• वि.सं २०७६ चैत २३ आइतबार
  • वि.सं २०७६ चैत २३ आइतबार
  • Sunday, 05 April, 2020
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ८ बुधबार १८:५८:००
मुख्य समाचार

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, बिहीबार मतदान

२०७६ माघ ८ बुधबार १८:५८:००


राष्ट्रिय सभा सदस्य चयनका लागि बिहीबार सातै प्रदेशमा मतदान हुँदैछ । प्रदेश मुकाममा रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा तोकिएका एक–एक वटा मतदान केन्द्रमा विहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मतदानका लागि आवश्यक निर्वाचन सामाग्री, कर्मचारी र सुरक्षाकर्मीहरु सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । एक तिहाई सदस्यको पदावधि दुई वर्षमा सकिने व्यवस्था अनुसार राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आगामी २० फागुनमा सकिदैछ । 

संविधानले राष्ट्रियसभामा सदस्य रिक्त हुनु भन्दा ३५ दिन अगावै सोही प्रक्रियाबाट निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । पदावधि सकिने १९ मध्ये सातै प्रदेशबाट एक–एक गरी महिलातर्फ सात, खुलातर्फ सात, दलिततर्फ दुई र अपाङ्गता भएका वा अल्पसंख्यक तर्फ दुई जनाकालागि मतदान हुनेछ । 
जसमा प्रदेश १ मा महिला, दलित र अन्य गरी तीन जना, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य गरी चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुई–दुई जना गरी चार जना निर्वाचित हुनेछन् । 

प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा गरी तीनजना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूहमा दुई–दुई जना गरी चारजना निर्वाचित हुनेछन् । 

निर्वाचनका लागि ११ दल दर्ता भए पनि नेकपाका १६, कांग्रेसका १६, समाजवादीका सात, राजपा नेपालका दुई, नेमकिपाका दुई र राष्ट्रिय जनमोर्चाका दुई जना गरी ४५ जना उम्मेदवार छन् । प्रदेश १ मा नौ जना, दुईमा आठ जना, बागमतीमा छ जना, गण्डकीमा पाँच, प्रदेश ५ मा नौ जना, कर्णालीमा चार जना र सुदुरपश्चिम प्रदेशमा चार जना उम्मेदवार छन् ।

बाँकी एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछिन् । निर्वाचनमा सात प्रदेशका प्रदेश सभा सदस्य पाँच सय ५० र स्थानीय तहतर्पm एक हजार पाँच सय छ जना गरी जम्मा २ हजार ५६ जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । आयोगले मतदान गर्ने प्रदेश सभाका सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई मतदानकालागि परिचय पत्र अनिवार्य गरेको छ ।