मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १४ बुधबार
  • Wednesday, 30 November, 2022
सुजित मैनाली
२०७५ माघ १ मंगलबार ०७:५४:००
Read Time : > 6 मिनेट
दृष्टिकोण

इसाईबारे पृथ्वीनारायण

पृथ्वीनारायणका हिन्दूवादी समर्थकले सिन्धुलीगढीको युद्धअघि पादरीहरूसँग उनको न्यानो सम्बन्ध थियो भन्नेबारे मौनता साध्ने गरेका छन्

Read Time : > 6 मिनेट
सुजित मैनाली
२०७५ माघ १ मंगलबार ०७:५४:००

पृथ्वीनारायणको जन्मदिन अर्थात् २७ पुसको छेको पारेर हरेक वर्ष पृथ्वीनारायणबारे चर्चा हुने गर्छ । चर्चाका क्रममा इसाई मिसनरीसँगको उनको सम्बन्धबारे पनि टीकाटिप्पणी हुने गर्छ । इसाई मिसनरीको मिसन बन्द गरेर पादरी र इसाई आस्था ग्रहण गरेका केही नेपालीलाई पृथ्वीनारायणले देशनिकाला गरेको प्रसंग टीकाटिप्पणीका क्रममा उठाउने गरिन्छ । त्यही घटनालाई आधार मानेर उनका हिन्दूवादी समर्थकले स्थानीय धर्मसंस्कृतिको संवद्र्धनप्रति उनी प्रतिबद्ध थिए भनि तारिफ गर्छन् । ‘सेक्युलर’ र इतर धर्म मान्ने पृथ्वीनारायणका आलोचकचाहिँ हिन्दूधर्मको प्रवद्र्धन गरेर अन्य धर्मलाई पाखा लगाउन कटिबद्ध धर्मान्ध शासकका रूपमा उनको पहिचान स्थापित गर्न यही तथ्यको सहारा लिने गर्छन् । तर, तथ्यको कसीमा हेर्दा दुवैथरीका विश्लेषण अल्पसूचना र अतिशय भावुकताबाट ग्रस्त देखिन्छन् ।

नेपालमा इसाई धर्म : नेपालमा इसाई धर्म तिब्बततिरबाट भित्रिएको हो । तिब्बतअगावै इसाई मिसनरी भारत पुगिसकेका थिए । भारतमा रहेका केही मिसनरी कास्मिर नाका हुँदै तिब्बत छिरे । भारतबाट भागेका इसाई धर्मावलम्बी तिब्बतमा छन् रे भन्ने हल्ला त्यतिवेला चर्चसम्म पुगेको थियो । भारतमा मुगलको आवागमनपछि उनीहरूको बर्बरताबाट बच्न भारतका इसाई तिब्बततिर पलायन भएको हल्ला बारम्बार सुनिन थालेपछि सत्यतथ्य पत्ता लगाउन जेजुइट र क्यापुचिन क्रिस्चियनलाई हुटहुटी भयो । यसका लागि उनीहरू तिब्बत पुगे (फुलजेन्सियस भानिनी, सन् १९७७, क्रिस्चियन सेटलमेन्ट्स इन नेपाल ड्युरिङ द एटिन्थ सेन्चुरी, पृ. १–२) । तिब्बतमा भारतबाट भागेका इसाई फेला परेनन् । रित्तो हात फर्किन मिसनरी मानेनन् । धर्मान्तरणमार्फत तिब्बतको इसाईकरण गर्ने योजना उनीहरूले बनाए । यसका लागि आवश्यक चाँजोपाँजो मिलाउन तिब्बतबाट भारततिर जाने क्रममा उनीहरूले पहिलोपटक काठमाडौं टेके । यसरी नेपाल आउने पहिलो इसाई थिए, पोर्चुगलका जेजुइट पादरी जोवान काब्राल । उनी सन् १६२८ तिर काठमाडौं उपत्यका आए । यहाँका एकजना राजासँग भेटेर उनी विहारको पटनातिर लागे । त्यसपछि इसाई मिसनरी नेपाल आउने क्रम बढ्दै गयो । तत्कालीन मल्ल राजाको न्यानो आतिथ्य र हार्दिक व्यवहारका कारण यहाँ चर्च स्थापना गरेर धर्मान्तरण गराउने अवसर उनीहरूलाई मिल्यो ।

