मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २४ शनिबार
  • Saturday, 06 June, 2020
विजयराज खनाल काठमाडौं
२०७६ चैत १२ बुधबार ११:००:००
अर्थ

संकटका वेला नगद राख्ने बढे,  ४१ दिनमा १ खर्ब ३ अर्ब बजारमा

५ खर्ब ३४ अर्ब नगद चलनचल्तीमा, डिजिटल बैंकिङलाई बैंंकहरूले जोड दिइरहे पनि सर्वसाधारण भने नगदमै कारोबार गर्न रुचाउँछन्

विजयराज खनाल काठमाडौं
२०७६ चैत १२ बुधबार ११:००:००

कोरोना भाइरसको संक्रमणको त्रास बढ्दै जाँदा सर्वसाधारणले आफूसँग नगद राख्ने क्रम ह्वात्तै बढेको छ । यसले बजारमा चलनचल्तीको मुद्रामा वृद्धि गरेको छ । १ फागुनपछिको ४१ दिनमा बजारमा १ खर्ब रुपैयाँभन्दा बढी मुद्रा प्रवाह थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । ‘अहिले राष्ट्र बैंकको ढुकुटीमा रहेकोबाहेक ५ खर्ब ३४ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको छ,’ नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘माघ अन्त्यसम्म बजारमा ४ खर्ब ३१ अर्ब रुपैयाँ मात्रै मुद्रा चलनचल्तीमा थियो ।’ 

अहिले सर्वसाधारणले नोटको माग बढाएको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए । ‘अहिले ठूला नोटको माग बढिरहेको छ, अभाव नै त छैन, तर आपूर्ति बढ्नुपर्छ,’ उनले  भने, ‘बैंकहरूमा ३४ खर्ब निक्षेप रहेको त्यसको ५–१० प्रतिशत रकमबराबर मुद्रा बजारमा रहनु अस्वाभाविक होइन ।’ पछिल्लो समय बैंकहरूको शाखा संख्या बढेको र बैंकको भल्टमै राख्नुपर्ने रकमसमेत वृद्धि हुने भएकाले पनि मुद्रा आप्रवाह बढेको केसी बताउँछन् । कुल कारोबारको करिब ९५ प्रतिशत शाखामार्फत हुँदै आएको छ । यद्यपि, विपत्मा सर्वसाधारणमा साथमै नगद राख्ने परिपाटी धेरै रहेको बैंकरहरू बताउँछन् । हाल भने निक्षेपको करिब १५ प्रतिशत मुद्रा बजारमा चलनचल्तीमा रहेको हो । 

‘भूकम्पमा मानिसहरूमा घरमा नगद राख्दा चोरी हुन्छ भन्ने डर थियो र बैंकमा नै रकम राख्ने प्रवृत्ति बढी थियो,’  बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाललेभने, ‘अहिले मानिसहरू घरभित्रै सुरक्षित बसिरहेका छन्, त्यसैले पनि के पर्छ, के पर्छ भन्ने सोचले साथमै नगद राखिरहेका छन् ।’ विराटनरमा भने प्रवृत्ति उल्टो देखिएको दाहालको भनाइ छ । त्यहाँ भने सर्वसाधारणले बैंकमा नगद जम्मा गरिरहेको बताइएको छ । 

राष्ट्र बैंकले भने नोट अभाव हुने सम्भावना अहिले नरहेको र केही सातामा करिब २५ अर्ब रुपैयाँबराबरको १ हजारको नोट आउने बताएको छ । ती नोट केही साताभित्रै नेपाल आइपुग्नुपर्नेमा भारतले लकडाउन गरेको तथा बन्दरगाहमा १४ दिनको क्वारेन्टाइनको व्यवस्था गरेकाले समयमै आइपुग्नेमा भने शंका छ । कोलकातासम्म ती नोट आइपुगेपछि कसरी मुलुक भित्र्याउने भनेर उच्च तहमै छलफल आवश्यक रहेको राष्ट्र बैंक स्रोतले बतायो । ती नोट समयमै नआइपुग्ने हो भने मुद्राको व्यवस्थापनमा समस्या पर्ने देखिएको छ । 

