रमेश दवाडी काठमाडौं
२०७६ पौष २७ आइतबार १४:२७:००
समाचार

संसदलाई दलगत अनिर्णयको बन्दी बनाइएकोमा कांग्रेसको आपत्ति 

२०७६ पौष २७ आइतबार १४:२७:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अनिर्णयको बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ । 

सभामुख चयनलाई लिएर पटक–पटक प्रतिनिधिसभा बैठक स्थगित गर्नुलाई कांग्रेसले नेकपाको गैर–जिम्मेवार व्यवहार भएको बताएको हो । 

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको बिषय दुःखद छ । कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ ।’ 

तीन महिनादेखि रिक्त सभामुख पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद भएको कांग्रेसले बताएको छ । 

कांग्रेसले प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सरकारलाई चेतावनी दिँदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सचेत गराएको छ ।