सन् १७१४ तिर आएपछि चर्चले तिब्बतको इसाईकरणका लागि नेपालमा इसाई केन्द्र स्थापना गर्न आवश्यक छ भन्ने महसुस ग-यो । हिमालपार तिब्बतमा सफल हुन हिमालको वल्लो काखमा रहेको रणनीतिक महत्वको क्षेत्र काठमाडौं उपत्यकामा स्थिर पाइला राख्न नितान्त आवश्यक छ भन्ने महसुस मिसनरीले गरेका थिए भन्ने उनीहरूका तत्कालीन लेखोट पढ्दा स्पष्ट हुन्छ । यसै सन्दर्भमा त्यतिवेलाका एकजना मिसनरीले ‘तिब्बत सालिक हो भने नेपाल त्यसको टेको हो’ भनी रोचक टिप्पणी गरेका थिए (उही, पृ. ७–८) ।
तिब्बतमा स्थापना गरिएका आफ्ना मिसनलाई बंगालको चन्दननगरसँग जोडिएको समुद्री बन्दरगाहसँग ‘लिंक’ गर्ने गरी मिसनरीले काठमाडौं र पटनामा आफ्ना केन्द्र स्थापना गरेका थिए । चन्दननगरको समुद्री नाका हुँदै मिसनरी युरोप आवतजावत गर्थे (उही, पृ. ७) । तिब्बत छिर्ने सजिला नाका पुग्न काठमाडौं उपत्यका हुँदै गुज्रिनुपथ्र्यो । त्यसैले मिसनरीका लागि काठमाडौं उपत्यकाको विशेष महत्व थियो । आफूहरूप्रति उदार मल्ल राजालाई पाखा लगाएर पृथ्वीनारायण काठमाडौंका राजा बनेपछि मिसनरीको तिब्बत योजना तुहियो ।

सौहार्द आरम्भ : काठमाडौं उपत्यका विजयपछि पृथ्वीनारायणले काठमाडौंमा रहेका पादरी र उनीहरूले धर्मान्तरण गराएका स्थानीय अनुयायीलाई देशनिकाला गरे । उनले यस्तो किन गरे भन्ने बुझ्न इसाईप्रतिको उनको दृष्टिकोणमा आएको क्रमिक विकासबारे ध्यान दिनुपर्छ । त्यतिवेला नयाँ ठाउँमा धर्मान्तरण अभियान सञ्चालन गर्न इसाई मिसनरीले त्यस ठाउँका शासकलाई सहयोगी बनाउँथे । नयाँ ठाउँका राजा अथवा अगुवालाई हात लिएर उनीहरूको बलमा त्यहाँका मानिसलाई इसाई धर्म अनुसरण गर्न लगाउने विकल्प सहज र प्रभावकारी हुने ठानेर उनीहरूले संसारका थुप्रै ठाउँमा यही तरिका अवलम्बन गरेका थिए । राजा अथवा अगुवासँग नजिकिन उनीहरूले मुख्यतः चिकित्सा विज्ञान र धातुसम्बन्धी ज्ञानलाई माध्यम बनाएका थिए । विज्ञान–प्रविधिमा पश्चिमी मुलुक त्यतिवेला पनि अग्रणी थिए । विभिन्न वैज्ञानिक अविष्कार देखाएर नयाँ ठाउँका राजालाई लोभ्याउने काम मिसनरीले गर्थे । चर्चले मिसनरीलाई चिकित्सा र धातुविज्ञानसम्बन्धी विद्या आर्जन गर्न प्रेरित गथ्र्यो । यी विषयमा पोख्त मानिसलाई टोलीमा सामेल गराएर धर्मान्तरणका काममा संसारका विभिन्न ठाउँमा खटाइन्थ्यो ।