लकडाउनमा पनि शाखा खोल्दै बैंकहरू

सरकारले एक साताका लागि मुलुकभर ‘लकडाउन’को घोषणा गरे पनि बैंकहरूले सेवा प्रवाहलाई निरन्तरता दिन एक सहरमा एक शाखा खोल्ने भएका छन् । ‘स्थानीय तहले नै रोकेको अवस्थामा बाहेक बैंकहरूले एक सहरमा (काठमाडौंबाहेक) एक शाखा र स्थानीय तहमा एउटा शाखा खोल्ने गरी काम गरिरहेका छन्,’ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने । काठमाडौंमा भने बैंकहरूले २–३ वटा शाखा खोल्दै छन् । ग्लोबल आईएमई बैंकले भने उपत्याकामा ७ वटा शाखा खोल्ने तयारी गरेको सिइओ परशुराम कुँवरले बताए । 

बैंकहरूले सबै एटिएम बुथबाट सेवा दिइरहेको समेत दाहालले जानकारी दिए । राष्ट्र बैंकले अवस्थाअनुसार शाखा खोल्न सकिने गरी बैंकहरूलाई छुट दिएको छ । यसअघि राजधानीबाहिर बेलुका एटिएम सञ्चालन नहुने गरेकोमा अब सञ्चालनमा आउने भएका हुन् । एटिएमको सरसफाइमा त्यहीँ उपस्थित गार्डहरूले ध्यान दिने बैंकरहरूले बताएका छन् । 

‘नगद चाहने ग्राहकले पाउने अवस्थाको सुनिश्चितता गर्न बैंकहरूलाई निर्देशन दिएका छौँ,’ राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘तर, सबै शाखा खोल्नैपर्ने भन्ने छैन ।’ ठूला सहरहरूमा २–३ वटा शाखा खोल्दा हुने र २–४ जना कर्मचारीले मात्र आलोपालो काम गर्नसमेत भनिएको सिवाकोटीले जानकारी दिएका छन् । एटिएममा रकम अभाव नहुने सुनिश्चितता गर्नसमेत राष्ट्र बैंकले बैंकहरूलाई दिर्नेशन दिएको छ । 

मोबाइल नम्बरबाटै भुक्तानी गर्न सकिने

मोबाइल बैंकिङको सुविधा नलिएका सर्वसाधारणले बैंक खाता छ भने मोबाइल नम्बरबाटै रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । कारोबार गर्दा एक पक्षसँग मात्र मोबाइल बैंकिङ सेवा भएको अवस्थामा समेत भुक्तानी गर्न सकिने बैंकरहरूले उल्लेख गरेका छन् । मुलुकमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ९८ लाख छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या ९ लाख ६९ हजार मात्रै छ । 

‘मोबाइल बैंकिङ नलिएका पसल, विक्रेताहरूलाई बैंकको खाता नम्बर याद नभएमा उनीहरूले बैंकमा खाता खोल्दा दिएको मोबाइल नम्बरबाट समेत ग्राहकबाट रकमको भुक्तानी लिन सक्छन्,’ सानिमा बैंकका डिजिटल बैंकिङ प्रमुख विक्रम श्रेष्ठले जानकारी दिए । 

सरकारले खाद्य वस्तु, खानेपानी, दूध, स्वास्थ्य सेवा अत्यावश्यक भएको र आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित भएर सेवा दिन सकिने उल्लेख गरेको छ । यी क्षेत्रमा भौतिक रूपमै उपस्थित भएर कारोबार गर्दा कार्ड घोटेर पस मेसिनबाट र फोन पेमार्फत क्युआर कोडको प्रयोग गरेर भुक्तानीसमेत गर्न सकिने बैंकरहरूले उल्लेख गरेका छन् । यसले बजारमा मुद्रा अभावको समस्या हट्नेछ । यी विधि पनि जोखिमरहित नभएकाले सकभर मोबाइल बैंकिङको प्रयोग गर्न बैंकरहरूको सुझाब छ ।  

अहिले अधिकांश बैंक शाखामा रकम निकाल्न मात्रै ग्राहक पुग्ने गरेकाले सकभर एटिएम, मोबाइल बैंकिङ, इटरनेट बैंकिङको प्रयोग गर्न बैंकरहरूको जोड छ । ‘सकेसम्म घरमै बसौँ, कारोबार गर्दा डिजिटल प्रणालीको प्रयोग गरौँ,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने ।