Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
उठ्न खोज्दा उठिबास : चितवन जगतपुरका राजवीर थोकर परिवारको जीवन उकास्न ऋण लिएर दुबई गएका थिए । तर, फर्कंदा उनको घरजग्गा (बायाँ) लघुवित्तले उठाइसकेका थिए । अहिले उनको बसाइ छाप्रोमा छ । ऋणको बोझ थाम्न नसकेर बाबु बेपत्ता भएका छन् ।
विजयराज खनाल काठमाडाैं
२०७६ फाल्गुण ६ मंगलबार ०६:४९:००
मुख्य समाचार

लघुवित्तले लघुउद्यमी पीडामा : सहरमा गाडी र जग्गा किन्नेलाई भन्दा गाउँमा तरकारी लगाउनेलाई चर्को ब्याज

चर्को ब्याज र किस्ताको तनावले विपन्न परिवारमा आत्महत्याको शृंखला

२०७६ फाल्गुण ६ मंगलबार ०६:४९:००

नयाँ पत्रिका बृहत् रिपोर्ट

ऋण लिएर उपचार गर्दा पनि बाबु बाँचेनन्, लघुवित्तको तनाव सहन नसकेर १८ वर्षीय छोराको आत्महत्या

बिरामी श्रीमान् राजो दासलाई बचाउन सिराहा नगरपालिका–२ की सनेचरी दासले लघुवित्तबाट ऋण लिइन् । श्रीमान् बचाउन सकिनन् । ऋण तिर्न नसक्दा १८ वर्षीय छोराले पनि आत्महत्या गरेका छन् ।

सनेचरीले निर्धन लघुवित्त, डिप्रोक्स, नेरुडे, नयाँ नेपाल, महिला लघुवित्त, ग्रामीण महिला उत्सुकता विकास मञ्चलगायत लघुवित्तबाट करिब पाँच लाख ऋण लिएकी थिइन् । तर, किस्ता तिर्न नसकेपछि लघुवित्तले निरन्तर ताकेता गर्न थाले । व्यक्तिसँग ऋण लिएर केही किस्ता पनि तिरिन् । तर, ऋणको बोझ घटेन । लघुवित्तका कर्मचारीबाट धम्की नै आउन थाले । तनाव थेग्न नसकेर १८ वर्षीय कान्छो छोरा धीरजकुमार दासले गत १२ साउनमा घरनजिकै आँपको रूखमा झुन्डिएर आत्महत्या गरे । ‘श्रीमान् बचाउन सकिनँ, छोरो पनि गुम्यो,’ सनेचरीले भनिन्, ‘ऋणको पासो छँदै छ ।’

परिवारलाई ऋणबाट उकास्न भन्दै जेठो छोरा श्रवण ऋण काढेर डेढ वर्षअघि वैदेशिक रोजगारीमा गएका छन् । तर, उनले विदेश जाँदा लागेको ऋण पनि तिर्न सकेका छैनन् । 

लघुवित्तको ऋण तिर्न साहुको भर, किर्ते तमसुक गरेर साहुले उठाइदिए घर

सिराहा–२ कै रामराजीदेवी लहेरी र रेखा लहेरीको परिवार पनि लघुवित्त संस्थाको धम्कीले त्रसित छन् । रामराजीदेवीले स्वावलम्बन, डिप्रोक्स, नयाँ नेपाल, मिथिला लघुवित्त विकास बैंकबाट ऋण लिएकी थिइन् । ‘हिजो किस्ता लिन आएको थियो । अहिले दिन नसक्ने भनेपछि सामानहरू घरबाहिर निकाल्यो,’ रामराजीदेवीले बिलौना गरिन्, ‘यसअघि पनि लघुवित्तको किस्ता तिर्न साहुसँग ऋण लिएकी थिएँ, तर साहुले किर्ते तमसुक बनाएर झन् समस्यामा पारिदिएका छन् ।’

रामराजीदेवीकी देउरानी रेखाले पनि यस्तै पीडा सुनाइन् । ‘सात लाख ऋण लिँदा साहुले १६ धुर जग्गा रजिस्ट्रेसन गरेर लिए । तर, नौ लाख बुझाउँदासम्म पनि जग्गा फिर्ता गरेका छैनन्,’ रेखाले भनिन्, ‘१४ लाखको तमसुक बनाएको रहेछ । जग्गा माग्दा अदालतमा मुद्दा दियो । हामी गरिबले कसरी मुद्दा लड्ने ? हाम्रो घरबार सबै गइसक्यो ।’ 