सन् १६६१ मा जेजुइट पादरीद्वय अलबर्ट द. ओर्भिल र जोहान ग्रुबर काठमाडौं आए । त्यतिवेला काठमाडौं र भक्तपुरबीच युद्ध चलिरहेको थियो । काठमाडौंका राजा प्रताप मल्लसँग उनीहरूको भेट भयो । भेटका क्रममा उनीहरूले ‘कोसेली’स्वरूप एउटा दूरबिन टक्र्याए । दूरबिन हातमा लिएर प्रताप मल्लले भक्तपुरतिर हेरे । दूरबिनबाट हेर्दा भक्तपुरको किल्ला नजिकै देखिएपछि अत्तालिए । ‘दूरबिनमा मात्र नजिक देखिएको हो, किल्ला त टाढै छ’ भनेर पादरीले सम्झाएपछि मात्रै प्रताप मल्ल शान्त भएका थिए (सिल्भाँ लेभी, सन् २००५, नेपाल हिन्दू अधिराज्यको इतिहास, भाग १, पृ. ५२–५४) ।

पृथ्वीनारायणले राज्यविस्तार अभियान सुरु गर्नुअगावै मिसनरीसँग उनको सम्पर्क भइसकेको थियो । पादरीसँग रहेको चिकित्सासम्बन्धी ज्ञानप्रति पृथ्वीनारायण पनि आकर्षित थिए । उनीसहित बाइसी राज्यका राजाहरूले काठमाडौं उपत्यकामा रहेका एकजना पादरीलाई चिठी लेखेर आफूहरूको राज्यमा चिकित्सासम्बन्धी ज्ञान भएको एक–एकजना पादरी राखिदिन आग्रह गरेका थिए (फुलजेन्सियस भानिनी, पृ. ६७) । तनहुँका राजा त्रिविक्रम सेनले पनि विसं १८९२ मा पोप चौधौँ बेनेदेत्तोलाई ‘बडासाहेब र बडागुरु’ भन्ने विशेषणले सम्बोधन गर्दै आफ्नो राज्यमा दुईजना पादरी स्थायी रूपमा राखिदिन आग्रह गरेका थिए । बदलामा धर्मान्तरणसम्बन्धी गतिविधि निर्बिघ्न सञ्चालन गर्न प्रस्ताव गरेका थिए । कास्की र पाल्पाका राजाले पनि आ–आफ्ना राज्यमा पादरी राख्ने इच्छा व्यक्त गरेका थिए (महेशराज पन्त, २०७०, उहिलेको नेपालमा क्रिस्तान धर्म : इतिहासबाट टुक्राटाक्री, राजधानी, १५ पुस, पृ. ७) ।

विजय अभियान सुरु गरेपछि पनि मिसनरीसँग पृथ्वीनारायणको सम्बन्ध सौहार्दपूर्ण थियो । नुवाकोट कब्जापछि काठमाडौंका पादरीको आग्रहमा सन् १७५५ डिसेम्बरमा पृथ्वीनारायणले काठमाडांैमा चर्च निर्माणका लागि आवश्यक पर्ने काठ नुवाकोटको जंगलबाट लैजाने अनुमति दिएका थिए । पादरीको मागबमोजिम अन्य सहुलियत पनि दिएका थिए (फुलजेन्सियस भानिनी, पृ. ७६–७७) । काठमाडौं उपत्यकामा गोरखाले निर्णायक युद्ध सुरु गर्दा पनि पृथ्वीनारायण–मिसनरी सम्बन्ध सौहार्दपूर्ण नै थियो । कीर्तिपुरमा भएको दोस्रो युद्धमा वाण लागेर पृथ्वीनारायणका कान्छा भाइ शूरप्रतापको एउटा आँखो फुट्दा काठमाडौंमा रहेका पादरी माइकल एन्जेलोले उपचार गरेर अर्को आँखो जोगाइदिएका थिए (उही, पृ. ८६–८७) । मिसनरीले पृथ्वीनारायणका जेठा छोरा प्रतापसिंह शाहको उपचार पनि गरिदिएका थिए (उही, पृ. ८३) । त्यतिवेला पृथ्वीनारायण अहिलेका उनका हिन्दूवादी प्रशंसक अथवा आलोचकले भनेजस्तो हिन्दूलगायत रैथाने धर्मसंस्कृतिको संरक्षणप्रति प्रतिबद्ध वा इसाईप्रति असहिष्णु राजा थिएनन् ।

पृथ्वीनारायण अहिलेका उनका हिन्दूवादी प्रशंसक अथवा आलोचकले भनेजस्तो हिन्दूलगायत रैथाने धर्मसंस्कृतिको संरक्षणप्रति प्रतिबद्ध वा इसाईप्रति असहिष्णु राजा थिएनन्

