२०७६ मङ्सिर १३ शुक्रबार १०:५४:००
विजय कार्की ललितपुर

ललितपुर महानगरमा प्राविधिक कर्मचारी अभाव

विजय कार्की ललितपुर
२०७६ मङ्सिर १३ शुक्रबार १०:५४:००

ललितपुर महानगरपालिकामा प्राविधिक कर्मचारी अभाव भएको छ । कर्मचारी अभाव हुँदा विकास निर्माणका काममा ढिलाइ भएको महानगरपालिका स्रोतले जनाएको छ । प्राविधिक कर्मचारी अभाव हुँदा विकास निर्माणका योजना समयमै कार्यान्वयन गर्न चुनौती भएको जनप्रतिनिधिको भनाइ छ ।

महानगरपालिकामा १३ इन्जिनियरको दरबन्दी छ । त्यसमध्ये ४ जना इन्जिनियर अवकाश भइसकेको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । एउटा इन्जिनियरले तीनदेखि चारवटासम्म वडाको विकास निर्माण योजनाको काम गर्नु बाध्यता रहेको महर्जनले बताए । ‘कर्मचारी अभाव हुँदा योजना कार्यान्वयन गर्न समस्या छ,’ उनले भने ।

 समायोजनमा परेनन्
कर्मचारी समायोजन गर्दा महानगरमा प्रविधिक धारका कर्मचारी नपर्दा कर्मचारी अभाव भएको वडा नम्बर १५ का अध्यक्ष सुदर्शन मिश्रले बताए ।  प्राविधिक कर्मचारी अभाव हुँदा वडामा योजना सम्झौता हुन नसकेको महर्जनले बताए । ‘महानगरमा प्राविधिक कर्मचारी अभाव हुँदा वडास्तरीय योजना पनि महानगरमै आएर सम्झौता गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यसले योजना कार्यान्वयनमा ढिलाइ हुनुका साथै योजनासमेत गुणस्तरीय नहुने समस्या आउन सक्छ ।’ 

कर्मचारी अभाव पूरा गर्न ३० जना प्राविधिक कर्मचारीको दरखास्त आह्वानको तयारी महानगरपालिकाले गरेको छ । वडामा योजना सम्झौता नहुँदा योजनाका फाइल महानगरमा घुम्ने गरेका छन् ।  योजनाका फाइल महानगरमा घुमेर योजना सम्झौता भई कार्यान्वयन गर्दा विकास निर्माणमा ढिलाइ हुन थालेको २७ नम्बर वडाका अध्यक्ष बाबुराजा महर्जनले बताए । वडा नम्बर २१ का अध्यक्ष रवीन्द्र महर्जन र वडा नम्बर १५ का अध्यक्ष सुदर्शन मिश्रले पनि प्राविधिक कर्मचारी नहुँदा समस्या भएको बताए ।