाङ, मुस्ताङ क्षेत्रमा पनि एक दर्जनभन्दा बढी पर्यटक अलपत्र परेका छन् । ‘खुम्बु क्षेत्रामा रेस्टुराँहरूसमेत बन्द हुन थालेकाले पर्यटकहरू झनै समस्या पर्न थालेका छन्,’ अध्यक्ष सुवेदीले भने ।
बुधबार लुक्ला र डोल्पाबाट ८ पर्यटकको उद्धार
गृह मन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा बुधबार लुक्ला र डोल्पाबाट ८ जनाको उद्धार गरिएको छ । विमानस्थलका अनुसार दुई हेलिकोप्टरबाट डोल्पाबाट ४ जना जर्मनी पर्यटक र लुक्लाबाट ४ जना रुसी नागरिकको उद्धार गरिएको छ ।
‘कुन–कुन स्थानमा कति पर्यटक रोकिएका छन्, तथ्यांक संकलन गर्ने काम भइरहेको छ,’ टानका अध्यक्ष खुमबहादुर सुवेदीले भने, ‘उद्धार कार्यसमेत सुरु भइसकेको छ ।’
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले एक साताका लागि लकडाउन गरेपछि विभिन्न क्षेत्रमा पदयात्रामा गएका ५ सयभन्दा बढी विदेशी अलपत्र परेका हुन्
राजधानीबाहिरबाट स्वाब संकलन गर्न निगमको जहाज चार्टर गरिँदै
कोरोना भाइरस परीक्षणका लागि राजधानीबाहिर नमुनाका रूपमा संकलन भएको ‘स्वाब’लाई नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेर काठमाडौं ल्याइने भएको छ । सरकारले निगमको ट्विनटर जहाज चार्टर गरेर विराटनगर र नेपालन्जमा संकलन भएको ‘स्वाब’ काठमाडौं ल्याउन लागिएको हो ।
स्वाब परीक्षण गर्न टेकु नै ल्याउनुपर्ने भएकाले सम्भवतः बिहीबार नै जहाज चार्टर गरिनेछ । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूसँग समन्वय गरेर विराटनगर र नेपालगन्ज पठाउन आग्रह गरिसकेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका अनुसार यसका लागि नागरिक उड्डयन प्राधिकरण र निगमलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरिसकिएको छ । ‘प्राधिकरणलाई बुधबार नै आग्रह गरिसकिएको छ,’ उनले भने, ‘जहाज चार्टर अवस्थामा तयार रहन निगमलाई पनि आग्रह गरिएको छ ।’
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि उच्चस्तरीय समितिमा छलफल भइसकेकाले जहाज चार्टर गर्न सबै व्यवस्था मिलाइएको जानकारी दिए । सातै प्रदेशमा सयौँ नमुना संकलन भएका छन् । तर, लकडाउनका कारण काठमाडौैं पठाउन नपाएको गुनासो आएकाले निगमको जहाजबाट ल्याइने निर्णय भइसकेको पोखरेलले बताए ।
यता निगमकी प्रवक्ता अर्चना खड्काले सरकारको निर्देशनमा आफूहरू पनि तयारी अवस्थामा रहेको जानकारी दिइन् । ‘ट्विनटर र एमए६० दुवै जहाज चार्टरका लागि तयारी अवस्थामा राखिएको छ,’ खड्काले भनिन् ।
नेपाली मूलका एक बेलायती चार दिनदेखि विमानस्थलमै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार दिनदेखि नेपाली मूलका एक बेलायती नागरिक अलपत्र परेका छन् । ती नागरिक निगमको जहाजमार्फत शनिबार हङकङबाट आएका थिए । अध्यागमनले विदेशी राहदानी भएकाले प्रवेश अनुमतिमा रोक लगाएपछि उनी अलपत्र परेका हुन् । ‘विदेशी नागरिता पासपोर्ट भएकालाई प्रवेशमा रोक लगाइएको हो,’ अध्यागमन विभागका विमानस्थल प्रमुख सागर आचार्यले भने । निगमले ल्याएकाले उसैले फिर्ता पठाउनुपर्ने दायित्व हुन्छ । तर, सबै उडान रोकिएकाले डिपोर्ट सम्भव नभएपछि निगमले नै खाने र बस्ने व्यवस्थासहित राखेको आचार्यले जानकारी दिए । बेलायतले आफ्ना नागरिकको उद्धार गरेर लैजान सक्ने वा उडान नखुलेसम्म अफिसमै रहने आचार्यको भनाइ छ ।