 

सम्बन्धको मोड : पृथ्वीनारायणले काठमाडौं विजय गरेर पाटनमाथि धाबा बोलेपछि मिसनरीसँग उनको सम्बन्ध बिग्रिन थाल्यो । आफ्नो अभियानमा पादरीले भाँजो हाल्न खोजेको चाल पाएपछि पृथ्वीनारायण उनीहरूप्रति कठोर बनेका थिए । गोरखाली फौजले पाटनलाई घेरा हालिरहेकै अवस्थामा इस्ट इन्डिया कम्पनीले काठमाडौंबाट पलायन भएर पाटन पुगेका राजा जयप्रकाश मल्लको अनुरोधमा गोरखाली फौजविरुद्ध लड्न भनेर आफ्नो फौज पठायो । सिन्धुलीगढीको बाटो हुँदै काठमाडौं पुग्न कम्पनी सरकारको फौज हिँड्यो । त्यसको सूचना पाएपछि पृथ्वीनारायणले पाटनमा लगाइएको घेरा खुकुलो पारी आफ्ना सैनिकलाई सिन्धुलीगढीमा केन्द्रित गरे । क्याप्टेन किनलकको नेतृत्वमा आएको कम्पनी सरकारको फौजमाथि गोरखाली सैनिकले सिल्धुलीगढीको पौवागढीमा हठात् हमला ग¥यो । कम्पनी सेनाको लस्कर छिन्नभिन्न भयो । गोरखाली फौजसँग कम्पनी फौज पराजित भयो । त्यसपछि कम्पनी सरकारले पृथ्वीनारायण शाहविरुद्ध सैन्य मोर्चामा अग्रसर नहुने निश्चय ग¥यो । उनीसँग सहकार्यको हात बढायो ।कम्पनी सरकारका फौजलाई काठमाडौं उतार्ने योजनामा मिसनरीहरू संलग्न रहेको छनक पाएपछि काठमाडौंमा रहेका पादरी र उनीहरूले इसाई आस्था ग्रहण गराएका रैथानेप्रति पृथ्वीनारायण सतर्क भए ।

गोरखालाई काठमाडौं उपत्यकामा विजयी हुन नदिने उद्देश्यले पादरीहरूले कम्पनी सरकार र मल्ल राजासँग साँठगाँठ गरेका छन् भन्ने आशंकाकै भरमा पृथ्वीनारायण उनीहरूप्रति निर्मम बनेको इसाई मिसनरीले अझै लेखिरहेका छन् । प्राज्ञिक कर्ममा संलग्न अधिकांश स्वदेशी–विदेशी विद्वान्ले पनि यस्तै आशय राख्ने गरेका छन् । पृथ्वीनारायणका आलोचकले सिन्धुलीगढीको युद्धबारे उल्लेख नै नगरी पादरीलाई उनीहरूका अनुयायीसहित नेपालबाट निकालिएको प्रसंग बारम्बार दोहो-याउने गरेका छन् । पृथ्वीनारायणका हिन्दूवादी समर्थकले चाहिँ सिन्धुलीगढी युद्धअघि पादरीसँग पृथ्वीनारायणको न्यानो सम्बन्धबारे मौनता साध्ने गरेका छन् । यसबारे चर्चै नगरी इसाइ अतिक्रमणबाट नेपाली धर्मसंस्कृतिको जगेर्ना गर्नमा प्रतिबद्ध राजाका रूपमा उनलाई प्रस्तुत गर्ने गरेका छन् । तर, उपलब्ध तथ्यले यस्ता यावत् अड्कलबाजी र दाबी गलत छन् भन्ने देखाउँछ ।