सिराहा–१ की ६५ वर्षीया रामप्यारी पासवानले घर बेचेर साहुलाई बुझाए पनि ऋणको भारी हट्न नसकेको बताइन् । ‘१० धुर जग्गामा रहेको घर सस्तैमा बेचेर साहुलाई बुझाएँ,’ पासवानले भनिन्, ‘अहिले स–साना बच्चा लिएर अरूको घरमा डेरा लिएर बस्दै छु ।’ पासवान परिवारलाई अहिले हातमुख जोड्न समस्या छ । 

लघुवित्तका कारण सिराहामा धेरै परिवार तनावमा छन् । लघुवित्त संस्थाहरूले मुनाफा लिने नाममा एउटै व्यक्तिलाई ऋण दिन हानथाप गरेपछि समस्या बढ्दै गएको स्थानीय अगुवा शम्भु साह बताउँछन् । ‘लघुवित्तले ऋण लगाउँछ, तर परिचालन गर्ने तरिका सिकाउँदैन । यसले विपन्न व्यक्तिहरू ऋणको भारीमा थिचिँदै जान्छन्,’ उनले भने, ‘किस्ता तिर्न नसक्दा लघुवित्तका प्रतिनिधिहरूले अनेक धम्की दिन्छन् ।

व्यक्तिगत कर्जा र लघुवित्तको ऋणकै कारण समुदायमा महिलाहरूबीच पनि द्वन्द्व बढ्दै गएको रामकिशोर यादवले बताए । लघुवित्तले महिला समूह बनाएर ऋण लगाउने गरेको र असुलीमा पनि समूहकै महिला खटाउने गरेको उनले बताए । समूहबाट ऋण असुली नहुँदा लघुवित्त संस्थाका कर्मचारीहरू घरमै पुगेर गालीगलौज गर्ने मात्र होइन, घरमा तालाबन्दी गर्नेसम्मका घटना भएको उनी बताउँछन् ।

लघुवित्तले भाँडा फालिदिन्छु भनेर धम्क्याएपछि ६० वर्षीया महिलाले गरिन् आत्महत्या 

झापा गौरादह–७ ग्वालडुब्बाकी ६० वर्षीया बालकुमारी हुमागाईंले २० भदौ ०७५ मा घरमै झुन्डिएर आत्महत्या गरिन् । कारण थियो– लघुवित्तबाट लिएको किस्ता बुझाउन नसक्नु । 

उनले घर बनाउन तीन लघुवित्तबाट ऋण लिएकी थिइन् । कर्णाली लघुवित्त, जीवन विकास समाज लघुवित्त र नागवेली लघुवित्तले गाउँमा समूह बनाएर लगानी गरेका थिए । सबैबाट उनले एक–एक लाख लिएकी थिइन् । प्रत्येकलाई महिनामा ६ हजार ६ सय ६६ रुपैयाँका दरले किस्ता बुझाउनुपर्थ्यो । तर, उनले नियमित बुझाउन सकिनन् । 

२० भदौमा किस्ता बुझाउनुपर्ने दिन थियो । अघिल्लै दिन कर्णाली लघुवित्तका कर्मचारी दिनभर घरमै आएर ताकेता गरेका थिए । किस्ता नबुझाए घरका सामान उठाएर लाने धम्की दिए । अर्को दिन उनले आत्महत्या गरिन् । ‘अघिल्लो दिन लघुवित्तका कर्मचारीले दिएको धम्कीले आमा तनावमा हुनुहुन्थ्यो । तर, तिर्न पैसा थिएन । मसँग जम्मा तीन सय रुपैयाँ मात्रै थियो,’ बुहारी रञ्जनाले भनिन्, ‘आमालाई घरमै छाडेर म घाँस काट्न निस्किएकी थिएँ । फर्केर आउँदा त अकल्पनीय घटना देखेँ ।’ 

- १४ असार ०७४ मा गौरादह–७ का जलिम ऋषिदेवले लघुवित्तको किस्ता तिर्न नसकेकै कारण आत्महत्या गरे । जीवन विकास समाज लघुवित्तले गाउँगाउँमा समूह गठन गरेर ऋण उपलब्ध गराउँदै थियो । उनी पनि समूहमा आबद्ध भए । समूहमा बचत पनि गर्न थाले । घरपरिवार चलाउन लघुवित्तबाट ७० हजार ऋण लिए । सर्त थियो– महिनैपिच्छे किस्ता बुझाउने । 

