• वि.सं २०७६ चैत २३ आइतबार
  • वि.सं २०७६ चैत २३ आइतबार
  • Sunday, 05 April, 2020
रमेश दवाडी काठमाडाैं
२०७६ फाल्गुण १८ आइतबार १३:३३:००
समाचार

संसदमा कांग्रेस सभापतिको प्रश्न : बाँस्कोटाले घुस प्रकरणको अडियोमा 'हामी' भनेको को को हो ?

रमेश दवाडी काठमाडाैं
२०७६ फाल्गुण १८ आइतबार १३:३३:००

प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छानविन नहुनुले सरकार दुषित रहेको देखिएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा आइतबार बोल्दै देउवाले भने, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालिन सञ्चारमन्त्रीले ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएको एक हप्ता पुगिसक्दा पनि छानविन नहुनु पछाडिको नियत गम्भीर छ ।’

सञ्चारमन्त्री बाँस्कोटाले ‘कति आउँछ हामीलाई’ भनेर प्रस्ट बोलेको उल्लेख गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरे, ‘बाँस्कोटाले हामी भनेर कसलाई भनेका हुन् ? हामी भनेको को हो प्रस्ट गर्नुहोस् ।’ 

उक्त अडियोको छानबिन हुनुपर्ने देउवाले माग गरे । घुस प्रकरणमा मुछिएका सरकारका बहालवाला मन्त्रीविरुद्ध छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भनेकोमा देउवाले आपत्ति जनाए । देउवाले प्रश्न गरे, ‘यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन ?’ 

भ्रष्टाचार काण्डबाट ध्यान माेड्ने काेशिसमा सरकार 

देउवाले नेपाल टष्ट्रले जारी गरेको स्वेतपत्रले भ्रष्टाचार काण्डबाट अन्यत्र ध्यान मोड्न खोजेको बताएका छन् । 

बाँस्कोटाको अडियो प्रकरण, गोकर्ण रिसोर्ट, नेपाल टेलिकम प्रकरणका भ्रष्टाचार काण्डबाट अन्यत्र ध्यान मोड्न स्वेतपत्र जारी गरिएको उनले आरोप लगाए । 

आफू प्रधानमन्त्री भएको बेला आफ्नोे प्रत्यक्ष संलग्नतामा नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पार्दै देउवाले राजनीति पूर्वाग्रहले आफ्नो नाम जोडिएको भन्दै उनले आपत्ति जनाए । ‘राजनीतिक पूर्वाग्रहबस मेरो नाम जोड्ने षडयन्त्रप्रति मेरो आपत्ति छ’ देउवाले भने ।