कम्पनी फौजलाई काठमाडौं ल्याउन पादरीहरूले समन्वय गरेको साँचो थियो । कम्पनी सरकारका तत्कालीन दस्ताबेज पढ्दा फगत आशंकाकै भरमा पृथ्वीनारायण उनीहरूप्रति कठोर बनेका थिएनन् भन्ने स्पष्ट हुन्छ । क्याप्टेन किनलकको नेतृत्वमा लिइएको सैन्य अग्रसरताको राजनीतिक लगाम सम्हालेका कम्पनी सरकारका पटनाप्रमुख थोमस रेम्बोल्डले सन् १९६७ डिसेम्बर १९ र सन् १९६८ जनवरी ३ मा आफूभन्दा माथिको ‘सेलेक्ट कमिटी’लाई लेखेका पत्रमा पादरीहरूको संलग्नताबारे प्रकाश पारिएको छ । पत्रमा भनिएको छ, ‘नेपालका राजा (जयप्रकाश) हताश अवस्थामा छन्, उनी अक्टोबरको आरम्भभन्दा बढ्ता टिक्न सक्दैनन् भनी फकिरहरू (गोसाईं) र त्यहाँ (काठमाडौं) तथा बेतियामा रहेका जजुइट्सहरूले पटक–पटक सन्देश पठाएका छन् । तिनमा हामीले सैन्य सहयोग चाँडै पठाउनुपर्छ भनिएको थियो (केसी चौधरी, सन् १९६०, एङ्लो–नेपलिज रिलेसन्स फ्रम द अर्लियेस्ट टाइम अफ द ब्रिटिस रुल इन इन्डिया टिल द गुर्खा वार, पृ. २४–२५) ।’

सिन्धुलीगढीको युद्धपछि पृथ्वीनारायणले मिसनरीप्रति कडा रबैया अपनाए । गुप्तचरीको सम्भावना रोक्न मिसनरीले भारततिर गर्ने पत्राचारमाथि प्रतिबन्ध लगाए (फुलजेन्सियस भानिनी, पृ. ८९) । पृथ्वीनारायणलाई फकाउने प्रयत्नमा पादरीहरू नलागेका होइनन् । त्यतिवेला काठमाडौंमा रहेका एकजना पादरी माइकल एन्जेलोले कीर्तिपुरमा बसिरहेका पृथ्वीनारायणसँग भेट गरे । फकाउन भनेर एउटा दूरबिन टक्र्याए (उही, पृ. ९०) । तर, पृथ्वीनारायण पग्लिएनन् । मिसनरीलाई अविश्वास गरिरहे । फेरि आफ्नो शस्त्रगारमा बन्दुकदेखि तोपसम्म भित्र्याइसकेका पृथ्वीनारायणका लागि दूरबिन नौलो पनि थिएन । पृथ्वीनारायणकालीन कवि उदयानन्द अज्र्यालले पृथ्वीनारायणबारे लेखेको महाकाव्य ‘पृथ्वीन्द्रोदय’को निम्न श्लोकले पनि पृथ्वीनारायणसँग दूरबिन थियो भन्ने देखाउँछ :

हिरा दण्ड वर् खण्ड मीना जड्याको
विदुर्देशका साफि पत्थर् चढ्याको
सदा बाहुलीमा त दुर्बिन् धड्याको
नजर्भै सधैं तिन् सहर्मा अड्याको ।
यसमा पृथ्वीनारायणले हातमा दूरबिन लिएर हरबखत तीन सहर (काठमाडौं, पाटन र भादगाउँ) तिर नजर लगाएको उल्लेख छ (पं. उदयानन्द अज्र्याल, २०६८, पृथ्वीन्द्रोदय (महाकाव्य), सं. ज्ञानमणि नेपाल, पृ. २०३) ।
अन्ततः इसाई धर्म अँगालेका करिब ६० जना काठमाडौंका रैथानेलाई पादरीसँगै देशनिकाला गरियो । उनीहरू बेतियातिर लागे । पादरीझैँ कम्पनी सरकारका गुप्तचर बनेका हिन्दू गोसाइँ व्यापारीलाई पनि देशनिकाला गरियो । यस्तै काममा संलग्न भएको आशंका गरिएका कास्मिरी मुसलमानलाई चाहिँ केही प्रतिबन्ध लगाएर काठमाडौंमै रहन दिइयो (लियो इ रोज, सन् २०१०, नेपालः स्ट्राटेजी फर सर्भाइभल, पृ. २५) । त्यतिवेला इसाईसँगै हिन्दू पनि देशनिकालामा परे । यसबाट सो घटना धार्मिक उद्देश्यबाट नभई विशुद्ध राजनीतिक उद्देश्यबाट अभिप्रेरित थियो भन्ने स्पष्ट हुन्छ ।