१४ असार किस्ता तिर्ने दिन थियो । अघिल्लै दिन लघुवित्तका कर्मचारी घरमा आएर किस्ता ठीक पार्न भनेका थिए । किस्ता नदिए घरका सामान उठाउने धम्की पनि थियो । तर, दैनिक ज्यालादारी गर्ने जलिमसँग त्यतिवेला पैसा भएन । हप्तैपिच्छे ज्याला दिने साहुले त्यस हप्ता दिएनन् । किस्ता जोहो गर्न नसकेपछि आत्महत्या रोजे । 

अहिले उनका दुई छोरा र दुई छोरीको बिचल्ली छ । एक छोरा मामाघरमा बसेका छन्, अन्य तीनजना अर्काको घरमा घरेलु मजदुरका रूपमा छन् । श्रीमती धनमाया वैदेशिक रोजगारीका लागि कुवेतमा छिन् । परिवारको सम्पत्तिको नाममा ग्वालडुब्बा बजारमा तीन धुर जग्गा छ । ‘मान्छे मरेपछि पनि संस्थाले छाडेन । समूहका अरूले ७० हजार तिरिदिए । समूहका मान्छेले मलाई अहिले ताकेता गर्दै छन्,’ कुवेतमा रहेकी श्रीमती धनमायाले नयाँ पत्रिकासँग टेलिफोनमा भनिन्, ‘म त्यो पैसा जसरी पनि तिर्छु । अहिले त म पनि पैसा टिप्न गएकी होइन । कमाएरै तिर्ने हो । जति ताकेता गरे पनि अहिले सक्ने अवस्था छैन ।’ 

- सल्यानको शारदा नगरपालिका–२ सितलपाटीकी दिलकुमारी रावतको घर ०७२ मा बाढीपहिरोले बगाएको थियो । घर बनाउनकै लागि उनले लघुवित्तबाट ऋण लिएकी थिइन् । थुप्रै लघु वित्तबाट मासिक किस्ता बुझाउनेगरी लिएको ऋण तिर्ने उपाय उनीसँग थिएन । तनावबीच उनी गाउँ छाडेर बेपत्ता भइन् । पैसा खाएर बेपत्ता भएको भनेर उनीमाथि लाञ्छना लाग्यो । आमा र परिवारको बद्नामी सहन नसकेर १६ वर्षीया छोरी सपनाले ६ माघ ०७३ मा झुण्डिएर आत्महत्या गरिन् । 

- भरतपुर महानगरपालिका–२४, जगतपुरकी ५६ वर्षीया भगवती बाँस्तोला मोबाइलको घन्टी बज्दा र घरमा नयाँ मान्छे आउँदा झस्किन्छिन् । यो तनाव उनलाई वित्तीय संस्थामा तिर्नुपर्ने ११ लाखले निम्त्याउँछ । ०४६ मा पसल थाप्न उनले साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडबाट ६ हजार ऋण लिएकी थिइन् । उनले सो रकम दुई किस्ता गरेर तीन–तीन हजार लिएकी थिइन् । पसलबाट कमाएको पैसाले उनले ब्याज र साँवा घटाइन् । तर, ऋण बढिरह्यो । ०५० मा चार कट्ठा जग्गा बेचेर थप १२ हजार तिरेर ऋण चुक्ता गरिन् । 

तर, गरिबीले उनलाई फेरि लघुवित्तमै पु¥यायो । छिमेकी लघुवित्त विकास बैंकबाट पाँच हजार झिकिन् । तोकिएको एक वर्षमा तिरेर सकिन् । फेरि त्यही लघुवित्तबाट १० हजार झिकिन् । त्यसयता भगवतीले १० वटा लघुवित्तबाट ऋण निकालिन् । निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, स्वरोजगार लघुवित्त, मुक्तिनाथ लघुवित्त, विजय लघुवित्त, नेरुडे लघुवित्त, माइक्रोफाइनान्स शिवनगर र लक्ष्मी लघुवित्तबाट पनि ऋण लिँदै गइन् । सबैबाट गरी ११ लाख ऋण लिएकी उनले सकेजति किस्ता तिर्दै आएकी छिन् । तर, लघुवित्तले उनलाई पासबुक दिएका छैनन् । त्यसैले कति पैसा तिरेको भन्ने नै उनलाई थाहा छैन । ‘वित्तीय संस्थाका कर्मचारी किड्नी बेचेर भए पनि तिर्नुपर्छ भनेर धम्क्याउँछन्,’ भगवतीले भनिन् । 

- जगतपुरका २३ वर्षीय राजवीर थोकरको परिवारलाई पनि वित्तीय संस्थाको ऋणले बिल्लीबाठ पारिदिएको छ । ऋणकै तनावले बाबु डेढ वर्षअघि परिवार छाडेर बेपत्ता भए । आमा पुष्पा वैदेशिक रोजगारीका लागि कुवेतमा छिन् । दुई भाइको जिम्मा लिएर घरमा बसेका राजवीरलाई वित्तीय संस्थाका कर्मचारीले ऋण तिर्न दबाब दिने गरेका छन् । उनलाई पनि ऋण कति छ थाहा छैन, किनभने वित्तीय संस्थाले पासबुक नै दिएका छैनन् । परिवारले चार कट्ठा जमिनसहित पक्की घर बेचेर ऋण तिरेको छ । ‘म पनि घरमा राम्रो गरौँ भनेर वैदेशिक रोजगारीमा दुवई थिएँ । फर्केर आउँदा त खाने–बस्ने ठेगान रहेनछ,’  राजवीरले भने, ‘अहिले आमा बिदेसिनुभएको छ ।’ 

- रसुवाको कालिका गाउँपालिका–३ इटपारेकी भवानी भुसालले ०७२ वैशाखको भूकम्पअगाडि वित्तीय संस्थाबाट ऋण झिकेर कुखुरापालन व्यवसाय थालिन् । करिब ६ लाख लगानी भइसकेको कुखुरा फार्म भूकम्पले पुरियो । लगानी त डुब्यो, त्यसै वर्ष श्रीमान् दुर्घटनामा परेर अशक्त बन्न पुगे । व्यवसाय डुबेको र श्रीमान् अशक्त भएको अवस्थामा निराश बनेकी भवानीलाई घरमै पुगेर एनएमबी लघुवित्तले आकर्षक ऋणको लोभ देखायो । ५–१० जनासम्म समूह गठन गरेर ऋण दिने भएपछि उनी पनि राजी भइन् । आयस्रोत पनि बढ्ने र त्यसअघि लिएको ऋण पनि तिर्ने आशले दोस्रो लघुवित्तबाट ऋण लिइन् । 

गाउँमा एकपछि अर्को लघुवित्तले आकर्षक स्किम चलाएका थिए । एउटाको ऋण तिर्न उनले अर्को संस्थाबाट ऋण निकालिन् । सुरुमा त राम्रो गर्‍यो, तर चर्को ब्याजले च्याप्न थालेपछि उनी समस्यामा पर्न थालिन् । 

समस्याबाट उत्रिने आशमा उनी नौवटासम्म वित्तीय संस्थाको ऋणी बनिन् । एउटा संस्थाबाट २५ हजारदेखि दुई लाख ५० हजारसम्म ऋण लिएकी थिइन् । हरेकलाई १२ प्रतिशतका दरले ब्याज तिर्नुपर्ने थियो । तोकिएको समयभन्दा एक घन्टा मात्रै ढिला भए पनि ब्याजको स्याज तिर्नुपर्थ्यो । उनी डुब्दै गइन् । भवानीका अनुसार एक लाख ऋण लिँदा १० हजार रुपियाँ पहिल्यै कटाएर ९० हजार मात्र हातमा दिएका थिए । 

बबिता बर्देवाको व्यथा झन् पीडादायी छ । बबिता गाउँमा बस्न नसकेर दुई वर्षअघि दुई बच्चासहित काठमाडौं पलायन भइसकेकी छिन् । वित्तीय संस्थाको ऋण नतिरेको भन्दै सधैँ घरमा आएर दुःख दिन थालेपछि बस्न नसकेको उनको गुनासो छ । ‘तपाईं झुन्डिएर मर्नुस्, केही फरक पर्दैन, अरु ठाउँमा मिर्गाैला बेचेर तिरेका छन्, तपाईं पनि त्यसै गर्नुस् पो भन्छन्,’ उनले भनिन् । 

वाणिज्य बैंकले बचतको व्याजदरमा ५% सम्म थपेर कर्जा दिन पाउँछन्, तर लघुवित्तलाई पुँजी लागतमा ९% सम्म ब्याज थपेर लिन छुट

सहरबजारका ठूला व्यवसायीले गाडी, घरजग्गालगायत विलासिताका सामान किन्न तथा सेयरदेखि व्यवसायसम्म लगानी गर्न ८ देखि १४ प्रतिशतसम्म कर्जा पाइरहेका छन् । तर, ग्रामीण भेगमा स्थानीयको समूह बनाएर लगानी गरिरहेका लघुवित्त संस्थाले बंगुर–कुखुरापालनका साना उद्यम गरेर परिवार पालिरहेका गरिबबाट १८ देखि १८.५ प्रतिशतसम्म ब्याज असुलिरहेका छन् । त्यसमाथि कर्जा नवीकरणका नाममा पुरानो ब्याजसमेत सावाँमा राखेर ठगीसमेत गरिरहेका छन् । ‘गरिबमारा’ लघुवित्तको सरकारले नियमन नै गर्न सकेको छैन ।

वाणिज्य बैंकले बचतको व्याजदरमा बढीमा ५% थपेर कर्जा दिन पाउँछन् तर लघुवित्तलाई पुँजी लागतमा ९% सम्म ब्याज थपेर लिन छुट पाएका छन् । अघिल्लोपटक केपी ओली प्रधानमन्त्री हुँदा लघुवित्तहरूको ब्याजदर १८ प्रतिशतमा सीमित बनाउन निर्देशन दिएका थिए । २६ पुस ०७३ मा राष्ट्र बैंकले पुँजीलगायत खर्च जोडेर ब्याजदर निर्धारण गर्न सकिने, तर अन्तिम ब्याजदर १८ प्रतिशतभित्र हुनुपर्ने व्यवस्था गरेको थियो । तर, अहिले फेरि पुँजी लागतमा बढीमा ९ प्रतिशतसम्म थपेर ब्याजदर तोक्न सक्ने छुट लघुवित्तहरूलाई दिइएको छ । यसले ब्याजदर १८ प्रतिशतभन्दा माथि पुगेको छ । 

‘केही साना संस्थाले सञ्चालन गर्नै समस्या भएको बताएपछि अहिले ब्याजदर १८ दशमलव ५ प्रतिशतसम्म पुगेको छ,’ नेपाल लघुवित्त बैंकर्स संघका कोषाध्यक्ष रामहरि दाहालले भने । राष्ट्र बैंकको निर्देशनअघिसम्म त लघुवित्तहरूले २० प्रतिशत ब्याजदरमा पनि कर्जा लगानी गरिरहेका थिए । जुन, अहिले पनि ऋणीहरूका लागि पासो बनिरहेको छ । राष्ट्र बैंकको गत असोजसम्मको तथ्यांकअनुसार एक लाख २८ हजार ऋणीले समयमै ऋण तिर्न सकेका छैनन् । यसरी भाका नाघेको कर्जा रकम ५ अर्ब पुगेको छ । लघुवित्तहरूले वाणिज्य बैंकहरूबाट कम ब्याजदरमा पुँजी पाउने गर्छन् । विपन्न वर्गमा प्रत्यक्ष लगानी गर्न नसक्ने बैंकहरूले लघुवित्तमार्फत कर्जा लगानी गरेर राष्ट्र बैंकले तोकेको ५ प्रतिशत सीमा पूरा गर्छन् । यस्ता बैंकहरूले कुल कर्जाको ३ प्रतिशत रकम विपन्न वर्गमा लगानी गर्न कम ब्याजदरमा लघुवित्तलाई दिन्छन् । गत वर्ष बैंकहरूबाट लघुवित्तहरूले यसरी सस्तो ब्याजमा १ खर्ब २४ अर्ब पाएका थिए । जुन रकम साना उद्यम गरिरहेका गरिबलाई चर्को ब्याजदरमा प्रवाह गरियो ।

‘लघुवित्तलाई अभियानका रूपमा भन्दा ठूलो व्यवसायका रूपमा हेर्न थालिएकाले पनि समस्या भएको हो,’ राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले भने, ‘सरकारले समेत लघुवित्तलाई साथ दिएको देखिँदैन ।’ हाल सञ्चालनमा रहेका ८९ लघुवित्त संस्थामा ४४ लाख मानिस समुदाय बनाएर आबद्ध भएका छन् । यिनै समुदायमा लघुवित्तहरूले प्रत्यक्ष र अप्रत्यक्ष (थोक कर्जा लगानी गर्नेले अन्य लघुवित्तमार्फत) कर्जा लगानी गर्दै आएका छन् । ८५ करोड निक्षेप संकलन गरेर लघुवित्तहरूले २७ लाख सदस्यमा २ खर्ब ३५ अर्ब कर्जा लगानी गरेका छन् । ०७५ मा राष्ट्र बैंकले गरेको अध्ययनले ६९ प्रतिशत सदस्यमा एकभन्दा बढी लघुवित्तले लगानी गरेको पाइएको थियो ।